Sunday, March 29, 2009

बाल अधिकार महासन्धिः समीक्षा आवश्यक



विश्वभर नै विकासका कुराहुँदा बालबालिकाका विषयपनि अनिवार्य रूपमा उठ्ने गर्छन् आजकाल। मानव अधिकारको बृहत्तर छाताभित्र मात्र हालेर नपुगेर नै बाल अधिकार महासन्धि, १९८९ जारी भयो। त्यसपछि बालबालिकापनि वयस्क सरह नागरिक अधिकार राख्ने व्यक्तिका रूपमा पहिचान बनाउने क्रममा छन्। अहिले दक्षिण अमेरिकादेखि एसियासम्म र अफ्रिकादेखि अष्ट्रेलियासम्म बालअधिकारको कुरा प्रष्टसँग सुन्न र अनुभूतगर्न सकिन्छ। यो अवस्था सजिलै आएको चाँहि पक्कै होइन।
सबैभन्दा बढी मुलुकले अनुमोदन गरेको र सबैभन्दा प्रगतिशील महासन्धि भनिएतापनि यो कता कता आलङ्कारिक मात्रै हुन पुगेजस्तो देखिन्छ। राज्य पक्षले अनुमोदनमा निकै उत्साह देखाएता पनि कार्यान्वयन कमजोर हुनुको कारण सायद बालबालिकाले राजनीतिलाई प्रत्यक्ष प्रभाव पार्न सक्ने नहुनु पनि हुन सक्दछ। अतः १८ वर्षे यूवक भइसकेको यस महासन्धिलाई थप प्रभावकारी र समय सापेक्ष बनाउन र यस अवधिमा देखिएका नयाँ समस्यालाई समेत सम्बोधन गर्नका लागि यसको गम्भीर समीक्षा गर्ने बेला आइसकेको छ।

विश्व युद्धको प्रत्यक्ष अनुभव गरेकी बेलायती समाज सुधारक लेडी एग्लेन्टाइन जेबले सन् १९१९ अप्रिल १५ मा बाल बचाउ कोष (Save the Children Fund) को स्थापना गरेपछि संस्थागत रूपमा बालबालिकाका कुरा उठ्न थालेका हुन्। लेडी जेबको प्रयासको परिणाम नै हो - पोल्यान्डले सन् १९७८ मा संयुक्त राष्ट्र संघमा बाल अधिकार प्रत्याभूत हुनुपर्छ भनी दर्ता गराएको बाल अधिकार महासन्धिको प्रस्ताव। दुई ध्रुबमा विभक्त त्यति बेलाको संसारमा यस प्रस्तावका पक्ष र विपक्षमा थुप्रै तर्कवितर्क भए। अन्ततः सन् १९८९ सेप्टेम्बर १४ का दिन संयुक्त राष्ट्र संघको साधारण सभाले बाल अधिकार महासन्धि अनुमोदन गर्‍यो। यो महासन्धि अहिले गतिशील मानव अधिकार घोषणापत्रका रूप मानिएको छ। संयुक्त राज्य अमेरिका तथा सोमालियाबाहेक राष्ट्र संघका सबै सदस्य राष्ट्रले यसलाई अनुमोदन पनि गरिसकेका छन्। नेपालले यसलाई १९९० नोभेम्बर २० का दिन अनुमोदन गरी लागू गरिसकेको छ। यसै दिन नेपालमा राष्ट्रिय बाल दिवस मनाउन थालिएको छ।
यस महासन्धिले बालबालिका साना वा अर्ध नागरिक हुन् त्यसैले यिनलाई अर्ध अधिकार भए पुग्छ भन्ने परम्परागत सोचलाई यसले गलत साबित गर्‍यो। जन्मने बित्तिकै सबै मान्छे बराबर हुन्छन् र बालबालिकालाई पनि त्यसरी नै हेरिनुपर्छ भन्ने मान्यता स्थापित गर्न यस महासन्धिले ठूलो भूमिका खेलेको छ। बालबालिका भबिष्य हुन् भन्दै उनीहरुको वर्तमानलाई उपेक्षा गरेर वयस्कका लागि मात्र सुहाँउदो संसारको रचना गर्ने प्रवृत्ति हटाएर बालबालिकालाई वर्तमानका रूपमा नै व्यवहार गर्ने संस्कारको स्थापना गरेको छ। यसले बालापन खोसियो भने भबिष्य सुखद नहुने समेत स्पष्ट पारेको छ।
बाल अधिकार महासन्धिमा ५४ धारा छन्। बुझ्न सजिलोका लागि यी धारालाई ३ भागमा बाँड्न सकिन्छ।

भाग १– धारा १–४४ अधिकारको प्रत्याभूति
भाग २– धारा ४२–४५ अधिकार कार्यान्वयनको अनुगमन
भाग ३– धारा ४६–५४ महासन्धिको कार्यान्वयन
बाल अधिकार महासन्धिका ४ वटा धारा २,३,६ र १२ लाई बाल अधिकारको प्रमुख सिद्धान्तका रूपमा लिने गरिन्छ। यिनै ४ धाराले सामान्यतयाः महासन्धिलाई निर्देशित गरेका छन्। यीनमा बालबालिकालाई कुनैपनि आधारमा भेदभाव गर्न नपाइने, बालबालिकासँग सम्बन्धित कुनैपनि विषयमा उनीहरूको सर्वोत्तम हितलाई ध्यानमा राख्नुपर्ने, बालबालिकाको बाँच्ने र यथोचित विकास गर्ने अधिकार पर्छन्। यसैगरी प्रत्येक बालबालिकालाई आफूसँग प्रत्यक्ष वा अप्रत्यक्ष सम्बन्ध राख्ने विषयमा आफ्नो दृष्टिकोण, विचार तथा विश्वास, स्वतन्त्ररूपमा प्रकट गर्न पाउने अवसर तथा त्यस उपर जिम्मेवारपूर्ण सुनुवाइ हुने अधिकार रहेका छन्। अन्य धाराहरुले यी सिद्धान्तलाई क्षेत्रगत रूपमा विभाजनगरी बालबालिकाका मुख्य सरोकारलाई सम्बोधन गर्ने प्रयास गरेका छन्।
धारा १ देखि ४४ सम्ममा प्रत्याभूत अधिकारको कार्यन्वयनको अनुगमन गर्न मानव अधिकार उच्च आयुक्तको कार्यालयमा बाल अधिकार समितिको व्यवस्था गरिएको छ। यस समितिले पक्ष राष्ट्रबाट महासन्धि अनुमोदनको सुरुका दुई वर्षमा प्रारम्भिक प्रतिवेदन र तत्पश्चात हरेक ५ वर्षमा आवधिक प्रतिवेदन बुझाउने व्यवस्था गरेको छ। प्रतिवेदनको विषयमा महासन्धिका प्रावधानमा राज्यले पाएका उपलब्धि, भोगेका चुनौती, लक्ष्य तथा कार्यक्रम, तर्जुमा गरिएका रणननीति, संस्थागत संरचना तथा मानवीय स्रोतको विकास, राष्ट्रिय तथा अन्तराष्ट्रिय स्रोतको परिचालन आदि पर्दछन्। राज्यले पठाएको प्रतिवेदनमा बाल अधिकार समितिले राज्य पक्षको समेत उपस्थितिमा सुनुवाइ गर्छ र राज्यलाई समापन टिप्पणीमार्फत् सुझाव दिने गर्दछ। प्रतिवेदन राज्यका अतिरिक्त अन्य व्यक्ति वा संस्थाले पनि पठाउन सक्ने व्यवस्था छ।
यस महासन्धिलाई प्रभावकारी बनाउन सशस्त्र द्वन्द्वमा बालबालिकाको प्रयोगविरुद्धको इच्छाधीन आलेख २००२ र बालबालिकाको बेचबिखन, बाल वेश्यावृत्ति र अश्लील चित्रणविरुद्धको इच्छाधीन आलेख २००२ समेत कार्यान्वयनमा रहेका छन्।
कुनै पनि अवधारणा विश्व्यापीरूपमा मान्य हुन असम्भव प्रायः हुन्छ। यो महासन्धि पनि अपवाद हैन। दिनभर परिश्रम गरेर गुजारा चलाउनसमेत मुस्किल पर्ने राष्ट्रमा यसका प्रावधान कार्यान्वयन गर्नु गराउनु फलामको चिउरा चपाउनुसरह हुन्छ। सबै पक्षको समानुपातिक विकासबिना यौटा क्षेत्रको मात्र विकास असम्भव हुन्छ। त्यस्तै सबै क्षेत्रमा समस्यै समस्या भएको मुलुकका लागि बालबालिकाको क्षेत्रमा अपेक्षित विकास नहुनु आश्चर्यको नमानिन सक्छ। त्यसमा पनि महासन्धि पश्चिमा अवधारणाबाट बढी प्रभावित भएको भन्ने आलोचना हुने गरेको छ। यसबाहेक बाल सहभागिता, बालबालिकाको सर्वोत्तम हितजस्ता केही धाराको अस्पष्टता, महासन्धिको कार्यन्वयन फितलो भएमा हुने कार्यबाही, स्रोत साधनको अनुपलब्धता जस्ता पक्ष र महासन्धिले प्रत्याभूत गरेका प्रावधानको अवज्ञा भएमा सुनुवाइ हुने निकायको अभाव एवं पेटभरि खानपाउने अधिकारको बारेमा उल्लेख नहुँदा महासन्धिलाई अपूर्ण पनि मान्ने गरिएको छ।
सबैभन्दा बढी मुलुकले अनुमोदन गरेको र सबैभन्दा प्रगतिशील महासन्धि भनिएतापनि यो कता कता आलङ्कारिक मात्रै हुन पुगेजस्तो देखिन्छ। राज्य पक्षले अनुमोदनमा निकै उत्साह देखाएता पनि कार्यान्वयन कमजोर हुनुको कारण सायद बालबालिकाले राजनीतिलाई प्रत्यक्ष प्रभाव पार्न सक्ने नहुनु पनि हुन सक्दछ। अतः १८ वर्षे यूवक भइसकेको यस महासन्धिलाई थप प्रभावकारी र समय सापेक्ष बनाउन र यस अवधिमा देखिएका नयाँ समस्यालाई समेत सम्बोधन गर्नका लागि यसको गम्भीर समीक्षा गर्ने बेला आइसकेको छ।





