Skip to main content

कच्ची बाटो डरलाग्दो यात्रा

कार्तिक १२, २०७२- दशैंको दिनमा फुपूको घर टेकिएन भने मलाई बिहे गरेर दुलही नभित्र्याएको जस्तै लाग्छ । त्यसैले घर र छरछिमेकमा टिका थापेर म साँझ ४ बजे नै फुपूको गाउँ जानका लागि हानिएँ । वर्षको एकैपटक भए पनि चाडबाडमा ८४ वर्षे फुपूदिदीसँग प्रत्यक्ष भलाकुसारी गर्न नपाउँदा मन निक्कै खल्लो हुने गर्छ । ‘चौतारो जस्तो टेबुलाँ बसेर भात खान्छौं, जुठेल्ना भान्छैभित्र राख्याछौं,’ ठेट पश्चिमेली लवजमा बोल्ने उहाँको संवाद गर्ने तरिका निक्कै रसिलो छ, ‘बजाराँ बस्न थालेसी माटा घर किन आम्थ्यौ ?’ उहाँको यिनै मीठा कुरा सुन्नै पनि घरिघरि त्यतातिर बाटो सोझ्याउन मन लाग्छ । पहिला गाउँसम्म सडक बिस्तार नहुँदा हामी हिँडेरै जाने गथ्र्यौं । यात्रा छोटै लाग्थ्यो । बिस्तारै कच्ची सडकको घेरो बनेपछि भने मोटरसाइकल घिसारेरै भए पनि लैजाने बानी परेको थियो । ‘अल्छि तिघ्रा मिठा जिब्रा’ नाकाबन्दीले मोटरसाइकलको तेलको टंकी भर्न नदिएपछि थोरै चलेका सार्वजनिक सवारीमा भए पनि चढ्ने सोच नपलाउने कुरै भएन । 

कास्कीको घाचोकमा पर्ने फुपूको घरसम्मको यो यात्रा पहिलाको जस्तो सहज हुनेवाला थिएन । भारतीय नाकाबन्दीको पासोमा बाँधिएको देशमा इन्धन संकट अचाक्लिसँग गहिरिँदै थियो । यसैबीचको यो दशैं धेरैका लागि दु:ख घोलिएको थोरै सुख मात्र थियो । कालो बजारबाट निचोरेर निकालिएको तेल पिएर कुदेका थोरै सवारी साधनमा झुण्डिनु र लागेभन्दा बढी भाडा बुझाउनु यात्रुको बाध्यता थियो । त्यसैले म मानसिक रुपमा तयार थिएँ, ‘कुनै गाडीभित्र यसरी कोचिनेछु कि झर्ने बेलामा जिउ पनि अंगअंग छुट्टयाएर निकाल्न परोस् ।’ गाडी बेलैमा पक्डिनका लागि म हतारहतार बाग्लुङ–पोखरा राजमार्गमा पर्ने हरिचोकमा पुगेँ । बसमा न बस्ने सिट खाली थियो न उभिने भूईँ । छतमा सकेसम्म चढ्न मन थिएन । ‘लु केटाहरू छतमा जानू है,’ खलासीले पहिल्यै सजग गराएका थिए, ‘केटी र बुढाबुढी पाटीभित्र ।’ म भने सुनेको नसुन्यै गरेर हुलैहुलमा बसभित्रै पसेँ । भीरको बाटो र छतको यात्रा मलाई पलपल मरेसरह हुन्छ । भीडमा हराएपछि बाहिर हेर्नुपर्ने बाध्यता पनि हुँदैन्थ्यो । त्यसैले ‘देखीदेखी सातो जाने’ छतको यात्राभन्दा ‘जे पर्ला त्यही टर्ला’ भन्ने गाडीभित्र डल्लो परेर गरिने यात्रा नै मैले रोजेँ । 



