Saturday, January 22, 2011

भर्ना हुने हो ?


चाहेको रकम असुल्न पाइने
सीत्तैमा मागेर हसुर्न पाइने
रीस उठेमा छाला तार्दीन पाइने
बङ्गारा गनेर झार्दीन पाइने
सी.डी.ओ प्रहरी कुट्न पाइने
कार्वाहीमा नपरि छुट्न पाइने
आफ्नो वीरुद्ध बोल्नेलाइ
धान चुटेझै चुट्न पाइने
मुर्खको हातमा कानुन फुलेछ
आउनुहोस् नयाँ भर्ना खुलेछ ।

Friday, January 21, 2011

हामी के फर्सी हो ?

Photo : Tek Narayan Bhattrai

साइकलमा उँधो मुन्टाइएका
ब्वाइलर कुखुराहरु झै भएका छौं
कौसीमा झुण्डाइएका पाकेका
फर्सीहरु झै भएका छौं
बोटको टुप्पोमा फलेका
दिन पुगेका मेवाहरु झै भएका छौं
भिर भिरै खेद्दै कुदाइएका
अबोध भेडाहरु झै भएका छौं
साइकलबाट झर्न सक्छौं
कौसीबाट खस्न सक्छौं
बोटबाट गिर्न सक्छौं
भिरबाट लड्न सक्छौं
ए ड्राइभरहरु हो झ्याप्प ब‍े‍क नहान गाडीको
हाम्रो जिन्दगीमा ब्रेक लाग्न सक्छ

Thursday, January 20, 2011

सौराहा यात्रा-२०६६

सौराहाको यात्रा साँच्चैनै रमाइलो थियो हाम्रा लागि । सधैं पत्रिकाको काममा यात्रामा निस्कने हामी गएको साल भने स्वतन्त्र सामुहीक यात्रामा थियौं । कामबाट अलिक टाढा रहेर साथीभाइसँग रमाउनुको मज्जा बेग्लै थियो त्यसबेला । यो यात्रा नयाँ जीवनको यात्रा पनि थियो केर्ही साथीका लागि । त्रिशुलीमा साथीहरु सवार
र् याफ्ट पल्टेपनि सबै सकुशल उत्रन सफल भएका थिए । त्यही भएर त उनीहरुले नयाँ जीवनमा रमाइलो गरौं भन्दै सौराहामा आइपुगेका थिए । त्यहाँबाट सार्वजनीक गाडीमा काठमाडौं फर्कदा बसमा खुब हाँसियो । हामीसँगै यात्रा गरिरहेका अन्य यात्रीहरुपनि हाम्रो रमाइलोसँगै रमाए । त्यसै बेला खिचिएको जेपीटी (जे पायो त्यही) भिडीयो साथीहरुको नाममा…

Monday, January 17, 2011

मोर्डन नेपाली उखान

  • खाए खा नखाए फाल्दे
  • काम पाइनस् केटो गुन्द्रुकमा आइरन लगाई
  • डाडुले हानेको बूढो तरकारी थप्दा तर्सन्छ
  • बोतल कोकको स्वाद बियरको
  • एकादेशमा लोकतन्त्र थियो रे
  • जंडियालाई के ट्वाइलेट के किचन
  • जुक्ताको सोलमा चप्पलको तुना
  • बाह्र छोरा तेह्र नाती बुढाको आँखा रेखाथापा माथि

Friday, January 14, 2011

सल्मडग-पत्रकार


कार्डको दाम्लो बाँधेको छु गोजीमा पान्नो खाँदेको छु
भन्दछु अरुको लैख्दैछु बिर्सन्छु आफैलाई साँधेको छु
भर्नलाई साहुकॊ भकारी फटाल्छु जुत्ता लतारी
रिसको झोकमा पिएर हिड्दछु खुट्टा बटारी

जाबो दुइछाक टार्नलाई खेप्दछु सयौ लाखौ मार
आज पो बल्ल चिन्दैछु सल्म-डगै रैछु म पत्रकार

साहुले कहिल्यै मानेन उसलाई मैले बनाको
जहिले सुकै कुर्लन्छ मैले नै पैसा खन्याको
पैसाले किन्ने हामीलाई बेचिने हामी बोका हो
साहुले भन्छ बोकै हो यो त महाको धोखै हो ।

