Sunday, June 22, 2014

ज्यानको माया सबैलाई हुन्छ !

एक महिना अघिको कुरा । बिजुली बजार, काठमाडौंको पुल पार गरेर नयाँ बानेश्वर चोक तिर म स्कुटर अघि बढाउँदै थिएँ । नयाँ बनेको देब्रे तर्फको पिच तिर अघि बढेँ । औषधि व्यवस्था विभागको अघिल्तिर पुगेपछि ठूलो खाल्डो खुल्लै रैछ, हेर्दै खंग्रङै भएँ । यसै त नयाँ सडक भनेर स्पिड धेरै नै हुन्छ साधनको । त्यसमाथि सडककै बीचमा यस्तो ठूलो खाल्डो ! खाल्डो भित्र फलामे छडहरू मान्छेको भुँडी उनुँला झै गरेर मुख आँ गरेर बसिरहेका छन् । खाल्डो कुर्न आडैमा जम्मा एउटो ढुंगो छ, त्यो पनि हात्तिको मुख जिराले छेकेजस्तो । मनै त्यस्सै अमिलो भयो । त्यस दिन सडक विभागलाई सराप्दै बाटो लागेँ ।

***

गएको हप्ता म केही इलेक्ट्रोनिक सामान किन्ने शिलशिलामा त्यही आसपासका पसल चाहर्दै थिएँ । फर्केर आउँदा सोही खाल्डो नेरैबाट कुद्नु पर्यो । त्यहाँ कुनै संकेत थिएन । जो कोही पनि सुरै सुरमा आउँदा बेसुरमा खसेर घाइते हुन सक्थ्यो । ज्यानै जान सक्थ्यो । मनै अमिलो भयो । स्कुटर एकैछिन साइड लगाएँ । यताउता हेरेँ । औषधी व्यवस्था विभागभित्र ठूलो रूख देखेँ ।

‘त्यहाँको रुखको केही हाँगा काटेर यसमा गाड्दिनु पर्यो दाई,’  व्यवस्था विभागका गार्डलाई भने, ‘तपाइकै आँखा अगाडी कोही ऐलै नै दुर्घटना सिध्दिन सक्छ ।’ गार्ड मुसुक्क हाँसे मात्र । लाग्यो, उनले कुरो बुझे, केही गर्नेछन् । म फेरी आफ्नै काममा हिडेँ ।

***

आज पनि त्यही बाटो आउँदै थिएँ । खाल्डो ज्यूँ को त्यू नै थियो । बस एउटा ढुंगोले खाल्डो कुरिरहेको थियो । पहिला त खाल्डोका वरपर अलिकति झार उम्रेको झै लागेको थियो । सफा गर्ने नाममा त्यो पनि उप्काएछन् । अब भएन भनेर स्कुटर साइड लगाएँ । वरपरका ढुंगाहरू बटुलेर घेरा बनाउन थालेँ । सडक खनेर थुप्राइएका ढुंगाहरू वरपर नै धेरै थिए । एक एक गर्दै ढुंगा ल्याएर घेरा बनाउन थालेँ । केही बेरमै कमसेकम केही देखिने गरेर घेरा बन्यो । व्यवस्था विभागकै पर्खाल छोएर उम्रेका केही झार उप्काएर खाल्डो आडमा अड्डाएँ पनि । मैले त्यस्तो गर्दा बाटोमा हिडेकाहरूले एकपटक अडिएर हेर्न थाले । केहीले के गर्नु भएको भनेर सोधे पनि । यहाँ यस्तै छ के गर्ने भनेर बाटो पनि लागे । केहीले पर पर सम्म पुगेर फर्केर केही कुरा गरेको जस्तो गरे । जे होस् दश मिनेट भित्र नै केही ढुंगाहरू उठाएर घेरा बनाएँ । सडक छेवैको पान, मिठाइ बेच्न बसेका दाईसँग पानी मागेर हात धोएँ । एकैछिन सडक छेउबाट नियाँले पनि । अघि सम्म तिब्र गतिमा आउने ट्याक्सी, बाइकहरू अब भने परैबाट बिस्तारै छेउ लगाएर आउन थाले । सोचेँ, यति भएपछि दुर्घटना हुने सम्भावना पनि केही टर्नेछ । आज भने मन खुसी बनाएर फेरि बाटो लागेँ ।

अब त्यहाँ ढाक्ने ढकनी बन्नु अघि, सडक विभागको कुनै मान्छे आएर सफा गर्ने नाउँमा त्यहाँका ढुंगा नउठाउन ! बुझुन, सबैलाई ज्यानको माया हुन्छ ।

Friday, June 20, 2014

हामी सक्छौँ !