दीपक सापकोटा

भ्यालेन्टाइनमा ´द ग्रेट सर्कस्´



भवसागर घिमिरे, काठमाडौं, फागुन ३– ´तिमी फूल हौं गुलाबको, जून हौं आकाशको´ गालामा हात राखेर लोर्के केटोले तरूनी फकाइरहँदा एकहुल केटाकेटी झुम्मिहाले– ´तिमी तारा हौं, सुन्दर छौं...।´ अब त सबै आ–आफ्नै तालले एकै ठाउँमा बसेर कोकोहोलो गर्न थाले। गुजुमुज्ज परेका रङ्गीबिरङ्गी मुहारहरू अकस्मात बजेको संगीतको धुनसँगै छिरलिँदै नाँच्न र गाउन थाले, ´विदुषक (जोकर) को खेल हो साथी विदुषकको खेल, विदुषकको खेल हो साथी विदुषकको खेल।´
शहरका युवायुवती ´भ्यालेन्टाइन डे´ मा रमिरहेका बेला ´द ग्रेट सर्कस २००९´ मा एक्टर्स स्टुडियो काठमाडौंका कलाकारले अभिनय गरिरहेजस्तो पटक्कै लागिरहेको थिएन। हुन त प्रेमलाई कुनै नक्साले समेट्दैन, सीमाले छेक्दैन, भाषाले रोक्दैन। ´तैपनि भ्यालेन्टाइनको नाम लिँदा भानुभक्त बारे पनि जाने हुने नी´ कलाकारले यसो भन्दा दर्शक ताली बजाइरहेका थिए।
अनेक रङ्गले पोतिएका मुहार र पहिरन पनि त्यस्तै रङ्गीचङ्गी। अभिनय नगर्दै यी कलाकार देखिन्थे। दर्शकका माझबाट फुरूरू निस्कँदा त झन् गाइजात्रा आएझै लाग्दथ्यो। विक्रम परियारका हात हार्मोनियममा सलबलाउन थालेपछि कलाकारको नाँचगान सुरु भयो। ´सुर, ताल र लय भएन भने जीवन जीवन रहँदैन´ एकाएक संगीत रोकिएपछि रोकिएका कलाकार माझबाट विदुषक बोले– ´तपाई हामी सप्पैको सुरताल हराएको छ।´ हुन पनि हो, लाखौं शैक्षिक बेरोजगार हामी हर दिन सडकमा भौंतारिन्छौं। न्याय माग्न जाँदा थप अन्यायमा पिल्सने हामी कानुनका कठघरामा गएर पछारीन्छौं। ´ग्याँस खोज्न हिँड्यो ग्यास पाईदैन्´ विदुषकले मुख बिगार्दै भने– ´महंगीले सामान छुन सकिँदैन। हामी सुर हराएर बेसुरे भएका छौं।´
सबैलाई झक्झकाउँदै विदुषकका बीचबाट अर्का नेता निस्कन्छन्। ´अब आफ्नो सुरक्षा आफै गर्ने´ मन्त्रीको प्रतिनिधित्व गर्दै कुर्चीमाथि चढेका नेता ढुग्रेमाइकमा कुर्लन थाल्छन– ´सबैको हात हातमा हतियार बाँडिनेछ।´ जनताका हातमा हतियार आएपछि अब मारकाट सुरू हुन्छ, कोलहाल बढ्छ।
देशमा बढ्दो हत्या हिंसा र दण्डहीनता सम्झाउँछ नाटकले। ´मैले कलामा डिग्री पास गरेको छु´ एक महिला विदुषीका लोभ्याउने पारामा बोल्छिन्। उनीसँगै एक कार्यालयमा अन्य केटाकेटी अन्तर्वाताका लागि आउँछन्। ´मैले घिउ ल्याएको छु, पैसा पनि´ अर्का चटके देखा पर्छन्– ´म फलानोको साला।´ बाँकी जोकरहरू जिल्ल पर्दै टोलाउँदा संगीतले सुन्यमा फेरि रौनक थप्छ। ´अवसर छैन, सुरक्षा छैन, भविष्य छैन यहाँ, नभागेर विदेशतिर जाउन बरा कहाँ´ दर्शकलाई पेट मिचिमिची हँसाउन थाल्छन कलाकार– ´विदुषकको खेल हो साथी विदुषकको खेल, विदुषकको खेल हो साथी विदुषकको खेल।´
देशमा लोडसेडीङ्ग बढ्छ। मजदुर र मालिकको झगडा बढ्छ। मालिक सरकार हेरेर मुख बिगार्छन्। ´लौ अप्रेसन सकेर टाँका लगाउँदा लगाउँदै झयाप्पै बत्ती गयो´ डाक्टर बिरामीका अभिभावकलाई खबर पुर्‍याउँछन्– ´अब बत्ती आएपछि।´ देशमा जे भोगियो नाटकले त्यही देखायो। ´बाह्र महिने लोडसेडिङ्ग, जलस्रोतको धनी देश, यस्तो बत्ती हुनु भन्दा अन्धकारै वेश´ गीतसँगको संगीतमा सबै मख्ख देखिन्थे।
´खुम्बुवान, मगराँत, किराँत, मधेश, पहाड, हिमाल भन्दै हामीलाई आफु आफैमा लडाइएको छ´ एक विदुषक बोले। ´नहान्नु, नमार्नु नबोल्न सक्नेलाई, नमार्नु दुध पिउने र खेल्ने स–साना बालकलाई´ कलाकारले मार्टिन चौतारीको प्रागंणमा नाटक सकिनु अघि एकै आवाज बोलेका थिए।
एक्टर्स स्टुडियोका पाँचौं सत्रका विद्यार्थीहरूले पछिल्लो दश दिने अभ्यासका क्रममा तयार पारेको यो नाटक माघ २८ मा काठमाडौं विश्वविद्यालयमा पहिलोपटक मञ्चन गरिएको थियो। ´पाटन दरवार स्क्वायर, भक्तपुर दरवार स्क्वायर र संसद भवन अघि पनि देखाउने छौं´ गायक तथा संगीत संयोजक विक्रम परियारले भने।
प्रवेश गिरी, हिराबिजुली नेपाली, हेमा श्रेष्ठ, प्रमोद भारद्वाज, निता पोख्रेल, प्रदिप भण्डारीले अभिनय गरेको सो नाटकमा कमल भट्ट, बसन्त पौंड्याल, विनिता बराल, दिपेन्द्र अधिकारी, अर्जुन सुब्बा र आशान्त शर्माले पनि भूमिका निभाएका थिए। ´हामीले विनास्त्रि्कप्टको नाटकमा अभिनय गर्‍यौं´ कलाकार भारद्वाजले भने– ´हामीबीच जन्मेको विचारलाई परिस्कृत गर्दै जाँदा आफै तयार भयो।´
पहिलो पटक नाटक खेलेकी विनिता बराल आफ्नो अभिनयबाट सन्तुष्ट देखिइन्। ´टेलिभिजनमा भन्दा त टोटल्ली डिफ्रेन्ट´ थुपै्र म्युजिक भिडीयोमा खेलेकी बरालले ओठ चलाइन्–´बट आइ एम मच सेटिस्फाइड।´ नाटक ´कर्नाली दख्खिन बग्दो छ´ का ´कुन्टेक्ट´ हिराबिजुली पनि खुशी देखिन्थे। ´हाँस्य शैलीमा सबैले छिटो बुझ्छन् र मन पराउँछन्´ बिजुली हाँस्नथाले–´सबैले बुझे र मनन गरे भने हामीलाई भै गो नी!´
अलगअलग शैलिलाई कसरी प्रस्तुत गर्ने भन्ने सोचको क्रममा यो नाटकको अवधारण आएको परिकल्पनाकार तथा निर्देशक अनुप बरालले बताए। ´मान्छेको बीचमा संवेदना मर्दै गएको छ´ बरालले भने– ´त्यही संवेदनालाई ब्युताउनु नाटकको उद्देश्य हो।´

यसमा तपाईंको प्रतिक्रिया#
राम्रो विचार। म प्रभावित भएँ।
animesh animeshthapa@yahoo.com
मलाई राम्रो लाग्यो। नेपालको कठिन अवस्था एउटा नाटकमा देखाउन खोजिएको छ।



सल्काइदेऊ सर्टिफिकेट

राखेर पो के हुन्छ?

यिनीहरू अझै थेच्चिएर बसे मार्कसिटमा उक्लेका नम्बरले जुलुस गर्नेछन्। पूर्णाङ्क चुम्न तल्लिन यी अक्षर संग्रहले विद्रोहको शंख फुक्नेछन्, टु...। शंख बज्न थालेपछि बेरोजगार हामी रोजगारको मलामी हिँड्नुपर्छ।

कुरो कारखानाको हो। ´बेरोजगार उत्पादन कारखाना´ अर्थात सरकारी विश्वविद्यालय। जहाँबाट बाँडिने ´खोस्टो´ ले हामीलाई ´रोजगार बजार´ मा हैन ´बेरोजगार बगर´ मा लगेर मिल्काइदिएको छ, खोटो सिक्काझैँ। ´खोटो´ बाट ´खाट्टी´ बन्न हामी घनघस्याको´ उकालो चढ्नुपर्छ।

यस्तै छ, सरकारी विश्वविद्यालय पढ्नेको हविगत। हुन त गन्नेझारझैँ उम्रेका प्राइभेट कलेजका पनि आफ्नै पीडा होलान्। तर, सरकारी विश्वविद्यालयका उत्पादनको खस्कँदो गुणस्तर चिन्ताको विषय बनेको छ।

Tuesday, March 17, 2009

राउटे फर्कदै आफ्नै गाउँ

2009-01-02 20:09:55


भवसागर घिमिरे, काठमाडौं, पुस १८
´कुरा बुझ्यो पत्रकारज्यूहरू, पैसा भइयो भने चामल आइपुग्यो, खसी आइपुग्यो, जनता (आफ्ना समुदाय) को पेट भर्न भइयो´, अछामबाट ५ जनाको समुहमा राजधानी आइपुगेका राउटेका सह–मुखिया ऐनबहादुर शाहीले शुक्रबार निन्याउरो पारामा भने– ´जाने दिनमा पनि जनताका लागि केही हाता आइपुगिन भने नअइया नेपाल भनेर के न के?´
शिक्षा पत्रकार समूह, अनामनगरको सभाहलमा आयोजित ´राउटेका माझ पत्रकार´ नामक सम्मेलनमा राउटेहरू त्यति खुशी देखिएनन्। देशका राष्ट्रपतिदेखि प्रधानमन्त्री, सभामुख, अर्थमन्त्री, स्थानीय विकास मन्त्री भेट्न भ्याएका उनीहरूलाई काठमाडौंले धेरै थकाइसकेको थियो।

