Skip to main content

श्रम स्विकृति लिन तीन घण्टा उभिँदा...


भवसागर घिमिरे
जेष्ठ ३०, २०७३- केही वर्षअघिको कुरा । मेरा एक फुपूका छोरालाई साउदी अरबबाट नेपाल फर्केपछि  काठमाडौं खुब घुम्न मन लागेछ । रत्नपार्क जान्छु भने । कामको व्यस्तताले म साथै जान सकिनँ । दश मिनेटको पैदल दुरीमा रहेको शान्तिनगर, नयाँ बानेश्वरबाट गाडी चल्छ चढेर जानुहोला भनेँ । साँझ मात्र थाहा भयो रत्नपार्क हिंडेका उनी भक्तपुर पुगेछन् । कारण, ‘रत्नपार्क’ लेखेको गाडी देखेर चढिहालेछन् जुन गाडी रत्नपार्कबाट फर्केर भक्तपुर जाँदै थियो । थकथक लाग्यो, उनलाई मैले बाटो पार गरेर मात्र गाडी चढ्नु भन्न पथ्र्यो । त्यसपछि उनी विदेश जाने फर्कने शिलशिलामा जति पटक काठमाडौं आउँछन् मैले विशेष ध्यान दिने गरेको छु, समस्यामा नपरुन भनेर । उनले साउदी अरबमा काम गर्न थालेको लगभग दुई दशक भैसक्यो । विगत डेढ दशकदेखि उनी रियादस्थित एक कन्स्ट्रक्सन कार्यलयमा कार्यालय सहायकको रुपमा काम गर्छन् । मुख्य काम चिया पकाउने र बाँड्ने हो । ४ सय चानचुन रियालबाट काम सुरु गरेका उनको अहिलेको तलब विभिन्न भत्ता जोडेर लगभग ११ सय रियाल छ । नेपालीमा ३० हजार चानचुन । तलब नबढाउने बरु भत्ता बढाउने गर्दा कम्पनीलाई फाइदा हुन्छ । यतिका वर्षसम्म पनि उनले तलब बढाउनको लागि मुख खोलेका छैनन् । ‘दिएको खाने हो, अह्राको गर्ने हो’ उनी भन्छन्, ‘मरिलानु के छ र ?’
दुई वर्षको दौरानमा जम्मा ४५ दिनको छुट्टी लिएर नेपाल झर्दा उनलाई बिमानस्थलबाटै एक होटलवालाले उतै बसौं भनेर आफ्नै प्राइभेट गाडीमा लिएर हिंडेछन् ।
एक साता अघिको कुरा हो यो । नेपालको सिमकार्ड नबोकेकाले उनी म पुग्नुअघि नै गायब भए । फोनमा भोलिपल्ट मात्र सम्पर्क भएका उनले भने, ‘लेखेको हुन्छ, देखेको हुँदैन । रातको ११ बजे बल्ल एरपोर्टबाट बाहिरिएँ, होटलवालाले जाउँ भन्यो, भाइ सुतेका हांैला, दु:ख किन दिउँ भनेर म पनि हिडेँ ।’ मैले उनलाई जोकोहीसँग यसै नहिड्नु भनेर सम्झाउन मात्र सकें । बिहान मेरो डेरामा आएपछि पो थाहा भयो, साँझ होटलमा लगेर राखेर विहान नयाँ बसपार्कबाट नयाँ बानेश्वरसम्म आउँदा उनको लगभग २५ सय रुपैयाँ चैट भएछ । धन्न थोरैमा जोगिए भन्नु पर्‍यो । ‘पैसा छ भने ल्याउनुस् मै साट्दिन्छु, श्रम पनि बुझाइदिउँला दाई’ भन्दैथे ठग्छ भनेर होटलवालाको यो कुरा उनले हाँसेर टारे रे । काठमाडौंबाट पोखरा लाग्नुअघि दाईको काम काठमाडौं सोल्टिमोड भित्र ताहाचलमा रहेको वैदेशिक रोजगार विभागमा श्रम बुझाउन (श्रम स्विकृति लिन) जानु थियो । म नगए उनको काम सहजै बन्छ भन्ने लागेन । हैसियतकै कुरा गर्ने हो भने दैनिक १ अर्ब ८० करोड रुपैयाँ रेमिट्यान्स देश भित्र्याउने श्रमका पुजारी थिए उनीहरू । देशको अर्थतन्त्रलाई टेको दिने यी कर्मीहरूप्रति सरकार र तिनका निकायहरूले गर्ने तल्लो स्तरको व्यवहारले निक्कै मन दुखाउँछ । उनको लागि श्रम बुझाउने काम, मेरो लागि विदेशमा पुगेका श्रमिकहरूको श्रमको मूल्य बुझ्ने काम । मेरा बाँकी काम थाँती राखेरै भएपनि म उनीसँग गत साता एका विहानै कालिमाटी तर्फ लागें । सोल्टिमोडबाट उत्तर लागेपछि बल्ल थाहा भयो, यो त अनौठो संसार रहेछ । यो सडकमा तपाईंलाई कुनै एजेन्टले समाउन आएनन् भन्ने बुझ्नुपर्छ आज श्रम कार्यलय छुट्टी छ । ‘दाई इन्सुरेन्स यता छ, फारम यहाँ भरिन्छ, पार्किङ यता छ, माथि महँगो लिन्छ, हामी सबै मिलाउँछौं उता ठग्छन्’ ठाउँ नबुझेको, नजानेको र नचिनेको मान्छेलाई यस्तो सुनेपछि रिंगटा लाग्दैन होला त ? श्रम कार्यलय खोज्दै पुग्दा पार्किङमै तपाइलाई खुसुक्क बोलाउन आउने पनि भेटिन्छन् । सोधपुछ गर्ने सहज ठाउँ नभेटेपछि, जोकोही पनि त्यहाँ वरपर घुमिरहने एजेन्टको पन्जामा पुगिहाल्छन् । जसले पासपोर्टको फोटोकपी गर्ने, फारम भर्ने, बिमाको कागजात तयार गरिदिने, फोटो खिच्ने ठाउँमा पुर्‍याउने सबै काममा सघाउँछन् । १ सय देखि ३–४ सयसम्म पाएजति उनहरूले कामदारसँग लिन्छन् भने इन्सुरेन्स कम्पनीसँग छुट्टै कमिसन बुझ्छन् । सरकारी संयन्त्र जति बलियो हुन्छ यस्ता झिनामसिना समस्या बिलाएर जान्छन् वा व्यवस्थित हुन्छन् ।

