Skip to main content

देश गज्जबको छ

पटुकी कसेर भोकै खेतमा निस्कन्छन् यहाँका खेतालाहरू। उम्रला र खाउँला भनेर गाउँले माइदाइहरू हलोले खेतको सिंउदो काट्छन्। देशको कुनै कुनाकी ख्याउटी आमै छोराछोरी भोकै नमरुन भन्दै उनीहरूसँगै पुलबाट फरालेर आत्महत्या गर्छिन्। यो ३३ कोटी देवता बसेको देशमा उनी र उनको परिवारको भोक मार्न कुनै देवता आउँदैनन् बरु एक टुक्रा समाचार आउँछ रेडियोमा, 'अर्थमन्त्रिले आफ्ना गुरुबालाई  ५ करोड भेटि चढाए, देशको ढुकुटीबाट।'
@nepaliadvocate
साँच्चै गजज्बको छ यो देश। थरिथरिका नै सहि, यो देशमा निक्कै क्षमता भएका मान्छेहरू छन्। अनेक तिकडम जानेका व्यापारीहरू छन्। एकाबिहानै प्लाष्टिकमा पोको परेर घरघरको ढोका ढकढकाउन आउने डेरीको दूधमा फोहोर पानी मिसाइन्छ । दूधमात्र हैन बोतलमा बेचिने पानीमा माटो मिसाइन्छ। सुनमा चुन मिसाइन्छ। चुनमा घुन मिसाइन्छ। कुहिएको पिठोबाट ताजा पाउरोटी बन्छ। आज हरियो भएको केरा भोली पहेलो हुन्छ। पर्सि पिलित्तै हुन्छ। कांक्रा हप्तादिनमा बढ्छ। साग दुई दिनमै हुर्किन्छ। दुई महिना लाग्ने तरकारी बाटेमा दुई हप्तामै तयार हुन्छ। ब्वाइलर कुखुरा, बर्डफ्लुआए मात्र सखाप हुन्छ। हैन भने ४५ दिन नपुग्दै जवान हुन्छ र अचानोमा मृत्युदण्ड स्विकार्छ। अज्जबको देश गज्जबको कहानी छ। कसले भन्छ यो देशमा केही हुन्न? यहाँ सबथोक हुन्छ।
जताततै कालो व्यापार, व्यापारको नामामा कालो धन्दा अपार। कोही उनका बिरुद्धमा चुइक्क बोल्यो भने तीनका पसलको सटर खस्छ। लाग्छ सटर पसलको हैन सरकारको मुखको खस्छ। व्यापारी सडकमा उर्लन्छन, जनता ठग्न पाउँ भन्दै कुर्लन्छन्, सरकारले लतक्कै घुँडो टेक्छ। घुँडै नभएको सरकार हो भने टाउकोलेनै भए पनि टेकि छाड्छ। किनकी यहाँ धेरै व्यापारीहरू कालो व्यापार मात्र चलाउँदैनन्, जनताको आँशुले रुझेर पत्रु भएको भएको राजनीतिक पाटी र लुरे सरकार पनि चलाउँछन्। कसले भन्छ यो देशमा केही हुन्न? यहाँ यति धेरै हुन्छ कि, त्यो कहिँ पनि हुन्न।
देश गज्जबको छ। सोच्नुहोस् फेरि एक पटक। किन गज्जबको छ ? दिउसै बजारको भित्तो तिर फर्केर मुत्न पाइन्छ। सडकमै टायरबालेर सुत्न पनि पाइन्छ। नेपाल बन्द भनेर चार जनाले सिठ्ठी फुक्न पाइन्छ अनि सुनसान सडकमा सरकारको मुखतिर हेरेर थुक्न पाइन्छ। गज्जब छैन त? हामी पनि गज्जबका छौं। कहिले प्रजातन्त्र भन्दै उचालिन्छौं।......
कहिले लोकतन्त्र भन्दै उफारिन्छौं। कहिले सर्वहारावर्गको क्रान्तिको नाममा कुर्लिन्छौं। हामी कुर्लेपछि दल र दलालको स्वार्थ पुरा हुन्छ। सर्वहारा बर्गको लागि भन्दै क्रान्ति गर्नेहरू सर्वहारी बन्न थाल्छन्। कुर्ची खान्छन्, सडक खान्छन्, ठूला ठूला भवन, योजनाहरू खप्लक्कै निल्छन्। क्षेत्रिय इयरपोर्टको नाममा कमिसन पनि खान्छन्। जागिरका विभिन्न तहतप्कामा आफ्ना मान्छे भर्ति गर्छन्। आफू र आफन्त अघाएपछि फेरि हामीलाई क्रान्तिका नाममा अर्ति छर्छन्। तर हामी सधैं भोकै