´पिलेन टिकटको पैसा दिम, भात खान हुन्छ´

2009-01-01 23:26:35


भवसागर घिमिरे, काठमाडौं, पुस १७
´लौनुस यो तपाईलाई,´ राउटेका सहायक मुखिया ऐनबहादुरले काठको भाँडा प्रधानमन्त्रीको टाउकोमा राख्दै भने, ´प्रधानमन्त्रीलाई भनेर ल्याएका हुँम।´
प्रधानमन्त्री पुष्पकमल दाहालले पनि हातले शीरको भाँडा अड्याउँदै भने, ´यो टोपी हो? ल ल धन्यवाद।´ समूहमा हाँसोको फोहरा छुट्यो।
अछामको बगरबाट दुई दिनअघि राजधानी पसेका ६ जना राउटेको समूह गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्रीलाई बिहीबार साँझ भेट्न पाउँदा निक्कै खुसी देखिन्थे।
दाहालले कुरा भन्न आग्रह गर्दा ऐनले भने, ´भनुँ भने नअइयाँ नेपालको राष्ट्रपतिसँग डर पनि लाग्यो, नभनुँ भने घाँटीमा आइसक्यो कसो?´
उनको कुरा भुँइमा झर्न नपाउँदै प्रधानमन्त्रीले हाँसोको फोहरा छुटाउँदै भने, ´भन्नुस् न किन डर मान्नुहुन्छ?´
´मेरो नाम ऐनबहादुर शाही हो, उसको सुर्जेनारायण शाही, ऊ प्रकाश, दिलबहादुर, कृष्णबहादुर, अनि वीरबहादुर शाही, आफू र आफ्ना साथीहरूको परिचय दिँदै सहायक मुखियाले थपे, ´आज प्रधानमनत्रीज्यूसँग कुरा गरिर भोलि वई सवार हुने कुरो छ। वई भन्नाले जंगल।´
´तपाईहरू अब एक्कै ठाउँमा बस्नुपर्‍यो। छोराछोरी पढाउनुपर्‍यो। सरकारले जागिर दिन्छ, गर्नुपर्‍यो,´ प्रधानमन्त्रीले उनीहरूको मनोभाव बुझ्न प्रश्न राख्दा ऐनले निधार खुम्चाउँदै भने, ´नोकरी टोकरी हामी नगर्ने। हामीले पढ्न नि पढ्दैन।´
बुधबार राति सुन्धाराको धरहरा, बिहान आफूले ल्याएको भाँडाकुँडा मिलाउने, दिउँसो स्थानीय विकास मन्त्री रामचन्द्र झा र पर्यटन बोर्डमा आयोजित अन्तर्क्रिया कार्यक्रम र साँझ प्रधानमन्त्री कार्यालय आइपुगेका राउटेहरूलाई व्यस्तताले निक्कै थकाएको थियो।
´काडमाडौं बस्ने?,´ प्रधानमन्त्रीको प्रश्नमा उनीहरूको उत्तर थियो, ´मन्त्रीज्यूको बसाई त राम्रो लाग्यो, तर हामीलाई दिनभुरको बसाईले शीर दुख्याई छ, सधैं बस्यो भने के होला?´
आफूहरू जंगलमै रमाउन चाहेको र सरकारले यसका लागि उचित वातावरण मिलाओस् भन्ने चाहना उनीहरूले प्रधानमन्त्रीसामू व्यक्त गरे।
´सामुदायिक वनका उपभोक्ताले बन मासियो भन्दै राउटेहरूलाई वनमा रोकतोक लगाउन थालेको´ उनीहरूको दुःखेसो थियो।
गाउँमा प्लाष्टिकका भाँडा भित्रिएकाले उनीहरूले बनाउने काठका भाँडा बिक्न छाडेका छन्। आफ्नो दुखेसो सुनाउँदै ऐनले भने, ´हाम्रा जनता (राउटे जातिका मुखिया, सह–मुखियाले आफ्ना खलकलाई जनता भन्छन्) भोक्कै हुन्छन्। सरकारले खसीवसी, चामल पठाउनुपरो।´ अझ अगाडि थप्दै उनले भने, ´जंगलको कागजपत्र लेखितियो भने हामीलाई राम्रो हुन्थ्यो।´
प्रधानमन्त्रीले लडाईँका बेला जाजरकोटमा उनीहरूलाई भेटेको र कुराकानी गरेको संस्मरणसम्म सुनाउन भ्याए।
´के भो?,´ आफ्नो भनाइका बीच गुनगुन गरिरहेका ऐनले दाहालको प्रश्नमा भने, ´सूर्ती खोजेको काँ भेटिइन।´
प्रधानमन्त्रीले पनि उनीहरूको बारेमा मन्त्रिपरिषदमा कुराकानी हुने बताए। ´तपाईहरूले जे/जे चाहनुहुन्छ, जबर्जस्ती नगरी हामी पूरा गर्दिनेछौं,´ उनले ढाडस दिंदै भने।
जाँदाजाँदै उनीहरूलाई घर फर्कने व्यस्ताबारे बताउँदै दाहालले भने, ´तपाईहरू उडेर जानुहुन्छ? म प्लेन टिकटको व्यवस्था गर्दिनेछु।´
खुशी मुद्रामा ऐनले प्रधानमन्त्रीका हात सुम्सुम्याउँदै भने, ´बरू पिलेन टिकटको पैसा दिनुस् हामीहरूलाई भात खान हुन्छ।´
´भात धेरै चपाईको मिठो हुन्नँ। कुरा धेरै गरेको मिठो हुन्नँ,´ उनले कुरा छोंट्याए।


Dainikee - Breaking News, politics, sports and blogs from Nepal राउटे,
-->
Dainikee - Breaking News, politics, sports and blogs from Nepal राउटे,
# सम्बन्धित सामग्री
प्लेन टिकटको पैसाले खसी
राउटे फर्कदै आफ्नै गाउँ
राउटे हिँडे राष्ट्रपति भेट्न


यसमा तपाईंको प्रतिक्रिया#
प्रधानमन्त्रीले राउटेहरुको मनोभावना बुझे जस्तो लागेन। उनीहरुको माग वा इच्छाबमोजिमका काम कुरा गरिसके पछि जाने बन्दोबस्तको लागि प्लेनको कुरा गरेको भए छुट्ठै हुनेथियो । नत्र जसलाई आफ्नो दैनिकी, जीवन पप्द्धति, आफ्नो परम्परा र संस्कृतिको चिन्ता छ उसलाई प्लेनको टिकेट मिलाइदिन्छु भन्नुले उनीहरुलाई सहयोग गर्नुभन्दा पनि दया देखाएजस्तो लाग्यो।
Thaneshwar kandelts@hotmail.com
गणतन्त्र नेपालको पहिला प्रधानमन्त्रीलाई भेटेर राउटे निकै खुशी भएछन् भन्ने चाहि लेख्नका लागि लेखेको जस्तो लाग्यो । राउटेलाई के सरोकार होला पहिला हुन् कि द्रोस्रा? गणतन्त्रका हुन् कि राजतन्त्रका । विचारा पिलेन चढ्ने पैसाले भात खाने सपना देख्दैछन् । जुनसुकै सन्दर्भमा पनि गणतन्त्र नेपालको पहिलो कम्ती दैनिकीले नजोडोस् ।
राज केसी raj_kc@yahoo.com

संक्रान्तिमा झल्को ´गाँवै´ को...

कल्ले भन्च हरि, मनमा पीर नपरी, बरबर आँसु नझरी

´अपुर (अरू) त बिर्सें क्या। गाउँमा भा´का भे´ सम्झीसम्झी गाउँते,´ पुसको मिठो घाम ताप्न कौसीमा निक्लेकी सावित्रा कार्की, ६०, मुख छोपेर हाँस्न थालिन्। माघे संक्रान्तिमा गाउँमा गाइने भजनबारे बताउँदै गर्दा काठमाडौंमा रहेकी गुल्मेली आमैले भावुक हुँदै भनिन्, ´यो पाला त म यहाँ छु उत्तिको रमाइलो काँ पाम्नी?´

´किन काठमाडौं?´

´अब यहाँ छोरीले बोलाई, आउनु परिगो नि,´ दुई सातादेखि बानेश्वर अल्झेकी उनी अझै त्यति नै समय यतै बस्दैछन्। उनका अनुसार चाडबाडका बेला सहरतिर भन्दा गाउँमा धेरै रमाइलो हुन्छ। सबैले आ–आफ्ना छोरीचेली डाक्छन्। पुस मसान्तका दिन खेतबारी, वन गएर तरुल, सखरखण्ड खोजेर ल्याउँछन्, अनि त्यसै रात उसिन्छन्।

गाउँमा संक्रान्तिका बेला उसिनेका फल बासी बनाएर खाने चलन छ। चाकु, तिलको लड्डु, चिउरा, मासुजस्ता सकेसम्मका धेरै परिकार बनाएर खाइने हुँदा संक्रान्ति रमाइलो मान्छिन् कार्की। माघ एक गते जेठी संक्रान्ति, दुईमा माइली र तीनमा कान्छी गरेर तीन दिनसम्म रमाइलो गर्ने, मिठो खाने र सबैसँग भेटघाट गर्ने चलन छ उनका गुल्मीतिर।

पहाडतिर माघे संक्रान्ति भनेर मनाइने यो चाडलाई तराईका थारू समुदायमा माघी त कतै ´लड्डु तथा घिउचाकु´ पर्व पनि भन्ने गरिन्छ। नेवार समुदायमा ´घ्यो चाकु सँल्हु´ का नामले मनाइन्छ। यस पर्वमा चितवनको देवघाट, सुनसरीको वराहाक्षेत्र, गुल्मीको रिडी, काभ्रेको पनौती र दोलालघाट, झापाको कन्काई, कास्कीको ढुङ्गेसाँघु आदि स्थानमा मेला भर्नेको घुँइचो लाग्छ। ´सबैले वर्षभरि मनको कल्पना गर्दा जे थपना (भाकल) गर्छन्, त्यही सम्झँदै पुज्न जान्छन्,´ कार्कीले प्रष्ट्याइन्।

छोराछोरीको मन राख्नै भए पनि

मलाई 'म' मन पर्दैन

भवसागर घिमिरे

म मनबाट चलेको छु

मस्तिष्कबाट चलेको छैन

त्यसैले मलाई म मन पर्दैन

पहिला पहिला मेरा मनहरु

नसा नसाबाट बग्दै

मस्तिष्कमा पुगेर छानीने गर्थे

शुद्ध हुन्थे मनहरु अनि

म त्यसलाई व्यवहारमा उतार्थे

तर आज मनहरु

मस्तिष्कमा पुग्न नपाउँदै

व्यवहारबाट पोखिने गर्छन्

म सँधै मनको कुरा मान्छु

मस्तिष्क सदा लाचार भै रहन्छ

धिक्कारी रहन्छु म अनि मनहरुलाई

किनकी मेरा मनहरु

मलाई स्वयं दमन गर्दैछन्

लज्जास्पद बनाइरहेका छन्

तरपनि म प्रतिकार गर्न सक्दिन

मनहरुलाई

म हार्दोयुद्ध लडिरहेको छु

त्यसैले मलाई म मन पर्दैन !


(२०६१-०१-३१, पोखरा)

बिरामी काठमाडौंको बयान

बा । आरामै हुनुहोला । रुघाखोकीबाहेक मलाई अरू ठीकै छ । बरु आमाको ग्यास्टि्रक कस्तो भो कुन्नि - जनैपुर्नेमा, छोरो घराँ'मुख देखाउन आएन भनेर दुःख नमान्नु होला । के गर्नु, ह्याँ कामको माचामाच, ऐले साल पनि पोहरकै झै न घर आउन पाइयो न जनै लाउन । बिहान बेलुकी दाल-भात खाइयो सक्किगो चाड ।

आज गाईजात्रा । तपाईं त्यहाँ भोक, झोक, रोग र शोकले मरेकाहरूको सम्झनामा निकाल्ने गाईजात्रा हेर्दै हुनु होला । म त ह्याँ सरकार बनाउनका लागि भइरा' राजनीतिक गाईजात्रा हेर्दैछु । कैले कस्को धोती फुस्कन्छ, कैले कस्को टोपी फुस्कन्छ, भरै नहुँदो रै'छ । कैले माओवादीले हावा खाने, कैले कांग्रेसले कावा खाने । जे भा'नी, चेपुवामा तपाईं हामी । भन्न त, डाडुले कुटेको श्रीमान् तरकारी थप्दा तर्सन्छ भन्छन् । तर खै यहाँ त कहिल्यै त्यस्तो भएन । जनताले नेतालाई झपार्नु झपारे, हपार्नु हपारे, कतिलाई त कोपारे पनि । सम्झाए बुझाए, उनका अघि आफ्ना आँखा रुझाए पनि । तर आखिराँ उही भो । बाह्रवर्षकुकुरको पुच्छर ढुङ्ग्रा हाल्यो ढुङ्ग्र्रै बाङ्गो । र्कुर्चीकै लडाइँमा जुग बिताउने भए यिनले । यिनै नेता ऊबेला ज्ञानेन्द्र सापले फुटबल बनाएर राजनीतिक टुँडिखेलमा पेनाल्टी हिर्काउँदा, जनताकै आँगना आएर पछ्छारिएका थे । लखतरान परेका तिनलाई हामीले जुस पेलेर तङ्ग्रायौं, सडकमा ओराल्यौं र सदनमा उकाल्यौं पनि । ऐले उनै हामीसँग टेढिए, बाङ्गिए र जलकुम्भी बनेर लोभ र लालचमा झाङ्गिए । अब त पूरै नाङ्गिनमात्र बाँकी छ ।

जनकारबाही !