अहिलेकै संयन्त्रका माझ बाटैमा अलमल हुने हामी जस्ताको लागि एजेन्टहरूको पन्जाबाट फुत्कन्छु भन्नु अर्को दिन पनि एउटै कामको लागि धाउनु जस्तै हुन्छ । दाई भन्छन्, ‘दुईचार पैसा नदिई यहाँ कतै काम बन्दैन ।’ साउदी एरपोर्टमै पनि लगेज १ केजी बढी भयो भनेर बिमानस्थलमा काम गर्ने नेपालीले नै एक सय रियाल (२८ सय रुपैयाँ) ठटाइदिएछन् उनलाई । बढी लगेजको पैसा लिनेले बिल भने दिएनन् रे । ‘दाई तपाईंलाई त ठगेछ नि,’ मैले यसो भन्न नपाउँदै उनले भने, ‘अर्को साथीको त दुई सय गयो, म त कममा परेकाले चुप लागें ।’ 

 उनको कुराले नै उनको सिधापन जनाउँथ्यो । जे होस्, विभाग बाहिर रहेको प्राइभेट बिमा कम्पनीमा रकम बुझाएर फाराम भरेपछि हामी विभागको व्यक्तिगत श्रम बुझाउने भवन तर्फको गेटमा पुग्यौं । दलालहरूले पच्छ्याउँछन भनेर होला सायद गेटमा निक्कै कडिकडाउ थियो । म पस्न पाइनँ । हुन त काम धेरै बाँकी थिएन, कति नै समय लाग्थ्यो र ? भित्रै रहेको बैंकमा एक हजारको भौंचर भरेर बुझाउने । अर्को झ्यालमा पासपोर्टमा स्टिकर टाँस्नको लागि पासपोर्ट र बिमाको कागजात बुझाउने । स्टिकर टाँसिएको पासपोर्ट फिर्ता लिन अर्को झ्यालमा केही बेर बस्ने । ‘साँच्ची कति समय लाग्छ ?’ प्रश्न सुन्ने बित्तिकै गेटका गार्डले भने, ‘लाग्न सक्छ दुई, तीन पाँच घण्टै पनि लाग्न सक्छ ।’ म अचम्ममा परेँ, अब भने बुझ्न, भोग्नैको लागि भित्र जानु पथ्र्यो भन्ने भयो । यति धेरै समय कसरी लाग्छ ? म बाहिर के गरेर बस्ने ? ‘मलाई पनि भित्र जान दिनूस् न, यतिका समय दाई त हराउन बेर छैन हो,’ मेरो कुरा सुनेपछि गार्डले भने, ‘विदेशबाट फर्केको मान्छे नेपालमा कसरी हराउँछ ?’ उनको प्रश्न जायज थियो । तर उनले बुझेनन्,‘वषौंसम्म विदेशको एकै अफिसमा एकै खालको काम गर्ने र बाहिर नचाहर्ने मान्छे कस्तो एकोहोरो हुन्छ होला ?’ भैगो, मैले बुझाउन पनि खोजिनँ । बाहिर निस्केँ । आधाघण्टा टहलिएँ । मनमा हुटहुटी बढ्यो । यति धेरै समय केमा लाग्ला ? कति गेटमा हेरेर बस्नु । यता उता हुन्छु भनेर भन्नलाई उनीसँग नेपालको सिम पनि थिएन । यति धेरै कुरा बुझाएर फेरि गेटभित्र पस्न मलाई निक्कै कसरत गर्नु पर्‍यो । त्यहीँ भित्र पनि दाई भेटिएनन् । काम भ्याएर फर्किएर बाटोमा हराए होला भन्ने कुराले केही बेर तनाब दियो । पछि उनी निक्कै कुनाको काउन्टरमा बसेको चाल पाएँ । आफू कहाँ जाँदैछु , किन यहाँ आउँदैछु भन्ने अर्थ पनि राम्ररी नबुझ्ने धेरै थिएँ त्यहाँ लाइनमा थिएँ । सबै भन्दा ठूलो खचाखच भने स्टिकर टाँसिएको पासपोर्ट बुझ्ने ठाउँमै थियो । जहाँ थिए लगभग ७०/८० जना मानिसहरू । बस्नको लागि दुई बेन्ची थियो ८ जना मुस्किलले अट्ने । बाँकी सबै उभिएर टहलिनु पर्ने । यस्तो लाग्थ्यो कि मालिकहरू घाँस छिमल्दै छन् र हामी भोका भेडाहरू कतिखेर घाँस झर्ला र खाउँला भनेर एकतमासले टोलाइराखेका छौं । प्रचण्डगर्मीका माझ त्यसरी उभिनु पर्दा कसको कन्सिरी नतात्ला ? गर्न त त्यहाँ छानो थपेर शितल बढाउन सकिन्थ्यो । कुर्ची थपेर बस्ने सुविधा थप्न सकिन्थ्यो । यसको लागि पैसा हैन समवेदना चाहिन्छ, भलाईका लागि केही गर्छु भन्ने मनोबल चाहिन्छ जुन त्यो कार्यलयमा देखिएन । पैसाकै कुरा गर्ने हो भने त नेपाल राष्ट्रबैंकले निकालेको पछिल्लो आंकडा अनुसार दैनिक १ अर्ब ८० करोड  रुपैयाँ रेमिट्यान्स देश भित्र्याउने श्रमका पूजारी थिए उनीहरू । श्रम विभाग त एक उदाहरण मात्र हो, अर्थतन्त्रलाई टेको दिने यी कर्मीहरू प्रति सरकार र  तिनका निकायहरूले गर्ने तल्लो स्तरको व्यवहारले निक्कै मन दुखाउँछ । 

