Skip to main content

हजुरबा र हजुरआमा नाटक खेल्दा


- भवसागर घिमिरे

 ‘हिमालै चुली त्यो पारी नि पट्टी गाइमर्यो रोगैले
रक्सीको पुइनी दाजु र नि बुइनी भेट भयो जोगैले’


भारतीय पूर्व सैनिक बिर्खबहादुर गुरुङले गाएको यो गीत जस्तै हाम्रो पनि जोगैले उनीसँग ताप्लेजुङमा भेट भएको थियो। ७० वर्षे बिर्खबहादुर उमेरले बुढो भएपनि उनको जोश हेर्न लाएकको थियो । नाटकमा भाग लिन उनी कलाकार छनौटको प्रक्रियामै केही महिना अघि फुङलिङ आएका थिए। 
‘सर मलाइ त खासै बोल्न आउँदैन नि हो,’ खित्का छाँडेर हाँस्दै उनले पहिलो भेटमा भने, ‘छनौंटमा भए भइएला, नभए ठिकै छ ।’ यति भनेपछि उनी फेरि मरीमरी हाँसे । हाँस्दा उनका रसिला आँखा झनै उजेला देखिन्थे ।
उनको यो हाँसीमजाक गर्ने बानी । रसिलो पारामा पुराना गीतका टुक्काहरू गाउन सक्ने क्षमता । यिनै कुराले उनलाई बिजुलीको कथामा अभिनय गर्ने मौका मिल्यो । गाउँका बिर्ख बाजे नाटकमा 'पच्चिस बाजे' भएर झुल्के । पच्चिस उनको पल्टनको स्टाफ नम्बर थियो, नाटकमा ।
नाटक कथा मीठो सारंगीकोलाई यस्तै-यस्तै वास्तविक जीवनका कलाकारले जीवन्त बनाएका छन् । उनले जीवनमा कहिल्यै कुनै नाटकमा भाग लिएका थिएनन् । तर उनैले अरू कुनै अभ्यस्त कलाकारले भन्दा जीवन्त अभिनय गरेर देखाए । 