हुन्छौं। लतारिन्छौं। लछारिन्छौं। अनि जसरी चुनावबाट उठेर देश संविधान सभा पुगेर पछारियो, त्यसैगरि पछारिन्छौं पनि। फेरि चुनावको हल्ला आउँछ, 'चुनाव गर्नुपर्छ, गर्नु हुन्न, लु गर त, हेरुँला' । झमेला बीचमा झण्डै १६ अर्ब बजेट खन्याउन तयार पारिन्छ। हामी भने चिल्लै। कसले भन्छ यो देशका नेताको बुद्धी छैन? नभाको भए घरि घरि एउटै काममा पटक पटक हामीलाई लदाउन सक्थ्यो? यहाँ त एक सय एक दुरदृष्टि भएका। गिद्धेसृृष्टिबाट जन्मेका नेता छन्। जो छिमेकी देशका अघि कमजोर छन् तर देश र जनताका अघि कामचोर छन्।
बरु हामीलाई भने जे भएपनि चलेकै छ। बोक्सीको नाममा हजुरआमाहरू जलाइन्छ। आफ्नै बाबु बलात्कारी बनेर निस्कन्छ। प्रहरीको मस्ट वान्टेड सुचिमा परेकाहरू गृहमन्त्रीको आसेपासे भएर डुलेकै थिए। सर्वोच्च न्यायलयले हत्याको दोषी ठर्‍याएकाहरू पनि सडकमा खुलेआमा हिडेकै हुन्। जेलभित्रबाटै नेताले अपराधी छुटाइदेउ भन्दै दबाद दिन फोन घुमाउन पाएकै छन्। छोरोको हत्यारालाई कार्वाही गर भनेर अनशन बस्दा, नेता भनाउँदाले फाइल नखोल भन्दै थर्काएकै छन्। हरेक अपराधलाई राजनीतिक रंग दिएर मुद्धा सल्टाउँछन्। उता कोरिया पठाइदिने नाममा दलालहरूले हाम्लाई ठगेर भुँडी पल्टाउँछन्।
उल्टाउने र गुल्टाउने काममा भुँइचालोको डर उत्तिकै छ। तर यहाँ विपत्तीको भुइँचालोले भन्दा अख्तियारको भुइँचालोले बजार हल्लाउँछ। अझ अख्तियारको भुइँचालोले भन्दा कर्मचारी सिन्डीकेटको माखेसांङ्लोले पुरै देश हल्लाउँछ। 'हावा सेवा निगम' उडाउने देश न पर्‍यो। सबै कुरा हावै हावामा नभए केमा हुन्छ त? एउटा जहाज बनाउनका लागि पचासौं कर्मचारी सिंगापुर भ्रमण जान्छन्। २५ करोडमा बनाएको जहाज पाँच दिनमै बिग्रेपनि के नै बिग्रेको छ र? देश छ, धन छ लुट्न त बाँकी छनी। कसले भन्छ नेपाली अनपढ र सोझो छ भनेर? बांगिनका लागि अब केही बाँकी छ र? यो देश साँच्चै गज्जबको छ।
अब न बांगिन बाँकी छ न नांगिन बाँकी छ। कहिले भारतसँग गएर नांगियौं, कहिले चाइनासँग गएर नांगियौं। खासमा हामी आफू आफू बीचमै नराम्ररी जेलिएर झांगियौं। कोही आउला र देश बनाइदेला भनेर कुर्दै बस्यौं। बाजेले कुरे, बाँकी कुर्ने जिम्मा बालाई छाडे। बाले कुरे, बाँकी कुर्ने जिम्मा हाम्लाइ छाडे। बज्यै, आमा र दिदीहरूले पनि त्यही गरे। हामीले कहिले सम्म कुर्ने हो? हजुरबाले कुरेको मेलम्चीको पानी उनका खनाँतीले पनि घाँटी भिजाउन नपाउलान जस्तो छ। पानीको काम, कहिले डुब्ला घाम। काम ढिलो गराएर हुन्छ वा लम्बेतान कुरा निकालेर हुन्छ। परियोजनाको अवधी लम्बाउने। लागत बढाउने र सरकारी ढुकुटी सक्काउने दाउमा रात दिन कर्मचारी देखि नेता, विदेशीसंस्था सम्म लागिपरेका छन्। माथिल्लो तामाकोशीमा ५ अर्ब घाटा/घोटाला भयो। आखिर के भयो त? एकदमै ठूलो कुरो भनेको हल्ला भयो। बस त्यत्ती हो। यहाँ हरेक पटक रातारात ठूला दल भनाउँदाहरूको सल्लाह हुन्छ अनि भोली बिहानै हिजोको कुरा मिलेन भनेर सबै तिर हल्ला हुन्छ। अरु केहुन्छ र?
