Skip to main content

रुपन्देहीमा नौ वर्षकी बालिका बलि दिइएको शंका

भवसागर घिमिरे, काठमाडौं, फागुन ८- रुपन्देहीको मझगाउँस्थित एक इँटाभट्टामा एउटी बालिकालाई बलि दिइएको आशंका गरिएको छ। मझगाउँकै ८ वर्षे दलित बालिका मनिषा हरिजनलाई त्यहि गाउँमा बन्दै गरेको इँट्टाभट्टाका मालिकले बलि दिएको आशंका गरिएको हो।

बली दिइएको शंका गरिएको इँटा भट्टा, इँटाभट्टाको चुल्होनिर फालिएको नरिवलको खपटा र इँटामा रगतजस्तै देखिएको टाटा
मनिषालाई गाउँमा झाँक्री काम गर्ने नेवास पालको निर्देशनमा बलि दिइएको शंका गाउँलेले गरेका छन्। मानव बलि दिएमा उद्योग नाफामा जाने अन्धविश्वास छ।
मनिषाको शव गएको मंसिर १९ गते बिहान घाँटी रेटिएको अवस्थामा इँट्टाभट्टादेखि ३ सय मिटर उत्तरतिर भेटिएको थियो। स्थानीय एक बालकले सौच गर्न जाँदा लास देखेपछि मनिषाका बाबु राजुलाई खबर गरेका थिए। लास रगतले लत्पत्तिएको र कुलोछेउ झाडीमा फेला परेको स्थानीय जागरण एफएमका सञ्चारकर्मी दिनेश हरिजनले बताए।

'भट्टाको दुई चुह्लोवरपर रगत लत्पत्तिएको, फूल, नरिबलको खपटा, अगरबत्ती भेटिएको थियो,' लास फेला परेको भोलिपल्टै घटनास्थल पुगेका सञ्चारकर्मी दिनेशले भने, 'पर्सिपल्ट राष्ट्रिय मानव अधिकार आयोग, महिला मानवअधिकार रक्षक सञ्जाल सहितका अधिकारकर्मी त्यहाँ पुगेर अवलोकन गरेका थिए।'
मनिषाको परिवारका अनुसार उनी १८ गते साँझ घर नआएपछि उनका बाबु राजु र केही गाउँले मिलेर खोजी गरेका थिए। कामदारबाट केही खाजा पाउने आसमा मनिषा इँट्टाभट्टामा जाने गर्थिन्।
यता, इँट्टाभट्टामा भेटिएको रगत मनिषाको हो/होइन भनेर डिएनए परीक्षणका लागि राजधानी ल्याइएको रुपन्देहीका प्रजिअ नगेन्द्र झा बताउँछन्। 'प्रयोगशालाबाट नतिजा आएपछि मात्र यो कुराको टुंगो लाग्नेछ,' प्रजिअ झाले टेलिफोनमा भने, 'अदालतले निर्क्यौल नगरेसम्म बलि हो भन्न सकिँदैन।'
तर काठमाडौंस्थित राष्ट्रिय विधिविज्ञान प्रयोगशालाका सहायक वैज्ञानिक अधिकृत निराजन थापाले भने बिहीबार साँझसम्म यस्तो कुनै केस नआएको बताए। रुपन्देहीका प्रहरी उपरिक्षक छविलाल बन्जाडेले भने डिएनएका लागि नभई मान्छेको रगत हो कि हैन भनेर सामान्य परीक्षण गर्न राष्ट्रिय प्रहरी प्रतिष्ठान, महाराजगन्ज पठाइएको जानकारी दिए।

