Wednesday, June 15, 2016

श्रम स्विकृति लिन तीन घण्टा उभिँदा...


भवसागर घिमिरे
जेष्ठ ३०, २०७३- केही वर्षअघिको कुरा । मेरा एक फुपूका छोरालाई साउदी अरबबाट नेपाल फर्केपछि  काठमाडौं खुब घुम्न मन लागेछ । रत्नपार्क जान्छु भने । कामको व्यस्तताले म साथै जान सकिनँ । दश मिनेटको पैदल दुरीमा रहेको शान्तिनगर, नयाँ बानेश्वरबाट गाडी चल्छ चढेर जानुहोला भनेँ । साँझ मात्र थाहा भयो रत्नपार्क हिंडेका उनी भक्तपुर पुगेछन् । कारण, ‘रत्नपार्क’ लेखेको गाडी देखेर चढिहालेछन् जुन गाडी रत्नपार्कबाट फर्केर भक्तपुर जाँदै थियो । थकथक लाग्यो, उनलाई मैले बाटो पार गरेर मात्र गाडी चढ्नु भन्न पथ्र्यो । त्यसपछि उनी विदेश जाने फर्कने शिलशिलामा जति पटक काठमाडौं आउँछन् मैले विशेष ध्यान दिने गरेको छु, समस्यामा नपरुन भनेर । उनले साउदी अरबमा काम गर्न थालेको लगभग दुई दशक भैसक्यो । विगत डेढ दशकदेखि उनी रियादस्थित एक कन्स्ट्रक्सन कार्यलयमा कार्यालय सहायकको रुपमा काम गर्छन् । मुख्य काम चिया पकाउने र बाँड्ने हो । ४ सय चानचुन रियालबाट काम सुरु गरेका उनको अहिलेको तलब विभिन्न भत्ता जोडेर लगभग ११ सय रियाल छ । नेपालीमा ३० हजार चानचुन । तलब नबढाउने बरु भत्ता बढाउने गर्दा कम्पनीलाई फाइदा हुन्छ । यतिका वर्षसम्म पनि उनले तलब बढाउनको लागि मुख खोलेका छैनन् । ‘दिएको खाने हो, अह्राको गर्ने हो’ उनी भन्छन्, ‘मरिलानु के छ र ?’
दुई वर्षको दौरानमा जम्मा ४५ दिनको छुट्टी लिएर नेपाल झर्दा उनलाई बिमानस्थलबाटै एक होटलवालाले उतै बसौं भनेर आफ्नै प्राइभेट गाडीमा लिएर हिंडेछन् ।