Skip to main content

भगवान भेट्न अस्पताल

भवसागर घिमिरे 

देवता नमान्ने म नास्तिक हैन। मानेर अहोरात्र मूर्ति पुज्ने आस्तिक पनि हैन। कहिलेकाहीँ मन्दिर जाँदा ईश्वरलाई नमन गर्छु। प्रसाद र पैसा मन्दिरबाहिर माग्नेमा चढाउँछु। त्यही बेला आफू जस्तै धेरै मान्छे भेट्दा खुसी लाग्छ। हामीभित्र अझै देवता जिउँदै छन्, ढुंगा बनेका छैनन्। हाम्रो यो गर्विलो सोचलाई अझै पनि न कुनै धर्मप्रचारकले डगाउन सकेका छन् न त भूकम्प जाँदा माछाले काँध फेरेको भन्दै भ्रम फैलाउनेहरूले नै हल्लाउन सकेका छन्।
हुन त गएको वैशाखको भुकम्पले धेरै हल्लायो। हाम्रो घर हल्लायो। आँखाको डिल हल्लायो। खसाल्यो केही मोतीका दानाहरू र उघार्यो हाम्रो मनमा मानवताको आकाश। यसै सन्दर्भमा, वैशाख २९ को दोस्रो ठूलो झट्कालगत्तै मैले एउटा स्टाटस पढेको थिएँ, फेसबुकमा। लेख्ने उनै थिए डाक्टर भगवान कोइराला। अंग्रेजीमा लेखिएको त्यो स्टाटसको नेपाली भाव यस्तो थियो:
‘त्यो कस्तो दिन थियो...
पहिलो ठूलो भूकम्पपछि हामी बिरामी स्याहारको सामान्य दैनिकीमा फर्कदै थियौं। मुटुको दुईवटा भल्भ फेर्नुपर्ने बिरामीको अप्रेसन गर्दैथिएँ म। त्यसैबेला दोस्रो ठूलो भूकम्प गयो, ७.३ रेक्टर स्केलको। हाम्रो पाँचतले अस्पताल भवन हल्लन थाल्यो। हामीलाई हाम्रो पैतालामा उभिन गाह्रो भैराखेको थियो। मोनिटरहरू, ओआर लाइटहरू हल्लिरहेका थिए। बिरामी टेबलबाट खस्लाजस्तो भए। खस्न नदिन मैले चेस्ट रिट्राक्टरमाथि समातेँ। मैले भाँचिँदै गरेको फलामको आवाज हाम्रो टाउको माथिल्लोपट्टि सुनेँ। मलाई लाग्यो त्यो नै मेरो अप्रेसन गर्ने अन्तिम दिन हुनेछ। मैले बिरामीको मुटुमा हेरेँ, हार्टलङ मेसिन बन्द गरेपछि त्यो सन्तोषजनक रुपमा नै चलेको थियो। हामीले बिरामी छाडेर बाहिर जाने कुराको कल्पना पनि गर्न सकेनौं। त्यहीँ रह्यौं। प्रिस्काले प्रार्थना गरिरहिन्। अन्द्रीले अब सकियो भन्दै सान्त्वना दिइराखे। भुइँचालोले हाम्रो समूहको धेरैजसो सदस्यलाई रुवाई छाड्यो। त्यसपछिको एक घन्टा, अप्रेसन नभ्याउँदासम्म कसैले अप्रेशन कक्ष छाडेनन्। बिरामीलाई सकुशल रुपमा अप्रेशनपछि आइसियुमा पठाइयो। मैले बिरामीको परिवारलाई दुई घन्टापछि भेटेँ,। गएका हरेक कठिन पलहरूमा हामी बिरामीसँगै थियौं भन्ने थाहा पाएपछि उनीहरू रुन थाले। त्यसपछि म फर्केर गएँ अनि अघि त्यो चर्कंदै गरेको आवाज के रहेछ भनी नियालेँ। ब्याकअपमा राखेको अक्सिजन सिलिन्डरहरू झरेका रहेछन्। धन्य ईश्वर...’
उनको यो स्टाटस पढेपछि मन निकै भावुक भयो। सोचेँ, एक दिन भगवान भेट्नेछु, उनकै मन्दिरमा गएर।
...

