Monday, September 28, 2015

लिफ्ट दिन खोज्दा

आज बिहान घरबाट अफिस निस्कँदै थिएँ । बिजोर नम्बरको स्कुटर लिएर शान्ति नगर अघि पुगेँ । एक भाइलाई म लाजिम्पाट जाँदैछु जाने हो भनेर सोधेँ ।

"दाई म त कल‌ंकी जाने हो" उनले भने ।

"माइतीघर पुर्याइदिन्छु नी त" मेरो प्रस्ताव सुनेपछि उनले हाँस्दै भने, "सोझै कलंकी जाने गाडी कुर्छु दाई धन्यवाद ।"

लौ त भन्दै म सरासर अघि गएँ । वानेश्वर चोकमा धेरै मानिस गाडी कुरिरहेका थिए । हुलमै सोधेँ, "कोहि रत्नपार्क जानुहुन्छ ?" एक बहिनी धेरै बेर देखि गाडी कुरेको तर नपाइएको भन्दै दौडदै आईन । महांकाल नजिक एक कार्यलमा जाँदै गरेकी मोरङ कि ति बहिनीलाई लिफ्ट दिन पाउँदा खुशी लाग्यो । भोली त जोर दिन आफू पनि फुटपाथमा हिड्नु नै छ ।

भवसागर, ११ असोज २०७२

Sunday, September 20, 2015

संविधान सभा भवन भित्र संविधान जारी हुँदै गर्दा बाहिर जे देखियो


संविधान सभाको घोषणा सभाहल भित्र हुँदै गर्दा भवन बाहिर भने धेरै मानिसहरूको उत्साह देख्न सकिन्थ्यो । यो एेतिहासिक क्षणको सांक्षी बस्न आएका केही बेखुशी पनि देखिएका थिए । हेरौं केही तस्बिरहरु ।













Moments outside of Constitution Assembly Hall, while Nepal was promulgating Constitution 2015.


Photos: Bhabasagar Ghimire

Wednesday, September 9, 2015

को हो नेपाली ?


एरपोर्ट बिराटनगर । चेक इन काउन्टरमा भिड थियो । लाइन केही लामो । महिला र पुरुषको दुई फरक लाइन । पुरुषको लाइनमा म अघि एक कालो वर्णका मोटा व्यक्ति थिए । महिलाको लाइन छोटो थियो । एक राई लिम्बु जस्तो देखिने महिला हतार हतार आइन । काउन्टरमा सामान जोख्न सघाउने कर्मचारीले तिनको झोला जोख्न सघाए । 
‘बाटो बन्द थियो, हैरान भइयो,’ उनले अंग्रेजी लवज मिसाएर अफ्ठ्यारो भएपनि नेपालीमै भनिन् । ‘हो त गाह्रो भो है ? दार्जलिङतिर हो घर ?’ कर्मचारीले सोधे । ‘हैन म त यहि धरानको हो, युके फर्कन लागेको’ उनले फेरि उस्तै लवजमा भनिन् ।
त्यसै बीचमा मेरो अघिल्तिरको मोटा व्यक्ति लाइनमा सोझो बस्न असहज भएपछि केही बाहिर निस्किए । तत्कालै कर्मचारीले कडा तरिकाले भने, ‘आप लाइन मे सिधा बेठिए ।’ यो सुनेर उनी झनै असहज भए । अन्त्यमा उनले नम्र भएर जवाफ फर्काए, ‘अफ्ठ्यारो भएर हो, म लाइन मै छु ।’

Sunday, September 6, 2015

हामी सबै डाक्टर केसी !

