Friday, September 13, 2013

‘दुब्ला पातल संघ’

अफ ट्र्यक

बालमन्दिरमा कुनै बेला चर्चामा थियो शिक्षकहरू माझ । म त्यसको साधारण सदस्या थिएँ । २०६१ सालको कुरा हो । भण्डारी (श्रीमणी) सर अध्यक्ष हुनुहुन्थ्यो । लामाचौरबाट आउने राजु सर पनि सदस्य । उनी पनि साधारणतया दुब्ला नै भएकाले साधारण सदस्य मानिएको थियो । यदि कुनै सदस्य मोटाउन थाल्यो भने उ स्वत सदस्यताबाट खारेजीमा पथ्र्यो । बरु झन दुब्लाउँदै गयो भने उ आजिवन सदस्य हुने सम्भावना रहन्थ्यो । केन्द्रिय सदस्यामा पनि लड्न पाउथ्यो । हामी बीच यस्तै सल्लाह थियो जसको त्यतीबेला स्कुल भरि हल्ला थियो ।
शिक्षक भए पछि भलाद्मी हुनु पर्छ । गमक्क परेर बस्नु पर्छ । चश्मभन्दा माथिबाट आँखा पल्टाएर हेर्न पर्छ । चर्को बोल्न पर्छ र बोली पिच्छे कड्किनै पर्छ । रमाइलो गर्नु हुन्न । यस्ता कुरा हाम्रो कुनै पनि शब्दकोशमा थिएनन् । त्यसैले क्यान्टिनमा खिर खाँदा होस्, या चिया बे्रकमा हामी ठट्टा गथ्यौं, संगठन विस्तार गर्नुपर्छ हामी दुब्लाहरूले ।
हामी माझ दुई निक्कै अग्ला र बलिया आसेपासे थिए, विवेक र केशब । साथीहरू सहकर्मी उडाउन भनेपछि निक्कै खप्पिस । त्यसैले त माहोल निक्कै रमाइलो हुन्थ्यो । हरेक कक्षा सकिएपछि अर्को कक्षामा पुग्नका लागि शक्ति संचय गर्न यस्ता कुराले निक्कै मद्दत गथ्र्यो ।
‘हावाहुरी लाग्यो, भवसागरलाई अल्लि खतरा छ,’ हुलमुलमा यस्तो सुनेपछि एक दर्जन हाँसो हुन्थ्यो । ‘उडाउँदैन, ढक बोकेर हिडेछु खल्तिमा’ मैले भने पछि हाँसो फेरी अर्को दर्जन थपिन्थ्यो । अनि पुनः नयाँ कक्षामा । हामी नयाँ उत्साह न हँसिलो मुहार लिएर जान्थ्यौं ।
हामी बीच धेरै यस्ता साथीहरू थिए । जो खुर्सानी जस्तो पिरो पनि थिएनन न निबुवा जस्तो अमिला थिए । खुदो जस्तो गुलीया मात्र पनि थिएनन् । यी सबै मिसाएर बनाइएको टक्क अचार जस्ता थिए । मेरो पहिलो र अहिले सम्मका लागि अन्तिम स्कुले शिक्षक हुँदाको सम्झना । त्यसैले सम्झना लायकको थियो ।
भण्डारी सर दुब्लो हुनुहुन्थ्यो । म झनै दुब्लो । राजु सर म भन्दा मसिना । उनलाई हेरेरै भए पनि म धेरै चित्त बुझाउँथे । अरु साथीहरू दुब्लो भन्न मिल्ने अवस्थामा थिएनन् । पाइन्ट लगाएपछि पेटीलाई धेरै भन्दा धेरै कस्नु पथ्र्यो । सर्ट लगाएपछि कम्मर छेउछाउ मुजा परेर बिग्रन्थ्यो । शरिर जो थियो, सुरीलो । पहिलो कक्षामा बाघ जस्तो पुरै गर्जेर पुग्ने हामी सातौं कक्षाबाट बाहिरीँदा सुकेको साग झै लतक्क पथ्यौं । ढल्न लागेको मेवाको रुखमा बाँसको टेको हालेझै, मिल्थ्यो भने ज्यानमा टेको हाल्न पर्ने हुन्थ्यो । हाल्थयौं पनि भन्नु पर्छ, सातौं कक्षा पढाउँदा कहिलेकाही अगाडीको डेस्कमा हात टेकेर पढाउनु पथ्र्यो ।
जोखिँदा म कहिले ४४ त कहिले ४६ पुग्थेँ । सोच्थेँ, ५० किलो भन्दा माथिका मान्छे नै नभइदिए हुन्थ्यो यो संसारमा । त्यसबेला त हामी पनि राम्रैमा गनिन्थ्यौं होला । किनकी दुब्लो हुनु र शिक्षक हुनुको पिडा बेग्लै थियो ।

