Friday, June 16, 2017

प्रिग्नेन्सी टेस्ट

वैशाख २३, २०७४- काठमाडौंको नयाँबानेश्वरमा रहेको मेरो फ्ल्याट र उनी बसेको महिला छात्रावासबीचको दूरी लगभग दुई हात मात्र छ । दोस्रो तलामा रहेको उनको सानो तीनकुने कोठा दक्षिण पूर्व फर्केको छ । कोठाको दक्षिणतर्फ काठको फ्रेम भएका सिसाको झ्याल छ । झ्यालमा तीनवटा खापा अनि त्यसमाथि बुट्टेदार फलामको भेन्टिलेसन छ । झ्यालको पर्दा अलि सानो छ, दुई खापा मात्र ढाक्छ । खुला हुने बाँकी एक खापाबाट म उनलाई राम्ररी नियाल्न सक्छु । यसका लागि मैले फ्ल्याटको बाथरुम वा भान्छाकोठाको जाली खापाबाट चियाउनुपर्छ । कहिलेकाहीं पर्दा नपुगेको बाँकी एक खापामा उनी गम्छा झुन्डाउँछिन् । यस्तो बेला मेरो नजर र उनीबीच पूरै पर्दाको पर्खाल उभिन्छ । यति छोटो दूरीलाई ती पर्दाहरूले यति धेरै लम्बाइदिन्छन् कि मन बेचैन हुन्छ । मीठो बेचैनी, नछोएको शीतजस्तै, नलेखेको गीतजस्तै ।

