Saturday, November 28, 2015

निरीह जनता, निकम्मा प्रशासन

मंसिर ७, २०७२- ‘कसैले देशमा सरकार छ भन्यो भने कि त उसले ढाँटिराखेको छ कि ऊ सरकारकै प्रवक्ता हो,’ पृथ्वीनारायण क्याम्पस पोखरामा स्नातक तहमा अध्ययनरत आरसी लामिछानेको आक्रोश हो यो । ग्यास बाँड्ने रे भन्ने खबरका आधारमा रित्तो सिलिन्डर बोकेर उनी मंसिर ५ गते शनिबार राति ८ बजे पोखराको उत्तरी भेग बगरबाट दक्षिणतर्फ पर्ने नदीपुर आइपुगेका थिए । 

नगर विकास प्रशिक्षण केन्द्र नदीपुरको अघिल्तिर रहेको किरण तिवारी स्टोर्समा रित्ता सिलिन्डरको लाम लागिसकेको थियो । ओढ्ने ओछ्याउनेको बन्दोबस्त गरेर आएका केही मानिसहरू सिलिन्डरकै छेल पारेर बिस्तारा मिलाउँदै थिए । सकेसम्म चाँडो लाइनमा उभिनका लागि रित्ता सिलिन्डर गुडाउँदै हिँडेकाहरू हतास देखिन्थे । ग्यासको लागि लाइन बसेको थाहा पाउने बित्तिकै खान लागेको खाना छोडेर कुदेका एक वृद्ध भन्दै थिए, ‘म पहिला आएर लाइनमा बसेँ । त्यसपछि सिलिन्डर छोरीले बोकेर ल्याइन् ।’ उनीसँग कुरा गर्दागर्दै मैले मेरै छिमेकी भाउजु भागीरथी सुवेदीलाई भेटेँ । उनी लाइनमा पुगेर दाईलाई घर जान भन्दै थिइन्, ‘तपाई बिहान ३ बजे आएर पालो दिनू । 

Saturday, November 21, 2015

परनिर्भरताको लाईनमा हामी


खेतीपातीमा आधुनिकता नभित्रेर हो वा भित्रेर पनि यसको प्रचार प्रसार प्रयाप्त नभएर हो हामी मध्ये धेरैलाई खेतिपाती भन्दा अन्य रेडिमेड जागिर खानु नै जाती लाग्छ । बाली भित्राउन अहिले दँदेरा पाउन छाडिएको छ । धान चुट्न नपर्ने, पेडल चलाएर धान झार्ने मेशिन आएर पनि यसको व्यापकता हाम्रो भेगमा हुन सकेको छैन । थोरै संख्यामा भएका गोरु हप्तादश दिनलाई बुक भैसकेका छन् । सडकले छोएका तर प्लटिङले नछोएका नगन्य खेतमा ट्याक्टरले नै दाही हाल्ने चलन सुरु थालेका छन्, केहि अझै गोरुकै भरमा छन् । पहिला आँखाले भ्याईन्जेल हेर्दा पनि घर नदेखिने हाम्रो खेतमा अहिले एक चक्कर आँखा डुलाउने हो भने नयाँ बनेका र बन्दै गरेका घरहरुले दिमागको चार चक्कर लगाईदिन्छन् ।

रातमा छिंडीमा सुतेको मान्छे विहान महलमा उठेझै गरि जग्गाको भाउ मुखमुखैमा बढ्दोछ । नबढेको त उत्पादन हो कृषिको जो आधुनिकतासँग कुम मिलाउन नसकेर वर्षै पिच्छे घट्दोछ । कहिलेसम्म यसरी नै चल्ने होला ? हामी परनिर्भरताको लाईनमा अनभिज्ञ भएर उभिई रहेकाछौं ।

Sunday, November 8, 2015

पानीको राजनीतिमा तिर्खाएको भारत

प्रकाश गौडेल/ भवसागर घिमिरे 
‘संविधान कसको लागि हो? भारतले सुरुदेखि नै मान्दै आएको छ, हाम्रो काम तपाईको काममा दख्खल दिने हैन। भारतको काम तपाईले जे संकल्प गर्नुहुन्छ, तपाईले जुन दिशा चुन्नुहुन्छ, त्यसमा हामी यदि काम आउन सक्छौं भने सहयोग गर्ने हाम्रो संकल्प हो। तपाईलाई दिशा दिने हाम्रो काम हैन। तपाईलाई लक्ष्यमा पुर्‍याउने हाम्रो काम हैन। नेपाल एक सार्वभौम राष्ट्र हो।’