Tuesday, September 10, 2013

म विधिको पक्षमा, तपाईं नि ?

भवसागर घिमिरे

‘तपाईं कुन पक्षको ?’
केही दिनअघि राजस्वले राजधानीका केही ‘कारखानामा’ छापा हान्नेबित्तिकै एक साथीले फेसबुक म्यासेजमा सोधिहाले ।
‘विधिको शासन’ मैले उत्तर छोट्याएँ ।
‍‍...
दिमाग यहिँबाट घुम्न सुरु भो ।
यहाँ कुनै घटना हुनेबित्तिकै पक्ष विपक्षमा चर्काचर्की हुन थाल्छ । प्रहरीले पक्रियो भने पनि सोध्छ, ‘तपाई कुन पार्टीको ?’ पार्टीको हैन भने बल्ल अपराधबारे सोध्न सुरु गर्छ । सामान्य नागरिक पर्यो‍ भने सोध्नभन्दा उस्तै परे गोद्न सुरु गर्छ, राजनीति दलको रंगमा रंगियो भने । यहाँ गधा रंगिएर गाई बन्न सक्छ । डोकोमा दूध अडिन्छ । सूर्यलाई हत्केलाले छेक्न सकिन्छ। यातायात कार्यालयका दलालको घाँटीमा त कार्यालयले अस्थायी कार्डको दाम्लो बाँधेर चोख्याउन सक्छ भने राजनीतिको रंग त त्योभन्दा पनि कडा हुन्छ । यहाँ विधिको कम राजनीतिक दलहरूको शासन धेरै छ । सिन्डिकेटको शासन छ ।
तै पनि जनमत कहिल्यै यिनको कुशासनको पक्षमा छैन । जनमत कमजोर पनि हुँदैन । जनमत कहिल्यै व्यक्ति वा संस्थाको पक्षमा हैन, त्यसले गर्ने व्यवहारको पक्षमा छ र रहिरहन्छ । ढुंगा निचोरेर पानी निकाल्ने मात्र हैन, पानी निचोरेर आगो निकाल्ने हैसियत यसले राख्छ ।
विगत नै हेरौं । हामी कहिल्यै लोकमानको पक्षमा भएनौं । न कहिल्यै खिलराज रेग्मीकै पक्षमा भयौं । यी दुवैको नियुक्तिका बेलामा उनीहरू बिरुद्धका ठूला बहस चलेकै थिए । अझै चलेकै छ । अहिले अख्तियार होस् या राजस्व विभाग । बार होस् या ल फर्म । वकिल हुन् या डाक्टर । हामी कसैको पक्षमा छैनौं र हुन्नौं पनि । मात्र उनीहरूको व्यवहार पछ्याउँछौं । कालो कोटभित्र कालो मन लिनेहरू पनि छन् यहाँ । सेतो कोटभित्र कालो मन हुनेहरू पनि छन् । कालो कोटभित्र सेतो मन । सेतो कोटभित्र सेतो मन हुनेहरू भने निकै कम छन् । यी हामीले भोगिसकेको, देखिसकेको र बुझिसकेका सत्यहरू हुन । महलवाला हुन् वा मजदुर सबै एउटै कानुनले बाँधिनुपर्छ, हाम्रो विचार यत्ति हो, सत्य डग्न हुँदैन, असत्यले टिक्न हुँदैन ।
कुर्चीमा बस्नेहरूले प्रतिशोधको राजनीति सुरु गरे भन्ने तर्क पनि छन् ।