एकान्तमा उनी गीत गुनगुनाउन रुचाउँछिन् । गुनगुनाउँदै कोठाबाट पूर्व फर्किइन् भने झ्यालबाट धुलाम्य खुला चौर अनि चौरसँगै जोडिएको सडक देख्न सक्छिन् । माटो उधिन्दै दगुर्ने डोजर अनि कामको सुस्त गतिका कारण बाटो लामो समयदेखि भर्खरै खनिएको आलुबारीजस्तै छ । बेला–बेला हुरी चल्दा बटुवाले गाडी देख्दैनन्, गाडीले बटुवा देख्दैन । रातको समयमा भने सडक किनारका बत्तीहरूले सुनसान सडकमा सुनौला रंगहरू छर्छन् । उनलाई सायद त्यो मन पर्दो हो एउटा खापा खुलै राखेर रातमा सडक टोलाउँदै अबेरसम्म पढ्छिन् । बिहानीपख त्यही झ्यालबाट घामसँगै मेरा नजरले उनलाई सुम्सुम्याउँछ ।
यसैले पनि म बिहान सबेरै उठ्छु अनि भान्छामा चिया पकाउन पुगिहाल्छु । मस्त निदाएकी उनको शान्त मुद्रा नियाल्छु । कर्कलाको सिन्की बाटेको जस्तो कपाल । कालो फ्रेम भएको ठूला–ठूला चारपाटे सिसाका चस्मा अडिएका लाम्चा आँखा । बाटुलो निधार । सानो कदको शरीर । हिस्सी र हल्का कालो वर्णको मुहार अनि त्यसभित्र अनगिन्ती सपनाहरू । यस्तो सोच्छु, उनका सपनाको कुनै पलमा खुसुक्क म पनि पस्न पाए, बाँकी जिन्दगी उनीसँगै हराउन हुन्थ्यो । पछिल्लो दुई महिना भने मेरो लागि उनको मोबाइलमा बज्ने एउटा भिन्दै रिङटोन त्यो पर्दाभन्दा ठूलो पर्खाल बनेर खडा भएको छ । त्यो रिङटोनमा बज्ने सुमधुर धुन पनि मेरो मनमा नराम्रोसँग बिझ्छ, फूलको धारले रेटेजस्तै ।
दुई दिनअघिको कुरा हो । रातिको सवा नौ बजे । उनको मोबाइलमा त्यही रिंगटोन बजेको प्रस्टै सुनेपछि हतारीँदै म बाथरुमतिर दौडिएँ । बत्ती बाल्न भुलेँ । जाली खापामा धूलो जमेर होला सायद मधुरो जून मात्र भित्र पस्न सक्यो । हत्तारिँदै आफूलाई सम्हालेर कभर नउठाई कमोडमा बसिहालेँ । यताबाट फोन उठिसकेको रहेछ ।
‘अँ, ठीक छ, तिम्रो केही भयो ?’ उसले उताबाट सोध्यो ।
‘नाइँ, सिम्टम्स् नै छैन,’ उनले मलीन हुँदै भनिन्, ‘मिन्स् कटेको नि दुई हप्ता भइसक्यो,’
‘टेन्सन नलेऊ, ठीक हुन्छ के,’
‘कसरी ठीक हुन्छ ?’
‘त्यति बेला सेफ भाथ्यो,’
‘अँ खुब, प्रोटेक्सन नै थिएन,’
‘विश्वास गर न सेफ थियो,’
‘मैले छोड भन्दाभन्दै तिमी ओभर कन्फिडेन्ट भयौ...’
‘त्यति बेला के भो भो...’
‘अब नसोचेको भो भने ?’ उनी आत्तिँदै बोलिन् ।
‘केही हुन्न, भनेसि भएन ?’ उसले अलि खस्रो बोल्यो ।
‘तिमी मेरो प्रब्लम नै बुझ्दैनौ,’ उनी एक्कासि सुकसुकाउन थालिन्, ‘आज पनि आमाले फोन गरेर राम्ररी पढ है नानी भन्नुभाथ्यो । इक्जामनजिक छ, कन्सन्ट्रेट हुन सक्या छैन ।’
‘फेरि सुरु भो,’ ऊ रिसायो ।
‘नरिसाऊ न, कसलाई भनूँ म त नि ?’ उनले मन कटक्कै खाने गरी बोलिन्, ‘भोलि बिहानै किट ल्याएर टेस्ट गर्छु ।’
‘तिमी जहिल्यै मेरो दिमाग मात्र चाट्छ्यौ...’ ऊ झड्कियो र फोन काट्यो ।
उनी घुक्क–घुक्क रुन थालिन् । म बिस्तारै कमोडबाट उठेँ । जाली खापाको एउटा कुनो पुछेर हेरेँ । उनको कोठाको झ्यालको पर्दा राम्ररी लगाइएको थिएन । बेडमा किताब, कापी छरपस्ट थिए । स्कुसको लहराले आफू चढेको रूख ढोकेझैं, बेतको स्ट्यान्डमाथि लुगाहरू अस्तव्यस्त थिए । असरल्ल कोठा र उनको हालत देख्दा मेरो मन सुक्खा याममा धुलाम्य सडकछेउ उभिएको बोटझंै भयो । निराश हुँदै बेडरुममा आएर पल्टिएँ ।
उनीसँग बोलचालै नभए पनि मैले उनको पारिवारिक र व्यक्तिगत जीवनका बारे धेरै कुरा थाहा पाइसकेको थिएँ । त्यसको एकै कारण थियो— उनको फोन संवाद । चर्को आवाज निस्किने उनको मोबाइल अनि त्यसलाई प्रस्ट सुन्न सकिने मेरो बाथरुम । एकतर्फी परिचयका लागि अरू के चाहियो ? नाम दीपा । घर नवलपरासी । बा द्वन्द्वकालमा चेपुवामा परेर बिते । घरमा आमा, एक भाइ र दुई बहिनी छन् । गाई पालेका छन् । डेरीमा दूध पुर्‍याउँछन् । छात्रवृत्तिमा नाम निकालेर इन्जिनियरिङ पढ्ने अनि ठूलै प्रगति गर्ने उनको सपना । अहिलै आफूसँगै तयारी कक्षामा पढ्ने नवलपरासीकै साथीसँग उनी मनको दु:ख–सुख साट्छिन् । उनीहरूको प्रेम बिस्तारै झांगिँदै छ । मैले सुनेका आवाजका तरंगहरू पोतेर उनको यति नै चित्र बनाउन सकेको थिएँ । गएको डेढ साता मोफसल पुग्दा, उनीहरूको प्रेमालापबाट म टाढिनुपर्‍यो । हिजो एकाएक सुनेको तीतो संवादले मलाई अबेरसम्म निद्रा परेन । मध्यरातमा फेरि बाथरुम पस्दा मैले जाली खापाबाट फेरि उनलाई नियालें । उनी घोप्टो परेरै लडिरहेकी थिइन्, जूनको सिरक ओढेर ।
