Skip to main content

‘खाना त खोजुँली, छाना कसले देला ?’

भवसागर घिमिरे 

गत शनिबारको दिन बिहान। सिराहाकी लक्षण देवी मण्डलले भर्खरै खाना पकाएर सकेकी थिइन्। साधारण त्रिपालको छतमुनी भोकाएका तीन छोरीहरू खानाखाने तयारीमा थिए। सिमराहा टोलकी ३० वर्षे यी मण्डलले खाना पस्कने तयारी गर्दागर्दै एक्कासी हावाहुरी चल्न थाल्यो। हुरीमा टाउको लुकाउँने फुस र माटोले बनेको घर केहि दिन अघिको आगलागिले जलेर नष्ट भैसकेको थियो। त्रिपालको ओतमा अब के हुने हो भन्दै छोरीहरू रुन कराउँन थाले। ‘अचानक हुरीले पाल उडायो’ मण्डलले भनिन्, ‘पकाएको खानामा माटो र बालुवा मिसियो। उनीहरू भोकै भए।’ हुरिसँगै आएको ठूलो पानीले उनीहरूलाईमात्र हैन दुई दिन अघि राहतमा पाएको दालचामल, लुगाफाटा पनि भिजाउन थालीहाल्यो।

‘गाउँ खुल्ला दिशा मुक्त क्षेत्र घोषण भएपछि ऋण काढेर बनाएको ट्वाइलेट थियो,’मण्डलले भनिन्, ‘घरदेखि पर रहेको त्यहीँ ट्वाइलेटमा ओसारेर थोरै दालचामल बचाउँन पायौं। बाँकी केही माटोमा मिसिए, त केही हावाले उडाए।’ भोकाएका छोरीहरूले माटो मिसिएकै भएपनि खाना खान थाले, उनको मन कटक्क खायो।
शनिबारको पानी र हुरीले लक्षण देवी जस्तै गाउँमा रहेका आगलागि पिडीत ३० परिवारको उस्तै बिचल्ली भएको छ। गत सोमबार असावधानीका कारण बस्तीमा आगलागी भएपछि जिल्लाको सखुवा नन्कारकट्टी गाउँपालिका वडा नम्बर ४ को सिमराहा टोलका दलित बस्तीका ५० घर जलेर नष्ट भएका थिए। गत सोमबार खाना पकाएको चुल्होको खरानी एक महिलाले घरबाहिर फाल्दा त्यसले पराल भेटेपछि आगलागि सुरु भएको थियो। हट्टाकट्टा मानिसहरू धेरै जसो ज्याला मजदुरीको लागि परपर गएका हुनले समयमै आगो निभाउँन पनि सकेनन् उनीहरूले। ‘ घर जल्यो भन्ने खबर पाउँदा म अर्कै गाउँमा इट्टा जोड्दै थिएँ सर,’ २४ वर्षे हरेराम मण्डलले फोनमा दुखी हुँदै सुनाए, ‘दौडदै आउँदा घरमा केही बाँकी बचेन।’
जिल्ला स्थित नेपाल रेडक्रश सोसाइटी, मानवअधिकार कर्मी तथा स्थानीयको सहयोगमा आगलागि लगत्तै त्रिपाल, खाद्यान्न लत्ताकपडा, केही भाँडाकुँडा बितरण गरिएका थियो। लहान बजारबाट लगभग ९ किलोमिटर टाढा पर्ने यो बस्तीमा सामान्य त्रिपालको ओत लागेर बसेका यी पिडितहरूलाई हावाहुरी र पानीको दोहोरीले फेरि रुवाएको छ। ‘यहाँ त सुत्केरी, बालबच्चाको बिजोग छ,’ हरेरामले फोनमा सुनाए, ‘दुई दिन भयो, सघाउँने कोही आएको छैन।’
