Skip to main content

पर्यटन बिस्तारमा बन्दिपुर

बन्दिपुर घुम्न आउने पर्यटकको संख्या बढ्न थालेपछि होटल थपिने र बिस्तार हुने काम तिब्र बनेको छ ।
हालसालै होटल गाउँघरले सेवा बिस्तार गर्ने क्रममा भवनको तल्ला थपेको छ ।  नेवा छेँ ले स्वरूप नयाँ बनाएको छ । होटल चौतारी, मगर भिलेज एण्ड रिसोर्ट नयाँ थपिएका छन् । बन्दीपुर भिलेज रिसोर्ट, हिल हेभेन, पिया होटल, नेवाः खाजा घरले पनि कोठा बिस्तार गरेका छन् । गाविसकै मोहरीयामा पनि लजको लागि नयाँ भवन थपिदै छन् । गाउँकै पुरानो मध्येको एक बन्दिपुर माउन्टेन रिजोर्टले टुडीखेल छेउमा नयाँ भवन बनाउँदै छ । पर्यटन आगमनको मुख्य समय
आउँदो भदौं र असोजका लागि लक्षित गरेर सो भवन तयार गर्न लागिएको हो ।

‘२४ कोठाको भवन अबको लगभग तीन महिनामा रेडि हुँदैछ,’ माउन्टेन रिजोर्टका आवास प्रबन्धक वैश गुरूङ भन्छन्, ‘प्री बुकिङ पनि धमाधम भइरहेको छ ।’ उनका अनुसार गएको चैत र यो महिना होटलका ८० प्रतिशत कोठा भरिभराउ थिए । आउँदो सेप्टेम्बर अक्टुबरका लागि ५० प्रतिशत कोठा बुक भैसकेका छन् । कोठा नपुगेर ग्राहक धेरै पटक फर्काएको उनी बताउँछन् ।
‘कहिले काहीँ त आन्तरिक पर्यटकको फ्लो पनि यत्ति बढ्छकी धान्नै सकिँदैन,’ गुरूङ भन्छन्, ‘यही भएर नै होटल बिस्तार तिब्र बनेको हो ।’

गएको वर्षको तुलनामा यो वर्षको अप्रिलमा हवाईमार्गबाट आउने पर्यटकको संख्यामा १५.८ प्रतिशतले वृद्धि भएको छ । सरकारले २०११ लाई नेपाल पर्यटन वर्ष घोषणा गरिसकेको छ । पर्यटन वर्षमा दशलाख पर्यटक भित्राउने सरकारी लक्ष्य छ । लक्ष्य पुरा गर्न सरकारले काठमाडौं, पोखरा र चितवन जस्ता पर्यटकीय गन्तव्य स्थल बाहेकका अन्य क्षेत्रमा पनि पर्यटक पु¥याउने योजना गरेको छ ।

