Tuesday, December 22, 2015

सम्झनामा भुकम्पा


वैशाख २०७२ मा बिनाशकारी भुकम्पका जाने बित्तिकै मैले खिचेका केही ताजा तस्बिरहरु । साथमा भिडियो पनि । अब यस्तो दिन कहिल्यै नआवोस् ।





Monday, December 14, 2015

घुमघाम अनुभव


जीवन के हो ? सयाद धेरै मानिस यसैकाे उत्तर खाेजेरै जीवन बिताउँछन र बन्दा खोतले जस्तो मात्र हुन सक्छ । मेरो बीचार त जीवन यात्रा नै हो जसले हामीलाई धेरै अनुभवहरुकाे थैली थमाउँदै जान्छ । यो विश्वविद्धालयमा पढेको पाठ जिवनभर सम्झनामा रहन्छ । जीवनका उकाली अोरालीहरुमा भोगेका अनुभवहरुलाई रेडियो जननी ९६.१ पोखरामा सुनाउन पाउँदा धेरै खुशी लाग्यो । साथी जमुना वर्षालाई धेरै धेरै धन्यवाद ।
कुराकानीको अडियो




यहाँ मुत्ने कुकुर हो...


–भवसागर घिमिरे

शुद्ध भैसी
गेटैमा सूचना झुण्डाइएको थियो, ‘यहाँ शुद्ध भैसीको दूध पाइन्छ’ । गोठमा पुगेर हेर्दा एक जनादार्ई त्यहाँ बसेर केरा खाँदै थिए । आफूलाई दूध चाहिएको थियो, महिनावारी लैजान । ‘दाजु खैत भैसी ?’ प्रश्न सुन्ने बित्तिकै उनले घर तिर देखाए । घर गएर ढोका ढक्ढकाएको पाडीले ढोका खोली । हेरेको त भैसी भर्खरै नुहाएर शुद्ध भएर कपाल कोर्न लागेकी रैछे । पाडी टिभीमा कार्टुन हेर्दै थिई । मलाई देखेर भैसी खिस्स हाँसी । गोठका दाई पनि घर भित्र आए । ‘दाई मलाई दूध चाहियो,’ मैले भने, ‘शुद्ध होला नी ?’
‘शुद्ध भैसीको दूध पाइन्छ भनेर लेखेको हेरिहाल्नु भो । त्यहाँ लेखेको अनुसार, भैसी शुद्ध छ त्यसको ग्यारेन्टी लिन्छु, दूध शुद्ध लेखेको छैन, ग्यारेन्टी दिन सकिन्न ।’

सत्य कुरा
‘यहाँ मुत्ने कुकुर हो’ एउटा यस्तै सूचना बोर्डको अघि एक मान्छे मस्त पिसाब फेर्दै थियो । राजधानीको व्यस्त बजारको छेवैमा । कुनो परेकाले हड्प्न बाँकी रहेको सानो सरकारी जग्गा । दुईचार सिस्नोका बोट । गन्यका घाँसले हुर्कने ठाउँ पाएका थिए । केही फोहोरका पोकापोकी अघिल्तिरको भित्तोमा यो सूचना पोतिएको थियो । आफूलाई सहज बनाइसकेपछि बडो आनन्द मान्दै उ फर्केर आयो ।
सोधेँ, ‘दाई तपाई कुकुर हो ?’ प्रश्न सुन्ने बित्तिकै झोक्किँदै उसले उल्टै सोध्यो, ‘मैले भुकेँ ?’
मैले छैन भनेर मुन्टो हल्लाएँ ।
‘मैले टोके ?’ उसले झोक्किँदै भन्यो ।
त्यस्तो केही भएन भनेर डराउँदै मैले फेरि मुन्टो हल्लाएँ । उ खिस्स हाँस्यो, ‘हो, न मैले भुकेँ । न मैले टोकेँ । तर म कुकुरै हो, आपद परेको बेलामा यति गर्न पाएपछि म गधा पनि हो । खच्चड पनि हो ।’ उ स्वाँठ पल्टेर बाटो लाग्यो । सार्वजनिक शौंचालय खोज्दै अघि देखि व्यस्त बजारमा हक्कानिएको मैले पनि उसले जस्तै गरेँ । मपछि मात्र बल्ल एउटा कुकुर त्यही ठाउँमा आएर मुतेर गयो ।