गतसाल साउनको तेस्रो साता भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको संविधानसभामा गरेको सम्बोधनको एक अंश हो यो। भ्रमणको एक वर्ष पनि बित्न नपाउँदै उनको बोली र शैली यसरी फेरियो कि नेपाली बजारमा अघोषित नाकाबन्दीको असर चर्कोसँग देखिन थालेको छ। प्रभावस्वरूप नेपाललाई पश्चिमी वायुले चिस्याउनु अघि नै दुई देश बीचको सम्बन्धमा चिसो पसेको छ। आखिर किन? यसको उत्तर खोज्न नेपालका नदीबाट बग्ने चिसो पानीमा घुलिएको धमिलो राजनीतिलाई केलाउनु जरुरी देखिन्छ।
गणतन्त्रको राजनीतिक मार्गबाट अघि बढ्दै गरेको भारतका लागि बढ्दो जनसंख्या अहिलेको ठूलो चुनौती एवं अवसरको रूपमा हेरिन्छ। संयुक्त राष्ट्रसंघले यही साल प्रकाशित गरेको आँकडाअनुसार सन् २०२२ सम्ममा भारतको जनसंख्याले चीनलाई उछिन्दै विश्वकै सबैभन्दा बढी जनसंख्या भएको देश हुने अनुमान छ। बढ्दो जनसंख्याको कारण भारतमा खाद्यान्नको मागसँगै खाद्यान्न उत्पादनका निम्ति सिंचाइको माग पनि बढ्दैछ। यसका लागि आफू नेपालको पानीमा अझ धेरै निर्भर हुनुपर्ने भारतीय पक्षले राम्रोसँग बुझेको छ।
विश्वकै नयाँ शक्तिको रूपमा उदाउँदै गएको भारतले विशेषगरी हिउँदको समयमा (मार्चदेखि मे महिनासम्म) पानीको ठूलै संकट बेहोरिरहेको छ। यस याममा गंगा नदीको पानीको कुल बहाव १९ सय १७ घनमिटर प्रतिसेकेन्ड (क्युमेक्स) हुन्छ। जसमध्ये १४ सय २२ क्युमेक्स नेपालका नदीहरूबाट पूर्ति हुन्छ। जुन लगभग ७५ प्रतिशत हुन आउँछ। यो तथ्य ‘इन्टरलिङकिङ अफ रिभर्स इन इन्डिया : इस्युज एन्ड कन्सन्र्स’ नामक पुस्तकमा जलस्रोतविदद्वय द्वारिकानाथ ढुंगेल र सन्तबहादुर पुनले सन् २००८ मा प्रकाशित एक लेखमा उल्लेख छ। यस्तै सोमनाथ पौडेलले सन् २००९ मा प्रकाशन गरेको शोधपत्रलाई आधार मान्ने हो भने माथिकै याममा गंगामा बग्ने कुल पानीको ५० प्रतिशतभन्दा बढी पानी सिंचाइका लागि भारतले प्रयोग गरिरहेको छ। यसले के प्रस्ट पार्छ भने नेपालबाट बग्ने पानीले भारतीय भूमिको जवानीमा ठूलै योगदान देखिन्छ।
भारतको जलस्रोत मन्त्रालयका अनुसार सन् २०५० सम्ममा भारतको वार्षिक पानीको माग १४ सय २२ अर्ब घनमिटर पुग्ने अनुमान छ भने जनसंख्या १.५ अर्ब नाघ्दैछ। भारतको एकीकृत जल संसाधन विकास राष्ट्रिय आयोगको सन् १९९९ को प्रतिवेदनअनुसार उक्त जनसंख्यालाई खाद्य पूर्ति गर्नका लागि वार्षिक ४५ करोड टन खाद्यान्न जरुरी पर्नेछ। यसका लागि भारतले आफ्नो सिञ्चित क्षेत्र १६ करोड हेक्टर पुर्‍याउन जरुरी छ। त्यसमध्ये नदी जडान नभइकन २ करोड हेक्टर क्षेत्र सिञ्चित हुने सम्भावना नरहेको जनाइएको छ। त्यसैले पूर्वी भारतमा हरित क्रान्ति र राष्ट्रिय नदी जडान परियोजनाजस्ता दुई महत्त्वाकांक्षी कार्यक्रमहरू भारतले अघि सारेको देखिन्छ। यी दुबै योजनाहरू नेपालको पनि सरोकारको विषय हो।

कच्ची बाटो डरलाग्दो यात्रा

कार्तिक १२, २०७२- दशैंको दिनमा फुपूको घर टेकिएन भने मलाई बिहे गरेर दुलही नभित्र्याएको जस्तै लाग्छ । त्यसैले घर र छरछिमेकमा टिका थापेर म साँझ ४ बजे नै फुपूको गाउँ जानका लागि हानिएँ । वर्षको एकैपटक भए पनि चाडबाडमा ८४ वर्षे फुपूदिदीसँग प्रत्यक्ष भलाकुसारी गर्न नपाउँदा मन निक्कै खल्लो हुने गर्छ । ‘चौतारो जस्तो टेबुलाँ बसेर भात खान्छौं, जुठेल्ना भान्छैभित्र राख्याछौं,’ ठेट पश्चिमेली लवजमा बोल्ने उहाँको संवाद गर्ने तरिका निक्कै रसिलो छ, ‘बजाराँ बस्न थालेसी माटा घर किन आम्थ्यौ ?’ उहाँको यिनै मीठा कुरा सुन्नै पनि घरिघरि त्यतातिर बाटो सोझ्याउन मन लाग्छ । पहिला गाउँसम्म सडक बिस्तार नहुँदा हामी हिँडेरै जाने गथ्र्यौं । यात्रा छोटै लाग्थ्यो । बिस्तारै कच्ची सडकको घेरो बनेपछि भने मोटरसाइकल घिसारेरै भए पनि लैजाने बानी परेको थियो । ‘अल्छि तिघ्रा मिठा जिब्रा’ नाकाबन्दीले मोटरसाइकलको तेलको टंकी भर्न नदिएपछि थोरै चलेका सार्वजनिक सवारीमा भए पनि चढ्ने सोच नपलाउने कुरै भएन । 

