Monday, July 29, 2013

ढुङ्गामा वाङ्दीको मन

कसैको मन ‘ढुङ्गा’को भयो भने तपाईलाई कस्तो लाग्छ ? पक्कै दिक्क लाग्ला । तर डोल्पाका वाङ्दी गुरूङ ठट्यौंलो पारामा भन्छन, ‘म त ढुङ्गाको मन पाएपनि कुँदेर राम्रो बनाईदिन्छु ।’
हुन पनि हो, उनको कुरामा दम थियो । ढुङ्गामा विभिन्न आकृति कोर्ने उनको यात्रा सुरूभएको पनि  तेह्र वर्ष नाघिसकेछ । बाह्र शिशिर काठमाडौंमा ढुङ्गा खोपेर उनी बन्दीपुर पसे । शहर देखि दिक्क परेका उनी गाउँमा रम्ने मन लिएर यहाँ आएको पनि सात महिना भइसकेछ ।
मौका मिलेको दिन टुरिष्ट गाइड बनेर बन्दिपुर पनि घुम्छन उनी । नभए बजारको एक कुनामा टुकटुक–टुकटुक आवाज निकालदै ढुङ्गामा विभिन्न आकृति कुँदिरहेका भेटिन्छन् । ‘विदेशीले मन पराए भने राम्रै पैसा हालेर किन्छन्’ कालो चश्म निकाल्दै गुरुङले भने, ‘दुई चारसय हात परिहाल्छ ।’ उनको यो कला केही मात्रामा गाउँमै पनि बिक्ने गरेको छ ।
‘के कुँद्नु हुन्छ त ?,’ प्रश्न सुन्ने बित्तिकै उनका व्यस्त हातले फुसर्द पाए । ‘ऊँ मान पेमी हुँम’ उनले छोटो उत्तर फर्काउदै भने, ‘प्राय बुद्धको चित्र बनाउँने हो, शान्ति चिन्ह हो नी त ।’
पर्यटकको घुँइचो लाग्ने याम उनको व्यापार पनि राम्रो हुन्छ । राम्रै आम्दानी भयोभने महिनाको दश हजार सम्म हात पर्ने उनले बताए । ‘बन्दीपुरकै स्लेटमा चित्र कुँद्छु,’ उनी भन्छन् ,‘एउटालाई तीनसय देखि माथि पर्छ ।’

देउरालीकी दराई शिक्षिका


भवसागर घिमिरे

उनकै घर छेउका साना भाइबहिनी ५ मिनेट हिडेपछि कन्यादेवी प्राविमा पुग्छन् । गोरखाको देउराली गाविसमा रहेको यो प्राविमा उनलाई पुग्न भने १५ मिनेट लाग्छ । म कुरा गर्दैछु, शिक्षिका चन्द्रमाया दराईको । २६ वर्षकी उनलाई २०५० सालमा  बसले ठक्कर दियो । धानकुट्न मिलतिर जाँदै गर्दा दुर्घटनामा परेकी उनको दायाँ खुट्टा काम नलाग्ने भयो । ‘अहिले कृत्रिम खुट्टा राखेको छु,’ उनले भनिन्, ‘बिस्तारै हिडडुल गर्न हुन्छ ।’
देउराली गाविसमा जम्मा ७ घर दराई परिवार छन् । यो लोपउन्मुख जातिको मुख्य पेशा कृषि हो । उनीहरूको आर्थिक अवस्था निक्कै कमजोर छ । कमजोर आर्थिक अवस्थाको बाबजुत चन्द्रमायाले आफ्नो जातिमै पहिलो पटक २०६१ मा एसएलसी पास गरिन् । गाविसको दराई जातिमा एसएलसी पास गरेकी एकमात्र विद्यार्थी उनलाई एसएलसीको नतिजाले खुसी बनाए पनि घरको कमजोर आर्थिक अवस्थाले भने निक्कै दुखायो ।
५ दिदीबहिनी बीचकी कान्छी छोरी उनले बल्ल तल्ल क्याम्पस टेकिन् । तर, तनहुँको आँबुखैरानीमा रहेको क्याम्पस पुग्न उनलाई त्यत्ती सजिलो भने थिएन् । देउराली गाविसको गोप्लिङ्गबाट सामान्य मान्छे दस मिनेटमा राजमार्ग पुग्न सक्छ । कमजोर खुट्टाका कारण उनलाई भने त्यही बाटो पनि आधा घण्टा लाग्छ । ‘आधा घण्टा हिडेर मात्र हुँदैन्, दस मिनेट बस चढ्यो अनि फेरि १५ मिनेट हिडेपछिमात्र क्याम्पस पुगिन्थ्यो,’ उनले दुःखका दिन सुनाइन् । फर्कदा पनि उनको व्यथा उनकै साथमा हुन्थ्यो । शिक्षा विषयमा प्रविणता प्रमाणपत्र पढेकी उनले पहिलो वर्षको एउटा विषय अझै कटाउन सकेकी छैनन् ।  ‘के गर्नु, जाउँ आउँ गाह्रो छ, घरमा बसेर घोटीएर मात्र भएन,’ उनी भन्छिन्, ‘सोधखोज गरेर पढुँ भने आफू हिड्न सक्दिन् ।’