फोहोर कसलाई (मलाई) ?
राजनितीक नियुक्ति चरम सिमामा पुगेको थियो । न–गरपालिका झन् दलको भर्तिकेन्द्र नै बन्यो ।

Friday, December 11, 2015

बाख्रापालक किसान भन्छन्, 'चाँडै फाइदामा जाँदैछु'

मंसिर २५, २०७२- 
भवसागर घिमिरे
तनहुँको दुलेगौडामा उनको भाँडा पसल थियो । निरन्तर आम्दानी त थियो नै, पसलमा बस्दा बस्दा उनको जिउको तौलपनि बढ्न थाल्यो । १६ वर्षसम्म धानेको व्यापारको हतारपूर्णदैनिकीबाट दिक्क भएका उनलाई लेकाली गाउँको चिसो हावा खाने रहर लाग्यो अनि पुर्ख्यौली ठाउँ कास्कीको घाचोक पुगे । चलिराखेको भाँडा पसल छाडेर बाख्रा पालनमा लाग्दा पद्मराज लम्साललाई धेरैले भने, ‘यसले काम बिगार्‍यो ।’ उत्साही बाख्रा पालक लम्साल भन्छन्, ‘बिस्तारै काम बिगार्‍यो भन्नेहरू पनि अहिले मसँगै व्यवसायका बारेमा सोधखोज गर्न आउँदैछन् ।’ पोखराबाट लगभग १ घण्टाको गाडी यात्रा अनि आधा घण्टाको पैदल यात्रापछि गत साल चैतमाभुमेस्वाँरा बाख्रा फार्ममा पुग्दा उनीबाट निकै प्रभावित भएको थिएँ । सात महिनापछि उनको उत्साह कस्तो भएको होला त ?


खुल्दुली मेटाउन म फेरि उनकै फार्ममा गत कात्तिक महिनामा पुगेँ । फार्ममा पुग्दा उनी बाख्राका पाठापाठी स्याहार्न व्यस्त थिए । भेट्ने बित्तिकै लम्साललाई उनको लक्ष्य स्मरण गराएँ, ‘वार्षिक १ सयवटा खसीबोका उत्पादन गर्ने ।’ कस्तो छ त अवस्था ? प्रश्न सुन्ने बित्तिकै उनले भने, ‘यो पहिलो वर्ष ५० वटामात्र गर्न सकिन्छ होला । त्यसमध्ये ३५ वटा बेचिसकेँ । अब १५ वटा जति बेच्ने तयारीमा छु ।’ लक्ष्यतर्फको उनको पहिलो पाइलाले मलाई थप उत्साहित बनायो । एउटाको सालाखाला १० हजारको दरले पनि उनले बजारमा साढे तीन लाखको मासु पठाइसकेका छन् भने डेढ लाखको पठाउने तरखरमा छन् । ‘खर्च कटाउँदा अहिले नै धेरै आम्दानी भैसकेको छैन,’ तीन वर्ष अघि फार्म सुरु गरेका लम्सालले भने, ‘सुरुका वर्षहरूमा प्रत्येक महिना घाटामा थिएँ, अब भने चालु खर्च कभर गरेरमाथि उठ्दैछु ।’ चाँडै उनी नाफामा जाने सुरसारमा रहेछन् । बोयर जातका बोकाले क्रश गराएका पाठाहरूको तौल कस्तो निस्कन्छ भन्ने कौतुहल उनमा छ । ‘अझपियोर बोयरकै बिउ पाए चाँडै फाइदा लिन सकिन्थ्यो,’ लम्साल भन्छन्, ‘म त्यसको खोजीमा छु ।’ 


