Sunday, May 19, 2013

फोन भन्दा कट्वालै पक्को



‘माफ गर्नु होला, तपाइँले सम्पर्क गर्नु भएको फोनमा सम्पर्क हुन सकेन...’ मोबाइलबाट यस्तो सुनेपछि अर्जुनचौपारी गाविस, ठूलेगाउँकी डिलमाया गुरुङलाई फोन नै हुर्याइदिउँ जस्तो हुन्छ । सिडिएमए फोनको यदि टावर टिपिहाल्यो भने पनि कुरा राम्ररी बुझिदैन । गाउँमै बेला बेलामा भैरहने रितीतिथी, सामाजिक
 कार्यक्रमबारे जानकारी दिन उनीहरूले सदाझै कट्वाल कान्छालाई गुहार्छन् । अनि त केही बेरमै गुफाडाँडाबाट डम्मर बहादुर बिकको तिखो स्वर सुनिन्छ, ‘सुन्नुस् हे साइबो गाउँमा आमासमुहको बैठक हुँदैछ...।’ उनी चिच्याए पछि वयस्कमात्र होइनन्, गाउँमा के हुँदैछ भन्ने कुराको जानकारी हरेक केटाकेटीले पनि राख्न सक्छन् ।
३१ वर्षे विकले गाविसको कट्वाल पेशा धानेको ४ वर्ष पुग्यो । यसअघि कट्वाल बसेका बृद्ध कुल बहादुर परियार बितेपछि उनले यो काम सम्हालेका हुन् ।

Tuesday, May 14, 2013

भुत जस्तो रे




कसैले झुम्री भन्छन त कसैले भतुरी । जसले जे नामले बोलाएपनि यिनी रमाइलो मान्छिन् ।  ‘मेरो नाम दिलकुमारी महतो हो’ उनले हाँस्दै भनिन् ।

आरुणखोला नवलपराशीको आइतबारे हाटबजारमा क्यामेरा घुमाउँदै गर्दा मलाई यिनले परैबाट बोलाइन । ‘मेरो फोटो खिच्दिनुन भाइ,’ चार पटक भन्दा बढी भनिन होला । बजार हल्लामा मैले पछिल्लो पटक मात्र सुनेँ । पहिलो फोटो बच्चाको टोपी लगाएर खिचिन, दोस्रो फोटो खिचेपछि उनले अब चुरोट पिएको खिच्छु भनिन् । मैले रोक्न सकिन । उनले बट्टाबाट चुरोट निकालिन । लाइटर बालिन र सल्काउँदै भनिन्,‘ नहँसाउनुस है, म तानेर खिच्छु ।’ मैले पहिला त नहँसाइ खिचिदिएँ । पछि भने हँसाएर स्न्याप हानेँ । ‘राम्रो देखिएछ’ मेरो कुरो सुनेर उनले भनिन्, ‘ म काली चौधरीको के राम्रो हुन्थ्यो र।’ खुब हाँसिन् । मलाई रमाइलो लाग्यो । आफ्नो फोटो हेरेपछि भने उनी मुर्छा परेर हाँसिन । मैले के भो भनेर सोधेँ । उनले हाँसो थाम्दै भनिन्,‘कस्तो भुत जस्तो देखिएको ।’ उनको कुराले म पनि निक्कै हाँसे ।

Wednesday, May 8, 2013

हजुरबा र हजुरआमा नाटक खेल्दा


- भवसागर घिमिरे

 ‘हिमालै चुली त्यो पारी नि पट्टी गाइमर्यो रोगैले
रक्सीको पुइनी दाजु र नि बुइनी भेट भयो जोगैले