गत माघ महिनाको पहिलो साता।
मेरा ७३ वर्षे ससुराबाको मुटु जचाउन मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरको आकस्मिक कक्षमा भर्ना भयौं। बुबालाई केही दिनअघि पोखरामा हृदयाघात भएको शंका थियो। टिचिङ अस्पतालको परिसरमा रहेको यो केन्द्रमा पुग्दा हामीलाई लोभ थियो, भगवान कोइरालासँगै जचाउन पाइन्छ कि भन्ने। मुटुका डाक्टर भगवान। यिनीसँग भेट्ने बुबाको ठूलो धोको पनि थियो। सामान्य मानिसको बायाँ छातीभित्र हुने मुटु बुबाको भने दाहिनेतर्फ छ। यसलाई अंग्रेजिमा ‘डेक्स्टोकार्डिया’ भनिँदो रहेछ। एम्सवल्र्ड नामक वेबमा एडम थम्पसनले लेखेका छन् डेक्स्टोकार्डिया निक्कै कम मानिसमा हुने आंकलन छ, लगभग १२ हजारमध्ये एक जनामा।
जीवनभर दायाँ मुटु लिएर बस्ने उहाँलाई मुटुकै डाक्टर भगवान भेट्ने इच्छा हुनु स्वाभाविक थियो। त्यस दिन आकस्मिक कक्षमा पुगेर पोखराको रिपोर्ट देखाउनेबित्तिकै तुरुन्त विभिन्न जाँच सुरु भयो। म भगवानको खोजीमा लागेँ। आश त कम थियो तर प्रयास जारी थियो। संयोग मानौं, त्यही दिन डाक्टर कोइरालाले ओपिडीमा जाँच्ने दिन परेछ। तर, काउन्टरमा टिकट दिने काम बन्द भैसकेको थियो। मैले आकस्मिक कक्षकी नर्सलाई खुसुक्क समस्या सुनाएँ। उनले ओपिडीमा गएर कुरा राख्न सुझाइन्। ओपिडीको कोठा नम्बर ९ मा पुगेपछि डाक्टर कोइरालाकै समूहका अर्का डाक्टर रवि बरालले फाइल हेर्दै भने, ‘ल उतै आउनुहुन्छ साँझसम्म, तपाईं आकस्मिकमै जानुहोस्।’
कोइरालाको व्यस्त समय। हामी सोझै भेट्न चाहने आम मान्छे। साँझसम्म आउलान त? मनमा धेरै कुरा नाच्न थाले। मैले बुबालाई थमथमाएँ, ‘व्यस्त भए पनि साँझसम्म आउँछु भन्नुभएको छ।’ बुबाले आशावादी मुन्टो हल्लाउनुभयो।
त्यतिबेला दिउँसोको १ बजेको हुँदो हो। आकस्मिक कक्ष एकाएक बिरामीले खचाखच भरियो। दोलखाकी एक अधवैंशे महिलाले हृदयाघातका कारण आँखैअघि संसार छाडिन्। डाक्टरहरूले अन्तिम अवस्थासम्म उनको श्वासप्रस्वास सामान्य अवस्थामा फर्काउन पालैपालो कृत्रिम पम्प गरिरहेका थिए, आफ्नै हातले। लगभग एक घन्टाको प्रयासबीच चिकित्सा विज्ञानले थकाई मार्नुअघि नै ती महिलाले जिन्दगीदेखि थकाइ मारिन्। डाक्टर, नर्सहरूले बिरामी बचाउन अन्तिमसम्म गरेको प्रयास पहिलोपटक देखेर म नतमस्तक भएँ। 
बाबाको एक्सरे, रगतको रिपोर्ट कुर्दा चार–पाँच बज्दै थियो सायद। डाक्टर कोइरालाको टोली ओपिडी सकेर आकस्मिक कक्ष आइपुग्यो। कक्षको सरसफाइ भर्खरै सकेका एक भाइ सामानहरूको चाङ गुडाउँदै बाहिरिने तरखरमा थिए।  त्यसैबेला डाक्टर कोइराला फरक्क फर्के अनि कक्षको ढोका पूरा खोलेर सरसफाइ गर्ने भाइलाई निस्कन सहज बनाइदिए। 
भाइ मुसुक्क हाँस्दै बाहिरिए। कोइरालाले हाँस्दै पुनः ढोका मिलाएर बुबा नजिक आए। समय दिएर सबै रिपोर्ट हेरे। सामान्य मानिसको सहज पहुँचमा बस्ने डाक्टर भगवानसँग त्यो दिनको भेटले हामीलाई निकै भावुक बनायो। त्यसको केही दिनपछिको जाँचमा बुबाको मुटुको एक नशा साँघुरिएको थाहा लाग्यो। सफल उपचारपछि तीन दिनमा हामी घर फर्कियौं।