व्यवसायबारे बुझ्ने र खोजीनिती गर्ने उनको बानीले उनले बाख्रा पालनको तालिम पनि लिन भ्याएका छन् । जिल्ला पशुकार्यालय होस् वा तालिम दिने अन्य संघसंस्थाहरू नै किन नहुन्, समयले भ्याएसम्म उनी पुग्ने गर्छन् । जहाँ जति पढेपनि जिन्दगीभन्दा ठूलो विश्वविद्यालय केही छैन भन्ने चाहिँ आफूले भोगेरै थाहा पाएको उनले बताए । ‘आफैले अनुभव गरेको जस्तो पढेर बुझिँदो रहेछन्,’ उनले भने, ‘यो तीन वर्षको दौरानमा मैले धेरै कुरा सिक्न पाएँ ।’ चैतअघि र पछि जन्मेका पाठापाठीहरूको हुर्काइमा पनि फरक पर्ने उनको अनुभव छ । 

Thursday, December 10, 2015

प्यारी बिजुली, चाँडै आऊ

मोबाइलमा तार अघि नै जोडिसकेँ। बुढो ल्यापटप पनि चार्जरको टुसो चुसेर टोलाउँदै छ । इमर्जेन्सी टर्चलाइटका दाँतहरूले मल्टिप्लगका बाँकी प्वालहरू थुनिसक्यो। मेरा आँखाहरू तिम्रा स्विच आडैको धिपधिपे बल्बमा अडिइ राखेका छन्। तिमी आउने बेला हुँदै गर्दा, तामाका तारभरि मनका तारहरू बिच्छाएर म बसिरहेको छु। प्यारी बिजुली चाँडै आऊ, म तिमीलाई कुरिरहेको छु।


तिम्रो स्वागतमा दशौं लाख मान्छेहरू बसेका छन्। तिमीलाई औंधी माया गर्ने हजारौं मान्छेहरू छन्। ति हजारौं मान्छेहरू बिचको एउटो मान्छे म। तिमीलाई अरुले भन्दा एकै एम्पिएर भए पनि बढी माया गर्छु।
सायद तिमीलाई हेक्का नहुँदो हो। यो मनभित्र कति धेरै चाहनाहरू छन मायाका। दिनमा तिमीसँगै बसेर टिभी हेर्न मन थियो। कम्प्युटरका फाइलहरूमा पौडी खेल्न हुन्थ्यो। साँझसँगै बसेर हिटर ताप्न मन थियो। मर्करीलाइटमा झुम्मीने पुतली जस्तै। तिम्रो उज्यालोमा म पनि फुरुङ्ग पर्दै कोठाका चार कुना चाहार्थे।
प्रवेशीका परीक्षाका विद्यार्थी बनेर, किताबका अक्षरहरूमा तिमीसँगै लुकामारी खेल्थेँ। तिम्रो एक मुस्कानमा मेरो संसार छर्लङ्गै उज्यालो हुन्थ्यो। 

Thursday, December 3, 2015

खाने तेल, ठूलो चलखेल

डेराको बसाई। नसक्किकन नुन त किनिदैन खाने तेलको के कुरा? अन्तिम थोपासम्म भान्छा धानिहाल्छ। सक्किएपछि कराई बसालेर पसल दौडने बानी अझै गएको छैन। हिजो भने घरबाटै फोन आयो, ‘आउँदा खाने तेल ल्याउनु नभए निख्लै होला।’