बस्तीमा महिना दिनका दुई सुत्केरीसँगै लगभग ३० जना केटाकेटी, १० जना बृद्धबृद्धागरि १ सय २५ जना बसोबास गर्दै आएको स्थानीय समाजसेवी तथा अधिकारकर्मी सुनिल कुमार शाहले बताए। दलित जातभित्र पनि उपेक्षितमा पर्ने खङ जातीका उनीहरू भाग्यले पनि आफूहरूलाई उपेक्षा गरेको ठान्छन्।
‘मैले त पक्की घर सुरु गरुँला भनेर मलेसियाबाट कमाएको दुईलाख पैसा पनि भर्खरै घरमै ल्याएर राखेको थिएँ,’ २५ वर्षे पिडित भोगेन्द्र मण्डल भन्छन्, ‘ त्यही पैसा पनि जोगाउँन पाइन।’ फुसको घरमा आगोको लप्काले समाएपछि उनले सुरुमै शारिरीक रुपमा अशक्त आमालाई घरबाहिर निकाले। त्यत्तीकैमा उनले कमाएको पैसा सहित घर पुरै ध्वस्त भैसकेको थियो। हावाहुरी र पानीले झनै बिजोग बनायो। ‘आमा, मसँगै पुरै परिवार पालमुनी थियौं,’ मण्डलले पिलपिल गर्दैभनेँ, ‘हावाहुरीले आडैको रुख लडाएर पाल लतार्दै आडैमा खसाल्दियो।’ आफूहरू ठूलो कालबाट बचेको उनले बताए।
अर्की पिडित रितादेवी मण्डलको पिडा पनि बेग्लै छ। छोरोलाई निमोनियाले च्यापेपछि उनी उपचारको लागि जनकपुरसम्म पुगिन्। बल्लतल्ल ऋण गरेर ७ हजार रुपैयाले उपचार र औषधी खर्च टारिन र घर फर्किन। लगत्तै बस्तीमा आगलागि भयो। आगलागिले जलाएपछि अब उनीसँग न छोरोलाई ख्वाउँने औषधी बाँकी छ, न ओतलाग्ने घर।
समाजसेवी शाहका अनुसार अहिले ३० परिवारलाई कम्तिमा टिनको जस्ता मात्रै भएपनि बाँड्न पायौं भने हावाहुरी र पानीबाट बचाउँने उपाए हुन्थ्यो। ‘काठ, साटा उनीहरू आफैले खोजेर बास बनाउँथे,’ शाहले भने, ‘मान्छेले मात्र नभई जम्माभएको राहतले पनि ओत लाउँन पाउँथ्यो।’ आगलागिको समाचार थाहा पाउँने बित्तिकै शाह लत्ताकपडा तथा अन्य राहत सामाग्री जुटाएर सिमराह पुगेका थिए। ‘हावाहुरी र पानीले दुःख दिएपछि हालत झनै नाजुक बनेको छ,’ उनले भने।
अब झन् पानी पर्ने मौसम सुरु भएको छ। लक्षणदेवीका श्रीमान त साउदी अरबमा ज्याला मजदुरी गर्दैछन्। घरजलेको खबर यताबाट उता पुगेपछि उताबाट अर्को दुखद खबर यता आएको छ, ‘श्रीमान बिरामीले थला परेका छन, पैसा पठाउँन सक्दैनन।’ श्रीमानको स्वास्थको पिडाले उनलाई झनै गलाएको छ। यससँगै छोरीहरूलाई घामपानीबाट कसरी जोगाउँने भन्ने चिन्ता उनमा छ। ‘भएको सम्पत्ती त आगोले खाइहाल्यो’ लक्षणदेवीले दुखी हुँदै भनिन्, ‘खाना त खोजुँला, छाना कस्ले देला ?’
http://setopati.com/samaj/67256/