...
चैत तेस्रो साता। म फेरि अस्पताल पुगेँ, आमालाई लिएर। हिँड्दा छाती भारी हुने समस्या थियो उहाँको। डाक्टर कोइरालाले नै ओपिडीमा जाँच गर्ने दिन पारेको थिएँ मैले। नौ नम्बर कोठाको अघि उभिँदा आमाको नाम ४८ नम्बरमा लेखिएको देखेँ। कोठा भित्र डा. कोइराला, डा. बराल लगायतको समूह बिरामी जाँच्न व्यस्त थिए।
‘टिङ टिङ, टिङ टिङ’ एकपछि अर्को गर्दै नयाँ नम्बर ढोकामाथिको स्क्रिनमा देखा पथ्र्यो। मेसो नपाएर हो कि के हो धेरै पटक नम्बर परिवर्तन हुँदै जाँदा पनि कोही भित्र पसेनन्। एक जना मानिस हातमा बिरामी कार्ड बोकेर ढोका बाहिर आएर नाम बोलाउन थाले।  
‘सावित्री क्षेत्री ... वीरेन्द्र ठाकुर ... नानीमाया परियार ...’ यस्तै यस्तै गरी हँसिलो स्वरमा नाम बोलाउने अरू कोही थिएनन्, उनै डाक्टर कोइराला थिए। आमाको नम्बर अन्तिममा थियो। मलाई फाल्तु बस्न मनले दिएन। कोठाको ढोका धकेलेर सरासर भित्र गएँ अनि डाक्टर बराललाई भने, ‘नाम म बोलाउँ ? भोलुन्टर गर्छु।’ बिरामी जाँच्न व्यस्त बराल मुसुक्क हाँसे अनि मेरो हातमा केही बिरामी कार्डहरू थमाइदिए। त्यसपछिको लगभग डेढ–दुई घन्टा म ढोकामा बसेर बिरामी बोलाउने र भित्र पठाउने गर्न थालेँ। एक जना भाइ निकै बेरदेखि रिपोर्ट लिएर ढोकैमा उभिराखेका थिए। 
‘भाइको नम्बर कति हो ?’ मैले सोधेँ।
‘मेरो नम्बर नै छैन दाइ, तर कार्ड भित्र गइसकेको छ,’ उनले कुरो फुकाए। 
काउन्टरबाट नम्बर बाँड्ने समय सकिएपछि अर्कै अस्पतालबाट रेफर भएर आएका यी भाइ अलमलमा परेका रहेछन्। मेसोले डाक्टर कोइरालाले यो कुरा जानकारी पाए अनि आफैं कार्ड बनाएर भित्र लगेछन्। 
यस्ता एकपछि अर्को घटनाले मलाई प्रभावित बनाउँदै थियो। समयसँगै मेरी आमाको पालो पनि आयो। कोइरालाले विस्तारमा जाँचे र सल्लाह पनि दिए। धन्न आमाको मुटुमा केही समस्या नरहेको त्यसपछिका केही जाँचले देखायो। त्यसदिन ढोकामा बसेर डेढ–दुई घन्टा मात्र गरेको स्वयंसेवामा पनि मैले धेरैको धन्यवाद पाएँ। बिरामी, बिरामीका आफन्तदेखि स्वाथ्यकर्मीको समेत। 
उनले अघिल्लोपटक आकस्मिक कक्षको ढोका तानेर सफा गर्ने भाइलाई निस्कन सहज नबनाएको भए, सरकारी अस्पतालको सेवा भरपर्दो, सहज बनाउने प्रयासको सुरुआत नगरेको भए, सायदै मैले पनि स्वयंसेवा गर्ने जाँगर जुटाउन सक्थेँ होला। सकारात्मक सोचको नेतृत्व अनि सामूहिक प्रयासले सरकारी संस्था पनि प्रभावकारी बन्न सक्छ भन्ने उदाहरण यो मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरले देखाएको छ। जसरी घामले जूनलाई र जूनले पृथ्वीलाई उज्यालो बनाउँछ। एउटा भगवानजस्ता डाक्टरको व्यवहारले धेरै भगवान जन्माउन सक्छन्, जसलाई पुज्न हामी अक्षता बोकेर मन्दिर गैराख्नु पर्दैन।
http://setopati.com/blog/45545/