कीर्तिपुरको यातायात


तपाइको समस्याको समाधान हामी खोज्छौं ।

समस्या:
समस्याको जालोमा छ कीर्तिपुरको यातायात सेवा । न बजारबाट सहज रूपमा कीर्तिपुर जान सकिन्छ न कीर्तिपुर बाट बजार । कार्यलय चल्ने र छुट्ने समय विहान र साँझ परेपछि त गाडीभित्रका मान्छे र गुन्द्रुकमा फरक सायदै होला । साँझमा बाटैमा अलपत्र परिने समस्यापनि नआउला भन्न सकिन्न । या गाडी पाईदैन, पाएपनि खुट्टा राख्ने ठाउँहुँदैन् । सिट पाउने त भाग्यमानी नै हुन । समाउने डण्डीमात्र उक्कियो भने झुण्डेका मान्छे विद्यार्थी नेताहरूले राजनीतिक कुरामात्र ध्यान दिन्छन् । विद्यार्थीका यस्ता समस्यामा चासो राख्दैनन् । व्यवसायीहरू पनि व्यापारमा मात्र चाख राखेर सेवामा कम चासो दिए जस्तो पाइएको छ । सहज  रूपमा यात्रा गर्न कहिले पाइएला ?

पर्यटन बिस्तारमा बन्दिपुर

बन्दिपुर घुम्न आउने पर्यटकको संख्या बढ्न थालेपछि होटल थपिने र बिस्तार हुने काम तिब्र बनेको छ ।
हालसालै होटल गाउँघरले सेवा बिस्तार गर्ने क्रममा भवनको तल्ला थपेको छ ।  नेवा छेँ ले स्वरूप नयाँ बनाएको छ । होटल चौतारी, मगर भिलेज एण्ड रिसोर्ट नयाँ थपिएका छन् । बन्दीपुर भिलेज रिसोर्ट, हिल हेभेन, पिया होटल, नेवाः खाजा घरले पनि कोठा बिस्तार गरेका छन् । गाविसकै मोहरीयामा पनि लजको लागि नयाँ भवन थपिदै छन् । गाउँकै पुरानो मध्येको एक बन्दिपुर माउन्टेन रिजोर्टले टुडीखेल छेउमा नयाँ भवन बनाउँदै छ । पर्यटन आगमनको मुख्य समय
आउँदो भदौं र असोजका लागि लक्षित गरेर सो भवन तयार गर्न लागिएको हो ।

‘२४ कोठाको भवन अबको लगभग तीन महिनामा रेडि हुँदैछ,’ माउन्टेन रिजोर्टका आवास प्रबन्धक वैश गुरूङ भन्छन्, ‘प्री बुकिङ पनि धमाधम भइरहेको छ ।’ उनका अनुसार गएको चैत र यो महिना होटलका ८० प्रतिशत कोठा भरिभराउ थिए । आउँदो सेप्टेम्बर अक्टुबरका लागि ५० प्रतिशत कोठा बुक भैसकेका छन् । कोठा नपुगेर ग्राहक धेरै पटक फर्काएको उनी बताउँछन् ।
‘कहिले काहीँ त आन्तरिक पर्यटकको फ्लो पनि यत्ति बढ्छकी धान्नै सकिँदैन,’ गुरूङ भन्छन्, ‘यही भएर नै होटल बिस्तार तिब्र बनेको हो ।’

गएको वर्षको तुलनामा यो वर्षको अप्रिलमा हवाईमार्गबाट आउने पर्यटकको संख्यामा १५.८ प्रतिशतले वृद्धि भएको छ । सरकारले २०११ लाई नेपाल पर्यटन वर्ष घोषणा गरिसकेको छ । पर्यटन वर्षमा दशलाख पर्यटक भित्राउने सरकारी लक्ष्य छ । लक्ष्य पुरा गर्न सरकारले काठमाडौं, पोखरा र चितवन जस्ता पर्यटकीय गन्तव्य स्थल बाहेकका अन्य क्षेत्रमा पनि पर्यटक पु¥याउने योजना गरेको छ ।

