तस्बिरले बदलेको जिन्दगी


पहिले 
फागुन ५, २०६२ साल । कान्तिपुर दैनिक र काठमाडौं पोष्टको पहिलो पृष्ठमा एउटा तस्बिर छापियो । फोटो थियो, नोबेल एकेडेमी नयाँ वानेश्वरको । विद्यालयको कम्पाउन्ड भित्र विद्यार्थीहरूले विहानीको शारिरीक अभ्यास गरिरहेका थिए । त्यसै बेला विद्यालय पछाडीको थोरै भत्केको पर्खाल बाहिरैबाट ५ वर्षे एक बालक त्यो अभ्यासको सिको गर्दै थिए ।

साढे सात वर्ष अघि । कान्तिपुरका फोटो पत्रकार शालीग्राम तिवारीले खिचेको सो तस्बिर छापिए लगत्तै एकेडेमी बोर्डको बैठक बस्यो । वैठकले बालकलाई सोही स्कुलमा छात्रवृत्तीमा पढाउने निर्णय ग¥यो । ती बालक को हुन ? कसरी त्यहाँ आए ? त्यती बेलासम्म कसैलाई यसको पत्तो भने थिएन । पत्रकार तिवारी र स्कुल आफैले पनि बालकको खोजी गर्न थाले ।

***
‘लौ भुन्टुको फोटो निकालेचौं नी’ घरबेटीले यसो भन्दै आएपछि निर्मल चौलागाइ र उनकी श्रीमती सीता दंग परे । उनीहरू नोबेल एकेडेमीकै पछाडी पट्टी रहेको एक घरको सानो कोठामा डेरा गरि बस्थे । तस्बिरमा अनुहार नदेखिए पनि उनीहरूले कान्छो छोरो निरोजलाई पछाडीबाट नचिन्ने कुरै भएन । यसरी एकाएक पत्रिकामा छोरोको तस्बिर छापिएपछि अब के होला भन्ने कौतुहलता उनीहरूमा त्यो दिन धेरै बेर सम्म रहिरह्यो ।

अहिले
काभ्रेपलान्चोक पोखरी चौरी–८ स्थाइ घर भएका निर्मल त्यतीबेला काठमाडौंमै चियापत्तीको व्यापार गर्थे । न्युरोडबाट खुला चियापत्ती ल्याउँथे र पसल–पसलमा बेच्थे । उनकी श्रीमती सीता बानेश्वरमै फलफूलको व्यापार गर्थिन् । कामको खोजीमा राजधानी पसेका उनीहरूले ९ वर्षे जेठो छोरो निरनलाई नजिकैको न्यु साइरन एकेडेमीमा भर्ना गरेका थिए । दाई निरन स्कुल जाने बेलामा ५ वर्षे भाइ निरोज पनि हत्तारिन्थे रे । ‘भात देउ, भात देउ स्कुल सुरु हुन लाओ,’ निरोजले त्यतीबेला यसै भन्ने गरेको आमा सीता सम्झिन्छिन् । खानापछि दाई आफ्नै स्कुल जान्थे । निरोज भने डेराकै पारीपट्टी देखिने नोबेलको शारिरीक अभ्यास हेर्दै उफ्रन्थ्यो ।





‘सायद उसको मनले आफ्नै स्कुल ठान्दो हो,’ आमा भन्छिन्, ‘भित्र साथीहरू लइनमा खेलेको हेरेर रमाउँथ्यो ।’ हुन त निरोजको स्कुल जाने इच्छा त्यती बेला बाबुआमाले नबुझेका भने होइनन् । ‘काठमाडौंको महंगीमा छाक टार्न र छोरछोरी पढाउन निक्कै गाह्रो,’ बाबा निर्मल सम्झन्छन्, ‘पाँच वर्ष पुगिसक्दा पनि कान्छोलाई मैले स्कुल राखिसक्या थिइन् ।’
एकातिर चियापत्तीको व्यापारले उनलाई खासै राम्रो आम्दानी दिन सकेको थिएन । अर्कारित चर्को माओवादी द्वन्द्व र राजनीतिक अस्थिरताले महंगी दिनहुँ बढ्दो थियो । ‘दिक्क लाग्थ्यो,’ निर्मल भन्छन्, ‘काठमाडौंमा बसेर सकिन्न झै भाथ्यो ।’

तस्बिर छापिएको दिन भने उनको मन निक्कै बरालियो । ‘खै के हो हो’ भन्दै छक्क परेका उनी बजार चाहर्न यसो बाहिर निस्केका थिए । यता बालक खोज्दै फोटो पत्रकार तिवारी उनकै घरमा पुगे । ‘कान्छो निरोजलाई स्कुलले सित्तैमा पढाइदिने भो रे भन्ने खबर वाँ बाटै पायौं,’ ३५ वर्षे आमा सीताले भनिन्, ‘मनै हरर भो ।’
यता निरोजको तस्बिरले नाम कमाएपछि धेरै टाढा टाढाबाट उनीहरूलाई चिनेजानेका मान्छेहरूले फोन गरे । ‘कान्तिपुर टिभीले पनि देखाएछ । सबैले बधाइ देका थे,’ निर्मलले भने, ‘छोरोले खुसी ल्याएपछि त्यतीबेला केही गर्न सकिन्छ कि भन्ने आश लायो ।’
तस्बिरको प्रभाव । निरोज साँच्चै नै आफूले देखेको विद्यालय जान पाउने भए, नर्सरी कक्षामा । पर्खाल बाहिरबाट हेरेर सिको गरेको शारिरीक अभ्यास अब विद्यालयको पर्खाल भित्रै गएर गर्न थाले । निरोजको दैनिकी जस्तै बिस्तारैपरिवारको दैनिकी पनि बदलिन सुरु भयो ।

