कसैले झुम्री भन्छन त कसैले भतुरी । जसले जे नामले बोलाएपनि यिनी रमाइलो मान्छिन् । ‘मेरो नाम दिलकुमारी महतो हो’ उनले हाँस्दै भनिन् ।
आरुणखोला नवलपराशीको आइतबारे हाटबजारमा क्यामेरा घुमाउँदै गर्दा मलाई यिनले परैबाट बोलाइन । ‘मेरो फोटो खिच्दिनुन भाइ,’ चार पटक भन्दा बढी भनिन होला । बजार हल्लामा मैले पछिल्लो पटक मात्र सुनेँ । पहिलो फोटो बच्चाको टोपी लगाएर खिचिन, दोस्रो फोटो खिचेपछि उनले अब चुरोट पिएको खिच्छु भनिन् । मैले रोक्न सकिन । उनले बट्टाबाट चुरोट निकालिन । लाइटर बालिन र सल्काउँदै भनिन्,‘ नहँसाउनुस है, म तानेर खिच्छु ।’ मैले पहिला त नहँसाइ खिचिदिएँ । पछि भने हँसाएर स्न्याप हानेँ । ‘राम्रो देखिएछ’ मेरो कुरो सुनेर उनले भनिन्, ‘ म काली चौधरीको के राम्रो हुन्थ्यो र।’ खुब हाँसिन् । मलाई रमाइलो लाग्यो । आफ्नो फोटो हेरेपछि भने उनी मुर्छा परेर हाँसिन । मैले के भो भनेर सोधेँ । उनले हाँसो थाम्दै भनिन्,‘कस्तो भुत जस्तो देखिएको ।’ उनको कुराले म पनि निक्कै हाँसे ।
Comments
Post a Comment