कास्कीको घाचोकमा पर्ने फुपूको घरसम्मको यो यात्रा पहिलाको जस्तो सहज हुनेवाला थिएन । भारतीय नाकाबन्दीको पासोमा बाँधिएको देशमा इन्धन संकट अचाक्लिसँग गहिरिँदै थियो । यसैबीचको यो दशैं धेरैका लागि दु:ख घोलिएको थोरै सुख मात्र थियो । कालो बजारबाट निचोरेर निकालिएको तेल पिएर कुदेका थोरै सवारी साधनमा झुण्डिनु र लागेभन्दा बढी भाडा बुझाउनु यात्रुको बाध्यता थियो । त्यसैले म मानसिक रुपमा तयार थिएँ, ‘कुनै गाडीभित्र यसरी कोचिनेछु कि झर्ने बेलामा जिउ पनि अंगअंग छुट्टयाएर निकाल्न परोस् ।’ गाडी बेलैमा पक्डिनका लागि म हतारहतार बाग्लुङ–पोखरा राजमार्गमा पर्ने हरिचोकमा पुगेँ । बसमा न बस्ने सिट खाली थियो न उभिने भूईँ । छतमा सकेसम्म चढ्न मन थिएन । ‘लु केटाहरू छतमा जानू है,’ खलासीले पहिल्यै सजग गराएका थिए, ‘केटी र बुढाबुढी पाटीभित्र ।’ म भने सुनेको नसुन्यै गरेर हुलैहुलमा बसभित्रै पसेँ । भीरको बाटो र छतको यात्रा मलाई पलपल मरेसरह हुन्छ । भीडमा हराएपछि बाहिर हेर्नुपर्ने बाध्यता पनि हुँदैन्थ्यो । त्यसैले ‘देखीदेखी सातो जाने’ छतको यात्राभन्दा ‘जे पर्ला त्यही टर्ला’ भन्ने गाडीभित्र डल्लो परेर गरिने यात्रा नै मैले रोजेँ । 

सहज सरकारी सेवाको सानो सपना

सविता वास्तोला, वडा सचिव, पोखरा ३ नदीपुर
आज छोरीको जन्म दर्ता गर्न पोखरा नदीपुर स्थित वडा नं ३ को वडा कार्यलय पुगेँ । अस्पतालबाट लिएको बर्थ सर्टिफिकेट र श्रीमान श्रीमतीको नागरिकताको फोटोकपि सहित पुगेको मैले २० मिनेट हाराहारीमै सहज रुपमा छोरी सुभिकाको जन्म दर्ता गरेँ । सचिव सबिता बास्तोलाबाट थाहा पाएँ, पोखराको २९ वटा वडा मध्ये ४ वटामा महिला वडा सचिव छन् । केन्द्रमा लैगिक समावेशी देखिन थालेको नेपालको सरकारी संरचनाको स्थानीय स्तरमा पनि थोरै नै किन नहोस् महिला वडा सचिव पाउँदा धेरै खुशी लाग्यो । अझ सरकारी कार्यलय उर्जावान युवाहरुको हातमा देख्न पाउँदा मन यसै प्रफुल्लित हुँदो रहेछ । टचस्क्रिन मोबाईलमा पोख्त युवाहरु पुग्ने अधिकांश सरकारी कार्यलयहरु अाजसम्म पनि पूर्ण कम्प्युटर पद्दतीमा चल्न सकेको छैन । यतिबेला युवामा सरकारी सेवा प्रति नैराश्यता र वितृष्णा आउनु मैले स्वभाविक देखेको छु । बिस्तारै भोलिका दिनमा पूर्ण डिजिटलाईज सरकारी कार्यलय देख्न पाईन्छ भन्ने आश भने जागेको छ । मन भन्छ, जहाँ पुरुष मात्र हैन धेरै घरका छोरीहरु उच्च पदमा पुगेको देख्न पाउँ । लौरो टेकेर त्यहाँ पुग्दा उनीहरुले भनुन, "बुवा तपाईले यहाँसम्म आएर दु:ख पाउनु पर्दैन । घरबाटै अनलाईनमा सेवा पाउन सक्नुहुनेछ ।"