अक्षर पढ्न जानेको हुनै पर्ने । नाटक खेलेको, जानेको बुझेको हुनै पर्ने । प्रखर बक्ता नभइ नहुने । सामान्यतया नाटक खेल्नेसँग हुनुपर्ने यस्ता गुँण कथा मीठो सारंगीको नाटकका पात्र छान्ने बेलामा मतलब नहुने भएकाले नै बिर्खबाजेले अवसर पाएका हुन् । 
कथा मीठो सारंगीको नाटक तयार गर्नु पूर्व सोही स्थानमा गएर कलाकार छनौंट कार्यक्रम हुन्छ । सो कार्यक्रममा साना बाबुनानी देखि हजुरबा हजुरआमासम्मका सबैले भाग लिन पाउँछन् । जसरी एउटा समाजमा हरेक पुस्ताका, फरक विचार बोकेका फरक मानिसहरू बस्छन् त्यसैगरि नाटक तयार गर्नका लागि पनि यस्तै फरक अनुभव, स्वभाव र उमेर समुहका मानिसको आवश्यकता पर्छ । तब मात्र नाटक समाजको ऐना बन्न सक्छ । नाटकका कलाकार तयार पारिसकेको एक महिना जति पछि फेरि सोही गाउँमै बसेर दृश्य अनुसार खोला, पाखा, घर, खेत, बारी जंगल यस्तै ठाउँमा नाटक रेकर्ड गरिन्छ ।
कथा मीठो सारंगीको नाटक रेकर्ड गर्नु अघि कुनै संवाद तयार गरिएको हुन्न । तर कलाकारहरूले अभिनय गर्नुपर्ने कथावस्तुसँगै विभिन्न परिस्थितिहरू भने तयार पारिन्छन् । त्यही परिस्थितिमा रहेर कलाकारले आफैँ संवाद बोल्नु पर्छ । नाटकमा हामीले यसलाई 'इम्प्रोभाइजेसनल मेथड’ भन्छौं, अर्थात् तात्कालिन अवस्था अनुरूप प्रसंग मिलाएर बोल्ने विधि ।
यसरी लेखिएको संवाद हेरेर बोल्नु नपर्ने भएकाले अक्षर नचिनेकै किन नहुन, धेरै उमेर पुगेका पुस्ताले पनि नाटक खेल्न सक्छन् र राम्रो अभिनय देखाउन सक्छन् ।
पच्चिस बाजे जस्तै नाटक बिजुलीका कथामा अभिनय गरेकी अर्की आमै छिन्- बाटुली हजुरआमा । उनको खास नाम भने भीमा दाहाल हो । ताप्लेजुङकी ७३ वर्षिया यी आमै पनि निक्कै फरासिली रहिछिन् । माथिको तस्वीरमा तपाईँ पच्चिस बाजे र बाटुली हजुरआमालाई देख्न सक्नुहुन्छ । 
कलाकार छान्ने बेलामा उनले गरेको प्रस्तुतिले नै उनलाई नाटकमा बाटुली हजुरआमा बनायो । उनी अभिनय गर्न मात्र हैन मीठो स्वरमा पुराना भाका गाउन पनि माहिर छिन् ।
त्यो पारि बाट नि लै लै ज्यान चरी झर्यो, बस्यो है लौरैमा सम्धिनी ज्यूको पोइ
समाते पछि नि लै लै म छाड्ने छैन, फेरखोले दौरैमा सम्धिनी ज्यूको पोइ
यस्तै-यस्तै पुरानो भाका उनी मनदेखि गाउँछिन् । पुराना पुस्ता भएपनि नयाँ पुस्तामा आएको परिवर्तनलाई बुझ्ने र राम्रो काम गर्नेलाई हौसाउने पात्रको रुपमा हामीले बिजुलीको कथामा उनलाई चित्रण गरेका थियौं ।

बिर्ख र भीमा जस्तै भक्तपुरकी मसिनीदेवी भेले पनि कथा मीठो सारंगीको सम्झँदा बिर्सनै नसक्ने पात्र हुन् । ६९ वर्षिया उनले ‘हजुरआमाको कथा’ मा मुख्य भूमिका निर्वाह गरेकी थिइन् । हजुरआमाको कथा नाटक तयार गर्ने सिलसिलामा हामी ५, ६ दिन लगाएर भक्तपुरका विभिन्न  गल्लीमा घाम ताप्दै बसेका, बाति काट्दै गरेका धेरै हजुरआमाहरू सम्म पुगेर भलाकुसारी गर्यौँ । धेरै प्रयास पछि हामीले मसिनी हजुरआमालाई पायौं । 

