Saturday, April 23, 2016

भगवान भेट्न अस्पताल

भवसागर घिमिरे 

देवता नमान्ने म नास्तिक हैन। मानेर अहोरात्र मूर्ति पुज्ने आस्तिक पनि हैन। कहिलेकाहीँ मन्दिर जाँदा ईश्वरलाई नमन गर्छु। प्रसाद र पैसा मन्दिरबाहिर माग्नेमा चढाउँछु। त्यही बेला आफू जस्तै धेरै मान्छे भेट्दा खुसी लाग्छ। हामीभित्र अझै देवता जिउँदै छन्, ढुंगा बनेका छैनन्। हाम्रो यो गर्विलो सोचलाई अझै पनि न कुनै धर्मप्रचारकले डगाउन सकेका छन् न त भूकम्प जाँदा माछाले काँध फेरेको भन्दै भ्रम फैलाउनेहरूले नै हल्लाउन सकेका छन्।
हुन त गएको वैशाखको भुकम्पले धेरै हल्लायो। हाम्रो घर हल्लायो। आँखाको डिल हल्लायो। खसाल्यो केही मोतीका दानाहरू र उघार्यो हाम्रो मनमा मानवताको आकाश। यसै सन्दर्भमा, वैशाख २९ को दोस्रो ठूलो झट्कालगत्तै मैले एउटा स्टाटस पढेको थिएँ, फेसबुकमा। लेख्ने उनै थिए डाक्टर भगवान कोइराला। अंग्रेजीमा लेखिएको त्यो स्टाटसको नेपाली भाव यस्तो थियो:
‘त्यो कस्तो दिन थियो...
पहिलो ठूलो भूकम्पपछि हामी बिरामी स्याहारको सामान्य दैनिकीमा फर्कदै थियौं। मुटुको दुईवटा भल्भ फेर्नुपर्ने बिरामीको अप्रेसन गर्दैथिएँ म। त्यसैबेला दोस्रो ठूलो भूकम्प गयो, ७.३ रेक्टर स्केलको। हाम्रो पाँचतले अस्पताल भवन हल्लन थाल्यो। हामीलाई हाम्रो पैतालामा उभिन गाह्रो भैराखेको थियो। मोनिटरहरू, ओआर लाइटहरू हल्लिरहेका थिए। बिरामी टेबलबाट खस्लाजस्तो भए। खस्न नदिन मैले चेस्ट रिट्राक्टरमाथि समातेँ। मैले भाँचिँदै गरेको फलामको आवाज हाम्रो टाउको माथिल्लोपट्टि सुनेँ। मलाई लाग्यो त्यो नै मेरो अप्रेसन गर्ने अन्तिम दिन हुनेछ। मैले बिरामीको मुटुमा हेरेँ, हार्टलङ मेसिन बन्द गरेपछि त्यो सन्तोषजनक रुपमा नै चलेको थियो। हामीले बिरामी छाडेर बाहिर जाने कुराको कल्पना पनि गर्न सकेनौं। त्यहीँ रह्यौं। प्रिस्काले प्रार्थना गरिरहिन्। अन्द्रीले अब सकियो भन्दै सान्त्वना दिइराखे। भुइँचालोले हाम्रो समूहको धेरैजसो सदस्यलाई रुवाई छाड्यो। त्यसपछिको एक घन्टा, अप्रेसन नभ्याउँदासम्म कसैले अप्रेशन कक्ष छाडेनन्। बिरामीलाई सकुशल रुपमा अप्रेशनपछि आइसियुमा पठाइयो। मैले बिरामीको परिवारलाई दुई घन्टापछि भेटेँ,। गएका हरेक कठिन पलहरूमा हामी बिरामीसँगै थियौं भन्ने थाहा पाएपछि उनीहरू रुन थाले। त्यसपछि म फर्केर गएँ अनि अघि त्यो चर्कंदै गरेको आवाज के रहेछ भनी नियालेँ। ब्याकअपमा राखेको अक्सिजन सिलिन्डरहरू झरेका रहेछन्। धन्य ईश्वर...’
उनको यो स्टाटस पढेपछि मन निकै भावुक भयो। सोचेँ, एक दिन भगवान भेट्नेछु, उनकै मन्दिरमा गएर।
...

गत माघ महिनाको पहिलो साता।