जनकारबाही !

उनीहरूले केही सोध्नु छ, आऊ भने
मैले पनि लौ त जाउँ भनेँ
के था’ मलाई सोध्न हैन
गोद्न बोला’रैछन्
रीसको झोकमा उनीहरूले
मानवीय व्यवहार भुले
अँध्यारो गल्ली गल्ली हुँदै
सुनसान कारखानाभित्र हुले
एउटाले खुब लेख्छस् भन्यो
अर्कोले अब देख्छस् भन्यो
हत्त न पत्त नाम्लाले बाँधे
दर्जनौं मिलेर लात्ताले खाँदे
मलाई गोद्नु गोदे,
सोध्दै नसोधी गोदे
बोल्नै नपाई गोदे
पाता फर्का’र गोदे
बेजोड हिर्का’र गोदे
बुटले गोदे, बेल्टले गोदे
गोद्दा गोद्दा मेरो होस गुम हुने बेला
बल्ल तिनीहरूले पहिलोचोटि सोधे
तैं हैनस् जीवनसागर ?
मैले चुटाइले थिल्थिलिएको जीउ चलमलाएँ
रगतले पोतिएका आँखा पुलुक्क उठाएँ
मधुरो बोलीका लागि सास जुटाएर भने
म भवसागर पो त !

भवसागर घिमिरे
पोखरा- ३, नदीपुर, हालः त्रिवि, कीर्तिपुर
यो कान्तिपुर दैनिकको पाठक मन्च स्तम्भमा  २०६४ -७ -१५प्रकाशित भएको हो ।

Comments