Skip to main content

Posts

Showing posts with the label कविता

एउटा खाली पाना

  एउटा खाली पाना जसमा कोरिन सक्थ्योे करौडा तालीका कविता एउटा खाली पाना जसमा बन्न सक्थ्योे अरबौं बिम्बका चित्र जबरजस्ती आगोमा फालियो एउटा खाली पाना जसले काँधमा थाप्न सक्थ्यो यो देशको भविष्य भर्खरै खरानी भयो एउटा खाली पाना एउटी निर्मला एउटी पुष्पा एउटी माया तपाई कै छोरी, दिदी,  बहिनी, चेली उहि, एउटा खाली पाना ।

एउटा खाली पाना

जसमा कोरिन सक्थ्योे करौडा तालीका कविता जसमा बन्न सक्थ्योे अरबौं बिम्बका चित्र जबरजस्ती खरानी पारियो एउटा खाली पाना जसले काँधमा थाप्न सक्थ्यो यो देशको भविष्य एउटा खाली पाना निर्मला, पुष्पा, माया तपाई कै दिदी, बहिनी र चेली उहि, एउटा खाली पाना । #JusticeForNirmala

लोडसेडिङ जस्तो माया

हाम्रो माया चाकु जस्तो गुलियो होस् तर कालो नहोस् हाम्रो माया सखरखण्ड र तरुल जस्तो फैलियोस, झांगियोस् तर नमरोस हाम्रो माया स्वास्थानी जस्तो सधैं दोहोर्याएर पढ्न पाइयोस्, पढेर मिल्काउन नपरोस् तिलको लड्डु जस्तो साह्रो होस् प्रेमको गाँठो तर कसार जस्तो टोक्नै गाह्रो नहोस् सूर्य ग्रहण जस्तो वर्षवर्षा मात्र आउने नहोस् हाम्रो माया लोडसेडिङ जस्तो हरपल, हर क्षण साथ दिने होस् !!! हरपल, हर क्षण साथ दिने होस् !!! (२०६६-१०-१, कालिमाटी तरकारी बजार, तरूल सखरखण्ड व्यवस्थापन समिती) :)

भर्ना खुलेछ !

चाहेको रकम असुल्न पाइने सीत्तैमा मागेर हसुर्न पाइने रीस उठेमा छाला तार्दीन पाइने बङ्गारा गनेर झार्दीन पाइने सी।डी।ओ प्रहरी कुट्न पाइने कार्वाहीमा नपरि छुट्न पाइने आफ्नो वीरुद्ध बोल्नेलाइ धान चुटेझै चुट्न पाइने मुर्खको हातमा कानुन फुलेछ आउनुहोस् नयाँ भर्ना खुलेछ ।

गोबरसँगै गुच्चा खेल्दै

एक दुई तीन चार गोलो गोलो चक्का पाँच छ सात आठ भित्तै भरि चक्का भित्तै भरि चक्का नौ दश चक्का के को हो यो चक्का गोबरका चक्का गिलो गोबर भित्तामा टाँस्ने झ्याप्प झ्याप्प हातले थिच्दा माथिबाटबस्छ ढ्याप्प ढ्याप्प भकारोको गोबर हेर पुग्यो गोठको भित्ता के रहेछ हेर्दैछु म भई एक चित्त गोठको छेउछाउमा पर्न थाल्यॊ घाम लाग्यो नौलो हजुरबाले गर्नु भएको काम

सन्तान खोज्दै आमाहरु

पशुपतिका घाटछेउ उराठ वृद्धाश्रममा मृत्यु नजिकीएका आमाहरु तिनकुनेका पुलपारीको वृद्धाश्रममा बाती काट्दै गरेका आमाहरु रविभवनको दिलशोभा घरबाट सडक नियाली रहेका आमाहरु डोर् याउने कोमल हात खोज्दैछन् तपाइ हाम्रै साथ खोज्दैछन् कैयौं सन्तान जन्माएका उनीहरु आफूले नजन्माएका सन्तान खोज्दैछन् सहारा दिने नयाँ सन्तती खोज्दैछन् (भवसागर घिमिरे-२०६८)

नयाँ वर्ष आएर के भो ?

सुरक्षाका लागि गृहमन्त्री पशुपतिको भर परे उर्जामन्त्री खुकुरीको चोटले अस्पताल भर्ना भए अरे अर्थमन्त्रीले अनुचित रुपमा व्यापारीसँग साँठगाँठ गरे संविधान लेख्ने दिन पनि हरेक वर्ष पर सरे पुर्खाले देशका लागि लडेर पो हाम्रो नाम गोर्खाली भयो तर ऐले सुस्ता, कालापानी गयो देशको खोलाहरु पनि विदेशी भयो भैगो मलाई कुनै रौंनक छैन नयाँवर्ष अघिल्लो साल तँ आएर नै के भयो ? यो साल तँ आउन लागेर नै के भयो ?