मृत फेला परेकी बालिका मनिषा हरिजनको हत्यामा संलग्न आरोपित स्थानीय वीरेन्द्र जैसवाल र नेवास पाललाई माघ दोस्रो साता जिल्ला अदालतले पुर्पक्षका लागि जेल चलान गरेको छ। जैसवालसँगै पक्राउ परेका इन्द्रबहादुर चमार, सुकइ यादवलाई जनही ८ र १० हजार रुपैयाँ जरिवाना तिराएर तारेखमा रिहा गरिएको छ। शंकास्पद ठानिएका अन्य दुई जना सोधपुछपछि छुटेका छन्।
सञ्चारकर्मी दिनेशले भने, 'मनिषा मारिएको अवस्थामा भेटिएपछि गाउँलेहरू प्रहरी कार्यालय घेर्न पुगेका थिए।' सत्यतथ्य बुझेर मात्र केस दर्ता गरिने भन्दै प्रहरीले सुरुमा दर्ता गराउन नमानेको दिनेश बताउँछन्। 'स्थानीय प्रहरीले नमानेपछि जिल्ला प्रशासनमा आएर दबाब दियौं,' घटनास्थल अवलोकन गरी फर्केकी रुपन्देहीकी अधिकारकर्मी किरण पन्थीले भनिन्, 'अनि मात्र मुद्दा दर्ता गराउने आश्वासन प्रजिअले दिएका थिए।'
घटनाबारे समाचार प्रसारण, प्रकाशन गरेको भन्दै आरोपीका तर्फबाट स्थानीय सञ्चार माध्यमका पत्रकारलाई धम्की आउने गरेको एक सञ्चारकर्मीले बताए। प्रारम्भिक प्रकृति हेर्दा बालिकालाई बलि दिइएको हुन सक्ने स्थानीय प्रहरी नरहरि अधिकारीले बताएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले उल्लेख गरेको छ।
एसियन ह्युमन राइट्स कमिसनले पनि घटनाप्रति आफ्नो ध्यानाकर्षण भएको भन्दै सत्यतथ्य बुझ्नका लागि प्रेस वक्तव्य जारी गरिसकेको छ। आरोपीका परिवारले भने उच्च रकमको प्रलोभन दिएर मनिषाको परिवारलाई मुद्दा फिर्ता लिन दबाब दिएको नाम उल्लेख नगर्ने सर्तमा एक स्थानीयले नागरिकलाई बताए।

Comments

Popular posts from this blog

मोबाइलको साटो पुस्तक

बाल मनोविज्ञानमा आधारित भएर लेख्नु आफैमा जटिल र चुनौती पुर्ण छ  । त्यसैमाथि सबै भन्दा सरल बनाउँनु पर्ने विषय पनि यहि रहेछ । बाल मस्तिस्कको सोचाइको धरातल फराकिलो बनाउँने  प्रयास म सधैं जारी नै राख्नेछु । बालबालिकाहरुलाइ आज राम्रा पुस्तक पढ्न दिँदा भोलीका दिनमा उनीहरुले रचनात्मक काम गर्न सक्छन् । हामी सबैले पढ्ने र पढाउँने बातावरण बनाउँन मद्दत गरौं । मेरा यी रचनाहरुमा चित्र कोरेर सुन्दर बनाइदिने नागरिक दैनिकका Dewen दाई र Yuwak जी, भाषामा सघाउने Shekhar दाई अनि प्रकाशनमा ल्याउँने Sangrila Book का Mani जीलाई धेरै धेरै धन्यवाद । म अछाम नपुगेको भए सायद यो बालकथा अाउँदैन्थ्यो होला । सन् २००९ मा Room to Read Nepal को कथा कार्यशालामा नअटाएको भए सायद 'हाम्रा खेलहरु' का बारेमा उबेला बाल कविता फुर्दैन्थ्यो । सधै‌ झै, छोराछोरीको हातमा मोबाइलको साटो पुस्तक दिउँ । उनीहरुका आँखा र दिमाग झनै तेजिलो हुनेछन् । अघिल्ला तीन कृती... माथिका तीन पुस्तकहरु ' पाठीलाई स्वेटर, भान्छामा चुट्किला, देउता खुशी हुनुभयो' तलका पुस्तक पसलहरुमा यस अघि नै आइसकेका छन् । नयाँ पुस्तक...