गाडीभित्र निधारमा टिका, जमरा लगाएका अधिकांश यात्रुका माझमा निधार खाली भएका थोरै मानिसहरू थिए । अस्पतालबाट डिस्चार्ज भएर फर्केका केही यात्रुलाई घर पुगेर टिका थाप्ने हतार थियो । वर्षको एकैपटक भए पनि ससुराली टेक्न तम्तयार भएका टाढाका ज्वार्इंहरू र उनीहरूलाई माइती गाउँको बखान सुनाइरहेका चेलीहरूले बसको माहोल अझ रंगाईदिएका थिए । ‘दुई लाइन बनाएर बसौं है,’ खलासीले झ्यालबाट मुन्टो पसाएर रेडिमेड डाइलग कुर्लन थाले, ‘ब्ल्याकमा किनेको तेल हो सबै मिलेर जानुपर्छ ।’ उसको कर्कश गर्जनपछि मानिसको ठेलमठेलले मलाई पनि गाडीको पछिल्तिर पुर्‍याईदियो । माइतीबाट टिका थापेर फर्केकाहरू आफ्ना केटाकेटीलाई सहज यात्रा मिलाउन हुलमुलबीच छेकबार लगाउन थाले । काखे नानी च्यापेकाले सिटमा बसेकाहरूलाई बच्चा समाइदिन अनुरोध गर्दै थिए । ‘आउनुस् तपाईं बस्नुस्,’ नानीकी आमालाई एक भद्र पुरुषले ठाउँ छाड्दिँदा पुरुषकी अर्धाङ्गीनीले निधार खुम्च्याएको पनि देखियो । आफ्नै आमा उमेरकी बुढी आमैलाई उभ्याएर स्क्रिनटच मोबाइलको क्यान्डिक्रशमा मस्तसँग चकलेट पड्काउनेहरू पनि देखिए । गाडी छुट्न निर्धारित समयभन्दा अबेर गर्न थालेपछि भने मलाई एउटै चिन्ताले सताउँदै गयो, घाम नडुब्दै भीरको बाटो काट्नपाए हुन्थ्यो । साँझको ४:३० बजेमात्र गाडीले बल्ल साइलेन्सरबाट धूँवा फाल्न थाल्यो, ‘ढ्याँ ढ्याँ, ढ्याँ ढ्याँ ।’ गाडी याम्दी खोलाबाट उकालो लाग्दा सरदर ६० रुपैयाँ तिर्नु पर्ने गाडीभाडा पनि उकालो लागेर एक सय पुगेको पत्तो पाइयो । बाटोमा पर्ने हेम्जामा थप केही मान्छेलाई छतमा उकालेपछि गाडी राजमार्गको मूलबाटो छाडेर उत्तरतर्फको कच्ची सडकतिर सोझिन थाल्यो । मर्दी सेती खोलाको मिलन बिन्दुमाथिको उकालोमै गाडी घचक्क रोकियो, कारण ढुंगा ओसार्ने ट्रक भीरको छेउ लगाएर तल झर्दै थियो । उकालो अनि भिरालो बाटोमा फिस्लिक्क भयो भने सोझै खोलामा पुगिने डर थियो । यो त्यही मर्दी खोला थियो जहाँको पानी अधिकांश पोखरेलीको धाराबाट झर्ने गर्छ ।   ‘ओइ यता हेर त,’ आडैकी दिदीले सानी छोरीको मुन्टो झ्यालबाट आफूतिर फर्काइन्, ‘भीरतिर हेर्‍यो भने बोमिट आउँछ ।’ उनको कुराले लाग्थ्यो छोरीलाईभन्दा आमालाई पहिला बोमिट आउँदै थियो । जेहोस्, गाडीले भीरको बाटो बेलैमा काटेपछि भने राहतको महसुस भयो । भीरकटेरानेरको धानको फाँट, भलावोट हुँदै गाडी साँझमा पाटनसम्म पुग्यो । त्यसपछि भने मान्छेको भीडैभीडबीचबाट म फुत्त बाहिर झरेर लामो सास फेर्न पाएँ, फुपूको घर आइपुग्यो । ‘ए राँ हैन कस्तो टुपुक्कै आइपुईया हो ?’ गजबार लगाउने ढोका पछिल्तिर थुचुक्क बस्नुभाको फुपू दिदीले पिँढीमा उभिएको मलाई देखेर आँखा ठुलाठुला पार्नुभो, ‘आइजा भित्र बस् ।’ जुत्ता खोलेर भित्र उहाँसँगै गुन्द्रीमा बस्न नपाउँदै उहाँले कुरो थाल्नु भो । ‘हैन काठमाडौंमा क्यारी बस्याचौं ? के पकार खाइचौं, केमा पकार खाइचौं ?’ मलाई एक्कासी प्रश्नको बाढी नै आयो । भारतीय नाकाबन्दीको खबर उहाँको कानसम्म नपुग्ने कुरै भएन । ‘ठीकै छ, चलेकै छ, ठीक होला नि चाँडै,’ मैले उत्तर छोट्याउन चाहेँ । ‘उही ठ्याँस्स पार्दा झ्यार्र पर्ने ग्याँसाँ पकाम्ने बानी पर्‍याछ तिमेरुलाई अनि काँट हुन्च ?’ गोबरग्याँस, बिजुली र दाउराको भर पर्ने फुपूदिदीको बोली फुट्न सुरु भैहाल्यो । ‘यइचिर जाँदा नी भटभटे बटारो, त्यइचिरपुग्दा नी उही भटभटै बटारो । माँटा खुट्टा राख्नु पर्दैन क्यारे,’ उहाँले यसो भन्दैगर्दा क्यार्ने तनी अल्छी भईयो झै गरी मैले मुन्टो हल्लाएँ । टीका थापें । प्रसाद थोरै खान्छु भनें । ‘भुँडी भने मुदुस जस्तो छ, खाना भने भँगेरालेझैँ चारा हाल्छ,’ बुढीमाउले मेरो पुटुस्स पेटको कुरा निकालेर फेरि हँसाउनुभो, ‘खन्नु छैन, जोत्नु छैन । उही त्यो केजाती कम्प्युटरमा ट्याकट्याक पार्‍यो अनि क्यारी घट्च त पेट ?’ एक दिन थप गाउँमै बसेँ । फर्कने दिनको हालत भने फेरि उही थियो । गाडी टाटाको, बाटो माटाको । गाडीका छतभरि मान्छे र कोसेली । गाडीभित्र तिलको गेडा अट्ने ठाउँ छैन । ‘मुन्छेका गोडाका त भर हुन्नन्, मोटरका गोडाका के भर ? फ्याट्ट चिप्लन्च अनि बर्बाद’ फुपूदिदीले तगारोमा बसेर उही पुरानै घतलाग्दो कुरो कोट्याउनु भो, ‘दुई घण्टा हिडेर पुग्ने बाटोमा तीन घण्टा मोटर कुरेर बस्नु हुन्न ।’ दिनको दुईपटक मात्र गाडी छुट्ने गाउँबाट बजार झर्न अब भने हिड्नु नै उत्तम बिकल्प देखियो । अम्बा, काक्रा, बदाम, हलुवाबेद अनि एक पाथी जेठोबुढो चामलको कोसेली बोकेर म एकजना दाईसँगै पोखरा ओर्लन थालेँ, पैदलै । 