झरी परेको दिन...

उनी र म उनले छाडेर गएपछी हरेक दिन झरी पर्यो उनी पानीले भिजिन म आँशुले ! सडक बालक साला झरी नपरेपनि हुन्थ्यो सुत्ने सडक रुझ्यो ओढ्ने आकाश भिज्यो सम्झौता झरी परेकाले आज फुटपाथमा व्यापार छैन चुल्हो चिसो छ माया साटेर भोक मारौं !!! सडक रोपाइ गर्न परे सडकमै धान छरे हुन्छ माछा पाल्न परे थोरै पानी परेहुन्छ वा ! क्या सडक छ आउनुहोस् झलकनाथ ज्यू यसलाई पनि उद्घाटन गरे हुन्छ (Bhabasagar-Feb16th, 2011)

ब्रेक अप-भ्यालेन्टाइन

भ्यालेन्टाइन १ प्रेम पत्र दिएँ भनेको त घरको तरकारीको बिल परेछ नसोध भो पछि के भो जीउ रक्सीले टिल परेछ भ्यालेन्टाइन २ म मन भरी फूल बिच्छ्याएर उनको घर पुग्दा त्यो त उनको माइत भैसकेछ तैपनि यसो मन फर्कन्छ कि भनी उनको कर्म घर गएको त धत् त्यहाँ त उनी सुत्केरी भै रैछ

भर्ना हुने हो ?

चाहेको रकम असुल्न पाइने सीत्तैमा मागेर हसुर्न पाइने रीस उठेमा छाला तार्दीन पाइने बङ्गारा गनेर झार्दीन पाइने सी.डी.ओ प्रहरी कुट्न पाइने कार्वाहीमा नपरि छुट्न पाइने आफ्नो वीरुद्ध बोल्नेलाइ धान चुटेझै चुट्न पाइने मुर्खको हातमा कानुन फुलेछ आउनुहोस् नयाँ भर्ना खुलेछ ।

हामी के फर्सी हो ?

Photo : Tek Narayan Bhattrai साइकलमा उँधो मुन्टाइएका ब्वाइलर कुखुराहरु झै भएका छौं कौसीमा झुण्डाइएका पाकेका फर्सीहरु झै भएका छौं बोटको टुप्पोमा फलेका दिन पुगेका मेवाहरु झै भएका छौं भिर भिरै खेद्दै कुदाइएका अबोध भेडाहरु झै भएका छौं साइकलबाट झर्न सक्छौं कौसीबाट खस्न सक्छौं बोटबाट गिर्न सक्छौं भिरबाट लड्न सक्छौं ए ड्राइभरहरु हो झ्याप्प ब‍े‍क नहान गाडीको हाम्रो जिन्दगीमा ब्रेक लाग्न सक्छ

सल्मडग-पत्रकार

कार्डको दाम्लो बाँधेको छु गोजीमा पान्नो खाँदेको छु भन्दछु अरुको लैख्दैछु बिर्सन्छु आफैलाई साँधेको छु भर्नलाई साहुकॊ भकारी फटाल्छु जुत्ता लतारी रिसको झोकमा पिएर हिड्दछु खुट्टा बटारी जाबो दुइछाक टार्नलाई खेप्दछु सयौ लाखौ मार आज पो बल्ल चिन्दैछु सल्म-डगै रैछु म पत्रकार साहुले कहिल्यै मानेन उसलाई मैले बनाको जहिले सुकै कुर्लन्छ मैले नै पैसा खन्याको पैसाले किन्ने हामीलाई बेचिने हामी बोका हो साहुले भन्छ बोकै हो यो त महाको धोखै हो ।

दुइ तिर

उडाउनेहरु कोही यहाँ माटो पुरेर बाटो उडाउँछन् कोही यहाँ बाटो च्यातेर माटो उडाउँछन् ! वर्षेनी विदेशीको ऋण पचाएर नेताहरु दिन दहाडै तपाईं हाम्रो सातो उडाउँछन् !! सडक रोपाइ गर्नलाई यहाँ सडकतिर झरे हुन्छ माछा पालन गर्न पनि थोरै पानी परे हुन्छ ! वाह क्या सडक छ आउनुहोस् मन्त्री ज्यू यसलाई पनि एकपटक उद्घघाटन गरे हुन्छ !! (भवसागर घिमिरे-२०६५)