उनीहरूले केही सोध्नु छ, आऊ भने
मैले पनि लौ त जाउँ भनेँ
के था’ मलाई सोध्न हैन
गोद्न बोला’रैछन्
रीसको झोकमा उनीहरूले
मानवीय व्यवहार भुले
अँध्यारो गल्ली गल्ली हुँदै
सुनसान कारखानाभित्र हुले
एउटाले खुब लेख्छस् भन्यो
अर्कोले अब देख्छस् भन्यो
हत्त न पत्त नाम्लाले बाँधे
दर्जनौं मिलेर लात्ताले खाँदे
मलाई गोद्नु गोदे,
सोध्दै नसोधी गोदे
बोल्नै नपाई गोदे
पाता फर्का’र गोदे
बेजोड हिर्का’र गोदे
बुटले गोदे, बेल्टले गोदे
गोद्दा गोद्दा मेरो होस गुम हुने बेला
बल्ल तिनीहरूले पहिलोचोटि सोधे
तैं हैनस् जीवनसागर ?
मैले चुटाइले थिल्थिलिएको जीउ चलमलाएँ
रगतले पोतिएका आँखा पुलुक्क उठाएँ
मधुरो बोलीका लागि सास जुटाएर भने
म भवसागर पो त !

भवसागर घिमिरे
पोखरा- ३, नदीपुर, हालः त्रिवि, कीर्तिपुर
यो कान्तिपुर दैनिकको पाठक मन्च स्तम्भमा  २०६४ -७ -१५प्रकाशित भएको हो ।

कीर्तिपुरेलाई सास्ती



सर्न्दर्भ कीर्तिपुर यातायातको । बस कम, यात्रु धेरै, त्यसमाथि कर्ीर्तिपुर यातायात व्यवसायी संघको मनोमानी । इन्धन प्रशस्त पाइने विगतमा पनि सिटमा बसेर यात्रा गर्न थोरै भाग्यमानीले मात्रै पाएका थिए । ठेलमठेल गर्दै एउटा मात्र खुट्टा टेकेर, एक हातले डन्डी समाएर, ढोकाबाहिर झुन्डिएर यात्रा गर्नु त छँदैछ, झन् कन्डक्टरको रुखो व्यवहारले नमीठो अनुभव हुन्छ । रत्नपार्कसम्म पुगेर फर्कनुपर्ने केही गाडी साँझपख बल्खु तथा कालीमाटीबाटै फर्किन्छन् । यस्तो मिचाहा प्रवृत्तिले सुन्धारा तथा रत्नपार्क छेउछाउमै धेरै यात्रु बिचल्लीमा पर्छन् । यातायात सेवामा अरू व्यवसायीलाई पनि प्रवेश दिएर प्रतिस्पर्धात्मक यातायात सञ्चालन गरियोस् । जसरी हुन्छ हामीले भाडा तिरेअनुरूप सन्तुष्टि पाउनर्ुपर्छ ।
- भवसागर घिमिरे
त्रि।वि, कीर्तिपुर
Kantipur

खेलौना !

भवसागर घिमिरे
Saturday, August 2, 2008
दूधभात सेलाउन लाग्या बेलामा, केटा'टीले जिद्दी गर्दै बिलौना गर्‍या बेलामा, हामी तिनलाई भुलाउन खेलौना देखाउने गर्छौं। कुनै अमेरिकन खेलौना, कुनै ब्रिटीस खेलौना, कुनै चाइनिज, भारतीय, जापानीज यस्तै यस्तै खेलौनाहरु देखाएपछि त केटा'टी शान्त हुन्छन्। खेलौनासँग रङ्गिदै दंग पर्छन् अनि सेलाइसक्या दुध भात पनि खप्लाक-खुप्लुक्क खान्छन्।

केटा'टीलाई खेलौनासँगै खेलाउने बानी परेका हामी, आफू पनि अरुका हातले खेलाइने गरेको सायदै पत्तो पाइरहेका छौं। हामी हर पाइलामा अरुद्वारा खेलाइने गर्छौँ, हर पल दोस्रो पक्षद्वारा पेलिने र ठेलिने गर्छौँ। लाछारिन्छौं, पछारिन्छौं अनि माथि उक्लने नाममा बजारिन्छौँ पनि। यो गरिब मुलुकका अति गरिब जनता हामी साँच्चै नै अरुका खेलौना भएका छौं। कठपुतली, भाँडाकुटी यी सब हाम्रा पर्यायवाची नाम भैसकेका छन्।

हामी धेरै त नेताहरुबाट खेलिने गर्छौं। हामी बीचकै नेताहरु जसका हामी गुडिया हौं। हाम्रा काँधहरुका सिँढी बनाएर उनीहरु चढ्‍ने गर्छन् सत्तासम्म। हाम्रा आवाजहरुका शक्ति बोकेर उनीहरु कुर्लिने गर्छन् सदनमा। हाम्रा पाइलाहरु घरि धकेल्ने गर्छन् त घरि बाँध्ने गर्छन् उनै। हामी मात्र कठपुतली हौं, धकेलिने, बाँधिने, टुट्‍ने र फुट्‍ने कामका लागि बनाइएका अरुका निम्ति। घरि फलानो र ढिस्कानो पार्टी भन्दै कुर्लिन्छौँ हामी, घरि निण्र्ाायक आन्दोलन भन्दै सडक ओर्लने गर्छौँ हामी। स्वतन्त्रताका नाममा छुट्टै राज्यको माग गर्दै संघर्षमा होमिन्छौं, गोलीले भुट्टिन्छौं, कुट्टिन्छौं र छुट्टिन्छौं हामी। हामीलाई तिमीहरु सिंह हौं गर्ज भनेर फुर्काइन्छ, हामी मख्ख पर्दै सडक ओर्लेर गजक्क फुलेर गर्जने गर्छौँ। हाम्रो गर्जाइसँगै नेताहरुको गर्जो टर्ने गर्छ। पुन: तिमीहरु बिरालाहरु हौं भनेर हाम्रो कान फुकिन्छ। हामी म्याउँ म्याउँ गर्दै सडकबाट फर्कने गर्छौँ। आफ्नै अँध्यारा खोपीहरुमा। खेलौना न हौं हामी।

कानुन पनि हामीलाई मात्र लाग्छ। जसको नाम बैंकको कालो सूचिमा हुन्छ, उनै काला काला गाडीहरु चढ्‍छन्। जो चिप्ला चिप्ला कुरा गर्छन् उनैले चिल्ला चिल्ला कार चढ्‍छन्। हाम्रा काम कुरा खस्रा छन्‍, खानपिन खस्रै छ। त्यसैले हाम्रा निम्ति मात्र खस्रा कानुन बनेका छन्। कृषि विकास बैंकको सानो ऋणमा साँवाको व्याज, व्याजको स्याज र स्याजको प्याज थुप्रिदा हाम्रा घर खेत लिलाम हुन्छन्। हाम्रा साना साना अपराधहरुमा हामीलाई दण्डित गर्न अग्ला अग्ला जेलहरु बनाइएका छन्। तर ठूला ठूला अपराधीहरु, देशद्रोहीहरु, हामीमाथि गोली बर्साउनेहरु, हामीलार्इ हर दिन तर्साउनेहरुका निम्ति न कुनै जेल बनेको छ, न कुनै नेल बनेको छ। यिनका अघि मल्लिक, रायमाझी जस्ता आयोगले त घुँडा टेके भने हाम्रो के नै लाग्छ र? ती कानुनभन्दा माथि छन्। राजा हटे पनि यिनै रजौटाहरुले राज्य गर्ने छन् यो देशमा, हामीलाई खेलौना बनाएर।

यो देशै यस्तै छ। कोही यहाँ हिरो हिरोइन बन्ने नाममा नाङ्गिन्छन्। कोही यहाँ विदेशिने नाममा नाङ्गिन्छन्। कोही मूल्य वृद्धि खप्न नसकेर ढाडैसँग बाङ्गिन्छन्। सर्टिफिकेटका खातहरु जम्मा गरेर बेरोजगारीको सञ्जालसँगै झाङ्गिन्छन् यहाँ कोही। सबै खेलौना बनेका छन्, बनाइएका छन्। खेलौना पनि साइज साइजका छन्। टाइप टाइपका छन्। रङ्ग रङ्गका छन्। विभिन्न पक्षहरुबाट खेलाइने गर्छन्। विदेशी रिमोट कन्ट्रोलरबाट चल्ने खेलौनाहरु यी कहिले स्वदेशमा चटक देखाउँछन् त कहिले विदेशमा। मध्यम शिक्षित खेलौनाहरु यिनै ठूला खेलौनाहरुबाट खेलिने गर्दछन्। यिनीहरु पनि अशिक्षित खेलौनाहरुलाई प्रशिक्षित गर्न तल्लीन देखिन्छन्। मानौं यहाँ खेलौना बनेर खेलिने र खेलौना बनेर खेलाइनेहरुको ठूलो सञ्जाल बनेको छ। लहरो तान्दा पहरो गर्जिन सक्छ, पहरो गर्जिदा टहरो भत्कन सक्छ। यस्तै छ यहाँ खेलौना जिन्दगीहरु।

तपाई यी कुरा पढ्‍दा ङिच्च हाँस्न सक्नुहुन्छ। नाक खुम्च्याउँदै ओठ लेप्य्राउँन सक्नुहुन्छ। ठाडो आक्षेप भन्दै दिक्क मान्न सक्नुहुन्छ। पत्यार लागेझै गरी ठीक्क पार्न सक्नुहुन्छ। खेलौना न हौँ हामी। म यो लेख लेख्ने खेलौना। तपाई यो लेख पढ्‍ने खेलौना।

पोखरा ३, नदीपुर
हाल: त्रिवि कीर्तिपुर
sagarbhaba@gmail.com

पाठकपत्रको प्रभाव


झापाकी पत्रकार कविता शर्माले स्थानीय एक गरिब तथा दलित परिवारको पीडा गत वैशाख २४ को पाठकमञ्चमार्फ पोखिन् । उनको पत्र पढेपछि स्वदेशबाट मात्र नभई विदेशबाट समेत त्यो परिवारले सहयोग पायो भने कविताले स्याबासी । यो खुसीलाई उनले गत जेठ २६ मा पत्रमार्फ पोखिन् ।