हुन त बेलाबेलामा माइक बोकेर नाम बोलाउने र पासपोर्ट जाँचेर मात्र जानुहोला भन्ने बुझाउने त्यहाँ कार्यरत एक कर्मचारीको बोल्ने तरिका भने निक्कै राम्रो थियो । दु:ख लाग्दो कुरा त न आरामले बस्न मिल्थ्यो न आरामले उभिन नै । कोही आजै विदेशबाट फर्केका थिए । कसैलाई घर जाने गाडी चाँडै समात्ने हतार थियो । कसैलाई आजै विदेश उड्नु थियो । प्रायले कम्तिमा तीन घण्टा कुरेका थिए, त्यो पनि उभिएरै । बेलाबेलामा आक्रोश पनि पोख्थे । लगभग १२ बजे बैंक भौचर, बिमाको कागजात सहितपासपोर्ट बुझाएको हामीले सवा तीन घण्टा पछि मात्र स्टिकरसहितको पासपोर्ट फिर्ता पायौं । त्यसमाथि मेसिन बिग्रेकोले स्टिकरमा प्रिन्ट राम्रो आएनछ ।‘नयाँ मेसिन मगाएको थुप्रो समय भयो, आएकै छैन के गर्ने ?,’ भन्ने गुनासो उनै कर्मचारीको सुनिन्थ्यो । अध्यागमन कार्यलय र श्रम विभागको समन्वय प्रभावकारी नहुँदा सामान्य त्रुटीका कारण बिमानस्थलमा धेरैले दु:ख पाएका घटना धेरै सुनिएका छन् । यस्तै घानमा परिन्छ कि भन्ने चिन्तात छदै थियो । त्यो भन्दा बढी धेरैलाई खड्केको प्रश्न थियो‘कम्प्युटरबाट स्टिकर प्रिन्टगरी पासपोर्टमा टाँस्न तीन घण्टा कसरी लाग्छ ?’  
 प्रकाशित: जेष्ठ ३०, २०७३ 
http://kantipur.ekantipur.com/news/2016-06-12/20160612133505.html

Comments

Popular posts from this blog

मोबाइलको साटो पुस्तक

बाल मनोविज्ञानमा आधारित भएर लेख्नु आफैमा जटिल र चुनौती पुर्ण छ  । त्यसैमाथि सबै भन्दा सरल बनाउँनु पर्ने विषय पनि यहि रहेछ । बाल मस्तिस्कको सोचाइको धरातल फराकिलो बनाउँने  प्रयास म सधैं जारी नै राख्नेछु । बालबालिकाहरुलाइ आज राम्रा पुस्तक पढ्न दिँदा भोलीका दिनमा उनीहरुले रचनात्मक काम गर्न सक्छन् । हामी सबैले पढ्ने र पढाउँने बातावरण बनाउँन मद्दत गरौं । मेरा यी रचनाहरुमा चित्र कोरेर सुन्दर बनाइदिने नागरिक दैनिकका Dewen दाई र Yuwak जी, भाषामा सघाउने Shekhar दाई अनि प्रकाशनमा ल्याउँने Sangrila Book का Mani जीलाई धेरै धेरै धन्यवाद । म अछाम नपुगेको भए सायद यो बालकथा अाउँदैन्थ्यो होला । सन् २००९ मा Room to Read Nepal को कथा कार्यशालामा नअटाएको भए सायद 'हाम्रा खेलहरु' का बारेमा उबेला बाल कविता फुर्दैन्थ्यो । सधै‌ झै, छोराछोरीको हातमा मोबाइलको साटो पुस्तक दिउँ । उनीहरुका आँखा र दिमाग झनै तेजिलो हुनेछन् । अघिल्ला तीन कृती... माथिका तीन पुस्तकहरु ' पाठीलाई स्वेटर, भान्छामा चुट्किला, देउता खुशी हुनुभयो' तलका पुस्तक पसलहरुमा यस अघि नै आइसकेका छन् । नयाँ पुस्तक...

