Friday, April 21, 2017

‘खाना त खोजुँली, छाना कसले देला ?’

भवसागर घिमिरे 

गत शनिबारको दिन बिहान। सिराहाकी लक्षण देवी मण्डलले भर्खरै खाना पकाएर सकेकी थिइन्। साधारण त्रिपालको छतमुनी भोकाएका तीन छोरीहरू खानाखाने तयारीमा थिए। सिमराहा टोलकी ३० वर्षे यी मण्डलले खाना पस्कने तयारी गर्दागर्दै एक्कासी हावाहुरी चल्न थाल्यो। हुरीमा टाउको लुकाउँने फुस र माटोले बनेको घर केहि दिन अघिको आगलागिले जलेर नष्ट भैसकेको थियो। त्रिपालको ओतमा अब के हुने हो भन्दै छोरीहरू रुन कराउँन थाले। ‘अचानक हुरीले पाल उडायो’ मण्डलले भनिन्, ‘पकाएको खानामा माटो र बालुवा मिसियो। उनीहरू भोकै भए।’ हुरिसँगै आएको ठूलो पानीले उनीहरूलाईमात्र हैन दुई दिन अघि राहतमा पाएको दालचामल, लुगाफाटा पनि भिजाउन थालीहाल्यो।

‘गाउँ खुल्ला दिशा मुक्त क्षेत्र घोषण भएपछि ऋण काढेर बनाएको ट्वाइलेट थियो,’मण्डलले भनिन्, ‘घरदेखि पर रहेको त्यहीँ ट्वाइलेटमा ओसारेर थोरै दालचामल बचाउँन पायौं। बाँकी केही माटोमा मिसिए, त केही हावाले उडाए।’ भोकाएका छोरीहरूले माटो मिसिएकै भएपनि खाना खान थाले, उनको मन कटक्क खायो।
शनिबारको पानी र हुरीले लक्षण देवी जस्तै गाउँमा रहेका आगलागि पिडीत ३० परिवारको उस्तै बिचल्ली भएको छ। गत सोमबार असावधानीका कारण बस्तीमा आगलागी भएपछि जिल्लाको सखुवा नन्कारकट्टी गाउँपालिका वडा नम्बर ४ को सिमराहा टोलका दलित बस्तीका ५० घर जलेर नष्ट भएका थिए। गत सोमबार खाना पकाएको चुल्होको खरानी एक महिलाले घरबाहिर फाल्दा त्यसले पराल भेटेपछि आगलागि सुरु भएको थियो। हट्टाकट्टा मानिसहरू धेरै जसो ज्याला मजदुरीको लागि परपर गएका हुनले समयमै आगो निभाउँन पनि सकेनन् उनीहरूले। ‘ घर जल्यो भन्ने खबर पाउँदा म अर्कै गाउँमा इट्टा जोड्दै थिएँ सर,’ २४ वर्षे हरेराम मण्डलले फोनमा दुखी हुँदै सुनाए, ‘दौडदै आउँदा घरमा केही बाँकी बचेन।’