हल्लैको कुरा। मनदेखि भन्नुपर्दा। देश देशकाले भन्दा विदेशीले धेरै हल्लाएका छन्। सत्ता विदेशले चलेको छ। बजार बिदेशले चलेको छ। संस्था विदेशले चलेको छ। अझ मुख्य कुरा, देश बास्तवमा विदेशको कमाइ, रेमिट्यान्सले चलेको छ। तर विदेश गएको सग्लो ज्यान रेमिट्यान्सको नाममा हरेक दिन लाश बनेर देश भित्रन्छ र हामीलाई दुखाउँछ। बढ्दो अमेरिकन डलरको भाउले चेपुवामा परेको नेपाली पैसो नेपाल भित्रने बित्तिकै विदेशी सामान किन्न बजार पुग्छ। टिभी, फ्रिज, पंखा, सोफा, डल्लफ के के हुन के के। त्यही बजारमा रित्तिएको पैसो फेरी विदेशिन्छ। खानेकुरै किन्न पर्‍यो भने पनि एक पाउ सामान किन्न चार पाउ पैसा लिएर बजार निस्कनु पर्छ। नुन १७। चिनी ७०। तेल १ सय ७०।
कसले भन्छ यस्तै तालले नेपालको विकाश हुन्न भनेर? के यहाँ विकाश भएको छैन? बजार भाउको विकाश भएको छ। जनसंख्याको विकास भएको छ। दिनहुँ भोट दिने मान्छे भन्दा बढी संख्यामा रहेका राजनीतिक दलहरूको विकाश भएको छ। पैसा नै नभए पनि बैंकहरूको विकाश भएको छ। खातामा रकम शुन्य नै किन नहोस्, पर्स भरि एक मुठ्ठा एटिम कार्ड बोकेर हिड्न पाइएको छ। खासमा यस्तै चाहिएको छ। देश साँच्चै गज्जबको छ।
विदेशमा बसेर नेपालमा सरकारी सेवाको पेन्सन पकाउने पनि यहिँ छन्। सरकारी जागिर खाएर विदेशी नागरिकता लिने धूनमा पनि धेरै छन्। सित्तैमा पाए अलकत्रा पनि खाएर मट्टितेलले कुल्ला गर्छन्। विद्युत प्राधिकरणकै उच्च अधिकारी चार अर्बको ट्रान्सफर्मर निल्न सक्छन्। बीस हजार अनुदान कुम्ल्याउनको लागि डाक्टरहरू पाठेघर फाल्ने व्यापार चलाउन सक्छन्। धेरै क्षमता भएका मान्छे छन् यहाँ। सडकमा मोडिफाइड बाइक बजारै हल्लने गरि ढ्वाँ ढ्वाँ गरेर कुदाउँन सक्ने खुबी भएका युवा छन्। जाबो बाइक त त्यसरी दगुराउँछन्, रकेट पाए भने झन कति कुदाउलान? विहान खाना खाएर चन्द्रमा गएका नेपाली युवा दिउँसो ट्वाइलेट गर्न देशमै फर्के भन्ने रेकर्ड राख्न सक्छन। कसले भन्छन् नेपालीले केही जान्दैनन भनेर? बरु नेपालीले जान्ने जस्तो अरु कसैले जान्दैनन्। किनकी देश गज्जबको छ।
सिमानाबाट रातारात जंगेपिल्लर हराउँदा पनि देश चुपचाप छ। उताका छिमेकीले हाम्रै जमिनमा बाँधेको बाँधबाट खडेरीमा सप्पै पानी उतै ओरालो लाग्दा पनि हामी चुपचाप छौं। बाढी आउँदा, बाँधका ढोका बन्द हुँदा, देशै डुबानमा पर्दा सरकार चुपचाप छ। देश फर्कदा सिमानामा आफन्त लुटिँदा हाम्रो प्रशाशन चुपचाप छ। तै पनि कसले भन्छ नेपालीहरूले बोल्न जान्दैनन भनेर? चाहिएको ठाउँमा पो बोल्दैनौं। गफाडी हामी, नचाहिएको ठाउँमा बरु अरुलाई बोल्न दिँदैनौं। काम थोरैले गर्छन्। गफ सबैले दिन्छन्। जस्तै मैले गरेका सप्पै कुरा गफै जस्ता छन्। केही समयपछि मैले भुल्छु, तपाइले भुल्नुहुन्छ। देशले भुल्छ। हामीलाई भुल्ने बानी जो परेको छ।
(published on 1st Sep,013 in SETOPATI online: http://setopati.com/blog/3540/#sthash.P4DTekK5.dpuf)