यस्तै जापानकी टुर कन्डक्टर अकिको तानाकाले नेपाल भित्रिनेबित्तिकै विमानस्थल हाताभित्र आफू यौन शोषणमा परेको दुःखेसो ०६४ पुस ६ को पाठकपत्रमार्फ पोखेपछि प्रहरीले उक्त अपराधको आरोपमा ११ जनालाई पक्राउ गर्‍यो र विमानस्थलको सुरक्षामा कडाइ गरियो ।

अलपत्र बालिका उद्धारको खोजीमा



-भवसागर घिमिरे
काठमाडौं, मंसिर २७

एघार दिनअघि यहाँ ल्याउँदा गालामा हात राखेर पाइया, पाइया भन्दै रोएकी थिइ´, दिलशोभा श्रेष्ठले काखकी छ वर्षे ममतालाई देखाउँदै भनिन्– ´फकाउँदै हामी पनि धेरै रोयौं।´ बाउको पत्तो छैन। एक वर्षकी ममतालाई ठूलीआमाको घरमा छाडेर उनकी आमा पनि बेपत्ता भइन्। अर्काको घरका भाँडा माझेरै भए पनि पाँच वर्षसम्म हुर्काइन्। समस्या तब थपियो ,जब ठूलाबाले अर्की श्रीमती भित्राए।
ठूलीआमासँगै उनले पनि ठूलाबाको हरदिन गाली र पिटाइ सहनुपर्‍यो। ´जाँड खाएर आउँछ, मलाइ मार्छु भन्छ, यसलाई पनि।´ उनकी ठूलीआमाले रुदैँ आफूलाई भनेको दिलशोभा सम्झन्छिन्– मैले कसैगरी सकिन, तपाईं नै हेर्दिनुस् भनेर छाडिन्। उनी भन्दै थिइन्– अहिले त ठूलीआमाको पनि पत्तो छैन।
दिलशोभाले रविभवनस्थित आफ्नै निवासमा ´वृद्धा व्यवस्थापन तथा सामाजिक कल्याण गुठी´ एकल पहलमा चलाएकी छिन। पौष्टिक आहारको अभाव र मानसिक तथा शारीरिक तनावले थलिएकी ममता गुठीमा आउँदा खिरिली देखिन्थिन्।

´सेकेन्ड इनिङ होम´


-भवसागर घिमिरेकाठमाडौं, पुस ३
विष्णुमती पुलमुनि बेवारिसे अवस्थामा मिल्क्याइएकी मीना महर्जन, ४५, ले बाँच्ने आशा शायदै राखेकी थिइन्। १० वर्षअघि उनलाई दिसापिसाबको दलदलबाट उठाएर अस्पताल पुर्याउन खोज्दा जीउ बेर्ने एकसरो कपडा जुटाउनधरी धौधौ परेको थियो ´आमा´लाई। ´आमा नआइपुगेकी भए म त्यहीँ सडेर मर्ने थिएँ,´ मीनाले भावुक हुँदै भनिन्।

भक्तपुरकी आशामाया शिल्पकार, ८०, पनि छोरीको घरमा बूढेसकाल काट्दै थिइन्। छोरीको मृत्युपछि उनको बिचल्ली भयो। गाउँलेले आमालाई सम्झे, आमाले आशामायालाई।

धेरै बिजोगहरूमा संजोग बनेर पुग्ने गरेकी छन् आमा, अर्थात् दिलशोभा श्रेष्ठ। १० वर्षदेखि राजधानीको रविभवनमा सञ्चालित उनको ´वृद्ध व्यवस्थापन तथा सामाजिक कल्याण गुठी´ २७ जना पाका (एक नाबालकसमेत) का लागि जीवनको दोस्रो अध्याय बिताउने ´घर´ (सेकेन्ड इनिङ होम) बनेको छ। कोही मीनाजस्तै सडकबाट उठाइएका छन्, कोही आशामायाजस्तै घरबाट निकालिएर ल्याइएका छन्।
******

समस्याको जालोमा वृद्धाश्रम

भवसागर घिमिरे
काठमाडौं, मंसिर १९

कोठा अँध्यारा छन्, साँघुरा छन्। व्यवस्थितरूपमा सामान मिलाएर राख्ने ठाउँ नभएर खाटमुनि कोचिएको छ। सामान त के, मान्छे अट्ने कोठासमेत नभएर कोही प्लाइले पिँढी बारेर बसेका छन्, कोही भर्‍याङछेउ खाट राखेर ढल्किएका छन्। पशुपति वृद्धाश्रमको यो दृश्य हेर्दा लाग्छ, यहाँ बस्ने मात्र होइन, यो ठाउँ नै वृद्ध छ, रोगी छ। यही अवस्थामा जीवनको अन्तिम क्षण बिताइरहेका छन् २ सय ३९ वृद्ध–वृद्धा।

अस्ताउ147दो उमेरमा परिवारबाट अपहेलित भएर वा बेघर भएर आश्रम आइपुगेका यी वृद्ध–वृद्धाका लागि यहा147को जीवन पनि सहज छैन। भौतिक पूर्वाधारको कमी र भएको पनि रूग्ण अवस्थामा पुगेकाले ´बाँच्नै गाह्रो भएको´ उनीहरूको अनुभव छ।

डाँफेको सफल उडान

2008-12-07 16:20:34

भवसागर घिमिरे
काठमाडौं, मंसिर २२
पुल्चोक इञ्जिनियरिङ कलेजका विद्यार्थीद्वारा निर्मित सानो आकारको जहाज ´डाँफे´ ले शनिबार पोखरामा सफल उडान गरेको छ।
स्वदेशमै निर्मित पहिलो जहाज हेर्न पोखरा विमानस्थलमा लागेको उत्सुक दर्शकको भींडलाई रोमाञ्चित पार्दै रसियाली पाइलट अलेक्जेन्डर म्याक्सिमोभले चारपटक उडान भरेका थिए।
दुई सिट क्षमताको उक्त तीन पाङ्ग्रे जहाज हरेक उडानमा डेढ किलोमिटर दूरी पार गर्दै झन्डै एक मिनेट आकाशमा रहेको प्रत्यक्षदर्शी समुन्द्रले पौडेलले बताए। उनका अनुसार हरेकपटक जहाजले भुँइ छाड्दा विमानस्थलभित्र बाहिर बसेका दर्शकले ताली पिटेका थिए।
टोली प्रमुख विकास पराजुलीले डाँफे निर्माणका लागि दुई वर्ष लागेको बताए। ´उडानको स्वीकृति लिन झन् धेरै दौडधुप गर्नुपर्योउनले टेलिफोन सम्पर्कमा दैनिकीसँग भने, ´आज उडाइ छाड्यौं।´
´डाँफे´ निर्माणको अनुसन्धानमा उनीसँगै पुल्चोक इञ्जिनियरिङ्गका रमेश रानाभाट, गणेशराम सिंकेमान, बाबुराम खरेल, अनिल महर्जन, प्रशान्त मल्ल, रविन्द्र श्रेष्ठ दिपेश पोख्रेल गरी आठजनाको समूह खटिएको थियो।



राष्ट्रपतिले हँसाए बालिकालाई


राष्ट्रपतिलाई भेट्न पुगेका वालिकाहरुको अनुभव



भवसागर घिमिरे, काठमाडौं पुस ११

´राष्ट्रपति त साह्रै रमाइलो पो हुनुहुँदोरहेछ´, उनलाई भेट्न शीतल निवास पुगेकी कैलाली राजिपुरकी सोना केसी १७ ले भनिन्- भेटका क्रममा हामीलाई त्यस्तै अनुभव भयो।

राष्ट्रपति डा. रामवरण यादव सबैलाई नमस्कार गर्दै भर्याङ्ग ओर्लेपछि हरेक बालिकाका आँखा उनीतिर तानिए। कसैले त कानेखुसी गर्न पनि भ्याए। उनलाई हेर्न होचो कदकी सोना त कुर्चीबाट जुरुक्क उठ्नै पर्यो।

उनीसँगै तेह्र जिल्लाका ५० भन्दा बढी बालिकाले राष्ट्रपतिलाई आफ्ना कुरा सुनाए र उनका पनि सुने। ´पाँचौं राष्ट्रिय बालिका शान्ति शिविर (पुस ८ देखि १२)´ मा भाग लिन काठमाडौं पसेका यीमध्ये नेपालगंजकी सोकिया खान, १७ पनि आज दङ्ग थिइन्। ´मैले त भवन छिर्नुअघि घरमा आमालाइ एसएमएस गरें´, उनले हौसिँदै भनिन्- ´राष्ट्रपतिलाई भेट्दैछु भनेर लेखेको त उताबाट फोनै आयो।´ उनिले थपिन्- ´खुसी व्यक्त गर्ने शब्दै छैन।´


रविना श्रेष्ठ, १५ ले त राष्ट्रपतिमाझ साथीहरु मिलेर चार दिनमा तयार पारेको ज्ञापनपत्र पनि पढेर सुनाइन्। ´हामी नयाँ नेपालमा विद्यालय शान्ति क्षेत्र भएको हेर्न चाहन्छौं´, ´हाम्रो आँखामा नयाँ नेपाल´ शीर्षकका दुई पृष्ठ लामो ज्ञापनपत्र पढ्दै उनले थपिन्- ´हामीलाई नयाँ नेपालमा शान्ति र अहिंसाको शिक्षा चाहिएको छ।
´

१८ बुँदा समेटेको ज्ञापनपत्रले राजनीतिक दल नागरिक समाज र नेपाल सरकारलाई नयाँ नेपालमा बालबालिकाका अधिकारप्रति सचेत हुन सुझाव दिइएको छ।

ज्ञापनपत्र बुझ्दै राष्ट्रपतिले पनि धेरै बालिका भेट्न पाएकोमा खुसी व्यक्त गरे। ´अहिले देशको सार्वभौमिकता, अखण्डता र स्वतन्त्रता जोगाउनुपर्ने बेला छ,´ बालिकासँग राष्ट्रपतिले भने- ´यसमा तपाईहरुले पनि गहन भूमिका निर्वाह गर्नुहुन्छ भन्ने ठूलो अपेक्षा छ।´

लोकतन्त्र मजबुत बनाउन सबै पक्ष संयम भएर अगाडि बढ्नुपर्नेमा जोड दिँदै उनले प्रेस स्वतन्त्रताको कुरा पनि गर्न भ्याए । ´व्यक्तिगत स्वतन्त्रता कानुनी शासन अनि प्रेसको स्वतन्त्रता जस्ता मूलभूत अंगहरु दर्हिलो नभई लोकतन्त्र मजबुत हुन सक्दैन्´ उनले थपे- ´यसमा बालअधिकार त झन् छुटाउनै नहुने अंग हो।´ वर्तमान तरल राजनीतिक माहोलतर्फ संकेत गर्दै अन्तमा उनले भने- ´जिम्मेवार व्यक्तिहरुले सस्ता कुरा गर्नुहुँदैन। यसले लोकतन्त्र संकटमा पार्छ।´

