Skip to main content

आमाको माया



-भवसागर घिमिरे

‘ओइ लडौला नी’ पानी जाने कुलोको छेउछेउ उफ्रदै हिडेको महेशलाई देखेर मिना खेतको परै बाट चिच्याइँ । ‘लड्दिन क्या, यस्ता कुला त कति नाघेँ नाघेँ,’ स्कुल जान लागेको महेश झन झन उफ्रदै हिड्न थाल्यो । उनीहरू घरबाट १ घण्टाको दुरीमा पर्ने प्रावि पढ्थे । 

‘ऐया,’ महेश नभन्दै काल्नाबाट खस्यो । कतै हात खुट्टा त भाँच्चिएन ? टाउको काटेर रगत पो आयो की ? मिना हक्कानिँदै उसलाई उठाउन गई । 

‘हा हाऽऽऽ ढाँटेको, ढाँटेको,’ काल्ना तल टुक्रुक्क लुकेर बसेको महेश हाँस्न थाल्यो । ‘झण्डै मेरो सातो खाएथ्यौं,’ मिनाले लामो सास फेर्दै भनि,‘आमालाइ भन्दिन्छु ।’ महेश फेरि उठेर दौडदै चिचच्यायो, ‘भन्दे सन्दे, आलु बारी खन्दे, सय पैसा गन्दे ।’

मिना भर्खर १० वर्ष पुगी । महेश ५ । उनीहरूको परिवारमा अब नाम लिन बाँकी भनेको आमा हरिमाया मात्र हो । एक साँझ घरमा मिना र महेशको भनाभन हुँदैथियो । हरिमाया आइपुगिन् । ‘के भो ?’ हरिमायाको बोलि खस्न नपाउँदै मिना कराउन थालि, ‘मेरो सिरानी मुनीको डलर पैसा यसले चोरेर आफ्नो खुत्रुकेमा हाल्यो ।’ 

झगडा मिलाउन हरिमायाले मिनाको दश रूपैयाँ आफैले नतिरी सुखै पाइनन् । ‘खुत्रुके फोडेर एक दिन फुटबल किन्छु अनि तँलाई दिन्न,’ महेशले मिनालाई जिस्काउँदै बाहिर भाग्यो । मिना रिसाउँदै महेशको पछि दौडी । हरिमाया ती दुईको पछि दौडिन ।


हरिमायालाई यस्तै हैरानी आइपर्छ कहिलेकाहीँ । घर खर्च चलाउन उनी तरकारी फलाउँछिन र बेच्छिन् । मिना र महेशको पढाइ खर्च पनि यसैबाट जेनतेन चल्छ । आमाका अनुसार महेशलाई के थाहा छ भने उनका बा बिदेश छन् । तर मिनालाई भने सत्य कुरा थाहा छ, ‘बा मरिसके ।’ 

मिनाका बाबा खाडी मुलुक दुबईमा घर रंगाउने काम गर्थे । एक दिन अग्लो घरको छतबाट खसेर उनको मृत्यु भयो । त्यती बेला महेश आमाको पेटमा थिए । महेश बुझ्ने भएदेखि नै उसले बाबाको बारेमा सोध्न थालेको थियो । आमाले जहिले पनि बाबा बिदेशमा छन् भनेर महेशको चित्त बुझाउँथिन् । ‘बाबा आएपछि कुरा लगाइदिन्छु, अनि थाहा पाउनु हुन्छ,’ रिस उठेको बेला महेश आमालाई यसै भन्थ्यो । यस्तो सुनेर हरिमाया बर्रर आँशु झार्थिन् । आमा रोएको देखेर महेश फेरि बोलि फेथ्र्यो, ‘भैगो बाबा आएपछि केही कुरा लाउँदिन ।’ महेशले यसो भन्दै फकाउन खोज्दा हरिमायाका झन धेरै आँशु खस्थे । 