Comments

Popular posts from this blog

मोबाइलको साटो पुस्तक

बाल मनोविज्ञानमा आधारित भएर लेख्नु आफैमा जटिल र चुनौती पुर्ण छ  । त्यसैमाथि सबै भन्दा सरल बनाउँनु पर्ने विषय पनि यहि रहेछ । बाल मस्तिस्कको सोचाइको धरातल फराकिलो बनाउँने  प्रयास म सधैं जारी नै राख्नेछु । बालबालिकाहरुलाइ आज राम्रा पुस्तक पढ्न दिँदा भोलीका दिनमा उनीहरुले रचनात्मक काम गर्न सक्छन् । हामी सबैले पढ्ने र पढाउँने बातावरण बनाउँन मद्दत गरौं । मेरा यी रचनाहरुमा चित्र कोरेर सुन्दर बनाइदिने नागरिक दैनिकका Dewen दाई र Yuwak जी, भाषामा सघाउने Shekhar दाई अनि प्रकाशनमा ल्याउँने Sangrila Book का Mani जीलाई धेरै धेरै धन्यवाद । म अछाम नपुगेको भए सायद यो बालकथा अाउँदैन्थ्यो होला । सन् २००९ मा Room to Read Nepal को कथा कार्यशालामा नअटाएको भए सायद 'हाम्रा खेलहरु' का बारेमा उबेला बाल कविता फुर्दैन्थ्यो । सधै‌ झै, छोराछोरीको हातमा मोबाइलको साटो पुस्तक दिउँ । उनीहरुका आँखा र दिमाग झनै तेजिलो हुनेछन् । अघिल्ला तीन कृती... माथिका तीन पुस्तकहरु ' पाठीलाई स्वेटर, भान्छामा चुट्किला, देउता खुशी हुनुभयो' तलका पुस्तक पसलहरुमा यस अघि नै आइसकेका छन् । नयाँ पुस्तक...