गहु्रंगो मन लिएर, बिहान अलि ढिला उठेँ । सरासर भान्छामा पुगेँ । ग्यास सल्काएँ र स्टिलको दिउरीमा फ्रिजको दूध बसालेँ । यसो आँखा घुमाएर उनको झ्यालमा हेरेँ । झ्यालका सबै खापा बन्द थिए । के भो ? उनलाई आजको घाम मन परेन ? मनमा प्रश्नहरू कुद्न थाले । दौड्दै सरासर छतमा पुगेँ । योभन्दा अघि केहीपटक मैले उनलाई छतमा लुगा सुकाउँदै, उठाउँदै गरेको पनि देखेको छु । आज भने त्यो संयोग मिलेन । फेरि हतारमा तल झरेँ । चिया उम्लिएर पोखिइसकेको थियो । झट्पट् ग्यास बन्द गरेँ र फेरि उनको झ्यालमा हेरेँ । अहिले भने झ्यालको एउटा खापा खुलै थियो, ढोका सायद बाहिरबाट बन्द थियो । कोठामा उनी थिइनन् । कहाँ गईन् त ? उनको व्यक्तिगत संसारमा मलाई किन चासो बढ्दै गयो ? थाहै भएन । अफिस जान पनि मन लागेन । बिरामी भएको बहाना बनाएँ । दिनभर घरमै बिताएँ । उनको कुनै अत्तोपत्तो थिएन । साँझको साढे चार बजे बल्ल उनको ढोका बजेको सुनेँ । यसो मुन्टो तन्काएर हेरेँ । उनी निराश थिइन् । खाटमा थुचुक्कै बसिन्, भारीले थिचिएको भरियाझैं । लामो श्वास फेरिन् र झोला बिसाइन् । मैले किचेन र्‍याकमा हात अड्याएर अझ ध्यान दिएर हेर्न थालेँ । उनले झोलाबाट नाइलनको डोरी झिकिन् । अझै नजिकैबाट नियाल्न हतार–हतार बाथरुम पसेँ । मेरो मनमा भुमरी चल्न थाल्यो । उनले पर्दा मिलाइन्, बाँकी खापामा गम्छा पनि झुन्डाइन् । के गर्न आँटिन् ? देख्न नपाउँदा मेरो निधारमा चिट्चिट् पसिना आउन थाल्यो । झ्यालको ग्रिलमा डोरी बाँध्न थालेको देखियो । के पो गर्ने होला ? मेरो मुख सुक्यो । चिच्याउन पनि सकिनँ । हतार–हतार छतमा पुगेँ । म छत फिड्केर उनको कोठासम्म पनि पुग्न सक्थेँ । खै के हो हो, आँट गर्नै सकिनँ । फेरि दौडँदै तल झरेँ । भान्छामा पुगेर हेरेँ ।
उनको झ्यालबाट गम्छा झिकिएको थियो । उनले लुगा पनि फेरिसकिछन् । डोरी झ्यालको ग्रिल र ढोकाको ग्रिलमा बाँधिएको थियो । स्ट्यान्डका असरल्ल परेका लुगाहरू डोरीमा मिलाएर झुन्ड्याइएका थिए । र्‍याकमा किताबहरू मिलाउँदै थिइन् उनी । एउटा किताब लिइन् र पढ्न बसिन् । मैले लामो श्वास फेरेँ । त्यसै बेलामा फेरि उही रिंगटोन बज्यो । उनले काटिन् । फेरि बज्यो । फेरि काटिन् । धेरै बेर फेरि बजेपछि ढिलो गरी उठाइन् । म उनीहरूको संवाद सुन्न बाथरुमको भित्तासँगै पूरै श्वास अड्याएझैं गरी उभिएको थिएँ ।
‘फोन किन काटेको ?’ उसले रिस पोख्यो ।
‘तिम्लाई किन चाहियो ?’ उनी झोक्किइन् ।
‘ट्राई टु अन्डरस्टान्ड मी दीपा । मैले ब्यान पनि भनेँ, ऐले पनि भन्छु । आई कान्ट असेप्ट दिस के । बरु अबोर्सन गराऊ । तिमी एक्लै बच्चा राख्छु भन्छौ भने भोलि मलाई ब्लेम लगाउन पाउँनौ,’ फोन काटिन्छ कि झैं गरी ऊ एकै सासमा बोल्यो ।
उनी बिनाआवाज भक्कानिइन् र केही बेरको मौनतासँगै सम्हालिइन् ।
‘दीपा सुनिराछौ नि ? फर्गेट अबाउट ह्वाट हेपेन्ड... इट्स नट माई फल्ट...’ ऊ अझै रिसाएको सुनियो ।
‘थेंक्यु । अबदेखि फोन नगर्नू, आजदेखि तिमीसँग मेरो कुनै सम्बन्ध छैन,’ उनको यस्तो कडा आवाज मैले आजसम्म सुनेको थिइनँ । उनले फोन काट्नुअघि भनिन्, ‘बिहान भनेजस्तो मेरो पेटमा कुनै बच्चा पनि छैन । टेस्ट वाज नेगेटिभ ।’
प्रकाशित: वैशाख २३, २०७४