जाडोका चिसा उखान टुक्का

बिस्तारै बिस्तारै बढ्दै गरेको जाडोले विहान धेरै अबेर सम्म पनि हामीलाई बिस्तारामा सिरक भित्रै रोक्न सक्छ । झ्यालका पर्दा घामले नखोली कन हामी आफै खोल्न तम्सन पनि गाह्रो हुन्छ । विहानै तातो चियाको गिलासलाई ओठले चुम्न पाउँदा मात्र हात गोडा चलमलाउन थाल्छन् । अझ एका विहानै काममा जानु पर्ने वा कलेज जानु पर्नेलाई त जाडो कहिल्यै नआए हुन्थ्यो झै हुन्छ । यस्तो कठ्याङ्ग्रीने जाडोको बेलामा हाम्रा उखान टुक्काहरू कसरी बांगिने गर्छन्, यसबारेमा केही प्रसंग तल छ । तपाइलाई यो जाडो मौसम भरि न्यानो घामले माया गरोस शुभकामना ! जाडोले कामेको गोरुलाई बोरा ओढाउन सकिन्छ, सिरक ओडाउन सकिन्न अनिकालमा बिउ जोगाउनु, चिसोमा जिउ जोगाउनु चिसोले समाएको मान्छेलाई, आइसक्रिमले पनि लखेट्छ अर्काको आंङमा गन्जी लगाएको देख्ने, आफ्नो आंङमा जकेट लगाएको  नदेख्ने ? हिटरले पोलेको मान्छे, राइस कुक्कर देख्दा तर्सन्छ  थर्मस फुटे, तातो लुटे खाइ न पाइ, लेदर जकेट लाई  काम पाइनस छोरो, मोजामा आइरन लगाइ

भाइबहिनीसँग भेटघाट

‘‘चश्म खोलेपछि मात्र किताबमा भएको राइटरको फेस तपाइसँग मिल्छ । हजुरले किन कथा लेख्नुहुन्छ ? पाठीलाई स्वेटर मैले दुइ कक्षामा पढेको बेस्ट बुक हो । मेरो घरको ढोकामा सधैं बिरालो आउछ । मैले दूध दिन्छु । यसको पनि कथा हुन्छ ? हाम्रो लागि अझै धेरै कथा लेख्दिनु है । अब कहिले आउनु हुन्छ ?’’ कक्षा तीनमा पढ्ने नानीबाबुका कलिला बोलीले फूलजस्तै गरि मनमा छोए । 'लेखकसँग अन्तरक्रिया'मा आफ्नो पुस्तक ‘भान्छामा चुट्किला’ बाचन गर्न र कथा लेखनका बारेमा बताउन उनीहरूको विद्यालयमा पुगेको थिएँ । हामीले यस पुस्तकका चित्रकार Yuwak Shrestha लाई पनि सम्झियौं । नानीबाबुहरूले दुई कक्षामा मेरो अर्को पुस्तक ‘पाठीलाई स्वेटर’ पनि पढेका रहेछन् । लगभग ८० जना नानीबाबुका माझमा कथाबाचन गर्न र हराउन पाउदा नयाँ कथा बुन्ने उर्जा मिलेको छ । अवसरका निम्ति युलेन्स स्कूल ललितपुर र शिक्षिका मिना लुइटेल जीलाई धेरै धेरै धन्यवाद । अब चाँडै स्वतस्फुर्त रूपमा केही सामुदायीक विद्यालयमा कथा बाचन गर्ने र बुन्ने कला साट्न पुग्ने योजना बनाएको छु । ज्ञान बाँडे पक्कै बढ्दछ, नबाँडे सर्लक्कै घट्दै जान्छ । #childrensbooks #nepalichildren...