Comments

Popular posts from this blog

एउटा खाली पाना

  एउटा खाली पाना जसमा कोरिन सक्थ्योे करौडा तालीका कविता एउटा खाली पाना जसमा बन्न सक्थ्योे अरबौं बिम्बका चित्र जबरजस्ती आगोमा फालियो एउटा खाली पाना जसले काँधमा थाप्न सक्थ्यो यो देशको भविष्य भर्खरै खरानी भयो एउटा खाली पाना एउटी निर्मला एउटी पुष्पा एउटी माया तपाई कै छोरी, दिदी,  बहिनी, चेली उहि, एउटा खाली पाना ।

मोबाइलको साटो पुस्तक

बाल मनोविज्ञानमा आधारित भएर लेख्नु आफैमा जटिल र चुनौती पुर्ण छ  । त्यसैमाथि सबै भन्दा सरल बनाउँनु पर्ने विषय पनि यहि रहेछ । बाल मस्तिस्कको सोचाइको धरातल फराकिलो बनाउँने  प्रयास म सधैं जारी नै राख्नेछु । बालबालिकाहरुलाइ आज राम्रा पुस्तक पढ्न दिँदा भोलीका दिनमा उनीहरुले रचनात्मक काम गर्न सक्छन् । हामी सबैले पढ्ने र पढाउँने बातावरण बनाउँन मद्दत गरौं । मेरा यी रचनाहरुमा चित्र कोरेर सुन्दर बनाइदिने नागरिक दैनिकका Dewen दाई र Yuwak जी, भाषामा सघाउने Shekhar दाई अनि प्रकाशनमा ल्याउँने Sangrila Book का Mani जीलाई धेरै धेरै धन्यवाद । म अछाम नपुगेको भए सायद यो बालकथा अाउँदैन्थ्यो होला । सन् २००९ मा Room to Read Nepal को कथा कार्यशालामा नअटाएको भए सायद 'हाम्रा खेलहरु' का बारेमा उबेला बाल कविता फुर्दैन्थ्यो । सधै‌ झै, छोराछोरीको हातमा मोबाइलको साटो पुस्तक दिउँ । उनीहरुका आँखा र दिमाग झनै तेजिलो हुनेछन् । अघिल्ला तीन कृती... माथिका तीन पुस्तकहरु ' पाठीलाई स्वेटर, भान्छामा चुट्किला, देउता खुशी हुनुभयो' तलका पुस्तक पसलहरुमा यस अघि नै आइसकेका छन् । नयाँ पुस्तक...

जाडोका चिसा उखान टुक्का

बिस्तारै बिस्तारै बढ्दै गरेको जाडोले विहान धेरै अबेर सम्म पनि हामीलाई बिस्तारामा सिरक भित्रै रोक्न सक्छ । झ्यालका पर्दा घामले नखोली कन हामी आफै खोल्न तम्सन पनि गाह्रो हुन्छ । विहानै तातो चियाको गिलासलाई ओठले चुम्न पाउँदा मात्र हात गोडा चलमलाउन थाल्छन् । अझ एका विहानै काममा जानु पर्ने वा कलेज जानु पर्नेलाई त जाडो कहिल्यै नआए हुन्थ्यो झै हुन्छ । यस्तो कठ्याङ्ग्रीने जाडोको बेलामा हाम्रा उखान टुक्काहरू कसरी बांगिने गर्छन्, यसबारेमा केही प्रसंग तल छ । तपाइलाई यो जाडो मौसम भरि न्यानो घामले माया गरोस शुभकामना ! जाडोले कामेको गोरुलाई बोरा ओढाउन सकिन्छ, सिरक ओडाउन सकिन्न अनिकालमा बिउ जोगाउनु, चिसोमा जिउ जोगाउनु चिसोले समाएको मान्छेलाई, आइसक्रिमले पनि लखेट्छ अर्काको आंङमा गन्जी लगाएको देख्ने, आफ्नो आंङमा जकेट लगाएको  नदेख्ने ? हिटरले पोलेको मान्छे, राइस कुक्कर देख्दा तर्सन्छ  थर्मस फुटे, तातो लुटे खाइ न पाइ, लेदर जकेट लाई  काम पाइनस छोरो, मोजामा आइरन लगाइ