Saturday, July 16, 2011

अधिकारी जोडी

 बिहान ७ बजिसक्दा पनि हुस्सुले आकाश छोड्न मानेको छैन । वातावरण चिस्सिएकाले बल्ल तल्ल सिरक छोडेर वैठक कोठा सम्म उनीहरु आए । उमेरले बैषलाइ धेरै अगाडि छोडिसकेको थियो । तैपनि यी जोडीलाइ बूढेसकाल आएको पत्तो भने छैन । 'एउटो लौंरो काली काठको एउटो काठ पैंयुँ जेठीमाथि कान्छी थप्ने झिल्के ठिटो मैहुँ । ' भन्दै बोदनाथ अधिकारी ८७ ले गुन्गुनाउदा उनकी जिवन सँगिनी दिलकुमारी ७७ मरिमरि हाँस्न थालिन् । बूढालाइ के चाइयो उनी पनि अझ्झै हौसिएर टुक्का थप्न थाले ।
चिया ल्याउदै गरेकी नातिनी सुस्मितालाइ देखेपछि बल्ल आफ्नो उमेर ढल्किएको पत्तो पाएछन् । 'मन बूढो छैन उमेर गएर के गर्नु 'भारतिय पल्टनमा युवाअवस्थाका चार वर्ष बिताएका बोदनाथले चियाको चुस्की तान्दै थपे-एकबारको जुनी हाँसखेल गरेरै बिताउनु पर् यो नी ।
गोर्खा पुख्र्यौली घर भएका अधिकारी जोडी कलंकी काठमाडौं स्थित जेठो छोराको परिवारसँगै बस्दै आएका छन् । पुजापाठसँगै उनीहरुको बिहानी सुरु हुन्छ । 'म त चिया पिएपछि घामलाग्यो भने यसो टोलमा टहलिन्छु ।' बोदनाथ भन्छन्- आफुजस्तै बूढाखाडा भेटेँ भने बुढेसकालको मीठो गफ पनि हुन्छ । 'राम्री ठिटाठीटी देख्नु भो भने अब नानीबाबुको बिहे गर्ने उमेर भएन भनेर जिस्काइदिनु हुँदो रै'छ । लाजले मरिमरी हाँस्छन रे,'  दिलकुमारीले यहिबेला हो भन्दै बूढालाइ पेलिन् ।

सुकुम्बासी सपना


लस्करै लाम लागेका टहरा । केही बाँस तथा काठका साटाले बारिएका केही भर्खर इट्टा जोडेर उकासिएका । कहीँ टिन कहीँ प्लास्टिक ओढेर खोलाका तिरमा बसेका । बीचबाट सिउँदो काटिएको साँघुरो धुलौटे बाटो । आवरण सुन्दा लाग्नसक्छ हामी कुनै गाउँमा पुगेका छौं । तर हैन यो राजधानीको व्यस्त रहने सडक थापाथली पुलबाट पूर्वतर्फ देखिने दृश्य हो । यही दृश्यभित्र कैद थिए एक तामाङ बूढा बिरबहादुर ।

बस्ती छेवैको बाग्मतीजस्तै उनको जीवन पनि धमिलिएको थियो । जीवनसँगै पुराना याद पनि धमिलिएका । तीन बीस उमेर काटेका तामाङलाई जीवनमा एउटै कुराको सुर्ता थियो 'कहिल्यै सुखको सास फेर्न पाइएन ।'

अस्तव्यस्त छाप्रोका चार भित्ताभित्र आफ्नी सँगीनीसँग जीवनका अन्तिम उमेर काट्दै थिए उनी । बूढ्यौलीले उनलाई मात्र हैन उनको झुपडीलाई पनि छोएको थियो । जाडोमा चिसो सिरेटो छेक्न नस्कने कोठाका चारबार । पानी परेकाबेला ओत दिन नसक्ने ढुंगा¬-दाउरामा चेपिएका प्लाष्टिकका छाना । त्यसभित्रको सानो संसारमा बितेका वर्ष उनका सिरानीहरु धेरै भिजे केही आँशुले केही वर्षाको पानीले । 'चुहिन्छ के गर्नु' छानो अड्याउन दाउरा बनाउँदै गरेका तामाङले यस संवाददातासँग सुस्ताउँदै भने 'राम्रो बनाउन सकिँदैन काम चलाउने न हो ।'