भारतीय पूर्व सैनिक बिर्खबहादुर गुरुङले गाएको यो गीत जस्तै हाम्रो पनि जोगैले उनीसँग ताप्लेजुङमा भेट भएको थियो। ७० वर्षे बिर्खबहादुर उमेरले बुढो भएपनि उनको जोश हेर्न लाएकको थियो । नाटकमा भाग लिन उनी कलाकार छनौटको प्रक्रियामै केही महिना अघि फुङलिङ आएका थिए। 
सर मलाइ त खासै बोल्न आउँदैन नि हो,’ खित्का छाँडेर हाँस्दै उनले पहिलो भेटमा भने, ‘छनौंटमा भए भइएला, नभए ठिकै छ ।यति भनेपछि उनी फेरि मरीमरी हाँसे । हाँस्दा उनका रसिला आँखा झनै उजेला देखिन्थे ।
उनको यो हाँसीमजाक गर्ने बानी । रसिलो पारामा पुराना गीतका टुक्काहरू गाउन सक्ने क्षमता । यिनै कुराले उनलाई बिजुलीको कथामा अभिनय गर्ने मौका मिल्यो । गाउँका बिर्ख बाजे नाटकमा 'पच्चिस बाजे' भएर झुल्के । पच्चिस उनको पल्टनको स्टाफ नम्बर थियो, नाटकमा ।
नाटक कथा मीठो सारंगीकोलाई यस्तै-यस्तै वास्तविक जीवनका कलाकारले जीवन्त बनाएका छन् । उनले जीवनमा कहिल्यै कुनै नाटकमा भाग लिएका थिएनन् । तर उनैले अरू कुनै अभ्यस्त कलाकारले भन्दा जीवन्त अभिनय गरेर देखाए । 

Monday, May 6, 2013

अनि उनीहरू फर्केनन्


मोबाइलको घण्टी एक्कासी बजेपछि मेरो निन्द्रा खुल्यो । बिहान ब्युँझनका लागि लगाएको अलाम भने थिएन त्यो । २०६९ साल वैशाख २३ गते शनिबार । बिहान चार बजेको थियो । आर्जनाको फोन रहेछ ।
-प्रशंसा शर्मा
‘हेल्लो’
‘ओइ, अझै उठ्या छैनस् ?’
‘बल्ल त चार बज्यो, साढे चार बजेको अलाम लाथेँ’
‘चाँडै उठ्न यार, ढिलो हुन्छ के फेरी पिकनीक जान’
‘तँ उठिस् र ?’
‘अँ नुहाउन जान लाको’
‘कति हतार भाको त ? एकैछिन सुत्छु नी है म’
‘ह्या तँ पनि, चाँडो उठ्न के अनि स्कुटर लिएर केशवदाईको तिर जा । म पनि त्यही आउँछु ।’
‘ल ल’
उसको हठका अगाडी मेरो निन्द्रा यस्सै भागेर गयो । म उठेँ ।

***

आर्जना र म बीच नजिकको सम्बन्ध थियो । दुबैको घर पोखरा । ब्याचलर्स लेभलमा पब्लिक हेल्थ पढ्दै थियौं । हरेक दिन कलेज पुग्नु अघि मेरो घरमा पस्नु उसको दैनिकी थियो । उसलाई कुर्न र उसँगै कलेज जानु चाही मेरो दैनिकी । सधैं पढाइको चाप र व्यस्त दैनिकी । करियर बनाउने बेलामा रमाइलो गर्ने मौंका कमै मिल्थ्यो हामीलाई ।
यस्तो बेमौंकाको बीचमा बुनिएको यो मौकाको पिकनीकमा काँ जाने ? के खाने ? के लाने ? भन्ने कुरा साथीभाइका माझमै छलफल हुन्थे । तर, लुगा के लगाउने ? आफू कस्तो देखिने ? भन्ने कुरा मनखाने साथीका माझ नै सुटुक्क हुने गर्छ । आर्जना र म बीच यसबारेमा शुक्रबार नै छलफल भएको थियो । त्यसैले लुगा लगाइवरी एक घण्टामै म तयार भएँ ।
मैले झोला हेरेँ । क्यामेरा, ब्याट्री, मोबाइल, पर्स सबै ठिकठाक थिए । गाजल, पाउडर हामी ठिटीको झोलामा छुट्ने कुरै भएन । मम्मीसँग बिदा मागेर म स्कुटर लिएर निस्केँ । म पढ्ने कलेज घरको आडैमा थियो । केही बेरमा केशवदाइ सहितका साथीहरू बस लिएर त्यहीँ आउँदै थिए । अघिल्लो दिन अर्डर दिएको कुखुराको मासु र अण्डा लिएर आउनु थियो मैले । केशवदाइको घर नेरबाट आर्जनालाई पिकअप गरेर म सिद्धार्थचोकको फिस्टेल फुड प्रोडक्टमा पुगेँ । यात्राका बेलामा हामी बीच रमाइला कुराकानी भए । ल्याएको सामान कलेजमा छाडेर स्कुटर छोड्न म आर्जनासँगै घर पुगेँ । घरबाट कलेज फर्कदै गर्दा उसले अचम्मको कुरा भनि, ‘साह्रै अत्यार लागिराछ यार ।’
‘किन ?’ मैले सोधेँ ।