दुई उत्तीर्ण भएपछि कति कक्षा पुगिन्छ ? सायद तिम्रो उत्तर तीन हुन्छ । तर यो शैक्षिक सत्रमा उनी दुईबाट सोझै चार कक्षा उक्ले । डडेल्धुराको भाटागाउँमा १५ वर्षअघि जन्मेका नरेशराज भट्टराईको कुरा गर्दैछु म । उनी जन्मेको बाईस दिनमा बलिरहेको टुकी उनीमाथि पल्टियो । आगोले दाइने हातको अधाभाग मात्र हैन अनुहारपनि जल्यो । ‘त्यतिबेला मैले जीवनमा केही गर्न सक्दिन भनेर सबैले हार खाइसकेका थिए’ भक्तपुर महेश्वरी स्थानको स्वर्ग बालगृह आइपुगेका भट्टराईले भने, ‘अब म केही गरेर देखाउने छु ।’

खेलकुदमा विशेष चाख राख्ने भट्राई पढाईमा पनि तगडा छन् । उनको विद्यालय भक्तपुरकै कम्युनीकेटीभ इंग्लिस स्कुल हो । ‘गणित र विज्ञान विषय मन पर्छ’ उनले खुशीहुँदै भने,‘मैले टप पनि गरेको छु ।’
सबैको झै उनको जीवनमा पनि धेरै अफ्ठ्यारो परिस्थिति आए । जती अफ्ठ्यारा आइपरेपनि उनले हरेश भने खाएनन् । भट्राई आठवर्षको छँदा उनका बाबा बित्नु भयो । दुईभाइ, दुईदिदी र एक बहिनी बिचका माहिला सन्तान उनी एकै हातले भएपनि गाउँमा हलो जोत्ने गर्थे ।  दुईवर्ष पहिलेको कुरो । जलेको हात, मुहार जँचाउन मामासँग उनी बनेपा अस्पताल आएका थिए । त्यसैबेला उनको सम्पर्क कृष्ण खैटुसँग भयो । खैटुको सहयोगमा उनी भक्तपुर आइपुगे ।

सोही गृहमा बस्दै आएकी बहिनी सीर्जना भण्डारीको घर भोजपुर हो । पाँच वर्षे सीर्जनाका दुवै खुट्टाका पैताला आगोले डढेका छन् । पहिला त उनी राम्ररी हिड्न सक्दैनथिईन् । तर जुक्ता लगाएर अडिने बानी पारेपछि उनी हिडडुल गर्न सक्ने भएकी छिन् । भण्डारी धेरै राम्रो विद्यार्थी भएकी कम्युनुकेटिभका प्रिन्सिपल जनी कुमार राई बताउँछन् । ‘चित्र बनाउन, मेमेरी गेम खेल्न, गीत सुन्न र गाउँन मन पर्छ’ एक दाई र एक बहिनीबिचकी भण्डारीले खुसी हुँदै भनिन् ।
सीर्जना जस्तै आफू पनि पढ्छु र बढ्छु भन्ने दश वर्षे तारङ् लामाले सायदै सोचेका थिए । रूपक मेमोरियल ईन्टरनेशनल हाईयर सेकेण्डरी स्कुल, कुपण्डोल पढ्न पाउँदा उनी दङ्ग छन् ।

बन्द, अब नहोस् !



ठूलो सभामा ‘पररर ताली बज्यो !’

यी ताली कुनै ठूला नेताले भाषण सुनेर बजाईएका भने हैनन् । सानी नानी पारूल राईले बोलेको साह्रै छोटो र मिठो मन्तव्य सुनेर तीनसय बढी दर्शकले बजाएका थिए । तिमीहरूलाई कौतुहल लाग्ला राईले के भनिन ?

‘हामीले पढ्न, लेख्न, खेल्न पाउनु पर्यो । विद्यालय बन्द हुनु भएन, दिक्क लाग्छ । सरमीसले पिट्नु भएन, दुख्छ । बस् यत्ति ।’

कार्यक्रम राजधानीमा चैत महिना भएको थियो । त्यहाँ देशका मन्त्री र अन्य ठूलाठूला व्यक्तिसँगै राई पनि मञ्चमा उक्लेकी थिईन् । राईले बोलेका यी थोरैकुरामा उनको धेरै भोगाइ र सन्देश लुकेको थियो ।

सिन्धुलीकी उनी चावहिल काठमाडौंको एक घर काम सघाउँछीन् । साथै समय मिलाएर अनौपचारिक शिक्षा पनि लिँदैछिन् । अनौपचारिक शिक्षा भनेको विद्यालय जान नसक्नेले लिने छुट्टै कक्षा हो ।