जाडोमा तातोपानी

बिहानै कास्कीको खारपानी, माछापुच्छ्रे, घाचोक गावीस हुँदै हेम्जाबाट पुनः पोखरा झर्ने हाम्रो योजना। साथीभाई व्यस्त नभइदिएको भए १० बजेको सट्टा ६ बजेनै यात्रा सुरू हुन्थ्यो होला। बगरबाट एघार बजेको गाडीमा पाईला राख्नु अघिसम्म दुइजना साथीको अत्तोपत्तो थिएन्।

थोरै भाग्यमानी थिए जसले गाडीमा सिट भेटे। ओगट्न कुदेकाले पनि अन्तिम तीन सिटमा मात्र चित्त बुझाउनु पर्‍यो। लामो बस। अन्तिम सिट, त्यसमाथि पनि गाउँ लैजान कोचेका चामल भरिएका बोरा। हामीलाई भने सोफा सेटै सरह भयो। दुईसाथी अझै आइपुगेनन्। गाडी हिड्नै लाग्दा हुलमुलका बिच पाएका सिट पनि हामी ६ जनाका निम्ति निल्नु न ओकल्नु भयो। गाडी छुट्यो भने दुइघण्टा अर्को कुर्नु पर्ने। एकैछिन रोकिदिन गरेको हाम्रो आग्रह पुरा हुन सकेन्।

परदेशमा भाषा नबुझ्दा

कपडा धुने मेसिन घ्वार घ्वार गर्न थालेपछि म तर्सिएँ। गएको साउन महिना। इष्ट भर्जिनिया हुँदाको कुरो। छोराबुहारीले लुगा धुने मेसिन खोलेर गएका रहेछन्। कता भित्रको कपडा डढ्न लाग्यो भनेर मेरो सातो गयो। 'किन खोलेर जानु पर्ने होला?' रिस पनि उठ्यो। न बूढीले बन्द गर्न जान्ने न मैले। उनीहरूलाई खबर गरुँ त्यहाँको मोबाइलमा फोन चलाउन पनि नजान्ने। कस्तो आपद। केही बेरमा उनीहरू आइपुगे। बल्ल थाहा पाएँ। मेसिन त 'ट्याम मिलाएर' गएका रहेछन्, कपडा धोइसकेपछि आफै बन्द हुने।

***
हामी पुगेको थाहा पाएपछि। छोराका विदेशी छिमेकीले 'खान नपकाउ हामी ल्याउँछु' भनेछन्। धेरै ख्याल गर्ने छिमेकीहरू। साँझ उनीहरू हाउ हाउ (हेल्लो हेल्लो ) गर्दे आए। उनीहरूले फर्सी हो की काँक्रो जस्तो तातो न तातो खानेकुरा ल्याएका। न नुनीलो छ, न गुलीयो। के हो के हो? हामी बूढाबूढीले चाख्न मात्र सक्यौं।
***

बूढेसकालैमा....


साँघुरो, अँध्यारो र असरल्ल कोठा। खाटछेउमा केहि पुराना भाँडाकुँडा मिल्कीएका। खाटमाथि पोको परेको सिरक। त्यही खाटका वरपरनै उनका संसार घुमीरहेका थिए। 'बाँचुन्जेल खाटमा मरेपछि घाटमा न हो' एक्लै टोलाएर बसेकी उनले दुखेसो पोख्दै भनिन्- 'त्यत्रा छोरछोरी हुर्काएँ, आज समाउनलाई हाताँ लौंरो बाहेक केहि छैन।'
७६ शिशिर काटेकी चुनादेवी अधिकारी पशुपतिको वृद्धाश्रममा यसै भन्दै थिइन्। माइत थियो ढंुङेखर्क, पनौंति। सात वर्षकै उमेरमा २५ वर्षेकेटोसँगै लगन जुराइदिए घरकाले। सिंदुर हाल्न खोज्दा खेरि 'कस्का छोराले मेरो शिर छोयो भन्दै रुँदै बालाइ कराएँ' उनी सुकसुकाइन, 'के सुन्थे, डोलि चढाएर पठाइहाले सिन्धुपाल्चोकको फट्टसिला।'
बाल्यकाल। बिहे के हो? श्रीमान श्रीमतीको सम्बन्ध के? उनलाई पत्तो थिएन। सिन्धुपाल्चोकमा मन नमानेपछि बिहेको साता भित्रै माइती फर्किइन उनी। फेरि बाल्यकालका दिन माइतमै बित्न थाल्यो उनको।