Saturday, September 7, 2013

पिनिमा साहिँलीको माइती सपना

एकपल्ट माइत सारो जान मन छ,' उनको रहर सुनेर म अचम्ममा परेँ। उनले माइत नदेखेको दुई दशक भन्दा बढी भइसकेछ।माइत भारतको ग्यान्टोक (गान्तोक)हो भन्ने थाहा थियो। तर यहीँ पर्छ भन्ने उनले बिर्सिसकेकी थिइन्। गइन्छ, गइँदैन? भेटिन्छ, भेटिँदैन? पाँचथर घुर्बिसे पञ्चमीकी ३६ वर्षे पिनीमा साहिँलीलाई बिहेपछिका २४ वर्ष एउटै प्रश्नले घोचिरह्यो, 'के म माइत जान पाऊँला?'
...
२०६८ पुस।
इलामबाट पक्की सडक हुँदै राँके बजार। त्यहाँबाट कच्ची सडकमा तीन घन्टा जीप चढेपछि उनको घर आइपुग्थ्यो। सुन्दा 'माइता जाने' सानो सपना पालेर बसेकी पिनिमा साहिँलीलाई यो नै अब जिन्दगीको सपना भइसकेको थियो। पिनिमा साहिँली नामले गाउँमा चिनिने उनको खास नाम भने भीमा हो। माइती थर आचार्य, घरको चेम्जोङ। 'भीमा आचार्य चेम्जोङ भो,' लिम्बू गाउँकी यी बाहुनी साहिँलीले हाँस्दै भनिन्। पिनिमाको अर्थ लिम्बू भाषामा बाहुनी रहेछ। बाहुनी साहिँली, डाँडाघरे, सिक्किमे साहिँली। गाउँमा उनलाई धेरै नामले चिन्थे।

माइत जानु। बाबा–आमासँग बेस्कन अंगालेर रुनु। तीजमा छमछम नाच्नु। दिदीबहिनी–दाजुभाइसँग मच्चिई–मच्चिई गफिनु। सानो छँदाका गोट्टा खेल्ने साथीहरूसँग मन फुकाउनु। उनको मनको आलमारीमा सपनाहरू पुस्तकझै चाङ बनेर बिस्तारै थपिँदै थिए। 'एकपल्ट माइत सारो जान मन छ सर,' उनले मुन्टो उँधो पारेर मलिन हुँदै हाम्रो भेटमा भनिन्, 'खै कइले जुर्छ था छैन।'
आखिर के कुराले उनलाई यतिका वर्ष माइत जान रोक्यो त? यही प्रश्न सोध्दै गर्दा उनले सम्झनाको पोको बिस्तारै फुकाउन थालिन्।
...
भारतको ग्यान्टोक सहर। चार भाइ, चार दिदी–बहिनी बीचकी साहिँली छोरी। १२ वर्षको उमेर, कक्षा तीन पढ्दै गरेका बेला। २०४६ सालताकाको कुरा उनले कोट्याइन। ग्यान्टोकको तातोपानी भन्ने ठाउँमा स्कुलको पिकनिक गएकी थिइन् रे उनी। पिकनिक सकिएपछि 'घर जाऊँ हिँड' भन्दै चिनेजानेका मान्छे देखा परे, सन्तकुमार राई। नेपालका राई ग्यान्टोकमा उनैको घर आसपास दाउरा चिर्ने काम गर्थे। सकेसम्म पछि त लाग्ने उनको मन थिएन। 'आफू चढेर आको बस भुलेँ,' उनले भनिन्, 'चिनेको मान्छे भन्दै उनकै पछि लागेँ।'