Friday, July 26, 2013

मेरो भविष्य उसको हातमा छ

प्रसंग यहाँबाट सुरु हुन्छ ।

कास्की जिल्लाको घाचोक गाविस । गत असारको महिना । कच्ची सडक । म पोखरा फर्कनको लागि मामा घरको आँगन छेउमै बस कुर्दैथिएँ । केहि बेरमा बस आएर रोक्कियो । टाटा कम्पनीको जम्बो बसमा खचाखच मान्छे भरिएको थियो । हतार हतार गाडी चढेँ ।
‘नमस्कार सर,’ भित्र पस्ने बित्तिकै स्टेरिङबाट दुबै हात उठाएर उ मलाई हेरिराखेको थियो । म उसलाई हेरेरको हेरेइ भएँ । मैले स्कुल पढाउने बेलामा यो रविन क्षेत्री (नाम परिवर्तन) कक्षा ६ को विद्यार्थी थियो ।
मैले नमस्कार फर्काएँ । उ हल्का हाँस्यो र फेरी अगाडी फर्केर गाडी बढाउन थाल्यो ।
झरीको महिना । जिपले खोलो तर्न नसकेर हिजो फक्र्यो रे भन्ने हल्ला पनि बसमा थियो । ‘बाबु भित्ता भित्ता लैजाउ है,’ बसमा बुढीआमै रविनलाई भन्दै थिइन्, ‘भिर देख्यो कि आंङै सिरिङ्ग हुन्छ ।’
यी आमै देखेर मेरी फूपू दिदीको सम्झना आउथ्यो । उनी भन्थिन, ‘दुई घण्टा हिडेर बजार पुगिहालिन्छ, मुन्छेहरू तीन घण्टा मोटर कुरेर बस्छन् । देउताले दिएको मुन्छेको गोडाको त भर हुन्न, मोटरका पांग्राको के भर ? कुन बेला कुन भिरबाट फराल्छ अनि बर्बाद ।’ उनको आफ्नै खाले तर्क थियो । हुन पनि बस चल्यो भन्दैमा खुट्टै चल्न छाड्ने हाम्रो बानी साँच्चैको नराम्रो सँग झांगिदै थियो ।
खाल्डाखुल्डीमा गाडी ढुलमुलिँदा सबैको अनुहारमा एक प्रकारको डरले झ्वाप्प छोप्थ्यो र फेरी बादल फाटेझै बिलाएर जान्थ्यो । रविन निक्कै ध्यान पुर्वक स्टेरिङ घुमाउँदै थियो । आठ वर्ष पछिको भेटमा विद्यार्थीलाई ड्राइभरको रुपमा पाउँदा मेरा मनमा एकैपटक अनेक तरंग उठ्न थाले ।
स्कुल पढाउने बेलामा म सधैं सोच्थेँ, ‘यसको भविष्य मेरो हातमा छ ।’
***
२०६१ सालको कुरा हो । म तत्कालिन बालमन्दिर सेकेण्डरी स्कुल नदीपुर पोखरामा विज्ञान र गणित विषय पढाउँथे । प्राविको दरबन्दी थियो । निमाविका केही कक्षाहरू पनि मेरो भागमा परेको थियो ।
कक्षा ६ मा कक्षा शिक्षक । हरेक दिन पहिलो घण्टिमा कक्षा पस्ने बित्तिकै म तीन वटा सामान्य ज्ञानका प्रश्न सोध्थेँ । महिना भरिमा कसले धेरै पटक उत्तर मिलाउँछ उ नै प्रथम हुन्थ्यो । त्यस्तै गरि द्धितिय, तृतीयहरूले पनि पुरस्कार पाउँथे हरेक महिना । हरेक दिन प्रश्न सोध्दा एउटै मान्छे थियो जो सधैं उत्तर दिन पहिला हात ठड्याउँथ्यो र गलत उत्तर दिन्थ्यो, रविन क्षेत्री ।
‘नेपालको पहिलो प्रधानमन्त्री को हो ?’
‘गिरीजा’
यस्तै उत्पट्याङ उत्तर दिन्थ्यो उ ।

अक्षर हेरेर मात्रै उसको क्षमता नाप्ने हो भने उ डाक्टर हुनु पर्ने थियो । यस्तो लेख्थ्यो कि...

Friday, July 5, 2013

सम्झना बिर्सना

म जीन्दगीको त्यो दिन कहिल्यै भुल्न सक्दिन जुन दिन सरकारी विद्यालयको वार्षिक शुल्क नबुझाएको भन्दै सात कक्षाको परिक्षा चल्दै गर्दा मलाइ हलबाट बाहीर पठाइयो । घरको  चुल्हो प्राय चिसो भैरहने हुँदा म आमा बाबु सामु मुख फोड्न सक्दैनथे त्यसबेला । त्यसैले एकान्तमा बसेर रुन्थे पनि । यसै गरि मेरा दाजु दीदी पनि कुना फर्केर रोएका यादहरु अझै ताजै छन मेरा मष्तिसकमा । भाइ बैनी पनि यो समस्याबाट अछुतो हुन सकेनन् त्यसबेला । खै के गरि विते ति स्कुलका दिनहरु जसले धन्नै मलाइ क्याम्पसको गेटसम्म ओरालेर गए । सँगसँगै धेरै प्रेरण मुलक पाठहरु पनि पढाए तिनले । त्यो बेला कुरकुरे वैष आएको र गएको पनि पत्तै पाइन भन्दा म गलत हुन्न जस्तो लाग्छ ।