Friday, April 21, 2017

‘खाना त खोजुँली, छाना कसले देला ?’

भवसागर घिमिरे 

गत शनिबारको दिन बिहान। सिराहाकी लक्षण देवी मण्डलले भर्खरै खाना पकाएर सकेकी थिइन्। साधारण त्रिपालको छतमुनी भोकाएका तीन छोरीहरू खानाखाने तयारीमा थिए। सिमराहा टोलकी ३० वर्षे यी मण्डलले खाना पस्कने तयारी गर्दागर्दै एक्कासी हावाहुरी चल्न थाल्यो। हुरीमा टाउको लुकाउँने फुस र माटोले बनेको घर केहि दिन अघिको आगलागिले जलेर नष्ट भैसकेको थियो। त्रिपालको ओतमा अब के हुने हो भन्दै छोरीहरू रुन कराउँन थाले। ‘अचानक हुरीले पाल उडायो’ मण्डलले भनिन्, ‘पकाएको खानामा माटो र बालुवा मिसियो। उनीहरू भोकै भए।’ हुरिसँगै आएको ठूलो पानीले उनीहरूलाईमात्र हैन दुई दिन अघि राहतमा पाएको दालचामल, लुगाफाटा पनि भिजाउन थालीहाल्यो।

‘गाउँ खुल्ला दिशा मुक्त क्षेत्र घोषण भएपछि ऋण काढेर बनाएको ट्वाइलेट थियो,’मण्डलले भनिन्, ‘घरदेखि पर रहेको त्यहीँ ट्वाइलेटमा ओसारेर थोरै दालचामल बचाउँन पायौं। बाँकी केही माटोमा मिसिए, त केही हावाले उडाए।’ भोकाएका छोरीहरूले माटो मिसिएकै भएपनि खाना खान थाले, उनको मन कटक्क खायो।
शनिबारको पानी र हुरीले लक्षण देवी जस्तै गाउँमा रहेका आगलागि पिडीत ३० परिवारको उस्तै बिचल्ली भएको छ। गत सोमबार असावधानीका कारण बस्तीमा आगलागी भएपछि जिल्लाको सखुवा नन्कारकट्टी गाउँपालिका वडा नम्बर ४ को सिमराहा टोलका दलित बस्तीका ५० घर जलेर नष्ट भएका थिए। गत सोमबार खाना पकाएको चुल्होको खरानी एक महिलाले घरबाहिर फाल्दा त्यसले पराल भेटेपछि आगलागि सुरु भएको थियो। हट्टाकट्टा मानिसहरू धेरै जसो ज्याला मजदुरीको लागि परपर गएका हुनले समयमै आगो निभाउँन पनि सकेनन् उनीहरूले। ‘ घर जल्यो भन्ने खबर पाउँदा म अर्कै गाउँमा इट्टा जोड्दै थिएँ सर,’ २४ वर्षे हरेराम मण्डलले फोनमा दुखी हुँदै सुनाए, ‘दौडदै आउँदा घरमा केही बाँकी बचेन।’
जिल्ला स्थित नेपाल रेडक्रश सोसाइटी, मानवअधिकार कर्मी तथा स्थानीयको सहयोगमा आगलागि लगत्तै त्रिपाल, खाद्यान्न लत्ताकपडा, केही भाँडाकुँडा बितरण गरिएका थियो। लहान बजारबाट लगभग ९ किलोमिटर टाढा पर्ने यो बस्तीमा सामान्य त्रिपालको ओत लागेर बसेका यी पिडितहरूलाई हावाहुरी र पानीको दोहोरीले फेरि रुवाएको छ। ‘यहाँ त सुत्केरी, बालबच्चाको बिजोग छ,’ हरेरामले फोनमा सुनाए, ‘दुई दिन भयो, सघाउँने कोही आएको छैन।’
बस्तीमा महिना दिनका दुई सुत्केरीसँगै लगभग ३० जना केटाकेटी, १० जना बृद्धबृद्धागरि १ सय २५ जना बसोबास गर्दै आएको स्थानीय समाजसेवी तथा अधिकारकर्मी सुनिल कुमार शाहले बताए। दलित जातभित्र पनि उपेक्षितमा पर्ने खङ जातीका उनीहरू भाग्यले पनि आफूहरूलाई उपेक्षा गरेको ठान्छन्।
‘मैले त पक्की घर सुरु गरुँला भनेर मलेसियाबाट कमाएको दुईलाख पैसा पनि भर्खरै घरमै ल्याएर राखेको थिएँ,’ २५ वर्षे पिडित भोगेन्द्र मण्डल भन्छन्, ‘ त्यही पैसा पनि जोगाउँन पाइन।’ फुसको घरमा आगोको लप्काले समाएपछि उनले सुरुमै शारिरीक रुपमा अशक्त आमालाई घरबाहिर निकाले। त्यत्तीकैमा उनले कमाएको पैसा सहित घर पुरै ध्वस्त भैसकेको थियो। हावाहुरी र पानीले झनै बिजोग बनायो। ‘आमा, मसँगै पुरै परिवार पालमुनी थियौं,’ मण्डलले पिलपिल गर्दैभनेँ, ‘हावाहुरीले आडैको रुख लडाएर पाल लतार्दै आडैमा खसाल्दियो।’ आफूहरू ठूलो कालबाट बचेको उनले बताए।
अर्की पिडित रितादेवी मण्डलको पिडा पनि बेग्लै छ। छोरोलाई निमोनियाले च्यापेपछि उनी उपचारको लागि जनकपुरसम्म पुगिन्। बल्लतल्ल ऋण गरेर ७ हजार रुपैयाले उपचार र औषधी खर्च टारिन र घर फर्किन। लगत्तै बस्तीमा आगलागि भयो। आगलागिले जलाएपछि अब उनीसँग न छोरोलाई ख्वाउँने औषधी बाँकी छ, न ओतलाग्ने घर।
समाजसेवी शाहका अनुसार अहिले ३० परिवारलाई कम्तिमा टिनको जस्ता मात्रै भएपनि बाँड्न पायौं भने हावाहुरी र पानीबाट बचाउँने उपाए हुन्थ्यो। ‘काठ, साटा उनीहरू आफैले खोजेर बास बनाउँथे,’ शाहले भने, ‘मान्छेले मात्र नभई जम्माभएको राहतले पनि ओत लाउँन पाउँथ्यो।’ आगलागिको समाचार थाहा पाउँने बित्तिकै शाह लत्ताकपडा तथा अन्य राहत सामाग्री जुटाएर सिमराह पुगेका थिए। ‘हावाहुरी र पानीले दुःख दिएपछि हालत झनै नाजुक बनेको छ,’ उनले भने।
अब झन् पानी पर्ने मौसम सुरु भएको छ। लक्षणदेवीका श्रीमान त साउदी अरबमा ज्याला मजदुरी गर्दैछन्। घरजलेको खबर यताबाट उता पुगेपछि उताबाट अर्को दुखद खबर यता आएको छ, ‘श्रीमान बिरामीले थला परेका छन, पैसा पठाउँन सक्दैनन।’ श्रीमानको स्वास्थको पिडाले उनलाई झनै गलाएको छ। यससँगै छोरीहरूलाई घामपानीबाट कसरी जोगाउँने भन्ने चिन्ता उनमा छ। ‘भएको सम्पत्ती त आगोले खाइहाल्यो’ लक्षणदेवीले दुखी हुँदै भनिन्, ‘खाना त खोजुँला, छाना कस्ले देला ?’
http://setopati.com/samaj/67256/