Monday, September 2, 2013

देश गज्जबको छ

पटुकी कसेर भोकै खेतमा निस्कन्छन् यहाँका खेतालाहरू। उम्रला र खाउँला भनेर गाउँले माइदाइहरू हलोले खेतको सिंउदो काट्छन्। देशको कुनै कुनाकी ख्याउटी आमै छोराछोरी भोकै नमरुन भन्दै उनीहरूसँगै पुलबाट फरालेर आत्महत्या गर्छिन्। यो ३३ कोटी देवता बसेको देशमा उनी र उनको परिवारको भोक मार्न कुनै देवता आउँदैनन् बरु एक टुक्रा समाचार आउँछ रेडियोमा, 'अर्थमन्त्रिले आफ्ना गुरुबालाई  ५ करोड भेटि चढाए, देशको ढुकुटीबाट।'
@nepaliadvocate
साँच्चै गजज्बको छ यो देश। थरिथरिका नै सहि, यो देशमा निक्कै क्षमता भएका मान्छेहरू छन्। अनेक तिकडम जानेका व्यापारीहरू छन्। एकाबिहानै प्लाष्टिकमा पोको परेर घरघरको ढोका ढकढकाउन आउने डेरीको दूधमा फोहोर पानी मिसाइन्छ । दूधमात्र हैन बोतलमा बेचिने पानीमा माटो मिसाइन्छ। सुनमा चुन मिसाइन्छ। चुनमा घुन मिसाइन्छ। कुहिएको पिठोबाट ताजा पाउरोटी बन्छ। आज हरियो भएको केरा भोली पहेलो हुन्छ। पर्सि पिलित्तै हुन्छ। कांक्रा हप्तादिनमा बढ्छ। साग दुई दिनमै हुर्किन्छ। दुई महिना लाग्ने तरकारी बाटेमा दुई हप्तामै तयार हुन्छ। ब्वाइलर कुखुरा, बर्डफ्लुआए मात्र सखाप हुन्छ। हैन भने ४५ दिन नपुग्दै जवान हुन्छ र अचानोमा मृत्युदण्ड स्विकार्छ। अज्जबको देश गज्जबको कहानी छ। कसले भन्छ यो देशमा केही हुन्न? यहाँ सबथोक हुन्छ।
जताततै कालो व्यापार, व्यापारको नामामा कालो धन्दा अपार। कोही उनका बिरुद्धमा चुइक्क बोल्यो भने तीनका पसलको सटर खस्छ। लाग्छ सटर पसलको हैन सरकारको मुखको खस्छ। व्यापारी सडकमा उर्लन्छन, जनता ठग्न पाउँ भन्दै कुर्लन्छन्, सरकारले लतक्कै घुँडो टेक्छ। घुँडै नभएको सरकार हो भने टाउकोलेनै भए पनि टेकि छाड्छ। किनकी यहाँ धेरै व्यापारीहरू कालो व्यापार मात्र चलाउँदैनन्, जनताको आँशुले रुझेर पत्रु भएको भएको राजनीतिक पाटी र लुरे सरकार पनि चलाउँछन्। कसले भन्छ यो देशमा केही हुन्न? यहाँ यति धेरै हुन्छ कि, त्यो कहिँ पनि हुन्न।
देश गज्जबको छ। सोच्नुहोस् फेरि एक पटक। किन गज्जबको छ ? दिउसै बजारको भित्तो तिर फर्केर मुत्न पाइन्छ। सडकमै टायरबालेर सुत्न पनि पाइन्छ। नेपाल बन्द भनेर चार जनाले सिठ्ठी फुक्न पाइन्छ अनि सुनसान सडकमा सरकारको मुखतिर हेरेर थुक्न पाइन्छ। गज्जब छैन त? हामी पनि गज्जबका छौं। कहिले प्रजातन्त्र भन्दै उचालिन्छौं।......