जाडोका चिसा उखान टुक्का

बिस्तारै बिस्तारै बढ्दै गरेको जाडोले विहान धेरै अबेर सम्म पनि हामीलाई बिस्तारामा सिरक भित्रै रोक्न सक्छ । झ्यालका पर्दा घामले नखोली कन हामी आफै खोल्न तम्सन पनि गाह्रो हुन्छ । विहानै तातो चियाको गिलासलाई ओठले चुम्न पाउँदा मात्र हात गोडा चलमलाउन थाल्छन् । अझ एका विहानै काममा जानु पर्ने वा कलेज जानु पर्नेलाई त जाडो कहिल्यै नआए हुन्थ्यो झै हुन्छ । यस्तो कठ्याङ्ग्रीने जाडोको बेलामा हाम्रा उखान टुक्काहरू कसरी बांगिने गर्छन्, यसबारेमा केही प्रसंग तल छ । तपाइलाई यो जाडो मौसम भरि न्यानो घामले माया गरोस शुभकामना ! जाडोले कामेको गोरुलाई बोरा ओढाउन सकिन्छ, सिरक ओडाउन सकिन्न अनिकालमा बिउ जोगाउनु, चिसोमा जिउ जोगाउनु चिसोले समाएको मान्छेलाई, आइसक्रिमले पनि लखेट्छ अर्काको आंङमा गन्जी लगाएको देख्ने, आफ्नो आंङमा जकेट लगाएको  नदेख्ने ? हिटरले पोलेको मान्छे, राइस कुक्कर देख्दा तर्सन्छ  थर्मस फुटे, तातो लुटे खाइ न पाइ, लेदर जकेट लाई  काम पाइनस छोरो, मोजामा आइरन लगाइ

भाइबहिनीसँग भेटघाट

‘‘चश्म खोलेपछि मात्र किताबमा भएको राइटरको फेस तपाइसँग मिल्छ । हजुरले किन कथा लेख्नुहुन्छ ? पाठीलाई स्वेटर मैले दुइ कक्षामा पढेको बेस्ट बुक हो । मेरो घरको ढोकामा सधैं बिरालो आउछ । मैले दूध दिन्छु । यसको पनि कथा हुन्छ ? हाम्रो लागि अझै धेरै कथा लेख्दिनु है । अब कहिले आउनु हुन्छ ?’’ कक्षा तीनमा पढ्ने नानीबाबुका कलिला बोलीले फूलजस्तै गरि मनमा छोए । 'लेखकसँग अन्तरक्रिया'मा आफ्नो पुस्तक ‘भान्छामा चुट्किला’ बाचन गर्न र कथा लेखनका बारेमा बताउन उनीहरूको विद्यालयमा पुगेको थिएँ । हामीले यस पुस्तकका चित्रकार Yuwak Shrestha लाई पनि सम्झियौं । नानीबाबुहरूले दुई कक्षामा मेरो अर्को पुस्तक ‘पाठीलाई स्वेटर’ पनि पढेका रहेछन् । लगभग ८० जना नानीबाबुका माझमा कथाबाचन गर्न र हराउन पाउदा नयाँ कथा बुन्ने उर्जा मिलेको छ । अवसरका निम्ति युलेन्स स्कूल ललितपुर र शिक्षिका मिना लुइटेल जीलाई धेरै धेरै धन्यवाद । अब चाँडै स्वतस्फुर्त रूपमा केही सामुदायीक विद्यालयमा कथा बाचन गर्ने र बुन्ने कला साट्न पुग्ने योजना बनाएको छु । ज्ञान बाँडे पक्कै बढ्दछ, नबाँडे सर्लक्कै घट्दै जान्छ । #childrensbooks #nepalichildren...