Sunday, June 12, 2011

फेल भएर कक्षा चढ्दा



-भवसागर घिमिरे

बिहान ९ बजेपछि दाइ र दिदीलाई सधैं हतार हुन्थ्यो स्कुल जान । २०४४ सालको कुरा । पोखराको नदीपुरमा रहेको घर । म एक्लै के गरेर बस्नु बाबा आमा खेतीपातीमै व्यस्त हुनुहुन्थ्यो । भाँडाकुटी पनि कति खेल्नु सायद यस्तै सोच्थेँ होला म । दाईदिदी दिनहुँ किताबमा राम्राराम्रा कथा पढ्थे । मलाई पनि डाहा लाग्थ्यो । सोच्थेँ स्कुल जान पाए कत्ति मज्जा हुन्थ्यो होला ।
'यो चार वर्षको भो अब अर्को साल स्कुल पठाउने' आमा र बाबाको यो सल्लाह म छेउमै बसेर सुनिरहेको थिएँ । म पनि के कम 'स्कुल अहिल्यै जान्छु' भन्दै ढिपी गर्न थालेँ । आमासँग रोइकराइ गरेपछि उहाँको पनि केही सिप लागेनछ क्यारे मेरो हात समाएर ज्ञानभूमि स्कुलमा लिएर जानु भयो । घरबाट दशै मिनेटको दुरी ।
त्यति बेला लक्ष्मी सर हुनुहुन्थ्यो प्रधानाध्यापक । आमाको आग्रह र मेरो तिब्र इच्छा देखेर उहाँले मलाई पाँच वर्ष नपुगे पनि भर्ना लिनु भयो । मेरो सम्झना गलत छैन भने म पहिला जिरो कक्षामा भर्ना भएको थिएँ । जिरो कक्षामा पढ्दा म निक्कै डराउँथे । दाइले स्कुलमा एक्लै छाडेर घर जाने हो कि भन्ने डर ममा थियो । जहिलेसुकै जिरो कक्षाको झ्यालबाट तन्की तन्की दुई कक्षाको झ्यालमा हेर्ने गर्थेँ । अलि अग्लो कदको दाइको टाउको त्यही झ्यालमा देखिन्थ्यो । देखिनँ भने म रुन थाल्थेँ । मेरो यो चाला मिसले नबुझ्ने कुरै भएन । 'तिम्रो दाइ त्यही छ ग'छैनु,' मिसले यति भनेर सम्झाएपछि भने म चुप लाग्थेँ । मलाई एक्लै घर जान निक्कै डर लाग्थ्यो । बाटो काट्न मात्र हैन बाटोमा कोही अनौठो मान्छेले तसा्रइदियो भने म केही दिन स्कुलै जादैन्थेँ।