Monday, December 19, 2016

के गर्नु सर म्यानेज्मेन्ट नै यस्तै छ...

भवसागर घिमिरे
नेपाल इन्भेष्टमेन्ट बैंकको लाजिम्पाट शाखामा (नारायणहिटीको उत्तर ढोका तर्फ) पैसा जम्मा गर्न केहि दिन अघि पुगेको थिएँ। सोच्नुहोस् त, हरेक बैंकमा पुग्ने बित्तिकै डिपोजिट फर्म भर्नु अघि तपाईलाई के कुराको हतार हुन्छ ? हो मलाई पनि त्यही कुराको हतार भयो, पालो लाग्ने नम्बरको लागि कुपन लिने। यता खोज्छु छैन, उता खोज्छु छैन। ‘छैन हो, लाइनमै बस्नु पर्छ’ गार्डले नै यसो भनेपछि मैले लाइन तिर हेरेँ। पुरै लामो छ त।
यस्तो चल्ति शाखा। त्यो पनि प्राइम लोकेशनमा। यो कुन युगको बैंकमा आएछु भन्दै थकथक लाग्यो। फर्म भरेर लाइनमा ठिंग उभिएको मैले पालो पाउँन ठ्याक्कै २५ मिनेट लाग्यो, १३ जनापछि। तपाई भन्नु होला, तेलको लाईनमा तीन दिन बस्न सक्छस्, ग्याँसको लाइनमा दुई रात खप्न सक्छस्, बैंकको लाइनमा जाबो २५ मिनेट बस्दा तेरो के ढाड खुस्कियो ? हैन मेरो त खुस्केन तर यो बैंकले सन् २०१६ को ‘बैंक अफ द इयर’ पाएको हो भन्ने थाहा पाउनु भयो भने तपाईको चाहि फुस्कन सक्छ, हाँसो।
बेलायतको प्रसिद्ध पत्रिका फाइनान्सियल टाइम्स लन्डनद्वारा इन्भेष्टमेन्टलाई यो वर्षको सर्वोकृष्ट नेपाली बैंक घोषणा गरेको हो। अर्को कुरो सुन्नुहुन्छ ? यो सहित यस बैंकले यहि अवार्ड पाँचौ पटक हात पारिसकेको छ। छैन त रमाइलो?
हुन त बैंकको यो शाखामा कुनाकाप्चा तिर बस्नको राम्रो व्यवस्था नभएको हैन। तर तपाई जस्तो हट्टाकट्टालाई कुनामा बसेर मेरो लाईन त्यहाँ छ है भन्न कहाँ सुहाउँछ र हैन ? छन त यहाँ कोठा पनि निक्कै चाक्लो छ, ठूलै फुटसल ग्राउण्ड जत्रै। अनलाइन सेवा चलाउने बैंकले नम्बर ओकल्ने एउटा डिजिटल मेसिन राखिदिएको भए, दुई चार कुर्चि थपिदिएको भए उभिने धेरैले राहत पाउँथे कि ? नरिसाउँनु ल तपाईको आफ्नै बैंक पर्‍यो भने। के गर्ने सेवाग्राही न परेँ, छुच्चो मुख त गर्नै पर्‍यो नि हैन ? फर्कनु अघि सानो गुनासो कसलाई भनौं भनौं भयो। हिड्ने बेलामा त्यहाँको एक कर्मचारीलाई नै भनेँ, ‘हजुरकहाँ पालो लाउँने डिजिटल मेसिन छैन भन्या ? २५ मिनेट ठाडै उभिन पर्‍यो ?,’ उनले पनि आफै दुखि भएझै गरे, ‘के गर्नु सर यहाँको म्यानेज्मेन्ट नै यस्तै छ।’
सेतोपाटीमा प्रकाशित ।
http://setopati.com/blog/59096/

