Monday, June 20, 2011

रोपाइँमा आउन पाउँदिन…


असारे मेलो । भल छोप्नलाई चटारो । सिरानको खेतछेउ पोखरीमा मुल फुटेर आँठै आँठो हुँदै कुलोमा पानी बग्न थाल्यो होला । गह्रैपिच्छे डम्म पानी भरिए होलान । हलक्क बढेका धानका बेर्नाले पर्खालमाथिको बारीबाट मुन्टो उठाउँदै हेर्दा हुन् । गोठमा गोरुहरुले खुट्टा तन्काउँदै दाम्लो फुत्काउन खोज्दा हुन् । यस्तो बेलामा पनि मैले घरको तगारो खोल्न सकिन । छोरोले घर बिस्र्यो नभन्नु । गाउँको माया मार् यो नभन्नु । गत वर्ष झै यसपालीको रोपाइँमा म घर आउन नपाउने भएँ आमा । बालाई पनि यहि भन्दिनु ।

Sunday, June 12, 2011

फेल भएर कक्षा चढ्दा



-भवसागर घिमिरे

बिहान ९ बजेपछि दाइ र दिदीलाई सधैं हतार हुन्थ्यो स्कुल जान । २०४४ सालको कुरा । पोखराको नदीपुरमा रहेको घर । म एक्लै के गरेर बस्नु बाबा आमा खेतीपातीमै व्यस्त हुनुहुन्थ्यो । भाँडाकुटी पनि कति खेल्नु सायद यस्तै सोच्थेँ होला म । दाईदिदी दिनहुँ किताबमा राम्राराम्रा कथा पढ्थे । मलाई पनि डाहा लाग्थ्यो । सोच्थेँ स्कुल जान पाए कत्ति मज्जा हुन्थ्यो होला ।
'यो चार वर्षको भो अब अर्को साल स्कुल पठाउने' आमा र बाबाको यो सल्लाह म छेउमै बसेर सुनिरहेको थिएँ । म पनि के कम 'स्कुल अहिल्यै जान्छु' भन्दै ढिपी गर्न थालेँ । आमासँग रोइकराइ गरेपछि उहाँको पनि केही सिप लागेनछ क्यारे मेरो हात समाएर ज्ञानभूमि स्कुलमा लिएर जानु भयो । घरबाट दशै मिनेटको दुरी ।
त्यति बेला लक्ष्मी सर हुनुहुन्थ्यो प्रधानाध्यापक । आमाको आग्रह र मेरो तिब्र इच्छा देखेर उहाँले मलाई पाँच वर्ष नपुगे पनि भर्ना लिनु भयो । मेरो सम्झना गलत छैन भने म पहिला जिरो कक्षामा भर्ना भएको थिएँ । जिरो कक्षामा पढ्दा म निक्कै डराउँथे । दाइले स्कुलमा एक्लै छाडेर घर जाने हो कि भन्ने डर ममा थियो । जहिलेसुकै जिरो कक्षाको झ्यालबाट तन्की तन्की दुई कक्षाको झ्यालमा हेर्ने गर्थेँ । अलि अग्लो कदको दाइको टाउको त्यही झ्यालमा देखिन्थ्यो । देखिनँ भने म रुन थाल्थेँ । मेरो यो चाला मिसले नबुझ्ने कुरै भएन । 'तिम्रो दाइ त्यही छ ग'छैनु,' मिसले यति भनेर सम्झाएपछि भने म चुप लाग्थेँ । मलाई एक्लै घर जान निक्कै डर लाग्थ्यो । बाटो काट्न मात्र हैन बाटोमा कोही अनौठो मान्छेले तसा्रइदियो भने म केही दिन स्कुलै जादैन्थेँ।