राष्ट्रपतिबाट नयाँ बन्ने संविधानमा आफ्नो अधिकार सुनिश्चित हुने आश्वासन पाएपछि पोखरा लामाचौरकी वन्दना थापा १४ खुसी देखिन्थिन्। ´जब उहाँले हाम्रो मागका पक्षमा कुरा गर्नुभो खुसी त लाग्ने नै भो नि´- उनले भनिन्। ´के सिक्यौ त शिविरमा? ´ दैनिकीडटकमको प्रश्नमा उनकी साथी पुनम गुरुङ १५ ले भनिन्- ´हामीले आफ्नो समुदायमा शान्ति कायम राख्न के के काम गर्न सक्छौं, सबैसँग कसरी मिलेर बस्ने, संयम कसरी अपनाउने जस्ता ज्ञान सिक्यौं।´

मकवानपुरकी मेनुका बलामी १८, मा त यो शिविरले आत्मविश्वास जगायो रे। ´आफ्नो हक अधिकारका बारेमा अब म मज्जाले बोल्न सक्छु। आफूलाई मनमा लागेको कुरा अरुलाई सुनाउन सक्छु´- उनले आत्मविश्वाससाथ भनिन्। ´विकल्प ज्ञान तथा विकास केन्द्र´ ले जुराइदिएको यो शिविरमा बालिकालाई प्रयोगात्मक विधिबाट विभिन्न रचनात्मक अभ्यास गराइएकाले प्रभावकारी रहेको प्रशिक्षक अशोक शिवाकोटीले बताए। ´धेरै कुरा सिक्न पनि पायौं र राष्ट्रपतिलाई भेट्न पनि´ मुस्ताङको सदरमुकाम जोमसोमबाट ५ दिन पैदल हिँडेर पुगिने छोसेरबाट आएकी पेमा गुरुङ, १७ ले भनिन्- ´मैले त सबै साथीलाई मेरो गाउँका कथा पनि सुनाएँ´। उनी जस्तै पहिलो पटक काठमाडौं पसेकी उनकी अर्की साथी ढोका गुरुङ, १४ लाई पनि रमाइलो लागेको छ रे। नयाँ नेपालमा नयाँ राष्ट्रपति छन् भन्ने रेडियोबाट सुनेकी उनले भनिन्- ´रेडियोमा सुनेका राष्ट्रपतिलाई आज भेट्न पाएकमा पत्याउनै गाह्रो भइरहेको छ।´

पानी परेकाले चिसिएको मौसममा राष्ट्रपतिले सबैलाई चिया पिउन आग्रह गरेपछि त्यो अवसर पनि उनीहरुले चुकाएनन्। ´फोटो खिच्ने बेला भने उहाँले खुब हँसाउनुभो´, नेपालगंजकी सपना डाँगी, १६ ले राष्ट्रपतिका कुरा सुनाउँदै भनिन्- ´पहिला पहिला अर्कै क्यामेरा हुन्थ्यो, रेडी भनेर खिच्थे अहिले त डिजिटलले कतिखेर खिच्यो पत्तै भएन। उहाँले यसोभन्दा हामी निकै मजाले हाँस्यौं र उहाँ पनि।´

नानीबाबुकी सुरक्षा

–भवसागर घिमिरे

´भर्खर प्लेग्रुपमा भर्ना भएका बच्चालाई मनाउन धौं धौं हुन्छ,´ साना केटाकेटी भुलाउन सिपालु मेरी पपिन्सकी सुरक्षा रजक, २४, ले भनिन्– ´मनाउँदै गए विस्तारै उनीहरू खुसी हुन थाल्छन् र हामी पनि।´
उनले प्रिस्कूलमा पढाउन थालेको एक वर्षमात्र पुगेको छ। त्यसअघि यसमा न उनको कुनै अभ्यास थियो, न सोच। सबैले तालिम लिए काम पाइन्छ भनेपछि उनी यसमा हौसिएकी थिइन्। मन्टेश्वरी टिचिङ्गको तालिम लिइन् र काम पनि पाइहालिन्।

´अहिले त यिनीहरूसँगै दिन जान्छ,´ पछाडिबाट ग्याप्प समाउन आइपुगेकी आर्सिया श्रेष्ठ, ३, लाई देखाउँदै उनले भनिन्।

प्लेग्रुप पढ्ने १८ महिनादेखि ३ वर्षसम्मका यी केटाकेटी सुरुसुरुमा त रोएर कराएर हैरान गर्थे रे। ´कपाल तान्दिथे, कोपर्थे, चिच्याएर रिसै उठाउँथे,´ उनले आर्सियाको गाला मुसार्दै भनिन्– ´तर आफ्नो रिस आफैंमा लुकाएर यिनीहरूलाइ हँसाउँदै फकाउँथें। त्यही भएर पो अहिले मैले भनेको मान्छन्, पछ्याइरहन्छन्।´

फरकफरक वातावरणबाट हुर्केर आएका सानासाना बालबालिकाले बोलेको बुझ्न धेरैलाइ हम्मे पर्नसक्छ। तर सुरक्षा भन्छिन्, ´उनीहरूसँग भिज्दै गएपछि विस्तारै बुझ्दै गइन्छ। कसैले पानीलाई पापा भन्छन्, कसैले खानालाई। अब कोही भने पापा जाने भन्दै रोइदिन्छन्। अब पापा भनेको के हो, उनकै बोलीबाट बुझ्नुपर्छ,´ सुरक्षाले हाँस्दै भनिन्।


नभन्दै सानिब्य पराजुली ´टिचर धर (घर) जाने´ भन्दै टुप्लुक्क आइपुगे। सुरक्षाले ´पापा आएपछि जाने ल´ भन्दै सम्झाइन्।

दिनमा धेरै खेल्न पाइयो भने बच्चाहरू घर जाने कुरा पनि भुल्छन् रे। खेल्दै सिक्न पाइने अक्षरमा पनि उनीहरूको उत्तिकै चाख छ। पढ्न सिकाउने तरिका पनि रमाइलो। सुरक्षाको भनाइमा भर्ना हुनेबित्तिकै एबीसीडी घोकाउनु भनेको बच्चामाथि बोझ थोपर्नु हो। यसले नानीबाबुमा पढाइप्रति वितृष्णा बढाउँछ।

´पहिला उनीहरूको कुरा सुन्नुपर्छ। मनोभाव बुझ्नुपर्छ,´ सर्जिन श्रेष्ठको हातमा बल थमाउँदै सुरक्षाले थपिन्, ´खेल्न, नाच्न जे गर्न मन पर्छ त्यही तरिकाले सिकाउँदै लाने हो।´

कलम समाउन सक्ने बनाउन बच्चालाई हातका औंलाहरूको विभिन्न अभ्यास गराइन्छ। यसका लागि रमाइला विधि छन्। ´विभिन्न रङ्गका कागज डल्लो बनाउने, लाम्चो बनाउने गर्दै उनीहरू औंला चलाउनमात्र सिक्दैनन् कि ती कागजलाई चित्र रङ्गाउन पनि प्रयोग गर्छन्,´ सुरक्षाले भनिन्, ´यसमा उनीहरूले कुन रङ्गको नाम के भन्ने पनि जान्छन्।´

यसरी रमाइला क्रियाकलापसँगै लेख्न तथा पढ्न जानेका अक्षरहरू नानीबाबुले धेरै सम्झन्छन्। सुरक्षा भन्छिन्, ´घोकन्ते तरिकाले पढेकोभन्दा यस्तोबाट उनीहरू टाठो भएर देखा पर्छन्।´

सधैं मायामात्र गर्दा मात्तिंदैनन् त? ´नाई, उनीहरूलाई मायाले नै सिकाउनुपर्छ।´ रमाइलो प्रसंग निकाल्दै सुरक्षाले भनिन्– ´कहिलेकाहीँ नमानेको बेला ग्रिन चिल्ली (हरियो खुर्सानी) ल्याउँछु भन्यो भने सबै ज्ञानी बन्छन्।´

नानीबाबुसँग भुल्दा उनलाई दिन बितेको पत्तो हुँदैन। भोलिका दिनमा बालबालिकालाई संसार चिनाउने अक्षर चिनाउन पाउँदा सुरक्षालाई गर्व लाग्छ। ´उनीहरू पनि मलाई धेरै माया गर्छन्। कसैले दिदी भनेर बोलाउँछन् त कसैले टिचर,´ खुशी हुँदै सुरक्षाले थपिन्– ´म कामप्रति धेरै सन्तुष्ट छु।´