Friday, November 25, 2016

केएमसीको कोठा नम्बर ८

"दाई ट्वाइलेट कता छ  होला ?" एक भद्र महिलाले सोध्छिन ।
"के म याँ ट्वाईलेट देखाउन बसेको हो ?" कुर्चिमा बस्ने चश्म र ढाका टोपी लगाएका एक बुढा कर्मचारी ज‌गिन्छन् । यि कर्मचारी  अस्पताल आएका बिरामीको नाम दता गराउने र उनीहरुलाई सम्बन्धित कोठामा पठाउने काममा खट्टिएका थिए ।

गत बिहिबारको कुरा हो यो । विहानको ११ बजे आसपास । काठमाडौंकाे  सिनाम‌ंगलमा रहेको काठमान्डु मेडिकल कलेजको सल्य चिकित्सा बहिरंग विभागको दृश्य हो यो । कोठा नम्बर ८ भित्र रहेको यो अोपिडीसँगै न्युरो तथा प्लाष्टिक सर्जरी जस्ता थुप्रै कोठाहरु पनि छन् । यि कोठाहरु विषेशज्ञ डाक्टरहरु र उनीहरुलाई भेट्न चाहने बिरामीहरुले भरिभराउँ हुने गर्छ । व्यवस्थित नहुँदा बिचको प्यासेजमा पनि मान्छेको घुइचो छ । बाहिर बस्दिनु बोलाउँला भन्दा पनि सुन्नेवाला छैनन कोहि । हुन त एक जनाले त्यती धेरै कोठाका बिरामीको नाम बोलाउनै पनि साध्य छैन । त्यसैेले पनि बिरामी उनको भर परेका देखिँदैनन् । सायद कारण यहि होला बाहिर कुरेर बस्ने भन्दा भित्रै आएर कोच्चिने र ढोकामै एकै घण्टा भएपनि उभिएर बस्ने धेरै थिए ।

बुढा बा र ति महिलाको भनाभनपछि बिरामी र उनका आफन्तहरु एकअर्कालाई हेर्न थाले । हुन पनि ट्वाईलेट भएको ठाउँका बारेमा बताउँदा बुढाको केहि जाँदैन्थ्यो । उनी यहि कारणले मात्र झोक्किएका भने हैनन् । सबै नियम अनुरुप नै हुँदा "पालो मिचेर बिरामी पठाउँने  ?" भन्दै एक व्यक्त्ती बलपूर्वक डाक्टरको कोठा भित्र पसेपछि उनको पारो बढेको थियो । सायद ति भद्र महिला यसैको घानमा परिन ।

यो वार्ड भन्दा बायाँ तर्फ रहेको ल्याबबाट बेलाबेलामा माईकमा बिरामीको नाम बाेलाईरहेको सुनिन्थ्यो । रगत तथा दिसा पिसाब जाँचको लागि स्याम्पल बुझाउन पालो कुरिरहेकाहरु लाईनमा बस्नु पर्दैन्थ्यो । कुर्चीमा आराम गर्थे र नाम आएको बेलामा सोझै भित्र पस्थे ।

