Friday, November 15, 2013

तस्बिरले बदलेको जिन्दगी


पहिले 
फागुन ५, २०६२ साल । कान्तिपुर दैनिक र काठमाडौं पोष्टको पहिलो पृष्ठमा एउटा तस्बिर छापियो । फोटो थियो, नोबेल एकेडेमी नयाँ वानेश्वरको । विद्यालयको कम्पाउन्ड भित्र विद्यार्थीहरूले विहानीको शारिरीक अभ्यास गरिरहेका थिए । त्यसै बेला विद्यालय पछाडीको थोरै भत्केको पर्खाल बाहिरैबाट ५ वर्षे एक बालक त्यो अभ्यासको सिको गर्दै थिए ।

साढे सात वर्ष अघि । कान्तिपुरका फोटो पत्रकार शालीग्राम तिवारीले खिचेको सो तस्बिर छापिए लगत्तै एकेडेमी बोर्डको बैठक बस्यो । वैठकले बालकलाई सोही स्कुलमा छात्रवृत्तीमा पढाउने निर्णय ग¥यो । ती बालक को हुन ? कसरी त्यहाँ आए ? त्यती बेलासम्म कसैलाई यसको पत्तो भने थिएन । पत्रकार तिवारी र स्कुल आफैले पनि बालकको खोजी गर्न थाले ।

***
‘लौ भुन्टुको फोटो निकालेचौं नी’ घरबेटीले यसो भन्दै आएपछि निर्मल चौलागाइ र उनकी श्रीमती सीता दंग परे । उनीहरू नोबेल एकेडेमीकै पछाडी पट्टी रहेको एक घरको सानो कोठामा डेरा गरि बस्थे । तस्बिरमा अनुहार नदेखिए पनि उनीहरूले कान्छो छोरो निरोजलाई पछाडीबाट नचिन्ने कुरै भएन । यसरी एकाएक पत्रिकामा छोरोको तस्बिर छापिएपछि अब के होला भन्ने कौतुहलता उनीहरूमा त्यो दिन धेरै बेर सम्म रहिरह्यो ।

अहिले
काभ्रेपलान्चोक पोखरी चौरी–८ स्थाइ घर भएका निर्मल त्यतीबेला काठमाडौंमै चियापत्तीको व्यापार गर्थे । न्युरोडबाट खुला चियापत्ती ल्याउँथे र पसल–पसलमा बेच्थे । उनकी श्रीमती सीता बानेश्वरमै फलफूलको व्यापार गर्थिन् । कामको खोजीमा राजधानी पसेका उनीहरूले ९ वर्षे जेठो छोरो निरनलाई नजिकैको न्यु साइरन एकेडेमीमा भर्ना गरेका थिए । दाई निरन स्कुल जाने बेलामा ५ वर्षे भाइ निरोज पनि हत्तारिन्थे रे । ‘भात देउ, भात देउ स्कुल सुरु हुन लाओ,’ निरोजले त्यतीबेला यसै भन्ने गरेको आमा सीता सम्झिन्छिन् । खानापछि दाई आफ्नै स्कुल जान्थे । निरोज भने डेराकै पारीपट्टी देखिने नोबेलको शारिरीक अभ्यास हेर्दै उफ्रन्थ्यो ।