रमाइलो छ राइम




–भवसागर घिमिरे

´असारे महिनामा पानी पर्‍यो रुझाउने, एक्लो यो मेरो मन कसरी बुझाउने?´ तीन वर्षे सुश्रीन रजकले गीत बीचैमा रोके, ´भो याँ भन्दा त गाउँदिन्, लाज लाग्छ।´
उनको कुरा सकिन नपाउँदै ´राइम´ (बाल गीत) गाउन अघि सरिन् खुशी सरफ।
´टुइङ्कल टुइङ्कल लिटिल स्टार, हाव आइ वन्डर ह्वाट यु आर,
अप एबोभ द वर्ल्ड सो हाइ, लाइक अ डाइमन्ड इन द स्काइ´
राइम सकियो, सबैले ताली बजाए।
´मेरी पपिन्स् प्रिस्कूल´ थापाथलीको प्लेग्रुपमा पढ्ने सुश्रीन र खुशी दुवैलाई स्कूल रमाइलो लाग्छ। बिहान साढे नौ बजे स्कूल छिर्ने उनीहरू साढे दुईसम्म त्यहीँ रमाउँछन्।
´हामी पढ्छौं, नाच्छौं, खेल्छौं, चित्रमा रङ्ग भर्छौं, मीठो खाजा पनि खान्छौं,´ सुश्रीनले आफ्नो दिनचर्या बताउँदै गर्दा खुशीले थपिन्– ´हामी सबैको ´सिल्पिङ्ग टाइम´ (सुत्ने समय) पनि हुन्छ।´
यति धेरै काम कुन/कुन बेला गर्ने त?
´पहिला नाइन थर्टी (९ बजेर ३० मिनेट) मा आउने है, अनि प्रेपछि ब्रेकफाष्ट गर्ने,´ सानिब्य पराजुली आफ्नो बोल्ने पालो आएजस्तै गरी अघि सरे, ´त्यसपछि सर्कल टाइममा नर्सरीका दादादिदीसँग खेल्ने।´
सर्कल टाइमको ग्रुप एक्टिभिटीपछि उनीहरूलाई थकाइ लाग्छ रे। ´थकाइ लाग्ने भएर त हामी त्यसपछि क्लासमा गएर चित्रमा कलर गर्छौं, खेल्छौं, क्यासेटले जस्तै राइम गाउँछौं,´ सौर्य श्रेष्ठले आत्मविश्वाससाथ भने– ´एबीसीडी इएफजी, एचआइजेके एलएमएनओपी, एलएमएनओपीक्यु आरएसटी, युभीडब्लू एक्सवाइजेड।´
ए देखि जेड सम्म कन्ठस्थ सुनाउन सकेकोमा उनी गमक्क परे। सबैले उनको मुख हेर्न थालेपछि भने लाज मान्दै हातले मुख छोपेर मरीमरी हाँसे।
सौर्य बोल्न लजाएपछि अबको कुरा कसले भन्छ त? अर्पणा श्रेष्ठ बोल्न आतुर देखिइन्, ´क्लास टाइमपछि आउटडोरमा जान्छौं अनि लन्च खान्छौं।´
पछाडिबाट खुशी चिच्याइन्, ´हो त्यसपछि हामी सिल्पिङ्ग रूममा गएर वन आवर मज्जाले सुत्छौं। सिल्पिङ्ग टाइममा सप्पै चुप्प लाग्नुपर्छ,´ उनले चोर औंला ओठमा लाँदै भनिन्। त्यसपछि उनीहरूको फेरि क्लासवर्क गर्ने समय आउँछ। अनि, साढे दुईमा घर फर्कन हतार भइहाल्छ।
खुशीले घर जाने हतारको कुरा गरिरहँदा आर्सिया श्रेष्ठलाई भने आफूले रङ्ग भरेका चित्र देखाउनको हतार थियो। ´यी यो फिस, अक्टुपस, ह्वेलमा मैले रङ्ग भरेको,´ भित्ताको अर्को तस्विर देखाउँदै उनले भनिन्– ´यो छाता, फ्रक, टोपी छ नि, हो त्यसमा त तृष्णाले रङ्ग भरेकी।´
तृष्णा डंगोल मख्ख परिन्। कसरी हो नि कलर गर्ने? ´सजिलो छ,´ तृष्णालाई बोल्ने आँट आएछ, ´फिसमाथि ब्रसलाई लेफ्ट राइट, लेफ्ट राइट गरेर चलाए भैहाल्छ नि।´
ब्रसले मात्र हुन्छ? ´हैन, कलरमा पनि भिजाउनुपर्छ,´ उनले थपिन्। उनलाई नाच्न पनि राम्रो आउँछ रे, उनी आफैंले सुनाएकी।
अनुष्का सिजापती भने मीठो गीत गाउँछिन्। सर्जिन श्रेष्ठलाई कथा सुन्न मनपर्छ रे। ओजस्वी श्रेष्ठले कुनाबाट भनिन्, ´मलाइ त कार्टुन मनपर्छ।´ सुश्रीनले बीचैमा कुरो काटिहाले, ´त्यो त सबैलाई मन पर्छ नि।´ सबै गाइँगुइँ गर्न थाले, ´टम ए48ड जेरी, मिक्की माउस, पोकेम्यान्।´
´मलाई त बल खेल्न मन पर्छ।´ सर्जिनले भने, ´मेरो त घरमा पनि बल छ।´ सौर्य श्रेष्ठ कराए, ´मेरो घरमा पनि छ नि।´
घरमा गएर बल मात्र खेल्छौ कि क्या हो? मेरो यो प्रश्नमा उनले थपे, ´घरमा मामुले मीठो हाप्पु (खाना) ख्वाउनुहुन्छ अनि, अनि होमवर्क सिकाउनुहुन्छ। त्यसपछि बल्ल खेल्ने हो।´
सर्जिनका बाबाले स्पाइडर किनिदिनु भो रे। यो सुनेर सानिब्यले आफ्नो बाबाको तारिफ सुनाउन थाले, ´हाम्रो बाबाले त मलाई बोबाइल, घरी, क्याम्रा, लुगा के/के किन्दिनुहुन्छ के/के।´ सबैले आ–आफ्नो बाबाआमाको तारिफ गर्न थालेपछि हल्ला पो हुन थाल्यो।
त्यत्तिकैमा शिक्षिकाले सबैलाई लाम बस्न लगाइन्। लञ्च टाइम भएछ। ओजस्वी मख्ख परिन्, ´आज त बुधबार, फ्राइडराइस खाने। मलाइ मनपर्छ के।´ त्यसो भए सर्जिनलाई आइतबार र सुश्रीनलाई चाहिँ मंगलबार मनपर्छ रे। आइतबार भेज मःमः अनि मंगलबार आलु र सब्जीको तरकारी पाक्दो रै´छ। लन्च खाएपछि एकैछिन आराम अनि खेल्न पाइने। चिप्लेटी, पिङ्ग खेल्दा साह्रै रमाइलो हुने खुशीले बताइन्।
ल अब लञ्चमा जानुअघि एउटा राइम सुन्न पाए हुन्थ्यो नि कसले गाउने? अहिले भने कोहीभन्दा कोही कम निस्केनन्। मेरो प्रश्न भुइ झर्न नपाउँदै ताली बजाएर सबैले गाउन सुरु गरिहाले–
रो रो, रो योर बोट, रो रो, रो योर बोट, जेन्टल्ली डाउन द स्ट्रिम,
मेर्रिली मेर्रिली मेर्रिली मेर्रिली, लाइफ इज लाइक अ ड्रिम।

मासुमकी क्रुर आमा रमाइन् केटाकेटीसँग


भवसागर घिमिरे

काठमाडौं, पुस २२–
भारतीय अभिनेत्री शबाना आजमीको नाउँ लिनेबित्तिकै धेरैलाई क्रुर आमाको सम्झना आउँछ। त्यस्ती आमा, जसले एक अबोध बालकलाई रुवाएको सम्झेर आज पनि धेरैका आँखाबाट आँशु झर्छ। सौताको छोरालाई असीमित घृणा गर्दै कलिलै उमेरमा घर छाडेर ´होस्टल´ बस्न बाध्य तुल्याउने त्यस्ती आमा हुन् शबाना।


हो म कुरा गर्दैछु चचित निर्देशक शेखर कपुरको सम्वेदनशील सिनेमा ´मासुम´ को, जसमा आजमीको जीवन्त अभिनयले क्रुर सौतेनी आमाको भूमिकालाई अमर बनाएको छ। आजको युवा पुस्ता उनलाई ´फायर´, ´गडमदर´ वा विभिन्न वृत्तचित्रसँग जोडेर हेर्लान्, तर अलि पाकाहरूलाई सोध्ने हो भने शबाना भन्नेबित्तिकै दिमागमा ´मासुम´ फिल्मकै झल्को आउँछ।

किन्न नपाइने पुस्तक प्रदर्शनी



भवसागर घिमिरे
काठमाडौं, मंसिर २४

तपाईं मजदुर आन्दोलनसँग जोडिएका पुस्तकको खोजीमा हुनुहुन्छ वा वातावरणीय न्यायबारे प्रकाशित सामग्री? कि मानव अधिकारसम्बन्धी जान्न खोजिरहनुभएको छ? पुस्तकका निम्ति पसल र संघसंस्थापिच्छे धाउँदा दिक्क लागेको हुन सक्छ। त्यसो हो भने एउटा मौका आउँदैछ।

विभिन्न गैरसरकारी संस्थाले प्रकाशित गरेका पुस्तकको प्रदर्शनी मंसिर २६ देखि ३० सम्म राष्ट्रिय सभागृह, काठमाडौंमा हुँदैछ। हिमाल एसोसियसन र मार्टिन चौतारीले आयोजना गर्ने ´वैकल्पिक पुस्तक प्रदर्शनी´ मा २८ प्रकाशकले भाग लिनेछन्।

´राज्य पुनर्संरचना´ माथि बहस

भवसागर घिमिरे, काठमाडौं, पुस २१
नेपालको भावी राजनीतिक व्यवस्था कस्तो बनाउने? अर्थतन्त्रको स्वरूपमा के के परिवर्तन ल्याउने? नयाँ राज्य व्यवस्थामा देशको बहुल संस्कृति कसरी समेट्ने? समग्रमा, नयाँ नेपालको ढाँचा कस्तो हुने?
सत्ताको जोडघटाउमा व्यस्त राजनीतिक दलले यस्ता प्रश्नको जोडघटाउमा कमै चासो दिएका छन्। तर हिजो (आइतबार) को चिसो मौंसममा नयाँ नेपालको खाकाबारे बौद्धिक जगत तातो बहस गर्न चुकेन। कार्यक्रम थियो– ´राज्य पुनर्संरचना´ माथि छलफल।
कार्यक्रममा राजनीतिशास्त्री कृष्ण खनाल, अर्थशास्त्री झलक सुवेदी र मानवशास्त्री मुक्तसिंह तामाङद्वारा संयुक्तरूपमा लिखित पुस्तक ´राज्य पुनर्संरचना : राजनीतिक, आर्थिक र सांस्कृतिक दृष्टिकोण´ माथि समालोचक सिके लालले टिप्पणी गरेका थिए।

पुस्तकमा बाल आँखा




भवसागर घिमिरे, काठमाडौं, माघ २९- दिनको १४ घण्टे लोडसेडिङमा बालबालिकाले टिभीमा कार्टुन हेर्न पाउने कुरै भएन। यही मौका हो पुस्तक पढ्न बानी बसाल्ने। यसका लागि पुस्तक खोज्न उपयुक्त अवसर दिएको छ राष्ट्रिय सभा गृहमा चलिरहेको साझा प्रकाशनको पुस्तक प्रदर्शनीले।

एलाएन्स एकेडेमीका प्रदीप घिमिरे यो मौका चुकाएनन्। उनी आइतबार र सोमबार लगातार पुस्तक प्रदर्शनीमा भेटिए नयाँ बाल पुस्तक खोज्दै।

´म बस्ने नजिकै हो, हिजो पनि आएको थिएँ,´ कक्षा ६ पढ्ने घिमिरेले काखीमा बाल पुस्तक च्याप्दै भने, ´भोलि पनि आउँछु।´

उनी अमित खड्का र अमिता खड्कालाई साथ लिएर आएका रहेछन्। ८ वर्षे अमिताले विजय चालिसेको ´हराएको मूर्ती´ बालकथा संग्रह समाउदै भनिन्, ´आज यो पढेर सक्छु।´

कोही भाइबहिनी एक्लै आएका थिए, कोही अभिभावकसँग। ´मैले त भकुल्लेको साथी किनें,´ सानी बैनी आनासुया राई आमातिर फर्केर हाँसिन।

स्विस विकास नियोग, काठमाडौंमा कार्यरत उनकी आमा विमलाले छोरीलाई मुसार्दै भनिन्, ´नानीले आफैं रोजेकी हो यो कथाको किताब।´

पार्टी कार्यालयमा सफल प्रेम


भवसागर घिमिरे -

घरमा उनको मोबाइल खोसियो। ल्यान्डलाइन लक गरियो। चार भित्ता उनका निम्ति चार पहरा भए। गाउँमा दुईको प्रेमसम्बन्ध एक कान, दुई कान, मैदान भयो।

´न घाम लागेको पत्तो हुन्थ्यो, न जुन आएको,´ देवी पराजुली, २१, ले सुस्ताउँदै भनिन्– ´पन्ध्र दिन त तगारोबाट एक पाइला बाहिर टेकिन।´



उनको घर हो नवलपरासी, प्रगतिनगर। दुई भाइ र चार दिदी–बहिनी बीचकी माइली छोरी। वीरेन्द्र स्मृति बाल क्लबमा २०५८ ताका उनले बालापन थाल्दा टोलमै अर्को बाल क्लब खुल्यो। नाम, अमर बाल क्लब। त्यसमै रम्दै थिए उनका जीवनसाथी भोजराज विश्वकर्मा (भोजु)।

२०६० को कुरो हो। अमरमा आयोजना भएको सांस्कृतिक कार्यक्रममा भोजुको आग्रहअनुरूप देवी र उनका बहिनीले भाग लिए। ´हामीलाई अर्को क्लबमा गएको भन्दै वीरेन्द्र स्मृतिका साथीले बैठकमा बोलाउन छाडे,´ देवीले भनिन्– ´त्यसपछि हामी अमरमै काम गर्न थाल्यौं।´

