Thursday, April 23, 2015

नमरिन्जेल कुमारै हुन्छस्

राजकुमार बस्नेत

रट्टेको रट्यई गर्नु पर्ने । भट्ट्याको भट्याइ गर्नु पर्ने । जाँच आउनु अघि मेरो पसिना छुट्थ्यो । पढ्न, अहँ रुचि लाग्दैन्थ्यो । ७ कक्षा पास गरेपछि भने मेरो विद्यालयको पढाइले पुर्ण बिराम लियो । काठमाडौंको फर्पिङ गाउँ । घरमा हुँदा खेतबारीको काममै रमाउँथेँ । मौसम अनुसार काउली, बन्दा, इस्कुश, सिमी गाँजर यस्तै त हो । बारीमा तरकारीको कमी हुन्थेन । मेहनत भने मज्जैले गर्नु पथ्र्यो । समस्या नपर्ने त कहाँ थियो र ? तरकारीमा रोग भने के के हुन के के लाग्नी । के गर्नु पर्छ पत्तो हुन्थेन । पढेर जानेका मानिसहरू कम थिए, परेर जानेका धेरै । वरपरका काका काकी दाइ दिदीलाई गुहार्न जानु पथ्र्यो । ‘मेरोमा केही समय काममा आइजा सिकिहाल्छस् नी’ उनीहरू सकेसम्म कुरा छोट्याउँथे । मलाई काम गराउँथे । लुरुलुरु उनका बारीमा सघाउन जान्थेँ, केही सिक्थेँ पनि । ‘लु यति औषधी हाल चट भैहाल्छ’ उनीहरूले भनेपछि भने म हनुमानले सञ्जिवनी बुटी भेट्टाएजस्तो फुरुँङ्ग हुन्थेँ । झोल, धुलो के के हुन के के, लगेर हाल्थेँ । केही सयममा तरकारी हलक्कै हुन्थे । म दंग । बा आमा, छक्क । तै पनि मन भने मान्थेन, ‘आफूले राम्ररी नबुझेपछि अरुको भर पर्नु पर्ने नै रैछ’ । विद्यालय छाडिसकेपछि भने बाहिरी किताब नै किन नहोस्, मलाई केहि पढ्नु पर्छ, बुझ्नु पर्छ भन्ने दिमाग पलाउन थाल्यो ।
मेरा गाउँमा केही मिल्तीका साथी थिए । २०६६ सालको कुरा । म १७ वर्षको अल्लारे थिएँ । ‘खेतीबारीमा मात्र कति काम गर्नु जाइर गर्नु पर्छ’ जाडोमा आगो ताप्दै गर्दा सुन्दर लगायतका साथीहरूले कुरो निकाले । ‘जाइर खायो भने अरुले हेर्ने नजरै बेग्लै नी’ सुजनले भन्यो । ‘फलानोको छोरो ले जाइर खाछ भनेर चार गाममा नाम हुन्छ’ अर्कोले सुदिपले थप्यो । ‘मुला, केटी दिँदा, जाइर के गर्छ भनेर सोध्छन्, तँ त मरिन्जेल कुमारै हुन्छस्,’ तेस्रो गफाडी हरिशरणले हो नै जस्तो गरि भन्यो । आफू त दाउरा घचेट्यो । आगो दन्कायो । आलु पोल्यो । गफ सुन्यो । बाहिर भन्दा मन भित्र धेरै दन्कँदो रैछ यस्तो बेलाँ आगो त । मलाई पनि जान्न मन लाग्यो, ‘के जागिर गर्दैमा ठूलै भइन्च र ?’
***
कुरो गर्दा कुलो सोझिएर आए जस्तो । २०६९ सालको कुरा ।