Monday, October 28, 2013

गोलीको खत कहिले मेटिएला?

आज ठ्याक्कै दश वर्ष बित्यो। २०६० साल कार्तिक ११ गते। पोखरा बजार। पृथ्वीनारायण क्याम्पसबाट स्नातक तह तृतीय वर्षको परीक्षा सकिसकेको थिएँ। स्नातकोत्तर अध्ययनको माहोल मिलाउन म काठमाडौं जाने योजना पनि बुन्दै थिएँ। तिहारको भाइटीकाको अघिल्लो दिन मात्र सकिएको थियो ।
भतिजीको पढाइका लागि छात्रावास फर्कने बेला पनि भएको थियो। उसका लागि जाडोका केही लुगा किनमेल गर्नु पर्ने काम। कान्छी दिदी सावित्रा सुवेदी र साथी रूद्र कुँइकेलको साथमा म बजार पुगेको थिएँ। बजार डुल्दादिनको ३ बजिसकेको थियो। मलाई आइसक्रिम खान मन लाग्यो ।
पोखराको व्यस्त बजार। चिप्लेढुंगाभन्दा थोरै उत्तर तिर भित्र पट्टी रहेको पन्थी डेरी आइसक्रिमको लागि निक्कै चर्चित थियो।
'जाऊँ पन्थी तिर,' मेरो कुरा भुइँमा खस्न नपाउँदै सावित्रा दिदीले भन्नु भयो, 'घर फर्कन भ्याउँदैनस् पछि जाउँला।'
कास्की जिल्लाकै हंशपुरमा छ मेरो घर।
पोखराबाट बेगनास तालसम्म लगभग १ घण्टाको बस यात्रा र त्यसपछि पनि हंसपुर जान कच्ची बाटोका लागि करिब पौने घण्टाको यात्राको लागि अर्को गाडी समाउनु पर्ने बाध्यता थियो।
गाडीबाट झरेर अझ आधा घण्टा उकालो हिडेपछि मात्र घर आउँथ्यो। संकटकालको बेलारात ढल्की सकेपछि हिड्न सकिने स्थिति थिएन। त्यसैले म बेगनासको लागि गाडी चढेँ।....

Tuesday, October 22, 2013

मैले भोगेको जिन्दगी

विहानी पख । गोठका गाई बाच्छा चरनमा गइसकेका थिए । पाठापाठी घरि खोरमा आमासँगै लुटपुटिन पुग्दथे त घरि आँगनमा ब्रुक ब्रुक उफ्रदै थिए । चराहरू चारा जुटाउने दाउमा करेसाबारीको वल्लो पल्लो गर्दैथिए । हेटौंडा मकवानपुरको एक गाउँ । प्राय मोटर नकुद्ने कच्चीबाटोको छेवैमा उनको बास थियो । काठले बारेको घर । ढुंगाको छानो । माटोले पोतेको भुइँ । भान्छाकोठामा उनी तरकारी केलाउँदै थिइन् । ‘बस्नुस् भात पाकीसकेको छ,’ मेरो उपस्थितिलाई उनले खुसीसाथ स्वागत गरिन् ।
@lalitkala.wordpress.com

सिमीका रेशा जस्तै । जिन्दगी पनि उनले धेरै केलाइसकेकी थिइन् । विमला थापा (नाम परिवर्तन) लाई थाहा थिएन, यो यति जटिल हुन्छ भन्ने । सिसाकलम झैं, ताछिएर तिखारीनु पर्ने । सुन झै पोलिएर चम्कनु पर्ने । ‘मैले सोचेकै थिइन्, यति गाह्रो हुन्छ जिवन,’ तरकारी केलाउँदै गरेकी थापाका औला टक्क अडिए, ‘दुःखसँग ठोक्किएर जिउन पर्ने ।’

***
पहिला दाई जन्मे, अनि दिदी । त्यसपछि उनी अनि भाइ । ६ जनाको परिवारमा आफ्ना सबै केटाकेटीलाई खुवाइ पिलाइ गर्न उनका बाबाआमालाई निक्कै गाह्रो पर्यो । दाई अर्कैको घरमा बसेर काम गर्दै पढ्न थाले । उनी दिदीसँगै घरआँगन दकुर्दै हुर्कन थालिन् ।

बाँसको पुतली बनाएर खेल्थिन् रे दिदीसँग । ‘पुतलीको बिहे हुन्थ्यो, हामीहरू रमाउँथ्यौं,’ उनको मुहारमा खुसीको छाँया देखियो, ‘गोट्टा र चुंङीसँग रम्दा जिन्दगीसँग छुट्टै रंग लागेको थियो ।’ चाडवाड आउँदा भने उनीहरूलाई खल्लो लाग्थ्यो । सबका घरमा मिठो पाक्दा उनको घर डालोमा पिठो सम्म हुँदैन्थ्यो ।

‘मैले नपढे’नि तिमीहरूले पढ्न पर्छ,’ उनकी आमै यसै भन्थिन् । त्यसैले उनीहरू पञ्चकन्या माविमा भर्ना हुन पाए । मेलापातबाट फर्केकि आमै । मजदुरीबाट फर्केका बाबै । घरमा छ्याल्लब्याल्ल हुने गरि अन्न जुटाउन सक्दैनथे । पेटभरि खान पाउनु निक्कै भाग्यको कुरा थियो । ‘मिठो मसिनो । चुल्होमा जे पाक्छ त्यही खानु पथ्र्यो,’ उनले भनिन् ।

‘भोकले हो वा मिठो मानेर थाहा छैन,’ थापाले भनिन् ,‘सानैमा माटो खाने बानी थियो ।’.......