आमा भो नसुनाउनुस्…

६० हजारमा किनेको गाइ थुनेलो भएर मरेपछी कृषि विकास बैंकले घरखेत उठाउँदै छ रॆ साइला बा र साइलियाँलाइ दुःख खपिसक्नु छैन् ४ घण्टाको पैदलबाटो सदरमुकाम अस्पताल ल्याउन नपाउँदै पेटको छोरीसँगै यमुनाले बाटैमा सास छोडी रे ठूल्बाको छोरोले किताब किन्न नसकेर स्कुल छाड्यो रे आमा भो नसुनाउनुस् गाउँको खबर तपाइको यो निर्दयी छोरोले डिग्री पास भाको यतिका वर्ष बितिसक्दा पनि गाउँका लागि काठमाडौं छाड्न सकेको छैन् (भवसागर-२०६७)

भच्काइदे

पैला तेरो नाम भन, गर्न आको काम भन, अनि आफ्नो गाम भन, घुस मागे भुस पार्दे, आलटाल गरे ढुस पार्दे, हाकीम साकीम बंङ्गरा झार्दे ढाड साड लच्काइदे निहुँ खोज्नेलाइ भच्काइदे खानेपानी, बिद्युत सटासट भन्सार, मालपोत फटाफट भएन भने हिर्काइदे हाडखोर बङ्गाइदे जसको शक्ती उसको भक्ती कालो मोसो रङ्गाइदे गर्दन पुरै मस्काइदे निहुँ खोज्नेलाइ भच्काइदे सोझो मान्छे खाली हात भरिहुन्छ जाली हात दल बलले हीरो बन खुर्सानी भन्दा पीरो बन पढे पनि बेरोजगार नपढे'नी बेरोजगार किताब कापी मील्काइदे गाला साला पच्काइदे निहुँ खोज्नेलाइ भच्काइदे (भवसागर घिमिरे, समता काव्य सन्ध्या-२०६२)

मलाई 'म' मन पर्दैन

भवसागर घिमिरे म मनबाट चलेको छु मस्तिष्कबाट चलेको छैन त्यसैले मलाई म मन पर्दैन पहिला पहिला मेरा मनहरु नसा नसाबाट बग्दै मस्तिष्कमा पुगेर छानीने गर्थे शुद्ध हुन्थे मनहरु अनि म त्यसलाई व्यवहारमा उतार्थे तर आज मनहरु मस्तिष्कमा पुग्न नपाउँदै व्यवहारबाट पोखिने गर्छन् म सँधै मनको कुरा मान्छु मस्तिष्क सदा लाचार भै रहन्छ धिक्कारी रहन्छु म अनि मनहरुलाई किनकी मेरा मनहरु मलाई स्वयं दमन गर्दैछन् लज्जास्पद बनाइरहेका छन् तरपनि म प्रतिकार गर्न सक्दिन मनहरुलाई म हार्दोयुद्ध लडिरहेको छु त्यसैले मलाई म मन पर्दैन ! (२०६१-०१-३१, पोखरा) sagarbhaba@gmail.com

जनकारबाही !

उनीहरूले केही सोध्नु छ, आऊ भने मैले पनि लौ त जाउँ भनेँ के था’ मलाई सोध्न हैन गोद्न बोला’रैछन् रीसको झोकमा उनीहरूले मानवीय व्यवहार भुले अँध्यारो गल्ली गल्ली हुँदै सुनसान कारखानाभित्र हुले एउटाले खुब लेख्छस् भन्यो अर्कोले अब देख्छस् भन्यो हत्त न पत्त नाम्लाले बाँधे दर्जनौं मिलेर लात्ताले खाँदे मलाई गोद्नु गोदे, सोध्दै नसोधी गोदे बोल्नै नपाई गोदे पाता फर्का’र गोदे बेजोड हिर्का’र गोदे बुटले गोदे, बेल्टले गोदे गोद्दा गोद्दा मेरो होस गुम हुने बेला बल्ल तिनीहरूले पहिलोचोटि सोधे तैं हैनस् जीवनसागर ? मैले चुटाइले थिल्थिलिएको जीउ चलमलाएँ रगतले पोतिएका आँखा पुलुक्क उठाएँ मधुरो बोलीका लागि सास जुटाएर भने म भवसागर पो त ! भवसागर घिमिरे पोखरा- ३, नदीपुर, हालः त्रिवि, कीर्तिपुर यो कान्तिपुर दैनिकको पाठक मन्च स्तम्भमा  २०६४ -७ -१५ प्रकाशित भएको हो ।