म विधिको पक्षमा, तपाईं नि ?

भवसागर घिमिरे

‘तपाईं कुन पक्षको ?’
केही दिनअघि राजस्वले राजधानीका केही ‘कारखानामा’ छापा हान्नेबित्तिकै एक साथीले फेसबुक म्यासेजमा सोधिहाले ।
‘विधिको शासन’ मैले उत्तर छोट्याएँ ।
‍‍...
दिमाग यहिँबाट घुम्न सुरु भो ।
यहाँ कुनै घटना हुनेबित्तिकै पक्ष विपक्षमा चर्काचर्की हुन थाल्छ । प्रहरीले पक्रियो भने पनि सोध्छ, ‘तपाई कुन पार्टीको ?’ पार्टीको हैन भने बल्ल अपराधबारे सोध्न सुरु गर्छ । सामान्य नागरिक पर्यो‍ भने सोध्नभन्दा उस्तै परे गोद्न सुरु गर्छ, राजनीति दलको रंगमा रंगियो भने । यहाँ गधा रंगिएर गाई बन्न सक्छ । डोकोमा दूध अडिन्छ । सूर्यलाई हत्केलाले छेक्न सकिन्छ। यातायात कार्यालयका दलालको घाँटीमा त कार्यालयले अस्थायी कार्डको दाम्लो बाँधेर चोख्याउन सक्छ भने राजनीतिको रंग त त्योभन्दा पनि कडा हुन्छ । यहाँ विधिको कम राजनीतिक दलहरूको शासन धेरै छ । सिन्डिकेटको शासन छ ।
तै पनि जनमत कहिल्यै यिनको कुशासनको पक्षमा छैन । जनमत कमजोर पनि हुँदैन । जनमत कहिल्यै व्यक्ति वा संस्थाको पक्षमा हैन, त्यसले गर्ने व्यवहारको पक्षमा छ र रहिरहन्छ । ढुंगा निचोरेर पानी निकाल्ने मात्र हैन, पानी निचोरेर आगो निकाल्ने हैसियत यसले राख्छ ।
विगत नै हेरौं । हामी कहिल्यै लोकमानको पक्षमा भएनौं । न कहिल्यै खिलराज रेग्मीकै पक्षमा भयौं । यी दुवैको नियुक्तिका बेलामा उनीहरू बिरुद्धका ठूला बहस चलेकै थिए । अझै चलेकै छ । अहिले अख्तियार होस् या राजस्व विभाग । बार होस् या ल फर्म । वकिल हुन् या डाक्टर । हामी कसैको पक्षमा छैनौं र हुन्नौं पनि । मात्र उनीहरूको व्यवहार पछ्याउँछौं । कालो कोटभित्र कालो मन लिनेहरू पनि छन् यहाँ । सेतो कोटभित्र कालो मन हुनेहरू पनि छन् । कालो कोटभित्र सेतो मन । सेतो कोटभित्र सेतो मन हुनेहरू भने निकै कम छन् । यी हामीले भोगिसकेको, देखिसकेको र बुझिसकेका सत्यहरू हुन । महलवाला हुन् वा मजदुर सबै एउटै कानुनले बाँधिनुपर्छ, हाम्रो विचार यत्ति हो, सत्य डग्न हुँदैन, असत्यले टिक्न हुँदैन ।
कुर्चीमा बस्नेहरूले प्रतिशोधको राजनीति सुरु गरे भन्ने तर्क पनि छन् ।
यिनमा पनि केही दम होला । बाजेको पालादेखिका रिस साँध्ने मौका, कुर्चीको चौकामा बसेपछि पाए होलान् कसैले । रिस साँध्ने नाममा अदालतको कठघरामा न्यायलाई नै अपराधी बनाएर उभ्याए भने त्यसमा हाम्रो विरोध जारी रहन्छ । बाहिर एउटा आधार देखाउने र भित्र आफ्ना प्रतिपक्ष, आलोचक सिध्याउने दाउ लगाएका हुन् भने तिनलाई पनि समयले कुनै दिन कानुनको घेरामा उभ्याउँला । हुन त दुवै पक्ष ‘मुखमा रामराम...’ हुन पनि सक्छन् । यहाँ अरुको घरमा ढुंगा हान्नेहरू, आफू सिसाको घरमा बसिरहेको भुल्ने पनि धेरै छन् । यदि भित्री सत्य यही हो भने प्रतिशोधको राजनीतिले पहिला एउटालाई लडाउँला । पछि अर्कोलाई लडाउँछ । आखिर एक दिन दुवै लड्छन् र नांगिन्छन् । पहिला लुगा लगाएर नांगो थिए, अब लुगा नलगाई नांगिन्छन् । हामीले देख्न पाउँछौं । बुझ्न पाउँछौं, को–को स्यालको खोल ओढेर सिंहको स्वरमा गर्जिरहेका थिए भन्ने कुरा ।