जाडोका चिसा उखान टुक्का

बिस्तारै बिस्तारै बढ्दै गरेको जाडोले विहान धेरै अबेर सम्म पनि हामीलाई बिस्तारामा सिरक भित्रै रोक्न सक्छ । झ्यालका पर्दा घामले नखोली कन हामी आफै खोल्न तम्सन पनि गाह्रो हुन्छ । विहानै तातो चियाको गिलासलाई ओठले चुम्न पाउँदा मात्र हात गोडा चलमलाउन थाल्छन् । अझ एका विहानै काममा जानु पर्ने वा कलेज जानु पर्नेलाई त जाडो कहिल्यै नआए हुन्थ्यो झै हुन्छ । यस्तो कठ्याङ्ग्रीने जाडोको बेलामा हाम्रा उखान टुक्काहरू कसरी बांगिने गर्छन्, यसबारेमा केही प्रसंग तल छ । तपाइलाई यो जाडो मौसम भरि न्यानो घामले माया गरोस शुभकामना ! जाडोले कामेको गोरुलाई बोरा ओढाउन सकिन्छ, सिरक ओडाउन सकिन्न अनिकालमा बिउ जोगाउनु, चिसोमा जिउ जोगाउनु चिसोले समाएको मान्छेलाई, आइसक्रिमले पनि लखेट्छ अर्काको आंङमा गन्जी लगाएको देख्ने, आफ्नो आंङमा जकेट लगाएको  नदेख्ने ? हिटरले पोलेको मान्छे, राइस कुक्कर देख्दा तर्सन्छ  थर्मस फुटे, तातो लुटे खाइ न पाइ, लेदर जकेट लाई  काम पाइनस छोरो, मोजामा आइरन लगाइ

भाइबहिनीसँग भेटघाट

‘‘चश्म खोलेपछि मात्र किताबमा भएको राइटरको फेस तपाइसँग मिल्छ । हजुरले किन कथा लेख्नुहुन्छ ? पाठीलाई स्वेटर मैले दुइ कक्षामा पढेको बेस्ट बुक हो । मेरो घरको ढोकामा सधैं बिरालो आउछ । मैले दूध दिन्छु । यसको पनि कथा हुन्छ ? हाम्रो लागि अझै धेरै कथा लेख्दिनु है । अब कहिले आउनु हुन्छ ?’’ कक्षा तीनमा पढ्ने नानीबाबुका कलिला बोलीले फूलजस्तै गरि मनमा छोए । 'लेखकसँग अन्तरक्रिया'मा आफ्नो पुस्तक ‘भान्छामा चुट्किला’ बाचन गर्न र कथा लेखनका बारेमा बताउन उनीहरूको विद्यालयमा पुगेको थिएँ । हामीले यस पुस्तकका चित्रकार Yuwak Shrestha लाई पनि सम्झियौं । नानीबाबुहरूले दुई कक्षामा मेरो अर्को पुस्तक ‘पाठीलाई स्वेटर’ पनि पढेका रहेछन् । लगभग ८० जना नानीबाबुका माझमा कथाबाचन गर्न र हराउन पाउदा नयाँ कथा बुन्ने उर्जा मिलेको छ । अवसरका निम्ति युलेन्स स्कूल ललितपुर र शिक्षिका मिना लुइटेल जीलाई धेरै धेरै धन्यवाद । अब चाँडै स्वतस्फुर्त रूपमा केही सामुदायीक विद्यालयमा कथा बाचन गर्ने र बुन्ने कला साट्न पुग्ने योजना बनाएको छु । ज्ञान बाँडे पक्कै बढ्दछ, नबाँडे सर्लक्कै घट्दै जान्छ । #childrensbooks #nepalichildren...