यो अोपिडीमा भने अघि देखिएक झै फरक तथा पट्यार लाग्ने दृश्यहरु थियो । माईकको व्यवस्था थिएन । आफै ढोकामा उभिनु र नाम सुन्नुको विकल्प पनि भरपर्दो थिएन । अझ पलपल हतारमा हुने मान्छेको जात, आधा एक घण्टा कुर्न पर्यो भने पनि ज्वोरै आउँला झै गरि कराउँथे ।
हुन पनि हामी धेरै सरकारी तथा गैरसरकारी कार्यलयहरुका अस्तव्यस्त हालतबाट पिडित छौं । सरकारी अस्पतालमा ट्वाईलेट सफा राख्न, लामो लाईनको साटो कुपन सिस्टम सुरु गर्न पनि स्वास्थ्य मन्त्रीको निर्देशन दिनुपर्ने दिन हामीले देखेका छौं । के दैनिक कार्यलय चाहार्ने व्यवस्थापनका कर्मचारीले समस्या देख्दैनन ?  कि कोठा छाड्दैनन ? केएमसीको पनि यस्तो निरिह दिन नआवोस् भन्ने चाहना छ ।

अस्पतालले थोरै इच्छाशक्त्ती निकालेर ल्याबको जस्तै माईक सिस्टम राख्दिने हो भने न कोठा नं ८ पूर्ण व्यवस्थित हुन्थ्यो । हरेक डाक्टरको कोठामा माईक राख्ने हो र बाहिर एउटा स्पिकरको व्यवस्था गर्ने हो भने यी सारा तनाव कम हुन्थ्यो । बिरामीहरु कोठा बाहिर रहेको बेन्चीमा बस्थे । भित्रबाट नाम बोलाएपछि एक एक जान्थे । ल्याबमा भएको व्यवस्थापन सह्रानिय छ । कोठा नम्बर ८ मा यहि नहुँदा दिनहुँ डाक्टर, कर्मचारी र बिरामी बीच लम्किझम्कीको स्थिति बढेको छ । न्युन शुल्कमा र थोरै मेहनतमा गर्न सकिने यो काममा अस्पताल व्यवस्थापन चासो दिए धेरैको तनाव हल्का हुन्थ्यो कि  ?

Friday, November 11, 2016

देखेपछि, सोचेपछि, गरेपछि...



हरेक दिन सडकमा उसको बिरामी हालत देख्दा दिक्क हुन्थेँ । के गर्ने भन्ने सोच्थेँ । हिजो बिहिबार साँझ तरकारी किनेर फर्कदा श्रीमतीसँगको सल्लाहमा उसको फोटो खिच्यौं । सडकमा बेबारीसे भेटिने यस्ता साथीहरूको पक्षमा काम गर्ने तीन संस्थाहरु KAT Centre, Sneha's Care र Street Dog Care e.V का फेसबुक पेजहरू अनलाइनमा भेट्यौ‌‌ । उसको दयनीय तस्बिर र सहयोगको याचना सहित हिजै मेसेज पठायौं ।
त्यसमध्ये Sneha's Care ले आज बिहानै रिप्लाई गरेर दिउँसो तिर उसको उपचारको लागि प्राविधिकको टोली पठाउने जनायो । बाँकी दुई संस्थाले म्यासेज हेरे तर जवाफ आएन ।
आज शुक्रबार Sneha's Care बाट आएको टोलीले एक इन्जेक्सन दिएर गए । उसलाई छाला सम्बन्धी रोग भएको रहेछ । अब एक महिनासम्म हरेक हप्ता भ्याएसम्म फलोअपमा आउने बताएका छन् । उनीहरुले नभ्याए खुवाई दिनको लागि एक औंषधी लेखिदिएका छन् ।
औषधी किनेर मासुको टुक्रा अथवा ससेजमा राखेर खुवाउँन सकिँदो रहेछ । तीन हप्तासम्म हरेक हप्ता १ गोली खुवाएपछि उसको छाला निको हुने र रौहरु पलाउँने उनीहरुले बताए ।

प्रति गोली लगभग २ रुपैयाँ पर्ने यो अौषधिका तीन गोली खाएपछि अबको एक महिनामा उ पुर्ण रुपमा निको हुनेछ । जाडोले घप्लक्क नछोप्दै उसको हालत ठिक भयो भने सडक बास कम कष्टकर होला भन्ने विश्वास छ ।
तन्दु्स्त भयो भने सडकबाट उसलाई कसैको घरसम्म पुग्ने बाटो पनि कोरिन्थ्यो कि ? राम्रो रेस्पोन्स र केयरको लागि Sneha's Care लाई धेरै धेरै धन्यवाद ।
(https://www.facebook.com/snehazcare/)

UPDATE...
र शनिबार (आज) यस्तो भयो‍...