बाबाका बारेमा भाइसँग आमाले झुठ बोलेको मिनालाई कत्ति चित्त बुझ्दैन्थ्यो । भाइको मन टुट्ने डरले आमा सत्य कुरा बोल्न पनि सक्दैन्थिन् । उनले मिनालाई पनि भाइसँग बाबाको बारेमा कुरा नगर्न भनेकी थिइन् ।

महेशलाई दिनहुँ होमवर्क गराउन मिनालाई हैरान हुन्थ्यो । उ बाह्रखरीका शब्दहरू निक्कै बाङ्गो टिङ्गो अनि पाना नै भरिने गरि ठूला–ठूला लेख्थ्यो । ‘बाबु ठ लेख भनेको कि ठेकी बनाउँ भनेको ?,’ पाना भरिका शब्द देखेर मिनाले महेशलाई हकार्थी । ‘डेक्ची बनाएको के भात पकाइ खेल्न,’ महेश यसै गरि शब्दसँगै कुरा बंग्याउँथ्यो । समयसँगै उ कक्षा चढ्यो । अक्षर चिन्ने अनि वाक्य पढ्न सक्ने पनि भयो । 

उ एक दिन दराजमा ज्याकेट खोज्दै थियो । उसका आँखा त्यहाँ भित्र रहेका पुराना कागज पत्रमा परेँ । उसले त्यहाँ एउटा चिठी पनि भेट्यो अनि पढ्न थाल्यो । चिठीमा बाबाले मिना र आमालाई दशैंमा नयाँ कपडा र धेरै मिठाई ल्याइदिने पनि कुरा गरेका थिए । तर चिठीमा कतै उसले आफ्नो नाम फेला पारेन । उ रिसाउँदै आमासँग गयो ।

‘बाबा त दशैंमा आउँछु भनेर पनि आउनु भएन त आमा,’ उसको कुरा सुनेर हरिमाया झसंग भइन् । कसले भन्यो ? ‘यी यहाँ लेखेको छ नी त,’ उसले हातको चिठी देखाउँदै भन्यो,‘मलाई त सम्झनु नी भाछैन ।’ हरिमायाले हत्तन पत्त चिठी खोसिन अनि महेशलाई अंगालीन् । महेश आमाको सारीको लप्कोमा समातेर रुन थाल्यो, ‘बाबाले दिदी र हजुरलाई मात्र माया गर्नुहुन्छ, मलाई माय नै गर्नुहुन्न ।’

हरिमायाले आफूलाई सम्हालिन अनि महेशलाई सम्झाउन थालिन्, ‘बाबाले तिमीलाई धेरै माया गर्नुहुन्छ बाबु ।’ यी सबै कुरा ढोकाको पछाडी ढेपिएर हेरेकी मिनाले आफ्नो मन थाम्न सकिन् । उनी त्यतै छेल परेर रोइन् ।

अर्को दिन । मिना र हरिमाया चामल केलाउँदै थिए । ‘भाइलाई साँचो कुरा भन्दिनुस,’ मिनाले आमासँग मुख खोलिन् । ‘हुन्न, भाइको मन भाँचिन्छ,’ हरिमाया कड्किन ।

‘केही दिनमा मन बुझाइहाल्छनी, कति सम्म ढाँट्न सक्नु हुन्छ,’ मिनाले आमासँग तर्क गर्न थालिन् । हरिमाया पनि हार खाइसकेकी थिइन् । अब उनले मिनाको कुरा नकार्न सकिनन् । उनीहरूले भोली स्कुल बिदाको दिन भाइलाई सबै कुरा भन्ने अनि सम्झाउने निधो गरे ।