बन्दीपुरमा पनि विदेशी बाहेक पछिल्लो समयमा देशका विभिन्न भागबाट आमा समुह, युवा क्लब, क्याम्पस तथा स्कुलका शैक्षिक भ्रमणको ओइरो लागेको व्यवसायीहरू बताउँछन् । ठूला होटलले नधानेका ग्राहकलाई घरघरले पेइङ् गेष्टका रूपमा पनि स्वागत गर्ने गर्छन । विभिन्न गैर सरकारी संस्था, बैंक तथा मस्र्याङ्दी जल बिद्युत आयोजनाका वार्षिक कार्यक्रम तथा सेमिनारले पनि होटलहरू भरिने गरेको छ ।
यति हुँदा हुँदै पनि गाउँमा पर्यटक सूचना केन्द्र व्यवस्थित हुन नसकेकोमा धेरैको दुखेसो छ । ढुङ्गा तथा टिनले छाएका सुन्दर बस्तिका घरहरूले आज सम्म लालपुर्जा पाएका भने छैनन् । ‘हप्ताअघि पोखराबाट नापी टोली आएको छ’ प्रधान छात्रावासका कृष्ण कुमार प्रधान भन्छन, ‘नाप्ने काम भर्खर सुरूभएको छ ।’  उनका अनुसार गाउँमा होटल बनाउन जग्गा र घर खोज्न आउनेको चाप पनि निक्कै बढेको छ । केहीले जग्गा भाडा लिएरै भएपनि भवन बनाइरहेका छन् ।
त्यस्तै मध्येका एक हुन ताग्रीङ्ग गाविस लमजुङ्गका हितमान गुरूङ । बन्दिपुरको व्यापार फस्टाउन थालेपछि उनी मानाङमा रहेको होटल बेचेर यता पसेका हुन । उनले पन्ध्र वर्षका लागि जग्गा भाडामा लिएर टुँडिखेल नेर भर्खर नयाँ होटल बनाएका छन्, मगर भिलेज एण्ड कफि हाउस । बाह्रवर्ष मानाङमा होटल व्यवसायी गरेको अनुभव सँगालेका उनी यहाँपनि  राम्रो गर्न सकिनेमा आशावादी छन् । ‘भर्खर भवन बनाएर सकिएको छ, दशवटा रूममा फर्निसिङको काम बाँकी छ’ भाई काशीरामसँगै होटलको काममा व्यस्त हितमानले भने, ‘राजनीतिक वातावरण राम्रो भयो भने व्यवसाय छिट्टै फस्टाउथ्यो ।’
पर्यटकको चाप पहिला भन्दा केही बढेकोमा हिल वे क्या फे की सुनीता केसी पनि खुसी छिन् । धेरैले रोजगारी पनि पाएका छन् । गाउँको छिमेकी गावीस केशुटारकी बबिता सुुनुवारले पनि बन्दिपुर माउन्टेन रिसोर्टमा काम पाएकी छिन् । उनलाई देशमा भएको राजनीतिक द्वन्द्वले फेरि पर्यटनमा बाधा पुग्छ कि भन्ने डर पनि छ । ‘किन नहोस् त, देश बिग्रीयो भने पर्यटक घट्छन् , अनि हाम्रो जागिर फुत्कीहाल्छनी’ उनले हाँस्दै भनिन् ।
बन्दिपुरमा पर्यटक प्राय दुई दिन बस्नका लागि आउने व्यवसायीहरू बताएँछन् । विदेशी पर्यटकमा विशेष गरि युरोप र अमेरिकाका बढीमात्रामा गाउँ भित्रने गर्छन् । थामसेर कु, यति, काठमाडौं, भिस्ता, शंकर, हार्डरक, माइ नेपाल, आर एन टि, बेस क्याम्प आदि ट्राभल्स् बन्दिपुरमा पर्यटक ओसार्न सक्रिय रहेका वैश गुरूङ बताउँछन् । प्रतिरात तीन सय देखि ६ हजार सम्म पर्ने कोठाहरू यहाँ उपलब्ध छन् । तर, आन्तरिक पर्यटकका लागि भने केही सस्तोमा गाँस र बासको व्यवस्था यहाँका होटल तथा गाउँलेले गर्ने गरेका छन् ।
नेवार जातीको बाक्लो बस्ती रहेको बन्दीपुर बजार, मस्र्याङदी उपत्यका र हिमश्रृखला हेर्न मिल्ने टुँडिखेल, सूर्योदय नियाल्न सकिने थानीमाईको डाँडा, बाख्रा अनुसन्धान केन्द्र आदि स्थानले पर्यटकको मन खिच्न सक्छ । सुन्तला तथा रेशम खेती, सिद्ध गुफा, तीनधारा, रामकोटको पैदल यात्रा, सुनाखरी मार्ग, खड्गदेवी, बिन्दोवासिनी, महालक्ष्मीका मन्दिर आदि यहाँका सुन्दर गन्तव्य स्थल हुन । वर्षै भरि हुने चाड पर्वले यहाँको सुन्दरतामा रौनकता थपिदिएको छ ।
तनहुँ ३० वैशाख, Nagariknews 2010

Comments

Popular posts from this blog

मोबाइलको साटो पुस्तक

बाल मनोविज्ञानमा आधारित भएर लेख्नु आफैमा जटिल र चुनौती पुर्ण छ  । त्यसैमाथि सबै भन्दा सरल बनाउँनु पर्ने विषय पनि यहि रहेछ । बाल मस्तिस्कको सोचाइको धरातल फराकिलो बनाउँने  प्रयास म सधैं जारी नै राख्नेछु । बालबालिकाहरुलाइ आज राम्रा पुस्तक पढ्न दिँदा भोलीका दिनमा उनीहरुले रचनात्मक काम गर्न सक्छन् । हामी सबैले पढ्ने र पढाउँने बातावरण बनाउँन मद्दत गरौं । मेरा यी रचनाहरुमा चित्र कोरेर सुन्दर बनाइदिने नागरिक दैनिकका Dewen दाई र Yuwak जी, भाषामा सघाउने Shekhar दाई अनि प्रकाशनमा ल्याउँने Sangrila Book का Mani जीलाई धेरै धेरै धन्यवाद । म अछाम नपुगेको भए सायद यो बालकथा अाउँदैन्थ्यो होला । सन् २००९ मा Room to Read Nepal को कथा कार्यशालामा नअटाएको भए सायद 'हाम्रा खेलहरु' का बारेमा उबेला बाल कविता फुर्दैन्थ्यो । सधै‌ झै, छोराछोरीको हातमा मोबाइलको साटो पुस्तक दिउँ । उनीहरुका आँखा र दिमाग झनै तेजिलो हुनेछन् । अघिल्ला तीन कृती... माथिका तीन पुस्तकहरु ' पाठीलाई स्वेटर, भान्छामा चुट्किला, देउता खुशी हुनुभयो' तलका पुस्तक पसलहरुमा यस अघि नै आइसकेका छन् । नयाँ पुस्तक...