हुन त जनमानस पनि निक्कै उत्तेजित छ । आक्रोशित छ । सानो खुशीमा ठूलो ताली बज्नु, सानो दुःखमा चर्को रुवाइ सुनिनुको पछाडि ठूलो कारण छ । पलपल देशको ढुकुटी लुटिँदा, हाम्रा विश्वासहरूमाथि बलात्कार भइरहँदा । तिर्खाएका हाम्रा आँखाहरूले समाजमा हिरो पात्र खोजिरहेका छन् । सत्तामा हिरो खोजिरहेका छन् । देश हाँक्ने । प्रशासन हाँक्ने । निडर, निष्पक्ष । अझ केही बेथितिले विरक्तिएका युवाका 
विचार सापटी लिँदा, स्वतन्त्रतामा एक चिम्टी निरंकुशताको अमिलो मिसिएकै किन नहोस् तर टक्क अचारजस्तो हिरो । हाम्रा आँखा अझै उनीहरूलाई खोजिरहेका छन् ।
तातै कुरो खेलकुदको । देशमा राष्ट्रियता खडेरी थियो । छ पनि । सेमिफाइनलको कुरा एकैछिन बिर्सौं ।
अघिल्लो फुटबल खेलमा भारत बिरुद्ध खेलाडीहरूले ज्यान दिएर खेले । जिते पनि । रंगशालाबाट निस्केको राष्ट्रियताको धुन टिभी, रेडियो, मोबाइल, इन्टरनेट हुँदै घरघरको दैलोमा पुगेर गुञ्जियो । हामी चिच्यायौं, करायौं र एकै छिन खुसीमा हरायौं पनि । हाम्रो राष्ट्रियताको भोक खेलाडीको गोलले थोरै भए पनि मा¥यो । हर्षको आँशु झार्ने सानो कुनो भेट्टायौं ।
प्रशासनकै कुरा गरौं । विगतमा प्रहरी रमेश खरेलले अपराधीको कठालो समाएर कानुनको स्वाद चखाए । उनी चम्किए । विधिको शासन चलाए । हामीले ताली पिट्यौं । उनी हाम्रा हिरो भए । पूर्वसचिव रामेश्वर खनाल पनि एकताका हिरै भएका थिए । करछली प्रकरणमा, कार्वाहीको अडान लिए । व्यापारीसँग डराएनन्, बरु पद छाडे । चम्केर हिरो भए । पूर्वमन्त्री गोकर्ण बिष्टले पनि एकफेर बजार पिटे । बिजुली उपभोग गरेको बक्यौता रकम नतिर्नेको सातो खाए । उनले हाम्रो ताली खाए । नतिर्नेहरूले गाली खाए ।
हामी विधिको शासनका पक्षमा, उनको कामको पक्षमा नारा लगायौं । अचम्मको कुरा, जसले जे जिम्मेवारी पूरा गर्नु पर्ने हो, त्यसले त्यही काम न गरेको हो । तर पनि गैरजिम्मेवारहरूका माझमा यहाँ जिम्मेवारी मात्रै पूरा गर्नेहरू पनि हिरो भएका छन् । हामीले उनीहरूको काममा देश, राष्ट्रियता भेट्टाउँछौं । हाम्रा आँखाको तिर्खा केही भए पनि मेटिन्छ । प्रशासककै कुरा, बाबुरामले सडक विस्तार गर्ने काममा धेरै ताली पाएका थिए । सडक विस्तारमा पारिवारिक कर्म र अन्य केही अपवाद बाहेक, उनी अब्बल निस्किए । कानुन मिच्नेले एकपटक दुरदिन देख्नुपर्छ भन्ने सन्देश गयो । पछि तिनको विधिको शासन कता हरायो, तिनी आफैं जानून् । तर तिनमा पनि हामीले हिरो खोजेका थियौं, उनले सोचेको भूमिका निभाउन सकेनन् । हराए । 
खोज्नु र हराउनुको बीचमा सर्वोच्च अदालतलाई पनि धेरैपटक सम्झनु पर्छ, देशको सर्वोच्च संस्था । अहिले वकिलहरूको बहसै नसुनी १७ मुद्दाहरु सर्वोच्चले खारेज गरेको छ । कानुनका बारेमा उनीहरू धेरै जानून् । तर एक्कासी आएको यो निर्णयपछाडि कुनै खास स्वार्थ लुकेको होला भन्ने बुझ्न गाह्रो छैन । यो निर्णयमा धेरैको विमति छ । तर कुनै बेला हामी पनि सर्वोच्चको ठूलै पक्षमा थियौं । संविधानसभा निर्वाचन समयमै हुनुपर्छ भन्दै सर्वोच्चले तत्कालीन सरकारको कानमा घन ठटाउँदा एकचोटि हामीले सडकबाट ताली ठटाएका थियौं । दलीय सिन्डिकेटले त्यसबेला हावा खाएको थियो । पूर्वमन्त्री सहितका केही भ्रष्ट्राचारीलाई खोर पठाउँदा हामीले जयजयकार गरेकै हौंं । सर्वोच्च हाम्रो हिरो थियो । हामीले त्यसको काम मन परायौं, शासन पनि । कार्यपालिका र न्यायपालिका फ्युजन भएर ‘कान्यापालिका’ भएपछि, अहिले विधिको शासन जरैदेखि हल्लन थालेको सबैको गुनासो छ । राजनीतिको ‘र’ ले धेरै फटाल्दैछ, सिउनुको साटो ।