व्यापार खासै उकालो नलागेपछि बाबा निर्मल कामको खोजीमा २०६४ सालमा विदेश लागे, साउदी अरब । आमा सीताले घरव्यवहार सम्हाल्न थालिन । फलफूल व्यापारलाई पनि निरन्तरता दिइन् । गाउँबाट हजुरबा हजुरआमा पनि साथै बस्न आएपछि भने उनीहरू डेरा सरेर बानेश्वरकै फूल्चोकी मार्गमा बस्न थाले । विदेशमा निर्मलले पनि राम्रै कम्पनीमा काम पाए, पल्म्बरीङको । ‘बेलाबेलाँ फोन हुन्थ्यो,’ निर्मलले भने, ‘विदेशाँ त्यसैयाँ चित्त बुझाउनु पथ्र्यो । दिन यसै गरि बित्दै गयो



साढे सात वर्षपछि । नर्सरीबाट निरन्तर पास भएका निरोज अहिले नोबेल एकेडेमीमै पाँच कक्षामा पढ्दैछन् । उनलाई सानो छँदाको पुरै सम्झना भने छैन । अहिले केही साथीहरूले कान्तिपुर भनेर बोलाउँदा उनी खिस्स हाँस्छन् । ‘मेरो त एडमिट कार्डमा पनि कान्तिपुर लेखेको छ,’ उनले झोलाबाट कार्ड झिकेर देखाए, ‘चिन्नको लागि नामको पछाडी थपेको रे ।’

तस्बिर प्रकाशित भएपछि विद्यालयले निरोजलाई छात्रवृत्तीमा चाहेजती पढाइदिने प्रतिवद्धता व्यक्त गरेको फागुन ६ कै कान्तिपुरमा प्रकाशित भएको थियो । पहिलाको सहमती अनुरुपनै विद्यालयले छात्रवृत्तीमा पढाइराखेको र अब पनि निरन्तरता दिने नोबेलका विद्यालय संयोजक केपी पन्त बताउँछन् ।  शिक्षिका लक्ष्मी पौडेलका अनुसार निरोजको पढाइ राम्रो छ । उनी भन्छिन्, ‘तीन चार कक्षामा भन्दा पाँचमा आएर अझै प्रगती गरेको छ ।’ गएको परिक्षामा उनले ७० प्रतिशतको हाराहारी अंक ल्याएका छन् । कक्षामा अब्बल हुन निरोजले अझै मेहनत गर्नुपर्ने उनकी अर्की शिक्षिका सोफिया श्रेष्ठ बताउँछिन् । उनका अनुसार साथीहरूसँग चाँडै घुलमिल हुने निरोजको राम्रो बानी हो । पढाईमा गणित र सामाजिक शिक्षा । खेलकुदमा टेबल टेनिस निरोजलाई धेरै मन पर्छ । ‘फुटबल पनि रमाइलो लाग्छ,’ निरोजले झोलाको चेन लगाउँदै भने, ‘पछि भने इञ्जिनियर बन्ने हो ।’
‘इञ्जिनियर नै किन नी ?’ प्रश्न सुनेपछि उनले एकैछिन सोचेझै गरेँ ।
‘यसलाई राम्रो मान्छे बनाम्चु,’ बाबा निर्मलले बीचैमा कुरा काटे, ‘म विदेश हुँदा पनि खुब फोन गरेर पढाइका बारेयाँ सोधखोज गर्थेँ ।’
आफ्नो बा बितेको खबर पाएपछि निर्मल गएको शुक्रबार मात्र नेपाल फर्केका हुन् । त्यो पनि ६ वर्षमा पहिलो पटक । ‘केही ऋण तिर्नुथ्यो, त्यसैले बीचमा आउन पाइन,’ निर्मलले हल्का हाँस्दै भने, ‘ऐले ऋण तिरीयो, थोरै कमाइ पनि भो ।’


निरोजले ठूलो भाग्य लिएर आएको उनका आमाबाबा ठान्छन् । आमा सीता भन्छिन्, ‘यसको राम्रो हुन थालेपछि सबैको केही भए पनि राम्रो भयो ।’ अहिले जेठो छोरो निरन पनि कक्षा ९ पढ्ने भैसकेको छ । मैतीदेवीको मार्भलस बोडिङ स्कुलमा । स्कुल र घरको दुबै वातावरण राम्ररी मिलायो भने छोराहरूले भोली केही प्रगती गरेर देखाउँछन भन्ने आश निर्मलले गरेका छन् । उनी भन्छन्, ‘बुबाको क्रिया अम्केपछि स्कुलमा गएर सरमीससँग सरसल्लाह गर्ने सोच्या छु ।’

एउटा रंगिन तस्बिरले परिवारमा ल्याएको नयाँ रंग आफूहरूले कहिल्यै विर्सन नसक्ने उनीहरू बताउँछन् । ‘अझै पनि दुबै पत्रिका बाकासाँ राखिचुँ,’ गत सोमबार साँझको भेटमा सीताले हाँस्दै कुरो टुंगाइन्, ‘कैलेकाही हेर्छु अनि फोटा खिच्नेलाई मनमनै धन्यवाद भन्छु  ।’

(नोभेम्बर २, २०१३ को कान्तिपुर कोशेलीमा प्रकाशित, By भवसागर घिमिरे)

More Pictures:

                                  









Comments