बाटोमा फरक–फरक गाउँबाट झरेका यातायातका डरलाग्दा दृश्यहरू देखिए । घिरम्लाको झालले बाँसको थाक्रोलाई समाएझैँ यात्रुहरू कतै जीप त कतै बसलाई छपक्कै ढाकेर चढेका थिए । नाकाबन्दी कहिले खुल्ने टुंगो थिएन । हामीले कहिलेसम्म हिँडेरै बाटो काट्ने हो पनि टुंगो थिएन । फुपूदिदीको घरझैँ गोबर ग्याँस, बिजुली र दाउरामा भर परेर ढुक्क हुन कहिले पाइने हो पनि पत्तो थिएन । गाडीको चाप घटेकोबेलाँ गाडीमाथि मान्छेको चाप ह्वात्त बढेको थियो । तत्कालको लागि पीर त उही भिरकै बाटोको थियो । हिँड्दै कामना गर्दै थिएँ, ‘कतै फेरि फुपूदिदीले भनेझैँ फ्याट्ट गाडीका गोडा चिप्लेर मृत्युको समाचार पढ्न नपरोस् ।’गाडियात्राको भिडियो ।
http://kantipur.ekantipur.com/news/2015-10-29/20151029120927.html

http://bit.ly/1GLrOkd

Comments

Popular posts from this blog

मोबाइलको साटो पुस्तक

बाल मनोविज्ञानमा आधारित भएर लेख्नु आफैमा जटिल र चुनौती पुर्ण छ  । त्यसैमाथि सबै भन्दा सरल बनाउँनु पर्ने विषय पनि यहि रहेछ । बाल मस्तिस्कको सोचाइको धरातल फराकिलो बनाउँने  प्रयास म सधैं जारी नै राख्नेछु । बालबालिकाहरुलाइ आज राम्रा पुस्तक पढ्न दिँदा भोलीका दिनमा उनीहरुले रचनात्मक काम गर्न सक्छन् । हामी सबैले पढ्ने र पढाउँने बातावरण बनाउँन मद्दत गरौं । मेरा यी रचनाहरुमा चित्र कोरेर सुन्दर बनाइदिने नागरिक दैनिकका Dewen दाई र Yuwak जी, भाषामा सघाउने Shekhar दाई अनि प्रकाशनमा ल्याउँने Sangrila Book का Mani जीलाई धेरै धेरै धन्यवाद । म अछाम नपुगेको भए सायद यो बालकथा अाउँदैन्थ्यो होला । सन् २००९ मा Room to Read Nepal को कथा कार्यशालामा नअटाएको भए सायद 'हाम्रा खेलहरु' का बारेमा उबेला बाल कविता फुर्दैन्थ्यो । सधै‌ झै, छोराछोरीको हातमा मोबाइलको साटो पुस्तक दिउँ । उनीहरुका आँखा र दिमाग झनै तेजिलो हुनेछन् । अघिल्ला तीन कृती... माथिका तीन पुस्तकहरु ' पाठीलाई स्वेटर, भान्छामा चुट्किला, देउता खुशी हुनुभयो' तलका पुस्तक पसलहरुमा यस अघि नै आइसकेका छन् । नयाँ पुस्तक...