नेपालको राजनीतिक खेल अचम्मै छ । हामीले चुनावमा रातो कार्ड देखाएकाहरू पनि समानुपातिकको ढोकाबाट फेरि खेल मैदानमा पसेका छन् । शासन सत्ता पनि चलाए । आफू जसै खेलाडी हुन यहाँ राजनीतिक खेलको नियम फेरिन्छ, २ सय ५ बाट ६ सय १ पुग्छ, हिरोको खोजीमा भोकाएका हामी जिल्ल पछौं । हुन त भोको पेटले राजनीति भन्दैन । भोकका लागि पहिला भोजनको चिन्ता हुन्छ, दलको हुँदैन । धेरैले हातमा दलका झण्डा बोकेर दालरोटी खान पाएका छन् । बाँचे संसार देख्न पाइन्छ, मरे अरुले देख्छन् । कहिले वाइसिएल, कहिले युथफोर्स त, कहिले तरुण दस्ताको नाममा बसका छतमा बसेर, खुलामञ्चका चौरमा तेर्सिएर धेरैले चिच्याएका होलान् । जागिरको खोजीमा दैनिक १५ सय भन्दा बढी विदेशिने भुमि यो । बेरोजगारको माखेसाङ्लोमा भोक्कै बाँधिनुभन्दा दलको झण्डा ओढेर शीतलता खोज्ने पनि धेरै छन् । तर नुनको सोझोका लागि भए पनि व्यवहारिकतामा सडक झर्नेहरू मनदेखि मनको सोझो विधिकै शासनका लागि गर्छन् । पछिल्लो समय राजनीतिक दलका कार्यक्रममा कार्यकर्ताहरू पातलिँदै गएका छन् । दलहरूले गर्ने बन्द र यसको अवज्ञा ताजा उदाहरण छ, हाम्रै अघि ।
ताजा उपहार । ‘संस्थागत ब्रम्हलुट’ लोकतन्त्रको सबैभन्दा गलत उपलब्धि बनेको छ । तरकारी, कुखुरा व्यबसायी हुन या दूध, सुन व्यापारी । यातायात व्यवसायी हुन् या होटल व्यापारी । कर्मचारी युनियन होस् या ठेकेदारी । सबै संगठित संस्थाको नकाब ओढेर स्वार्थ पुरा गर्न कानुन निमोठ्न हिच्किचाउँदैनन् । हुँदाहुँदा अब कानुनी राज्यको वकालत गर्नेहरूले नै राजस्वले ‘बिना पूर्वजानकारी’ छापा हानेको भन्दै बिरोध गरेको पढ्न पाइयो । बरु मुद्दाको कागजात र पेशी सूची लगेकोमा बिरोध गर्नु जायज थियो, ‘बिना पूर्वजानकारी’ भन्दै बारले छापा मारेको बिरोध गर्नु कत्तिको उचित हो ? अन्तरिम संविधानले कानुन व्यवसायीको हरेक काम गोप्य हुन्छ भनेर किटानी गरेको भन्दै भ्याट बिल पनि हेर्न नमिल्ने अधिवक्ताको अभिव्यक्ति कत्तिको जायज हो ? थप अनुसन्धान कार्वाही नै अगाडि नबढाउन संस्थागत रूपमा दबाब दिनु के यो न्यायसंगत हो ? भुइँचालो सोधेर आउँदैन । हुरिले मिसकल दिँदैन । कानुन बनाउनेले बुझनु पर्ने हो, कानुन ‘धारा’मा टेकेर दह्रो उभिन्छ, गोहीका आँशु बनी धाराबाट चुहिँदै रित्तिन । कानुनविद् हुन या कुल्ली । यी सप्पै एउटै कानुनको तराजुमा जोखिनु पर्छ, तर सप्पै चोखिनुपर्छ भन्ने छैन । न्यायको पक्षमा लड्नु पर्छ, कानुनको घेराभित्रै बसेर लड्नुपर्छ । हाम्रो चाहना, संस्थागत एकता लोकतन्त्र जोगाउनका लागि होस्, गिराउनका लागि नहोस् । नत्र कुनै दिन लोकतन्त्र अस्पतालको मुर्दाघरमा पुग्न बेर छैन । देश उसैसँग सती गयो भने रोक्ने कोही हुँदैन ।
- Published at : http://setopati.com/blog/3803/#sthash.p3s1YzdX.dpuf on 10th Sep, 2013

Comments