अब डिग्री पढ्छु



-भवसागर घिमिरे

मोबाईलबाट एफएम सुन्न मस्त उनको दुवै कानमा सेलटेपले तार जोडेर अडाईएको एयरफोन घुसारिएको थियो । एउटाहात बेतको सानो टेबल अडाउन व्यस्त थियो त अर्को हात इनामेल चोपिएको ब्रस नचाउँन । कुपण्डोल काठमाडौं स्थित आफ्नो पसलमा व्यस्त उनी घरिघरि ग्राहक आएकी भन्दै सडकतिर आँखा सोझ्याउन पनि भ्याउँथे । 'पढाईको क्वालिफिकेसन सोध्नु हुन्छ भने डिप्लोपास दिनभरि पसलको बासु उनले मन खोलेर हाँस्दै भने-अब डिग्री पढ्ने सोच छ ।

'घर भन्नुहुन्छ भने अर्घाखाँची पर्छ । नाम सोध्नु हुन्छ भने भानु' अधिकारी थरका उनले आफ्नोबारेमा बताउँदै गए, 'पसल खोल्या ६ वर्ष भो काम सुरु गर् या १३ ।' २०४४ सालमा प्रविणतमा प्रमाणपत्र तह सकेपछी जागिरको निम्ति धेरै भौंतारिए उनी । दुइदुई पटक लोकसेवा आयोगको परिक्षामा पछारिए पनि । जागिर खोज्न कर्णालीका जिल्ला मात्र धाएनन् ब्रुनाई र ताइवान जाने चक्करमा पनि झण्डै परे । 'कर्णालीमा बसेर सेवा अर्चु भन्दा पनि पाईएन के अर्नु' कानको यएरफोन थुत्दै उनले भने- अब डिप्लो पढ्दै काम सुरु नगरि भएन भनि काठमाडौं झरियो ।

बेग्लै कथा…


मानबहादुरको मन भन्छ मरेरै भएपनि म माथि गएर मालिकसँग मेरो जिन्दगीको हिसाब माग्नेछु ।

सबैले मानबहादुर भन्छन् । धादीङ्गे रानामगर हुँम । वर्ष ७२ । मान्छे होचो । बाउ राणासाशन छँदा सरकारी पल्टनमा काम गर्थे । आमा घर धन्दा र खेतिपाती । एउटो दाइ थे । अर्की दिदी । बाउले नोकरी छिटै छोडे । गाइभैसी हेर्ने घाँसदाउरा खोज्ने । बारी जोत्ने बाली लगाउने । मुखमा माड पुर् याउन मरेरै काम गर्नु पथ्र्यो । बाले दाइलाइ घरमै अक्षर चिनाको याद छ । मैलेचाइ पढ्न पाइन् ।

घरमा खानपानगर्न मुस्किल पर्न थाल्यो । पन्ध्र सालमा काम खोज्दै हेटौंडा झरियो । कुल्लि बनेरै चार बर्ष बित्यो । दुइचार पैसा हात पथ्र्यो । चलेकै थियो । १९ सालमा पुष्प समशेरका छोरा महेशले घर बनाउने काममा बोलाए । लौंत भनेर गएँ । घरबनाउन खट्टिनेहरु धेरै थिए । राप्ती खोलाबाट पानी बोकेर ओसार्नु पथ्र्यो । कुनै बेला हात खाली हुन्थेन् । महिनौं काम गर्दा पनि ज्याला नपाउनेहरु भागे । न मैले पैसा पाएँ न भाग्न । काम नगरि सुखै थिएन ।

तिन वर्षमा ठूलो घर बन्यो । मैले उनिहरुको घर बनाए उनिहरुले मलाइ त्यही घरको नोकर बनाए । सधै ठूलाठूला कुरा गरेर मलाइ फकाउथे । म उनिहरुको कुरो पत्याएर काममा जोतिन्थे । विहानै उठेर म दुवो फूल टिप्थे उनिहरु देवता पुज्थे । म जुठाभाँडा मोल्थे उनीहरु मस्त बस्थे । म बिग्रे भत्केका ठाउँ मर्मत गर्थे उनीहरु रमाउथे ।