भोलिपल्टको कुरा । महेश एकाबिहानै आमा भएतिर निक्कै निन्याउरो मुख लिएर आयो । ‘बाबा अब आउनु हुन्न हो,’ रुन्चे स्वरमा बोल्दै महेशले आमाको मुखमा हे¥यो । ‘के भो, कसले भन्यो ?,’ आमा हक्कानिन थालिन् । भाइको कुराले मिना पनि छक्क परि । महेशले हातको पुरानो पत्रिका आमालाई दियो । त्यो पत्रिका उसले टेबल पन्छाउँदा फेला पारेको थियो । त्यहाँ मिना र आमाको फोटो सहित बाबा बितेको समाचार छापिएको थियो । बाबाले अब आउँदा आमालाई जाडोका लागि न्यानो पच्छ्यौरा ल्याइदिने बाचा गरेको कुरा पनि लेखिएको थियो । मिठाइ र लुगाफाटोको साटो नेपालमा बाबाको लास आएको समाचार पढेको महेश भक्कानिएर आमा समात्यो । आफूलाई आज सम्म ढाँटेकोमा उ दुख मान्दै रोयो । महेश रुन थालेपछि मिना, हरिमाया पनि सँगै अंगाल्लिएर रोए । 

कार्तिकको जाडो । बाहिर चिसो निक्कै बढेको थियो । एकसरो लुगामा, हरिमाया सिकसिक गर्दै आँगन बढार्दै थिईन् । उनले मिना र महेश दुवैलाई खोजिन् । उनीहरू घरमा थिएनन् । उनीहरूका पैसा राख्ने खुत्रुके फोडिएको थियो । ‘पक्कै पनि केटाकेटीहरू बल किन्न गएछन्,’ उनले अड्कल काटीन् । एकैछिन पछि उनीहरू आइपुगे । ‘बल खैत ?’ हरिमायाले महेशलाई सोधीन । महेशले आमालाई आँखा चिम्लीन भन्यो । हरिमायाले आँखा चिम्लिन् । महेश र मिनाले आमालाई लुगा ओढाइदिए । आमाले आँखा खोलिन् । भुड्को फोडेको पैसाले उनीहरूले आमालाई न्यानो पच्छ्यौरा किनेर ल्याइदिएका थिए । छोराछोरीको न्यानो माया पाएपछि हरिमायाका खुसीका आँशु झरे । (२०६८ मंसिर दोस्रो साताको नागरिक दैनिकको जूनकीरीमा प्रकाशित)
sagarbhaba@gmail.com

Comments

Popular posts from this blog

मोबाइलको साटो पुस्तक

बाल मनोविज्ञानमा आधारित भएर लेख्नु आफैमा जटिल र चुनौती पुर्ण छ  । त्यसैमाथि सबै भन्दा सरल बनाउँनु पर्ने विषय पनि यहि रहेछ । बाल मस्तिस्कको सोचाइको धरातल फराकिलो बनाउँने  प्रयास म सधैं जारी नै राख्नेछु । बालबालिकाहरुलाइ आज राम्रा पुस्तक पढ्न दिँदा भोलीका दिनमा उनीहरुले रचनात्मक काम गर्न सक्छन् । हामी सबैले पढ्ने र पढाउँने बातावरण बनाउँन मद्दत गरौं । मेरा यी रचनाहरुमा चित्र कोरेर सुन्दर बनाइदिने नागरिक दैनिकका Dewen दाई र Yuwak जी, भाषामा सघाउने Shekhar दाई अनि प्रकाशनमा ल्याउँने Sangrila Book का Mani जीलाई धेरै धेरै धन्यवाद । म अछाम नपुगेको भए सायद यो बालकथा अाउँदैन्थ्यो होला । सन् २००९ मा Room to Read Nepal को कथा कार्यशालामा नअटाएको भए सायद 'हाम्रा खेलहरु' का बारेमा उबेला बाल कविता फुर्दैन्थ्यो । सधै‌ झै, छोराछोरीको हातमा मोबाइलको साटो पुस्तक दिउँ । उनीहरुका आँखा र दिमाग झनै तेजिलो हुनेछन् । अघिल्ला तीन कृती... माथिका तीन पुस्तकहरु ' पाठीलाई स्वेटर, भान्छामा चुट्किला, देउता खुशी हुनुभयो' तलका पुस्तक पसलहरुमा यस अघि नै आइसकेका छन् । नयाँ पुस्तक...