जाडोका चिसा उखान टुक्का

बिस्तारै बिस्तारै बढ्दै गरेको जाडोले विहान धेरै अबेर सम्म पनि हामीलाई बिस्तारामा सिरक भित्रै रोक्न सक्छ । झ्यालका पर्दा घामले नखोली कन हामी आफै खोल्न तम्सन पनि गाह्रो हुन्छ । विहानै तातो चियाको गिलासलाई ओठले चुम्न पाउँदा मात्र हात गोडा चलमलाउन थाल्छन् । अझ एका विहानै काममा जानु पर्ने वा कलेज जानु पर्नेलाई त जाडो कहिल्यै नआए हुन्थ्यो झै हुन्छ । यस्तो कठ्याङ्ग्रीने जाडोको बेलामा हाम्रा उखान टुक्काहरू कसरी बांगिने गर्छन्, यसबारेमा केही प्रसंग तल छ । तपाइलाई यो जाडो मौसम भरि न्यानो घामले माया गरोस शुभकामना ! जाडोले कामेको गोरुलाई बोरा ओढाउन सकिन्छ, सिरक ओडाउन सकिन्न अनिकालमा बिउ जोगाउनु, चिसोमा जिउ जोगाउनु चिसोले समाएको मान्छेलाई, आइसक्रिमले पनि लखेट्छ अर्काको आंङमा गन्जी लगाएको देख्ने, आफ्नो आंङमा जकेट लगाएको  नदेख्ने ? हिटरले पोलेको मान्छे, राइस कुक्कर देख्दा तर्सन्छ  थर्मस फुटे, तातो लुटे खाइ न पाइ, लेदर जकेट लाई  काम पाइनस छोरो, मोजामा आइरन लगाइ

भाइबहिनीसँग भेटघाट

‘‘चश्म खोलेपछि मात्र किताबमा भएको राइटरको फेस तपाइसँग मिल्छ । हजुरले किन कथा लेख्नुहुन्छ ? पाठीलाई स्वेटर मैले दुइ कक्षामा पढेको बेस्ट बुक हो । मेरो घरको ढोकामा सधैं बिरालो आउछ । मैले दूध दिन्छु । यसको पनि कथा हुन्छ ? हाम्रो लागि अझै धेरै कथा लेख्दिनु है । अब कहिले आउनु हुन्छ ?’’ कक्षा तीनमा पढ्ने नानीबाबुका कलिला बोलीले फूलजस्तै गरि मनमा छोए । 'लेखकसँग अन्तरक्रिया'मा आफ्नो पुस्तक ‘भान्छामा चुट्किला’ बाचन गर्न र कथा लेखनका बारेमा बताउन उनीहरूको विद्यालयमा पुगेको थिएँ । हामीले यस पुस्तकका चित्रकार Yuwak Shrestha लाई पनि सम्झियौं । नानीबाबुहरूले दुई कक्षामा मेरो अर्को पुस्तक ‘पाठीलाई स्वेटर’ पनि पढेका रहेछन् । लगभग ८० जना नानीबाबुका माझमा कथाबाचन गर्न र हराउन पाउदा नयाँ कथा बुन्ने उर्जा मिलेको छ । अवसरका निम्ति युलेन्स स्कूल ललितपुर र शिक्षिका मिना लुइटेल जीलाई धेरै धेरै धन्यवाद । अब चाँडै स्वतस्फुर्त रूपमा केही सामुदायीक विद्यालयमा कथा बाचन गर्ने र बुन्ने कला साट्न पुग्ने योजना बनाएको छु । ज्ञान बाँडे पक्कै बढ्दछ, नबाँडे सर्लक्कै घट्दै जान्छ । #childrensbooks #nepalichildren...