भाद्र १८, २०७२- डाक्टर गोविन्द केसीको पाँचौं पटकको अनशन । भेट्न र समर्थन जनाउन शिक्षण अस्पताल महाराजगञ्ज पुग्दा त्यहाँ शिवरात्रीको पशुपतिझै उनलाई भेट्नेको भीड थियो । अस्पतालको एक कुनामा लडिरहेका थिए उनी । पशुपतिका देवता त फूल, प्रसाद र दक्षिणाले टन्न अघाएका हुन्थे । तर यहाँ भने उनी भोका र बिरामी थिए ।
देशका सरकार र ठूला मान्छेहरु सानाको कुरा सुन्दैनन् । यसैले आन्दोलन हुन्छन् । तर, केसीका यति धेरै तिखो कान छ कि कर्णालीको बिरामीको पीडा उनी सुन्छन् ।
जाजरकोटका गाविस पिच्छेको व्यथा महसुस गर्छन् । पहाड हल्लिँदा उनको मन हल्लिन्छ र पहाडका भत्केका भग्नावशेषतिर पुग्छ ।
तराई डुब्दा मलम लगाउन उतै पुग्छन् । गरिबको स्वास्थ्यमाथि खेलबाड गर्ने वनमाराझैं सल्केका मेडिकल कलेजभित्रको दलीय राजनीतिको पनि हेक्का राख्छन् ।
अनशनमा उनी बस्दा, उनको भोकले धेरै भोकाहरूको प्रतिनिधित्व गरेको थियो । उनलाई गाल्दै गएको रोगमा देशलाई ढाल्दै गएको माफियातन्त्रको छायाँ देखिन्थ्यो । ठूलो बिडम्बना, यहाँ रोग, शोक र भोकको सुनुवाई हुँदैन । हुन्छ त केबल हिंसा, तोडफोड अनि तोडमोडको । तैपनि उनको अभियान जारी थियो ।
आखिरीमा सरकारसँगको ११ बुँदे सहमतिपछि बसेको बाह्रौं दिनको दिन उनले आफ्नो पाँचौं अनशन तोडे । त्यतिबेला शिक्षण अस्पतालअघि जुत्ता मर्मतको काम गर्ने सत्यनारायण राम र अस्पतालका बिरामी १० वर्षे बालक सुवास अधिकारीका हातबाट उनले जुस पिएका थिए । जुश पिलाउने यी दुई पात्रको उपस्थितिले पनि गहिरो अर्थ दिइरहेको थियो ।
गत चैत्र १९ गते सरकारसँग भएको त्यो सहमतिको पहिलो बुँद्धामै माथेमा प्रतिवेदन बमोजिम नीति र कानुन नबनेसम्म सम्बन्धन नदिने र बिस्तार गर्ने कुनै पनि काम नगर्ने उल्लेख छ । तर, सरकार आफैंले गरेको सहमतिविपरित गत मंगलबारको मन्त्रिपरिषद् बैठकबाटै आशयपत्र लिएका प्रस्तावित मेडिकल, डेन्टल र नर्सिङ कलेजलाई सम्बन्धन दिन सक्ने बाटो खोलिदियो ।
सच्चा जनता माथिको कच्चा राजनीतिको यो एउटा यस्तो घिनाउँदो उदाहरण हो जसले तपाई हामीलाई आत्मैदेखि हल्लाइदिएको छ । क्रोधित बनाएको छ । तर के बुझ्नु पर्छ भन्दा, लामखुट्टेले टोक्न सकेन भने उसको अस्तित्व खतरामा पर्छ । यो उनीहरूको विशेषता हो । माफियाको खेल भनेकै भइरहेको संयन्त्रलाई कमजोर बनाउने अनि त्यसमा राजनीति गर्ने हो । यस विरुद्ध हाम्रो प्रतिकार निरन्तर भइरहेको छ र रहिरहनु पर्छ ।
यस्तो चरम भ्रष्टाचारको दलदलबीचमा तिनको धनुषको ताँदो चुँड्याउने गरि अनशन बस्ने केसीको सत्कर्मले हामीमा धेरै प्रश्न सोझ्याएको छ । ‘तपाई कसका लागि बाँच्दै हुनुहुन्छ ?’ धेरै प्रश्नहरू बीचको धारिलो प्रश्न हो यो । ऐना अघि उभिएर हेर्दा तपाईलाई पनि यही प्रश्नले घोच्न सक्छ, साँच्चै म कसको लागि बाँचिरहेको छु ? आफ्नै लागि वा अरु धेरैका लागि ?
अरु धेरैका लागि हो भने ठीक छ । तर आफ्नै लागिमात्र बाँचेको हो भने त्यो पक्कै पनि पर्याप्त छैन । किनकि मलाई यहाँ शान्तिसँग जीवन जिउन कसैले मेरा लागि असल राजनीति गरिदिनु पर्छ । भ्रष्टाचार रोक्दिन पर्छ । भत्केका संरचना बनाउन । बन्दको बिरोध गर्न । बिजुली, पानी, बत्ति, यातायात, यो, उ ठिक्क पार्दिनका लागि पनि मेरो निम्ति अरु कोही बाँच्दिनु पर्छ । के मेरो लागि कोही बाँचिरहेको छ त ? के तपाइका लागि कोही बाँचेको छ ?
के बिरामी परेर लडिरहेको यो समाजलाई उठाउन एउटै डाक्टर केसीमात्र सक्लान् ? यसमा हाम्रो योगदान के ? भुलेर पनि यस्तो नहोस् कि जीवनभर हाम्रा आँखाहरूले शहिदमात्र खोजि रहुन्, ‘कोही हाम्रो लागि मरिदियोस् र उसका कारणले हामी धेरै वर्षसम्म बाँच्न पाउँ ।’
 भवसागर घिमिरेhttp://kantipur.ekantipur.com/news/2015-09-04/20150904133554.html