Friday, June 16, 2017

प्रिग्नेन्सी टेस्ट

वैशाख २३, २०७४- काठमाडौंको नयाँबानेश्वरमा रहेको मेरो फ्ल्याट र उनी बसेको महिला छात्रावासबीचको दूरी लगभग दुई हात मात्र छ । दोस्रो तलामा रहेको उनको सानो तीनकुने कोठा दक्षिण पूर्व फर्केको छ । कोठाको दक्षिणतर्फ काठको फ्रेम भएका सिसाको झ्याल छ । झ्यालमा तीनवटा खापा अनि त्यसमाथि बुट्टेदार फलामको भेन्टिलेसन छ । झ्यालको पर्दा अलि सानो छ, दुई खापा मात्र ढाक्छ । खुला हुने बाँकी एक खापाबाट म उनलाई राम्ररी नियाल्न सक्छु । यसका लागि मैले फ्ल्याटको बाथरुम वा भान्छाकोठाको जाली खापाबाट चियाउनुपर्छ । कहिलेकाहीं पर्दा नपुगेको बाँकी एक खापामा उनी गम्छा झुन्डाउँछिन् । यस्तो बेला मेरो नजर र उनीबीच पूरै पर्दाको पर्खाल उभिन्छ । यति छोटो दूरीलाई ती पर्दाहरूले यति धेरै लम्बाइदिन्छन् कि मन बेचैन हुन्छ । मीठो बेचैनी, नछोएको शीतजस्तै, नलेखेको गीतजस्तै ।

एकान्तमा उनी गीत गुनगुनाउन रुचाउँछिन् । गुनगुनाउँदै कोठाबाट पूर्व फर्किइन् भने झ्यालबाट धुलाम्य खुला चौर अनि चौरसँगै जोडिएको सडक देख्न सक्छिन् । माटो उधिन्दै दगुर्ने डोजर अनि कामको सुस्त गतिका कारण बाटो लामो समयदेखि भर्खरै खनिएको आलुबारीजस्तै छ । बेला–बेला हुरी चल्दा बटुवाले गाडी देख्दैनन्, गाडीले बटुवा देख्दैन । रातको समयमा भने सडक किनारका बत्तीहरूले सुनसान सडकमा सुनौला रंगहरू छर्छन् । उनलाई सायद त्यो मन पर्दो हो एउटा खापा खुलै राखेर रातमा सडक टोलाउँदै अबेरसम्म पढ्छिन् । बिहानीपख त्यही झ्यालबाट घामसँगै मेरा नजरले उनलाई सुम्सुम्याउँछ ।
यसैले पनि म बिहान सबेरै उठ्छु अनि भान्छामा चिया पकाउन पुगिहाल्छु । मस्त निदाएकी उनको शान्त मुद्रा नियाल्छु । कर्कलाको सिन्की बाटेको जस्तो कपाल । कालो फ्रेम भएको ठूला–ठूला चारपाटे सिसाका चस्मा अडिएका लाम्चा आँखा । बाटुलो निधार । सानो कदको शरीर । हिस्सी र हल्का कालो वर्णको मुहार अनि त्यसभित्र अनगिन्ती सपनाहरू । यस्तो सोच्छु, उनका सपनाको कुनै पलमा खुसुक्क म पनि पस्न पाए, बाँकी जिन्दगी उनीसँगै हराउन हुन्थ्यो । पछिल्लो दुई महिना भने मेरो लागि उनको मोबाइलमा बज्ने एउटा भिन्दै रिङटोन त्यो पर्दाभन्दा ठूलो पर्खाल बनेर खडा भएको छ । त्यो रिङटोनमा बज्ने सुमधुर धुन पनि मेरो मनमा नराम्रोसँग बिझ्छ, फूलको धारले रेटेजस्तै ।