जिरो कक्षामा तीन महिना पढेपछि मैले फटाफट कखगघ…भन्दै बोलि फुटाएँ । 'जिरीगान्टे' नामले सरमिस माझ कहलिएको डल्ले मलाई यसरी फटाफट जानेको भनेपछि तीन महिनामै कक्षा १ मा पुर् याइयो ।
लक्ष्मी हेडसर निक्कै मज्जाको हुनुहुन्थ्यो । ठट्टा गर्ने कथा भन्ने बडो रमाइलो स्वभावको । तीन कक्षा पढ्दाको कुरा । 'आइजा नुहाउन जामु काँधमा गम्छा भिर्नुभा'को लक्ष्मीसर कहिलेकाहीँ मेरो कक्षामा आएर यस्तै भन्नु हुन्थ्यो । उहाँको पछि लागेर मैले हाफछुट्टीमा उहाँसँगै स्कुलमै नुहाएको पनि छु ।
यस्तो हुँदा स्कुल घर जस्तै लाग्थ्यो । विष्णु म्याडम माजु मिस माया मिस कमला मिस लगायत धेरैको सम्झना मेरो मनमा अझै ताजा छ ।
सानैदेखि म कथा जोक भन्ने भनेपछि अघि सरिहाल्थेँ । 'आज गीत कसले गाउने,' यसरी सरले सोध्दा धेरैका औंला मतिर ठडिन्थेँ 'भवसागरले' । अझै पनि हाँसो उठ्छ म हरेक दिन एउटै गीत गाउथेँ
'मेरो गाउँ ज्यामीरे जमुनीको छोरो म काले भन्छन् मलाई तर मान्छे गोरो म…।'
सधैं यही गीत गाउने भएकाले मलाई 'घिमिरे' भन्दा पनि 'ज्यामीरे' का नामले पनि साथी र सरमिसले चिन्न थाले । अझै पनि यो गीत मलाई कण्ठै आउँछ । यी सम्झनाहरु अझै पनि कलेज र आफू कार्यरत कार्यालयका सहपाठीलाई भन्दा साह्रै रमाइलो लाग्छ । अझ रमाइलो प्रसंग त म फेल भएर पनि कक्षा चढेको चाहिँ हो ।
म कक्षा दुई अन्तिम परिक्षामा फेल भएँ । सबै साथीहरु कक्षा तीनमा उक्ले । म पनि के कम खुरुक्क नयाँ कक्षामा गएर बसेँ । सबैको रोल नम्बर बोलाइयो तर मेरो बोलाइएन । मेरो मुख अँध्यारो हुन थाल्यो । 'कसैको नाम छुट्यो' माया मिस हुनुहुन्थ्यो सायद यस्तो सोध्ने । मैले जुरुक्क हात उठाइहालेँ 'मिस मेरो छुट्यो ।'
'ए तिमी पनि यहीँ छौ फेल भुको मान्छे,' मिसले यस्तो भनेपछि साथीहरुको भीडमा हराएको म एकाएक सबैको नजरमा परेँ । 'जाउ दुई कक्षामा गएर बस', मिसले फेरि भन्नु भयो । ढिप्पीवाला म के मान्थेँ 'त्यो कक्षामा त पहिल्यै पढिसकेको अब यहीँ बस्ने हो ।' सबै साथीहरु नयाँ कक्षामा आएपछि म किन पुरानो कक्षामा बस्ने भनेर ढिप्पी गर्न थालेँ । त्यति बेला फेल पासको कुनै लेखाजोखा मेरो मनमा हुँदैनथ्यो सायद । एक दुई दिन रोएर कराएरै म त्यहीँ कक्षामा बसेँ । खै सरमिस बीच के सल्लाह भएछ कुन्नि मेरो नाम कक्षा तीनमै लेखियो । अर्को साल त्यहाँबाट पास भएर चार कक्षामा पुगे पनि फेरि त्यहीँ गुल्टिएँ । यो पटक भने मैले पाँचमा गएर बस्ने ढिप्पी गर्न सकिनँ ।