Thursday, January 13, 2011

दुइ तिर

उडाउनेहरु
कोही यहाँ माटो पुरेर बाटो उडाउँछन्
कोही यहाँ बाटो च्यातेर माटो उडाउँछन् !
वर्षेनी विदेशीको ऋण पचाएर नेताहरु
दिन दहाडै तपाईं हाम्रो सातो उडाउँछन् !!















सडक
रोपाइ गर्नलाई यहाँ सडकतिर झरे हुन्छ
माछा पालन गर्न पनि थोरै पानी परे हुन्छ !
वाह क्या सडक छ आउनुहोस् मन्त्री ज्यू
यसलाई पनि एकपटक उद्घघाटन गरे हुन्छ !!

(भवसागर घिमिरे-२०६५)

Wednesday, January 12, 2011

बा ! काठमाण्डौं बिरामी छ

बा आरामै हुनुहोला । रुघाखोकी बाहेक मलाइ अरु ठिकै छ । बरु आमाको ग्याष्टीक कस्तो भो कुन्नी हिजो जनै पुर्ने छोरो घराँ मुख देखाउँन आन भनेर दुःख नमान्नु होला । के अर्नु याँ कामको माचामाच ऐले साल पनि पोर झै न घर आउन पाइयो न जनै लाउन पाइयो । बिहान बेलुकी दाल भात खाइयो सक्किगो चाडबाड ।
 आज गाइजात्रा दिन । तपाइ त्यहाँ भोक झोक रोग र शोकले मरेकाहरुको सम्झनामा निकालेका गाइजात्रा हेर्दै हुनु होला । म त याँ सरकार बनाउनका लागि भइरा राजनैतिक गाइजात्रा हेर्दैछु । कैले कस्को धोति फुस्कन्छ कैले कस्को टोपी फुस्कन्छ भरै नहुँदो रैछ । कैले माओवादीले हावा खाने कैले काँग्रेसले कावा खाने । जे भानी चेपुवामा तपाइ हामी ।

भन्न त डाडुले कुटेको श्रीमान तरकारी थप्दा तस्रन्छ भन्छन तर खै यहाँ त कहिल्यं त्यस्तो भएन । जनताले नेतालाइ झपार्नु झपारे हपार्नु हपारे कतिलाइ त कोपारे पनि । सम्झाए बुझाए उनका अगि आफ्ना आँखा रुझाए पनि । तर आखीराँ उइ भो । बाह्रवर्ष कुकुरको पुच्छार ढुङ्गामा हाल्यो ढुङ्ग्रै बाङ्गो । कुर्चीकै लडाइमा जुग बिताउँने भए यीनले । उबेलाँ ज्ञानेन्द्र सापले नेताहरुलाइ फुटबल बनाएर राजनैतिक मैदानमा पेनाल्टी हिर्काउँदा उनेरु जनताकै आङ्ना आएर पछ्छारीएथे । लखतरान परेका तिनलाइ हामीले जुस पेलेर तङग्रायौं सडकमा ओराल्यौं र सदनमा उकाल्यौं पनि । ऐले उनै हामीसंग टेँडीए बाङ्गीए र जलकुम्भी बनेर लोभ र लालचमा झाङ्गीए । अब त पुरै नाङ्गीन मात्र बाँकी छ ।