कस्तो थियो त्यसबेला

-भवसागर घिमिरे
चैत महिनाको अन्तिम साता २०६२ को एक दिन । शहरमा ुब्लाक आउँटु को आव्हान थियो । पांगा दोवाटो कीर्तिपुरको मुख्य सडक छेवैमा रहेको निराकार सुवेदीको कोठाबाट बाहिर नियाल्दा पुरै चुक घोप्टाएको झै देखिन्थ्यो । घरि घरि ुबत्ती नबाल्नु हैु भन्ने अनुरोधमात्र हैन गणतन्त्रका पक्षमा चर्का नारा पनि सुनिदै थियो ।
अध्ययनकालागि दाङ्गबाट कीर्तिपुर पसेका सुवेदी भर्खर स्नातकोत्तर प्रथमवर्षका पाना पल्टाउन सुरु गर्दै थिए । मन भने एउटै कुराले चाचल बनाइरहेको थियो ुदेशभर के के हुँदैछ ु
ुरेडियो थिएन बत्तीबालुँ भने आन्दोलनमा असहयोग हुने भो । कोठाको पुरानो टिभी खोलुँ भने बाहिरबाट उज्यालो देखिन्छकी भन्ने पिरु बाठा सुवेदीले टाठा कुरा सुनाए ुमेरो पालो तन्नाले टिभी र आफूलाई घप्लक्कै ढाकेर मज्जैले समाचार हेरेँ ।ु
सुवेदीलाई झै जनआन्दोलनको चासो हर नेपालीलाई थियो त्यसबेला । दिल्लिमा भएको सातदलको बाह्रबुँदे सहमती लगत्तै विद्यार्थीसंगठन पनि एक ढिक्का भएका थिए । एककान दुइकान मैदान हुँदै आन्दोलनको सुईँको कीर्तिपुरमा पनि पस्यो । हर ढोकाका कापबाट छिरेका खबरले विद्यार्थी मन जुरुक जुरुक बनाउँथ्यो । अनि त माहुरीका गोलबाट झै विद्यार्थी सडकमा फुरुरु निस्केका थिए । उनीहरु बिचहुने राजनीतिक चर्चाले हर साँझ ुकीर्तिपुरे चोकु लाई सेलाउन दिँदैन्थ्यो त्यसबेला ।

Friday, July 15, 2011

कारागारको आँखी झ्यालबाट


-भवसागर घिमिरे

सुन्धाराको पेट्रोलपम्प पछाडीबाट दक्षिण मोडिने हो भने धुलौंटेबाटे आउँछ । काठमाडौं महानगरपालीका छेवैको यो बाटो कालोपत्रको पर्खाइमा थियो । बायाँ मोडिए पछि जेलरसाबको कोठा आउँथ्यो भने दायाँ मोडेपछि महिला कारागार ।

जेलरसाब उप-सचिब शंकर अर्यालको कोठा बाहिरका भित्तामा थुनुवा सुची ठिङ्ग उभिएको थियो । ५४ ज्यानमार्ने उद्योग ४८ लागु औंषध २ चोरी १२ ठगि आदि शिर्षकमा कारागारमा कैदी र थुनुवा गरि जम्मा महिलाका संख्या उल्लेख थियो एक सय ७२ । पुरुषको त अझै बढी । फागुनको तेस्रो साता कारागारमा १८ देखि ७० हाराहारी सम्मका महिला थिए । ७० काटेका कानुन अनुसार राख्न नमिल्ने भएकाले तीन वृद्धा भने निस्कने तर्खरमा ।

कारागारमा थुनुवा भेट्न आउनेको निक्कै चहलपहल थियो । ओहोर दोहोर गरिरहने प्रहरीको गाडी सडकको सस्तो पाउडरले पैदलवालाई अभिषेक गर्दथ्यो । साईरन बजाउदै धुलो उडाउदै आउने फोरह्वीललाई सेन्ट्रीमा बसेका प्रहरीहरु एक हातले नाक थुन्दै अर्का हातले सोलुट ठोक्थे । सोलुट ठोक्ने प्रहरीलाई टुलुटुलु हेर्ने ९४ वर्षको ुबूढो कारागारु ठाउँठाउँमा भत्किएको थियो । लाग्थ्यो पर्खालहरु भत्केका हैनन् ओठ च्यातेर हाँसेका छन् कानुनको चर्तिकला देखेर । बूढो कारागारको दर्शन गर्दै म पनि अग्लो पर्खालको फेदैफेद उत्तरतिर लाग्न थालेँ । महिला कारागार पुग्ने मेरो योजनामा सहायता दिँदैथिए वृद्ध कारागारका एक वृद्ध कार्यलय सहायक । मोबाईल लैजान वर्जित महिला कारागारका सन्नाटा आँखामा परेपछि मनको भावुकता मुहारमा आएर पोखियो ।