गाउँमा क्लबले राम्रो छवि बनाउन थाल्यो। क्लबसँगै देवी र भोजुको नेतृत्वमा पनि निखार आउन थाल्यो।

यस क्रममा भोजुका केही साथी गएर देवीलाई दिनदिनै भन्दारहेछन्, ´भोजुले तिमीलाई मन पराउँछ नि।´ उनले पनि विस्तारै पत्याउन थालिन्। ´मैले भन्दै नभनेको कुरा उनीसम्म पुग्छ भन्ने के थाहा?,´ आफ्नो प्रेम सम्बन्धबारे गफिंदै भोजुले भने।

देवकोटाका कृतिमाथि चौतारीमा चर्चा



भवसागर घिमिरे, काठमाडौं, पुस ६

के देवकोटाका कविता प्रदर्शनकारी चेतनाबाट प्रभावित भएका छन्? उनले नेपाली साहित्यमा कस्तो संस्कृति अघि सारे? उनी र उनका कृतिलाई वर्तमान परिप्रेक्ष्यमा नयाँ पुस्ताले कसरी हेर्ने?
´हरेक विषयलाई फरक प्रस्तुति र शैलीमा कवितामा उतार्ने क्षमता देवकोटामा थियो,´ मार्टिन चौतरीद्वारा आइतबार साँझ आयोजित ´पुस्तकमा युवा सरोकार´ विषयक छलफलमा यसको उत्तर खोज्दै त्रिभुवन विश्वविद्यालय, केन्द्रीय अंग्रेजी विभागका शिव रिजालले भने।
´पाठकलाई पट्यार हुन नदिन उनले प्रायः कविताका हरफैपिच्छे अनेक मोडहरू दिएका छन्। क्यामराले भ्याउन नसक्ने दृश्य बोकेर उनका कविता प्रस्तुत हुन्छन्।´

पुस्तकतिर सोझिएका आँखा



भवसागर घिमिरे, काठमाडौं, फागुन १-

´पुरानो कोट लगाउ नयाँ पुस्तक किन´

हुलका हुल मान्छे ओइरेको देख्दा हेनरी डेभिड थोरोको यो सन्देश धेरैले सुनेझैँ लाग्छ। स्थान, काठमाडौंको राष्ट्रिय सभागृह। साँझको समय। प्रवेश गर्नेबित्तिकै बाँयापट्टिको भुईभरि ´गरिमा´ मासिकका पुराना अंक छरिएका देखिए। गरिमावरिपरि मान्छे पनि छरिएका। घारमा माहुरी जस्तै। हातमा सयका दुई, दसका तीन र पाँचका एक नोटसहित खुजुरा डलर समातेका आत्माराम घिमिरे मख्ख छन्, पुराना गरिमामा सोझएका तन्नेरी आँखा देखेर। मोल सोध्दै गरेका एक युवतीतर्फ फर्केर उनले भने, ´एक लगे पाँच, तीन लगे दस रुपैयाँ।´

सन्दर्भ हो, साझा प्रकाशनले आयोजना गरेको ´बृहत् पुस्तक प्रदर्शनी–२०६५´ को। मुल प्रवेशद्वारमा झोला राखेर भित्र गएपछि मान्छेको ठेलमठेलमा तपाई पनि एक हिस्सा बन्नुहुनेछ। थुप्रै पुस्तकप्रेमी भेटिने प्रदर्शनीबाट रुकुमका महेन्द्र खड्का भने बाहिरिने तर्खरमा थिए।

रङका अनेक रङ




भवसागर घिमिरे
´ऐया!´ ´मरेस्!´

बत्तीपुतलीकी बिनिता कार्की थापाथली क्याम्पसअगाडि लोलाको चोटमा परेपछि चिढिन थालिन्, ´को मुर्दार हो, लोला हान्ने?´

खै, को हो को? पत्तै पाइनन् उनले। कुर्ताको अघिल्लो भागै भिजाउनेगरी जिउ अँगाल्न आएको पानी टक्टकाउँदै सिंहदरबारतिर सोझिनुको विकल्प रहेन। उनी बाटो लागेपछि एक हुल केटाहरू हाँस्दै क्याम्पसबाहिर निस्किए।

होली आउनु कहिले हो कहिले, काठमाडौँ भने पहिल्यै निथ्रुक्क भिज्न सुरू गर्छ। खासगरी महिलाहरू यो भिजाइमा बढी पर्छन्। कार्कीलाई सायद यसको पत्तो थिएन, वा भएर पनि त्यसबाट जोगिने प्रयासमा उनी असफल भएकी हुन सक्छिन्। योबेला सफल हुन्छन् त केवल पिच्कारी बोक्ने, पानीका पोका, रङ खेलाउने केटाकेटी अनि तन्नेरीहरू। होलीलाई लोलाको पर्यायका रूपमा बुझ्ने उनीहरूलाई पर्वको महत्वबारे भने पत्तो हुन्न।

रङसँगको प्रेम




-भवसागर घिमिरे
ठाउँअनुसार फागु पूर्णिमा, होली, फागुवा, होरी जे नाम दिए पनि होली निकै प्रचलित पर्व हो। वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावको सन्देश लिई आउने यो पर्व फागुन शुक्ल पूर्णिमामा मनाइन्छ।

होलीबारे हिन्दुशास्त्र
- सत्ययुगमा दैत्य हिरण्यकश्यपुकी बहिनी होलिकाले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी हुन्छिन्। दाजुको आज्ञाअनुरूप विष्णुभक्त भदाहा प्रह्लादलाई मार्ने उद्देश्यले दन्किरहेको आगोमा पस्छिन् होलिका। प्रह्लादलाई आगोले कुनै असर पार्दैन तर त्यस आगोबाट होलिका स्वयं भष्म हुन्छिन्। यसरी शक्तिको दुरुपयोग गर्ने होलिका भष्म भएको उपलक्ष्यमा होली खेल्ने परम्परा रहेको मानिन्छ।
– द्वापर युगमा कंशले बालक कृष्ण भगवानको वध गर्न राक्षसनी पुतनालाई पठाएका हुन्छन्। कृष्णलाई आफ्नो विषाक्त स्तनपान गराउन लाग्दा भगवानको शक्तिका कारण पुतनाले आफैं प्राण त्याग गर्नुपरेको घटना हिन्दुशास्त्रमा पढ्न पाइन्छ। त्यसै मृत शरीरलाई जलाएर त्यति बेलाका गाउँलेहरूले खुसीमा फागु उत्सव मनाउन सुरु गरेको धार्मिक मान्यता छ।

रङको पर्व

हिन्दु बाहुल्य नेपाल र भारतमा मात्र नभएर अमेरिका, स्लोभाकिया, अफ्रिका, चीनलगायत विश्वका अन्य देशमा पनि रङको पर्व मनाउने गरिन्छ। म्यानमारमा टिगुला, फ्रान्समा गाचो, चीनमा च्वेज, अफ्रिकामा बोया, अमेरिकामा होवो, स्लोभाकियामा बेलियाकोनेन्से, जर्मनीमा कार्निवाल, पोल्यान्डमा असिना, जापानमा दे मोन्जी ओकुरिबी, इटलीमा रेडिका पर्वका नामले रङ खेलिन्छ। यो परम्पराले रङसँगको मानव प्रेम प्रस्तुत गर्ने विश्वास गरिन्छ।

गाँज्ला है गाँजाले!


बसन्तराज कुँवर

शिवरात्रिले वातावरणलाई छपक्कै छोपिसकेको छ। बाबा र सन्तहरूसँगै थुप्रै युवायुवती यतिखेर गाँजामा रमिरहेका होलान्। तर गाँजा चाख्ने सुरमा लत नै बस्न गयो भने?

लागूऔषधमध्ये उपल्लो श्रेणीअन्तर्गत पर्छ गाँजा। यो उत्तेजना ल्याउने खालको नभएर लठ्याउने लागूऔषध हो। मुख्यतः दुखाइ कम गर्ने औषधिका रूपमा विश्वमा यसको प्रयोग करिब ५००० वर्षअघि सुरु भएको मानिन्छ। तर यसले साँच्चीकै दुखाई कम गर्ने भन्दा पनि शरीरका तन्तुहरूलाई दुखेको अनुभूति गर्न नसक्ने बनाइदिन्छ।

पुराना पुस्ताका मानिस खेतबारी गोड्ने, भारी बोक्ने, पर्खाल लगाउने जस्ता शारीरिक बल पर्ने काममा दिनभर व्यस्त हुन्थे। उनीहरूले जिउको दुखाइ बिर्सन साँझमा सुत्नुअघि गाँजा सेवन गर्ने गर्थे। जोगी तथा सन्तहरू चिसो वा खुला क्षेत्रमा सहजै बस्न, एकान्तमा समय बिताउन र पारिवारिक तथा अन्य झन्झट भुल्न शिवजीको प्रसादका नाममा गाँजा सेवन गर्छन्। जी, ग्रास, हर्ब, पट, बलन्ट आदि नामले पनि गाँजा सेवनकर्तामाझ चर्चित छ। पछिल्लो समयमा नेपालमा कक्षा ८ देखि १२ सम्मका विद्यार्थी बढी मात्रामा यसको शिकार भएका छन्।

बालबाटिकाको रमाइलो


काठमाडौं– वरिपरि खेत, बीचमा सुन्दर सानो छाप्रो। भित्तामा नौलानौला चित्र। बिहान ९ बजेपछि केटाकेटीको ओइरो लाग्न थाल्छ। कोही कराउन थाल्छन्, कोही रुन। डेढदेखि चार वर्षसम्मका केटाकेटी सम्हाल्न तम्सिएकी रत्नेश्वरी श्रेष्ठ, ४२, लाई एकछिन त हम्मेहम्मे पर्छ। उनी थपडी मारेर गीत गाउन थाल्छिन्–
फूलको आँखामा फूलै संसार, काँडाको आँखामा काँडै संसार,
झुल्किन्छ है घाम...

एक/दुई गर्दै केटाकेटीहरू सुक्सुकाउन बन्द गर्छन्। गीत गाउँदा पनि चुप नलागे उनी नाच्न थाल्छिन्। उनीसँगै विष्णुमाया महर्जन, ४०, पनि नाच्न तम्सिन्छन्। अनि त केटाकेटीलाई रमाइलो हुने नै भयो। कोही थपडी मार्छन्, कोही नाच्छन्। त्यहाँको माहौल नै रमाइलो बन्छ।

पाँगा चिखुँ कीर्तिपुर–१० मा रहेको ´सेतो गुराँस बालबाटिका´ केटाकेटीको रमाइलो विद्यालय बनेको छ। यहाँको पढाइ सकेकालाई अरू विद्यालयले कक्षा १ मा भर्ना लिन्छ। स्थानीय समुदायको पहल र बालबालिकाको क्षेत्रमा काम गर्ने सेतो गुराँसको सहयोगमा २०५६ सालमा स्थापना भएको बाटिकामा श्रेष्ठ र महर्जनले काम गर्न थालेको ८ वर्ष भइसक्यो।