उनी पनि भजन निक्कै मीठो गाउँथिन् अनि आफूले भोगेका कुरा दिल खोलेर सुनाउँथिन् । उनको कथा भन्ने शैली निक्कै मीठो थियो । उनको बाल्यकालमा बिहे भएको, श्रीमान बितेको कथा हामीले निक्कै टोलाउँदै सुन्यौं । जन्मने बेलामा साह्रै दुब्ली र मसिनी भएकाले उनको नामै मसिनी राखिएको रहेछ । उनीभन्दा पाका उमेरका न्हुच्छेमाया हाच्छेथु, नारायणीदेवी धबुडेलले पनि यो नाटकमा सहयाक पात्रको रुपमा अभिनय गरे ।
"जिगु नां भवसागर ख: (मेरो नाम भवसागर हो); जिगु छें पोखरा ख: (मेरो घर पोखरा हो); गन वना वया (कता गएर आएको?); छु याना च्वनु (के गरिरहेको?)।" उनीसँगको सहकार्यको दौरान हामीले केही नेवारी भाषा बोल्न पनि सिकेको थिएँ। धेरै बिर्सिएँ । केही सम्झिएँ । सम्झिएकै वाक्यमा पनि लेख्दा त्रुटि भएको हुनसक्छ । जेहोस्, न्यायका लागि अदालतमा दशकौं संघर्ष गर्ने हजुरआमाको कथा रेकर्डको सिलसिला पनि अविष्मरणीय रह्यो ।
हामीले यदि नाटक लेखनको दौरान नै संवाद तयारपारेको भए बिर्ख बाजे, भीमा र मसिनी हजुरआमाले बोल्ने शैली, शब्द कसै गरि पनि लेख्न सक्ने थिएनौं । पहिल्यै स्क्रिप्टमा रहेको कुरा घोक्नु पर्छ भनेर अघि सरेको भए पढ्न राम्ररी नजान्ने उहाँहरू सँग भेट पनि हुन्नथ्यो होला । भेट भयो, नाटक तयार भयो र धेरैले मन पनि पराउनु भयो । वास्तविक जीवनका पात्रले बोलेको कुरा अरू भन्दा अझ चोपिलो, मीठो र विश्वासिलो हुन्छ । ताप्लेजुङ, जुम्ला, मुगु, जनकपुर, बर्दिया, पाँचथर, इलाम, पोखरा, दाङ, भक्तपुर लगायत देशका धेरै ठाउँमा पुगेका हामीले यहि कुरा सिक्यौं ।
‘यो बुढीलाई मर्ने बेलामा कसले यस्तो नाटक खेलाउँथ्यो र,’ नाटक रेकर्ड सकेर छुटिने बेलामा भक्तपुरकी मसिनी हजुरआमाले भनेको अझै याद आउँछ, ‘बाबुहरू आउनु भो, म बोलेको रिकड भो, जय होस् ।’ 

Comments

Popular posts from this blog

लुते प्रशासन,लुरे लोकतन्त्र

प्रशासन लुतेकुकुर जस्तो भएको छ । नारा लगाउँदै हिडेका चार जना बन्दकर्ताहरूलाई गाडी सहित आएको दश जना पुलिसहरूले पहरा दिइराखेका थिए । उनीहरू भर्खरै मेरो कोठा अघिल्तिरबाट गए । ती चार जनाको डरमा यहाँ वरपरका चालीस भन्दा बढी सटरहरू ह्वार ह्वारति बन्द गरिए । न यो देश ती नाइके कहलिएकाहरूले कमाएका थिए, न उनीहरूको नुन खाएर हामी तंग्रिएका थिषैं । जुनसुकै पाटी किननहोस्, तिनीहरूलाई बन्द गर्ने अधिकार छैन र हामीलाई हामीले तिरेको करले बनाएको बाटोमा खुलेआम सवारी साधन चलाउने अधिकार छ । पसल खोल्ने अधिकार छ । व्यापार गर्ने अधिकार छ । तर खै अधिकारको सुरक्षा ? यहाँ त कुर्ची जोगाउनका लागि दलाल, घुसखोरी, दादागीरी चन्दागीरी र झण्डागिरी गर्नेहरूको मात्र सुरक्षा हुन थालेको छ । मेरो देशमा लोकतन्त्र आएर के भो त ? 

एउटा खाली पाना

  एउटा खाली पाना जसमा कोरिन सक्थ्योे करौडा तालीका कविता एउटा खाली पाना जसमा बन्न सक्थ्योे अरबौं बिम्बका चित्र जबरजस्ती आगोमा फालियो एउटा खाली पाना जसले काँधमा थाप्न सक्थ्यो यो देशको भविष्य भर्खरै खरानी भयो एउटा खाली पाना एउटी निर्मला एउटी पुष्पा एउटी माया तपाई कै छोरी, दिदी,  बहिनी, चेली उहि, एउटा खाली पाना ।