Monday, February 22, 2016

बा, म स्कुल छाड्दिन


–जानुका बस्नेत

कोठा छ, दिउँसै बत्ती बाले मात्र उज्यालो हुन्छ । घरको सम्झना केही भाँडाकुँडा छन् । तपाइको सम्झना, सिरानीमा फोटो एल्बम छ । तपाई बोल्नुहुन्न, फोटो हेरेर म मात्र एकोहोरो बोल्छु । तीज आथ्यो, नछोइ गयो । दशैं, तिहार आउँदैछन, नछोइ जान्छन । परिवार नभएपछि चाडपर्व आए गएको थाहै नहुँदोरै’छ । जती बुझ्नी हुँदै गएँ दुःखी हुँदै गइदो रै’छ । बा, तपाइ बितेपछि बिस्तारै घर उजाडियो । परिवार उजाडियो । हामी सबै छिन्नभिन्न भयौं ।

***
१७ वर्ष अघि । मेलम्चीको बबुवा । म जन्मेपछि कसैले बाँच्छे भन्ने आश राखेनन् रे । अघिल्ला वर्षहरूमा जन्मेका दुई भाई र एक दिदी जन्मेको केहि दिनमै बितेछन् । आमा कपाल मुसार्दै भन्नुहुन्थ्यो, ‘सप्पैले मर्छ भन्थे तर तँ बाँचिस् ।’ त्यसको दुई र चार वर्षको फरकमा जन्मेका बहिनीहरू रिता र गीता पनि बाँचे । बाआमा निसन्तान हुनबाट बच्नु भो, हामीले संसार देख्न पायौं ।