Monday, December 19, 2011

‘अटलबहादुरको आतंक’ अझै छ


भवसागर घिमिरे

गएको शनिबार गुरुकुलमा नाटक हेर्न गएको थिएँ । नाटक थियो ‘अटलबहादुरको आतंक ।’ माओवादी द्वन्द्वकालताकाको खल्लुबोट गाउँको कथा नाटकले समेटेको थियो । विदेशी नाटकहरूलाई रुपान्तरित गरेर प्रस्तुत गर्ने नेपाली प्रचलनका माझ आफ्नै गाउँघरमा आफैले द्वन्द्वका समयमा भोगेका, सुनेका र देखेका कथाहरू हेर्न पाउनु निक्कै चाखलाग्दो हुँदोरहेछ ।
खल्लुबोट गाउँमा मिलेर बसेका दमाइ, गुरुङ, बाहुन र क्षेत्री जातका छत्रे, शिवे, हर्कबहादुर, रामसिंहको कथालाई कथाका शुत्रधार भट्टी पसले गुमानेले रसिलो तरिकाले प्रस्तुत गरेका छन् । जनयुद्धका बेलामा बुढाबुढीमात्रले भरिएका नेपालका धेरै गाउँ मध्येको एक गाउँको रूपमा खल्लुबोटलाई प्रस्तुत गरिएको छ । त्यहाँ हरेक जातका मान्छेमाझ समानता र प्रेम देखाइएको छ नाटकमा । हरेक साँझ गुमानेको पसलमा बूढाहरू भेलाहुन्छन र लोकल रक्सिसँगै रमाइलो गर्छन् । जति नै झगडा गरेपनि आखिरमा उनीहरू एकअर्कालाई अंगाल्छन् र खातामा नाम चढाउनु भन्दै बाटो लाग्छन् । 

Wednesday, December 7, 2011

काउकुती लाग्दो, यौवनका कुरा

–भवसागर घिमिरे

गुच्चा खेल्दा साथीका गुच्चा यसरी फुटाइन्थ्यो की, झगडै पथ्र्यो । धेरैले मेरो कुटाइ खाए ।

Photo : Mega Bank Photo Competition, Kathmandu 2011, winner
केटाहरूले जिस्काउँदा निक्कै रिस उठ्थ्यो र रमाइलो पनि लाग्थ्यो । राम्री केटीसाथीलाई धेरै केटाहरूले जिस्काउँथे मन पराउँथे, मलाई भने निक्कै डाहा लाग्थ्यो । 

सानैमा सधैं भात पकाउने, भैसीलाई घाँस काटेर हाल्ने काम मैले गर्नु पर्ने । कहिले काहीँ त यति रिस उठ्थ्यो की भैसी फुकाएर म पनि त्यसैका पछि पछि घर छाडेर भागुँ झै लाग्थ्यो ।

कुरकुरे वैषमा, स्कुल पढ्दा, जुन केटी देखेपनि राम्री लाग्ने । कुनै केटीसँग हात मिलाएँ भने त्यो दिन मेरो सबैभन्दा मिठो दिन हुन्थ्यो ।

कसैको जीवनसँग मेल खाएमा माथीका कुराहरू संयोग हुने छैनन् । हुन पनि हामी माझ धेरैका बाल्यकाल र यौवन अवस्था यस्तै यस्तै घटनाक्रमहरूसँगै बितेका छन् । कथा मीठो सारङीकोका लागि नयाँ नाटक लेख्न सुरु गर्ने बेलामा विषय नै ‘बाल्यकाल र यौवन अवस्थामा आउने विभिन्न परिवर्तन, समस्या र समाधानका बाटो’ परेको थियो । 

आमाको माया



-भवसागर घिमिरे

‘ओइ लडौला नी’ पानी जाने कुलोको छेउछेउ उफ्रदै हिडेको महेशलाई देखेर मिना खेतको परै बाट चिच्याइँ । ‘लड्दिन क्या, यस्ता कुला त कति नाघेँ नाघेँ,’ स्कुल जान लागेको महेश झन झन उफ्रदै हिड्न थाल्यो । उनीहरू घरबाट १ घण्टाको दुरीमा पर्ने प्रावि पढ्थे । 

‘ऐया,’ महेश नभन्दै काल्नाबाट खस्यो । कतै हात खुट्टा त भाँच्चिएन ? टाउको काटेर रगत पो आयो की ? मिना हक्कानिँदै उसलाई उठाउन गई । 

‘हा हाऽऽऽ ढाँटेको, ढाँटेको,’ काल्ना तल टुक्रुक्क लुकेर बसेको महेश हाँस्न थाल्यो । ‘झण्डै मेरो सातो खाएथ्यौं,’ मिनाले लामो सास फेर्दै भनि,‘आमालाइ भन्दिन्छु ।’ महेश फेरि उठेर दौडदै चिचच्यायो, ‘भन्दे सन्दे, आलु बारी खन्दे, सय पैसा गन्दे ।’

मिना भर्खर १० वर्ष पुगी । महेश ५ । उनीहरूको परिवारमा अब नाम लिन बाँकी भनेको आमा हरिमाया मात्र हो । एक साँझ घरमा मिना र महेशको भनाभन हुँदैथियो । हरिमाया आइपुगिन् । ‘के भो ?’ हरिमायाको बोलि खस्न नपाउँदै मिना कराउन थालि, ‘मेरो सिरानी मुनीको डलर पैसा यसले चोरेर आफ्नो खुत्रुकेमा हाल्यो ।’ 

झगडा मिलाउन हरिमायाले मिनाको दश रूपैयाँ आफैले नतिरी सुखै पाइनन् । ‘खुत्रुके फोडेर एक दिन फुटबल किन्छु अनि तँलाई दिन्न,’ महेशले मिनालाई जिस्काउँदै बाहिर भाग्यो । मिना रिसाउँदै महेशको पछि दौडी । हरिमाया ती दुईको पछि दौडिन ।