उसको अवस्था अल्ली नाजुक देखेर होला सायद, निगरानीमा उपचार गर्नु पर्ने भन्दै आज चाहि सोहि स‌ंस्थाको टोली आएर उसलाई लिएरै गए ।
जाडोको बेला सडकमा बिरामी परेर बसेको उसले आज न्यानो अस्पताल भेट्टाएको छ । मैले पनि आज मीठो निदाउँने कारण भेट्टाएँ । #CareForAll, #ShareOurLove #StreetDog







Friday, October 28, 2016

घान्द्रुक गाउँ : हिमाल मुनी हिमादिदीको होमस्टे



बिदाको समय सदुपयोग गरेर घुम्नको लागि कास्की जिल्लाको घान्द्रुक गाउँ निक्कै रमाइलो ठाउँ हो । अन्नपुर्ण पदमार्गमा पर्ने यो गाउँको दुई दिने यात्रालाई चार बुँद्धामा यस लेखले समेट्न खोजेको छ ।                     १. केहि वर्ष अघिसम्म पोखराबाट लगभग दुई घण्टाको बस यात्रा र ५ देखि ६ घण्टाको पैदल यात्रामा बल्ल मुख्य गाउँ टेक्न सकिन्थ्यो । ऐले भने पोखराको टुँडिखेल, हरिचोकबाट सोझै जिप चल्छ, घान्द्रुक वडा नम्बर २ किम्चेसम्म । प्रतिव्यक्ति तीन सय रुपैयाँमा जीपमा लगभग ३ घण्टामै त्यहाँ पु¥याउँछ । त्यहाँबाट सरदर एक देखि डेढघण्टाको उकालो पैदल यात्रामा हामी घान्द्रुकको मुख्य वस्ती भएको गाउँमा पुग्न सक्छौं । यदि तपाईसँग दश जनाको टोली भयो भने जिप नै तपाईका साथीहरूले भरिन सक्छ । यात्राभर गीत गाउँदै रमाइलो गर्नुको मज्जा बेग्लै । किम्चेपुगेपछिको पैदल यात्रामा तपाईले ठूला ठूला झरना, गाउँको हरियाली र घान्द्रुक पारीको गाउँ लान्द्रुकजस्ता
परपरका गाउँका मनोरम दृश्यको मज्जा लिन सक्नुहुनेछ । यदि तपाई जाँदा र आउँदा हिडेरै मजा लिन चाहनुहुन्छ भने पोखरा पृथ्वीचोक, जिरोकिलोमिटर,  बाग्लुङ बसपार्क, हरिचोक हुँदै सुविधायुक्त बस पनि संचालनमा आएको छ । प्रतिव्यक्ति १ सय १० रुपैयाँ भाडामा तपाईलाई नयाँ पुलसम्म यी बसले डेढ देखि दुई घण्टा हाराहारी मै पु¥याइ दिनेछन् । नयाँ पुलबाटै तपाईको पैदल यात्रा सुरु हुनेछ ।

Thursday, October 20, 2016

स्कुटर चलाउने केटो, बाइक चलाउने केटी

केटा लाउँछन् कानमा मुन्द्रा, कपाल लामा लामा
photo:pinterest
केटी भने पाइन्ट लाउँछन, लाउन छाडे जामा
पछि पछि गएँ म त, छोटो कपाल देखी
केटा भनी बोलाएको, रैछे त्यो त केटी
आचकलको फेसनले, झन्डै मलाई मार्यो
केटाकेटी छुट्टाउनै, भयो साह्रै गाह्रो—२
केही दिनअघि पुरानो किताबमा रहेको कागजको चिर्कोटमा मैले यो कविता भेटेँ। १७ वर्षअघि यो कविता लेख्दा म भर्खरै एसएलसी परिक्षा दिँदै थिएँ। पोखरेली युवा साँस्कृतिक परिवारले मासिक रूपमा सञ्चालन गर्दै आएको समता काव्य सन्ध्या (हाल पनि जारी) मा बाचन पनि गरेको थिएँ। संयोग, त्यस दिन उपन्यासकार सरुभक्त श्रेष्ठ दाइ कार्यक्रममै हुनुहुन्थ्यो। उहाँ पनि लामो कपाल पाल्नु हुन्थ्यो। कविता बाचन सकिएपछि सबै गललल्ल हाँसे। मैले सोचेँ, कविता सुनेर हाँसे, तर धेरैले सरुभक्त दाइको कपाल हेरेर हाँसेछन्।

प्रिग्नेन्सी टेस्ट

वैशाख २३, २०७४- काठमाडौंको नयाँबानेश्वरमा रहेको मेरो फ्ल्याट र उनी बसेको महिला छात्रावासबीचको दूरी लगभग दुई हात मात्र छ । दोस्रो तलामा रहे...