जाडोका चिसा उखान टुक्का

बिस्तारै बिस्तारै बढ्दै गरेको जाडोले विहान धेरै अबेर सम्म पनि हामीलाई बिस्तारामा सिरक भित्रै रोक्न सक्छ । झ्यालका पर्दा घामले नखोली कन हामी आफै खोल्न तम्सन पनि गाह्रो हुन्छ । विहानै तातो चियाको गिलासलाई ओठले चुम्न पाउँदा मात्र हात गोडा चलमलाउन थाल्छन् । अझ एका विहानै काममा जानु पर्ने वा कलेज जानु पर्नेलाई त जाडो कहिल्यै नआए हुन्थ्यो झै हुन्छ । यस्तो कठ्याङ्ग्रीने जाडोको बेलामा हाम्रा उखान टुक्काहरू कसरी बांगिने गर्छन्, यसबारेमा केही प्रसंग तल छ । तपाइलाई यो जाडो मौसम भरि न्यानो घामले माया गरोस शुभकामना ! जाडोले कामेको गोरुलाई बोरा ओढाउन सकिन्छ, सिरक ओडाउन सकिन्न अनिकालमा बिउ जोगाउनु, चिसोमा जिउ जोगाउनु चिसोले समाएको मान्छेलाई, आइसक्रिमले पनि लखेट्छ अर्काको आंङमा गन्जी लगाएको देख्ने, आफ्नो आंङमा जकेट लगाएको  नदेख्ने ? हिटरले पोलेको मान्छे, राइस कुक्कर देख्दा तर्सन्छ  थर्मस फुटे, तातो लुटे खाइ न पाइ, लेदर जकेट लाई  काम पाइनस छोरो, मोजामा आइरन लगाइ

भाइबहिनीसँग भेटघाट

‘‘चश्म खोलेपछि मात्र किताबमा भएको राइटरको फेस तपाइसँग मिल्छ । हजुरले किन कथा लेख्नुहुन्छ ? पाठीलाई स्वेटर मैले दुइ कक्षामा पढेको बेस्ट बुक हो । मेरो घरको ढोकामा सधैं बिरालो आउछ । मैले दूध दिन्छु । यसको पनि कथा हुन्छ ? हाम्रो लागि अझै धेरै कथा लेख्दिनु है । अब कहिले आउनु हुन्छ ?’’ कक्षा तीनमा पढ्ने नानीबाबुका कलिला बोलीले फूलजस्तै गरि मनमा छोए । 'लेखकसँग अन्तरक्रिया'मा आफ्नो पुस्तक ‘भान्छामा चुट्किला’ बाचन गर्न र कथा लेखनका बारेमा बताउन उनीहरूको विद्यालयमा पुगेको थिएँ । हामीले यस पुस्तकका चित्रकार Yuwak Shrestha लाई पनि सम्झियौं । नानीबाबुहरूले दुई कक्षामा मेरो अर्को पुस्तक ‘पाठीलाई स्वेटर’ पनि पढेका रहेछन् । लगभग ८० जना नानीबाबुका माझमा कथाबाचन गर्न र हराउन पाउदा नयाँ कथा बुन्ने उर्जा मिलेको छ । अवसरका निम्ति युलेन्स स्कूल ललितपुर र शिक्षिका मिना लुइटेल जीलाई धेरै धेरै धन्यवाद । अब चाँडै स्वतस्फुर्त रूपमा केही सामुदायीक विद्यालयमा कथा बाचन गर्ने र बुन्ने कला साट्न पुग्ने योजना बनाएको छु । ज्ञान बाँडे पक्कै बढ्दछ, नबाँडे सर्लक्कै घट्दै जान्छ । #childrensbooks #nepalichildren...