Comments

Popular posts from this blog

एउटा खाली पाना

  एउटा खाली पाना जसमा कोरिन सक्थ्योे करौडा तालीका कविता एउटा खाली पाना जसमा बन्न सक्थ्योे अरबौं बिम्बका चित्र जबरजस्ती आगोमा फालियो एउटा खाली पाना जसले काँधमा थाप्न सक्थ्यो यो देशको भविष्य भर्खरै खरानी भयो एउटा खाली पाना एउटी निर्मला एउटी पुष्पा एउटी माया तपाई कै छोरी, दिदी,  बहिनी, चेली उहि, एउटा खाली पाना ।

लुते प्रशासन,लुरे लोकतन्त्र

प्रशासन लुतेकुकुर जस्तो भएको छ । नारा लगाउँदै हिडेका चार जना बन्दकर्ताहरूलाई गाडी सहित आएको दश जना पुलिसहरूले पहरा दिइराखेका थिए । उनीहरू भर्खरै मेरो कोठा अघिल्तिरबाट गए । ती चार जनाको डरमा यहाँ वरपरका चालीस भन्दा बढी सटरहरू ह्वार ह्वारति बन्द गरिए । न यो देश ती नाइके कहलिएकाहरूले कमाएका थिए, न उनीहरूको नुन खाएर हामी तंग्रिएका थिषैं । जुनसुकै पाटी किननहोस्, तिनीहरूलाई बन्द गर्ने अधिकार छैन र हामीलाई हामीले तिरेको करले बनाएको बाटोमा खुलेआम सवारी साधन चलाउने अधिकार छ । पसल खोल्ने अधिकार छ । व्यापार गर्ने अधिकार छ । तर खै अधिकारको सुरक्षा ? यहाँ त कुर्ची जोगाउनका लागि दलाल, घुसखोरी, दादागीरी चन्दागीरी र झण्डागिरी गर्नेहरूको मात्र सुरक्षा हुन थालेको छ । मेरो देशमा लोकतन्त्र आएर के भो त ? 

मोबाइलको साटो पुस्तक

बाल मनोविज्ञानमा आधारित भएर लेख्नु आफैमा जटिल र चुनौती पुर्ण छ  । त्यसैमाथि सबै भन्दा सरल बनाउँनु पर्ने विषय पनि यहि रहेछ । बाल मस्तिस्कको सोचाइको धरातल फराकिलो बनाउँने  प्रयास म सधैं जारी नै राख्नेछु । बालबालिकाहरुलाइ आज राम्रा पुस्तक पढ्न दिँदा भोलीका दिनमा उनीहरुले रचनात्मक काम गर्न सक्छन् । हामी सबैले पढ्ने र पढाउँने बातावरण बनाउँन मद्दत गरौं । मेरा यी रचनाहरुमा चित्र कोरेर सुन्दर बनाइदिने नागरिक दैनिकका Dewen दाई र Yuwak जी, भाषामा सघाउने Shekhar दाई अनि प्रकाशनमा ल्याउँने Sangrila Book का Mani जीलाई धेरै धेरै धन्यवाद । म अछाम नपुगेको भए सायद यो बालकथा अाउँदैन्थ्यो होला । सन् २००९ मा Room to Read Nepal को कथा कार्यशालामा नअटाएको भए सायद 'हाम्रा खेलहरु' का बारेमा उबेला बाल कविता फुर्दैन्थ्यो । सधै‌ झै, छोराछोरीको हातमा मोबाइलको साटो पुस्तक दिउँ । उनीहरुका आँखा र दिमाग झनै तेजिलो हुनेछन् । अघिल्ला तीन कृती... माथिका तीन पुस्तकहरु ' पाठीलाई स्वेटर, भान्छामा चुट्किला, देउता खुशी हुनुभयो' तलका पुस्तक पसलहरुमा यस अघि नै आइसकेका छन् । नयाँ पुस्तक...