जाडोका चिसा उखान टुक्का

बिस्तारै बिस्तारै बढ्दै गरेको जाडोले विहान धेरै अबेर सम्म पनि हामीलाई बिस्तारामा सिरक भित्रै रोक्न सक्छ । झ्यालका पर्दा घामले नखोली कन हामी आफै खोल्न तम्सन पनि गाह्रो हुन्छ । विहानै तातो चियाको गिलासलाई ओठले चुम्न पाउँदा मात्र हात गोडा चलमलाउन थाल्छन् । अझ एका विहानै काममा जानु पर्ने वा कलेज जानु पर्नेलाई त जाडो कहिल्यै नआए हुन्थ्यो झै हुन्छ । यस्तो कठ्याङ्ग्रीने जाडोको बेलामा हाम्रा उखान टुक्काहरू कसरी बांगिने गर्छन्, यसबारेमा केही प्रसंग तल छ । तपाइलाई यो जाडो मौसम भरि न्यानो घामले माया गरोस शुभकामना ! जाडोले कामेको गोरुलाई बोरा ओढाउन सकिन्छ, सिरक ओडाउन सकिन्न अनिकालमा बिउ जोगाउनु, चिसोमा जिउ जोगाउनु चिसोले समाएको मान्छेलाई, आइसक्रिमले पनि लखेट्छ अर्काको आंङमा गन्जी लगाएको देख्ने, आफ्नो आंङमा जकेट लगाएको  नदेख्ने ? हिटरले पोलेको मान्छे, राइस कुक्कर देख्दा तर्सन्छ  थर्मस फुटे, तातो लुटे खाइ न पाइ, लेदर जकेट लाई  काम पाइनस छोरो, मोजामा आइरन लगाइ

भाइबहिनीसँग भेटघाट

‘‘चश्म खोलेपछि मात्र किताबमा भएको राइटरको फेस तपाइसँग मिल्छ । हजुरले किन कथा लेख्नुहुन्छ ? पाठीलाई स्वेटर मैले दुइ कक्षामा पढेको बेस्ट बुक हो । मेरो घरको ढोकामा सधैं बिरालो आउछ । मैले दूध दिन्छु । यसको पनि कथा हुन्छ ? हाम्रो लागि अझै धेरै कथा लेख्दिनु है । अब कहिले आउनु हुन्छ ?’’ कक्षा तीनमा पढ्ने नानीबाबुका कलिला बोलीले फूलजस्तै गरि मनमा छोए । 'लेखकसँग अन्तरक्रिया'मा आफ्नो पुस्तक ‘भान्छामा चुट्किला’ बाचन गर्न र कथा लेखनका बारेमा बताउन उनीहरूको विद्यालयमा पुगेको थिएँ । हामीले यस पुस्तकका चित्रकार Yuwak Shrestha लाई पनि सम्झियौं । नानीबाबुहरूले दुई कक्षामा मेरो अर्को पुस्तक ‘पाठीलाई स्वेटर’ पनि पढेका रहेछन् । लगभग ८० जना नानीबाबुका माझमा कथाबाचन गर्न र हराउन पाउदा नयाँ कथा बुन्ने उर्जा मिलेको छ । अवसरका निम्ति युलेन्स स्कूल ललितपुर र शिक्षिका मिना लुइटेल जीलाई धेरै धेरै धन्यवाद । अब चाँडै स्वतस्फुर्त रूपमा केही सामुदायीक विद्यालयमा कथा बाचन गर्ने र बुन्ने कला साट्न पुग्ने योजना बनाएको छु । ज्ञान बाँडे पक्कै बढ्दछ, नबाँडे सर्लक्कै घट्दै जान्छ । #childrensbooks #nepalichildren...