म २०४४ देखि २०५० साल सम्म पढेँ ज्ञानभुमीमा प्राविमा । त्यती बेला विद्यालय भौतिक रुपमा त्यती धेरै मजबुत थिएन । पानी दर्कीयो भने जस्ताका छाना ठाउँ ठाउँबाट चुहिन्थ्यो । चुहिएर अचाक्ली नै भयो भने कहिले काही त सबै साथी कक्षाकोठाको एकै कुनामा गुटमुट्टिएर बस्थ्यौं । घर जाने बेलामा यदि साँझ पानी पर्ला जस्तो छ भने बेंच डेक्स पानी नपर्ने कोठाका कुना काप्चा तिर सारेर जान्थ्यौं । यसो गर्दा कक्षा भित्र पानी जमेपनि हामी बस्ने बेंच डेक्स भने भिज्न पाउँदैन्थे । ट्याङ्कीको धाराबाट खानेपानी सोझै पिउँथ्यौं हामी । शौंचालय भएपनि हामी धेरै विद्यार्थी भएकाले त्यो अपुग थियो । सरसफाइ त त्यस्तै हो कहिले काही खुट्टा टेक्ने ठाउँ हुँदैन्थ्यो शौचालयमा । प्रायमा चुकुल बिग्रेको हुन्थ्यो भने खियाले ढोकाको तल्लो भागको टिनको पाता त छ्वाङ्गै हुन्थ्यो । सानैमा त वास्ता हुन्थेन अलि माथिल्लो कक्षामा पुगेपछि भने लाज लाग्थ्यो । भित्र पसेको बेला चुकुल बिनाको ढोका कसैले तान्दिहाले भने के गर्ने यस्तो आपदै परेको बेलामा लुकिछिपी सरमीसको शौंचालयमा पनि छिर्ने गर्थे म । कति पटक त शौचालयबाट बाहिर निस्कँदा सरमीस पालो कुरेर ठिङ्रिङ्ग उभेको पाउँथे मैले । अनि के चाहियो कान समातेर फटाफट उठबस गर्नुको बिकल्प हुँदैन्थ्यो । तर त्यो समय जतिबेला हाम्रा घर छर छिमेकमा त पक्की शौचालय हुँदैन्थ्यो भने विद्यालयले गरेको त्यत्तीको व्यवस्थालाई राम्रै मान्नु पर्छ ।
स्कुल सम्झदा लाले दाईलाई बिस्रने कुरै भएन । हामीलाई मिठो बरफ बेच्ने लालेदाईले २५ पैसामा एउटा रातो रंगको बरफ र पचास पैसामा सेतो बरफ ख्वाउनु हुन्थ्यो । गर्मी मौसममा त्यही बरफलाई मात्र स्कुले खाजा मानेका पनि धेरै दिन छन् मेरा । कहिले त त्यती पैसा पनि हुँदैन्थ्यो तिर्ने । त्यस्तो बेला लालेदाइले पैसाको वास्ता नगरी सित्तैमा पनि धेरै ख्वाउनु भयो ।
मलाई याद भए सम्म स्कुलमा खेलकुदका सामाग्रीको राम्रै व्यवस्था थियो । हामी गोपाल पौडेल पाले दाईसँग डोरी मागेर नाघी खेल्थ्यौं । गोपालदाई हामी सबैको प्यारो हुनुहुन्थ्यो । धेरै काम गर्ने उहाँले स्कुलको चौरको छेउछाउमा फूल रोपे पनि मास्सिहाल्थ्यो । कारण हामी फुटबल खेलेर सबै फूल भाँच्दिन्थ्यौं । यो कुराले भने गोपालदाई निक्कै रिसाउनुहुन्थ्यो । त्यती बेला आज गाइभैसी पसेर खाएछ भन्दै ढाट्नुको मज्जै बेग्लै थियो ।
विद्यालयमा वर्षै पिच्छे क्याम्पसहरुबाट शिक्षण अभ्यासका लागि आउने सर मिसहरुको प्रसंगपनि कम्ता रोचक छैन । धेरै माया गर्ने उहाँहरुकॊ बिदाइका बेला हामी ड्वाँ ड्वाँ रुँदै बाटोसम्म पच्छ्याउँथ्यौं । यसरी पच्छ्याउँदा उहाँहरुका आँखा पनि चिसा भैसकेका हुन्थेँ । उहाँहरुका हातमा हामीले आफैले बनाएर थमाइदिएका गि्रटीङ कार्ड हुन्थे भने हाम्रा हातमा भने उहाँहरुले थमाइदिएका चिजबल चकलेट बाँकी रहन्थे । ती चकलेट भन्दा उहाँहरुका माया यति धेरै मिठो हुन्थ्यो कि अहिले पनि सम्झदा मनै आनन्द भएर आउँछ ।
सरस्वती पुजाका बेला स्कुल दुलही झै सजिन्थ्यो । यो दिन मनाउने गरिएको वार्षिक उत्सवका बेला कक्षा चारसम्म त मैले कुनै पुरस्कार हात पारिनँ । तर त्यस पछिका दिन भने मेरा हातमा पुरस्कार नै पुरस्कार पर्न थाले । पुरस्कार र मायाले विद्यार्थीलाई हौसला दिँदो रहेछ भन्ने मेरो अनुभव छ । चारबाट कक्षामा दोस्रो र पाँचबाट पहिलो हुँदा आफूलाई निक्कै ठूलो मान्छे भएको अनुभव भएको थियो । साँच्चै नै गालाभरि अबिर लगाएर पर्र ताली सुन्न पाउँदा हरेक पटक निक्कै पुलंकित हुन्थेँ म । चार वर्षमै पढ्न पाएकोमा स्कुल पस्ने बेलामा निक्कै खुसी थिएँ । प्रावि स्कुल पाँच पढेपछि छाड्नु परेकोमा दुःखी हुनु पर् यो ।
त्यो सानो छँदाको सम्झनाले मनलाई अझै पनि निक्कै स्फुर्त राख्छ । विद्यालय सरमिस सम्झदा र देख्दा मनमा सम्मान र आदर उब्जन्छ । सरमिसले साथी जस्तै ठट्टा गर्दै पढाइदिए संकोच मनमा पलाउँदैनथ्यो र नजानेका कुरा सोध्न र बुझ्न सहज हुँदो रैछ भन्ने मैले अनुभव बटुलेँ । आज म जुन धरातलमा उभिएको छु त्यहाँ मुनिको माटोमा ज्ञानभूमिको ज्ञान लुकेको छ । मेरो बाल्यकाल बिताएको ज्ञानभूमिको आँगन म सधैं सम्झिरहन्छु ।
(नागरिक शनिबार २१ जेठ, २०६८को अक्षरमा छापिएको अनुभुति)
http://nagarikplus.nagariknews.com/2014/component/flippingbook/book/580-nagarik-04-june-2011/2-nagarik.html


1 comment:

  1. ramro lagyo padhera...tapai matrai nepali jasto lagyo..kinaki nepali topi launu vako raichha...
    c'ris

    ReplyDelete