बालिका बलि दिएको स्वीकार

भवसागर घिमिरे, काठमाडौं, फागुन ११- रुपन्देही मझगाउँमा घाँटी रेटी हत्या गरिएकी दलित परिवारकी आठ वर्षीया मनिषा हरिजनलाई आफूले इँट्टाभट्टामा बलि दिएको आरोपी नेवास पालले स्वीकार गरेका छन्।
झाँक्रीको काम गर्ने पालले इँट्टाभट्टाका मालिक वीरेन्द्र जैसवालको निर्देशनमा बलि दिएको प्रहरीलाई बताएका छन्। 'मैले जैसवालकै आदेशमा बलि दिएर इँट्टाभट्टामा चढाएको हुँ,' पालको भनाइ उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी छविलाल बन्जाडेले नागरिकलाई टेलिफोनमा बताए। गत मंसिर १९ गते बिहान मनिषाको शव घाँटी रेटिएको अवस्थामा इँट्टाभट्टादेखि तीन सय मिटर उत्तरतर्फ भेटिएको थियो। जानकारी पाएलगत्तै अधिकारकर्मी घटनास्थल पुगेका थिए। इँट्टाभट्टाको चुलो वरिपरि रगतका टाटा, फूल, नरिबलका खपटा, अगरबत्ती भेटिएको जागरण एफएम रुपन्देहीका पत्रकार दिनेश हरिजनले बताए।
स्थानीय प्रहरी चौकीले सो घटना दर्ता गर्न मानेको थिएन। अधिकारकर्मीले जिल्ला प्रशासन कार्यालयमा दबाब दिएपछि मात्र प्रहरीले मुद्दा दर्ता गरेको थियो। हत्या आरोपमा झाँक्री पाल र उद्योगका मालिक जैसवाललाई प्रहरीले पक्राउ गरेको छ। उनीहरूसँगै इँट्टाभट्टा कामदार नरेश हरिजन र भारतका बलिकरण राजवाल पनि पक्राउ परेका थिए। सबै आरोपीलाई पुर्पक्षका लागि थुनामा राखिएको एसपी बन्जाडेले बताए।

रुपन्देहीमा नौ वर्षकी बालिका बलि दिइएको शंका

भवसागर घिमिरे, काठमाडौं, फागुन ८- रुपन्देहीको मझगाउँस्थित एक इँटाभट्टामा एउटी बालिकालाई बलि दिइएको आशंका गरिएको छ। मझगाउँकै ८ वर्षे दलित बालिका मनिषा हरिजनलाई त्यहि गाउँमा बन्दै गरेको इँट्टाभट्टाका मालिकले बलि दिएको आशंका गरिएको हो।

बली दिइएको शंका गरिएको इँटा भट्टा, इँटाभट्टाको चुल्होनिर फालिएको नरिवलको खपटा र इँटामा रगतजस्तै देखिएको टाटा
मनिषालाई गाउँमा झाँक्री काम गर्ने नेवास पालको निर्देशनमा बलि दिइएको शंका गाउँलेले गरेका छन्। मानव बलि दिएमा उद्योग नाफामा जाने अन्धविश्वास छ।
मनिषाको शव गएको मंसिर १९ गते बिहान घाँटी रेटिएको अवस्थामा इँट्टाभट्टादेखि ३ सय मिटर उत्तरतिर भेटिएको थियो। स्थानीय एक बालकले सौच गर्न जाँदा लास देखेपछि मनिषाका बाबु राजुलाई खबर गरेका थिए। लास रगतले लत्पत्तिएको र कुलोछेउ झाडीमा फेला परेको स्थानीय जागरण एफएमका सञ्चारकर्मी दिनेश हरिजनले बताए।

Thursday, January 6, 2011

आमा भो नसुनाउनुस्…

६० हजारमा किनेको गाइ
थुनेलो भएर मरेपछी
कृषि विकास बैंकले घरखेत उठाउँदै छ रॆ
साइला बा र साइलियाँलाइ दुःख खपिसक्नु छैन्
४ घण्टाको पैदलबाटो
सदरमुकाम अस्पताल ल्याउन नपाउँदै
पेटको छोरीसँगै यमुनाले बाटैमा सास छोडी रे
ठूल्बाको छोरोले किताब किन्न नसकेर
स्कुल छाड्यो रे
आमा भो नसुनाउनुस् गाउँको खबर
तपाइको यो निर्दयी छोरोले
डिग्री पास भाको यतिका वर्ष बितिसक्दा पनि
गाउँका लागि काठमाडौं छाड्न सकेको छैन्
(भवसागर-२०६७)