बाइकमा हाल्ने तेल नकिनेको धेरै भैसक्यो। चरम इन्धन अभावमा पनि चरम ट्राफिक जाम झेल्दै सार्वजनिक यातायातको यात्रा गर्न थालेको हप्तौं बित्यो। कालोबजारीको जयजयकार गर्दै कछुवा गतिमा हिँडेको सरकारको कान त तेलले नै भरिएको छ। सार्वजनिक यातायात भित्रको पेलान यात्रा यस्तो छ कि त्यहाँ मै हुँ भन्ने बलियाकोलाई पनि लुरे खलासीले पेलेर तेल निकाल्दिन्छ । 
यो तेलकै जालझेलमा मौलाएको भनेको कालोबजारीको खेल हो। राष्ट्रियताको खोल ओढेर कालोबजारीसँग चुप्चाचुप्पी खेल्न सरकारलाई लाजै छैन। बाणिज्य विभाग नामको शालिकलाई व्यापारीहरूले खादा त ओढाइराख्या छैनन् भन्ने प्रश्न आउनु स्वभाविक भैसक्यो। नभए बजार मुल्यको बिगबिगी यसरी नबढ्नु पर्नेहो। बिगबिगीको खरिएको उदाहरण भनेको खाने तेलको भाउ पनि हो जसमा आम उपभोक्ता मेथि झै पड्किराखेका छन् र अब पड्कने पालो मेरो थियो।
झमक्कै साँझपरेपछि। खाँदिएको सार्वजनीक गाडीबाट अंगअंग छुट्टाएर बल्ल तल्ल सग्लो ज्यान बाहिर निकालियो। अब सुरु भयो, पसल चाहर्ने काम। हिजो नै एक झलक बजार निस्कँदा धेरै पसलहरू खाने तेल बिहिन भएर बसेका थिए। हल्ला थियो, ‘महंगो भाछ, सर्टेजछ।’
आज त जस्सै बजारबाट उठाएर लानु थियो। देशमा अस्थिरता निम्त्याएको मानिने संविधान। अनि त्यही संविधान जारी गर्ने संविधानसभा भवनको बाटो भएर शान्तिनगर गेट झरेको थिएँ म। गेटभित्र पसेपछि बाटैमा भेटिने पसलमा पुगेँ ‘बिग मार्ट’। तेलका केही पोकाको वरपर पोको परेर दुईकेटाहरू कानेखुसी गर्दै थिए, ‘नजिकैको पसलमा दुईसय चालिसमा दिएको छ, याँ किन सत्तरी तिर्नु?’
कुरो के रच त भन्दाखेरि, एक लिटरको सनफ्लावर नामक तेलको प्याकमा लेखिएको रैछ, २ सय ९५। त्यहाँ त्यसैलाई होलसेल दाम भनेर २ सय ७० मा दिइँदो रैछ। त्यहाँबाट १ मिनेटको बाटोमा अर्को पसल थियो जहाँ २ सय ४० मा पाइन्छ भन्ने हल्ला गर्दैरैछन् ठिटाहरू। म पनि यसो दायाँ बायाँ हेरेजस्तो गरेर त्यहाँबाट फुत्त बाहिर निस्किएँ। खोज्दै गएँ सोझै त्यही भन्या पसलमा। केटाहरु एक लिटर तेल र एउटो मिट मसलो लिएर कुदिसकेछन्। एक लिटर तेल मागेको फ्याट्टै काम गर्ने केटोले भित्रपट्टी कता गएर ल्यायो ल्यायो, मुल्य लेखिएको थियो १ सय ९५। गत अक्टोबर महिनाको प्रिन्टमा लेखिएको मुल्य नभई मैले नयाँ मुल्य तिर्नु पर्ने भो, २ सय ५०। अघिको हल्ला भन्दा १० रुपैयाँ बढिसकेछ। ‘यहाँ लेखेको मुल्य त कम छ दाई,’ सुन्ने बित्तिकै पसलेले फ्याट्टै भने, ‘तपाईलाई त कममा देको छु, बाहिर गएर सोध्नुस् अरु पसलमा।’ अब त बोल्ने मुखमै उनले बुझो लगाइदिए।

आफ्नै कोठा आसपासको पसलमा २ सय ६५ मा चलिराखेको छ भन्ने एकदुई दिन अघिको हल्ला थियो। लु त भैरे,  मैले पनि १५–२० रुपैयाँ सस्तोमा पाइयो भनेर तेलको पोको उठाइहालेँ, खिस्स हाँस्दै। यो तेलको भाउ नाकाबन्दी चर्कनु अघिसम्म जम्मा १ सय ३५ मात्र थियो। मेरो १ सय १५ रुपैयाँ ढुस भयो। हुन त यसअघि आडैको पेट्रोलपम्पमा अनियमितता भयो भनेर एक साथीले प्रहरीलाई खबर गरेका थिए। केही सयममा उनले ‘खबर गरेबापत प्रहरीकै अघि पम्पवालाको तर्फबाट रामधुलाई खाएँ’ भनेर दुखेसो लेखेका थिए। यस्तो चिसो साँझमा घर गएर चा’ खान छाडेर दायाँ बायाँ सोच्ने दिमागको ढक्नी बन्द भैसकेको थियो मेरो।