Saturday, August 29, 2015

केही यस्तो होस्

 कहिल्यै खान नपरोस् । ट्वाइलेट जान पनि नपरोस् । तरकारीको भाउ सुनेर डराउन नपरोस् । बर्डफ्ल्युको नामले सातो पनि नजाओस् । नेपालबन्दले ग्यास ‘सटेज’ छ भनेर टाउको नदुखोस् । दूधमा उ घोलुन वा उसमा उ घोलुन्, ती व्यापारीले आफैं खाउन्, आफैं रमाउन् । बिषादी हालेको तरकारी । हिलो मिसिएको जारको पानी । यी पिउन पनि नपरोस्, चपाउन पनि नपरोस् । व्यापारीको ढर्रा देखेर रिस पनि नउठोस् । भोकमरीको समाचार पनि हराउने । भोकमाथि राजनीति गर्नेहरू पनि डराउने । यो देशका मान्छे यस्तो होस् कि गज्जबको ज्यान होस् । मोबाइल सेटजस्तै तार जोडेपछि चार्ज होस् तर हप्तौंसम्म डिस्चार्ज नहोस् । 

ज्यान चार्जका लागि पेट्रोलका पम्पझैं चार्जर–पम्पको गाउँसहरमा लाइन होस् । ‘बूढाबूढीलाई चार्ज गर्दा बच्चाबच्चीलाई फ्री’ यस्तै खालको स्किम होस् । ज्यानचार्जर कम्पनीका ठूला ठूला होडिङ–बोर्डले गाउँसहर रंगियोस् । सडक छेउछाउमा ह्युमनचार्ज कटेज होस् तर पेट्रोलजस्तो सटेज नहोस् । रातको टाइम । ‘चार्ज छैन, टेन्सन छैन’ रिचार्ज कार्डको पनि व्यवस्था होस् ।
देशमा मान्छे होस्, बुद्धि पनि होस् तर त्यसमा गिदी नहोस् । दिमागभित्र कम्तीमा ३२ जीबीको मेमोरी कार्ड हाल्न मिलोस् । पढेको जति बस्ने, जाँचमा लेख्न बस्दा उत्तर पुस्तिकामा खस्ने । दैनिक सयौं मान्छेसँग परिचय भए पनि नभुल्ने गरी फोल्डर सिस्टममा बस्ने । भाइरस स्क्यान गर्न मिल्ने । हैरान भइयो भने ‘फर्मेट’ गर्न पनि सकिने । यस्तै वान टीबीसम्म एक्सपानडेबल सिस्टम कार्ड, टाउकैभित्र होस् तर टेन्सन नहोस् ।