Skip to main content

‘दुब्ला पातल संघ’

अफ ट्र्यक

बालमन्दिरमा कुनै बेला चर्चामा थियो शिक्षकहरू माझ । म त्यसको साधारण सदस्या थिएँ । २०६१ सालको कुरा हो । भण्डारी (श्रीमणी) सर अध्यक्ष हुनुहुन्थ्यो । लामाचौरबाट आउने राजु सर पनि सदस्य । उनी पनि साधारणतया दुब्ला नै भएकाले साधारण सदस्य मानिएको थियो । यदि कुनै सदस्य मोटाउन थाल्यो भने उ स्वत सदस्यताबाट खारेजीमा पथ्र्यो । बरु झन दुब्लाउँदै गयो भने उ आजिवन सदस्य हुने सम्भावना रहन्थ्यो । केन्द्रिय सदस्यामा पनि लड्न पाउथ्यो । हामी बीच यस्तै सल्लाह थियो जसको त्यतीबेला स्कुल भरि हल्ला थियो ।
शिक्षक भए पछि भलाद्मी हुनु पर्छ । गमक्क परेर बस्नु पर्छ । चश्मभन्दा माथिबाट आँखा पल्टाएर हेर्न पर्छ । चर्को बोल्न पर्छ र बोली पिच्छे कड्किनै पर्छ । रमाइलो गर्नु हुन्न । यस्ता कुरा हाम्रो कुनै पनि शब्दकोशमा थिएनन् । त्यसैले क्यान्टिनमा खिर खाँदा होस्, या चिया बे्रकमा हामी ठट्टा गथ्यौं, संगठन विस्तार गर्नुपर्छ हामी दुब्लाहरूले ।
हामी माझ दुई निक्कै अग्ला र बलिया आसेपासे थिए, विवेक र केशब । साथीहरू सहकर्मी उडाउन भनेपछि निक्कै खप्पिस । त्यसैले त माहोल निक्कै रमाइलो हुन्थ्यो । हरेक कक्षा सकिएपछि अर्को कक्षामा पुग्नका लागि शक्ति संचय गर्न यस्ता कुराले निक्कै मद्दत गथ्र्यो ।
‘हावाहुरी लाग्यो, भवसागरलाई अल्लि खतरा छ,’ हुलमुलमा यस्तो सुनेपछि एक दर्जन हाँसो हुन्थ्यो । ‘उडाउँदैन, ढक बोकेर हिडेछु खल्तिमा’ मैले भने पछि हाँसो फेरी अर्को दर्जन थपिन्थ्यो । अनि पुनः नयाँ कक्षामा । हामी नयाँ उत्साह न हँसिलो मुहार लिएर जान्थ्यौं ।
हामी बीच धेरै यस्ता साथीहरू थिए । जो खुर्सानी जस्तो पिरो पनि थिएनन न निबुवा जस्तो अमिला थिए । खुदो जस्तो गुलीया मात्र पनि थिएनन् । यी सबै मिसाएर बनाइएको टक्क अचार जस्ता थिए । मेरो पहिलो र अहिले सम्मका लागि अन्तिम स्कुले शिक्षक हुँदाको सम्झना । त्यसैले सम्झना लायकको थियो ।
भण्डारी सर दुब्लो हुनुहुन्थ्यो । म झनै दुब्लो । राजु सर म भन्दा मसिना । उनलाई हेरेरै भए पनि म धेरै चित्त बुझाउँथे । अरु साथीहरू दुब्लो भन्न मिल्ने अवस्थामा थिएनन् । पाइन्ट लगाएपछि पेटीलाई धेरै भन्दा धेरै कस्नु पथ्र्यो । सर्ट लगाएपछि कम्मर छेउछाउ मुजा परेर बिग्रन्थ्यो । शरिर जो थियो, सुरीलो । पहिलो कक्षामा बाघ जस्तो पुरै गर्जेर पुग्ने हामी सातौं कक्षाबाट बाहिरीँदा सुकेको साग झै लतक्क पथ्यौं । ढल्न लागेको मेवाको रुखमा बाँसको टेको हालेझै, मिल्थ्यो भने ज्यानमा टेको हाल्न पर्ने हुन्थ्यो । हाल्थयौं पनि भन्नु पर्छ, सातौं कक्षा पढाउँदा कहिलेकाही अगाडीको डेस्कमा हात टेकेर पढाउनु पथ्र्यो ।
जोखिँदा म कहिले ४४ त कहिले ४६ पुग्थेँ । सोच्थेँ, ५० किलो भन्दा माथिका मान्छे नै नभइदिए हुन्थ्यो यो संसारमा । त्यसबेला त हामी पनि राम्रैमा गनिन्थ्यौं होला । किनकी दुब्लो हुनु र शिक्षक हुनुको पिडा बेग्लै थियो ।

आफू भन्दा उचाइ र वजनले ठूला ठूला विद्यार्थीहरू । गाली गरुँ, थर्काउँ भने पनि आँखा तरेर हेर्लान भन्ने डर । गर्न हुन्थेन, तैपनि कहिले काही एक दुई थप्पड लगाए पनि आफ्नै हातै झननन्न हुने गरि दुख्थ्यो । एक थप्पड हाने पछि आफ्ना दुबै हात पछाडी पारेर मोल्न पथ्र्यो पिडाले । बडप्पन जो थियो शिक्षक हुँ भन्ने, विद्यार्थी बनाउँछु भन्ने । तह लगाउँछु भन्ने ।
धन्न स्कुलले सरमिसहरूका लागि पोशाक छुट्टाइदिएको थियो । नत्र कुनै दिन विद्यार्थीको जस्तै पोशाक लगाएर आउने हो भने हामी दुब्ला पनि बिद्यार्थीमै हराउँथ्यौ. । विहानै विद्यार्थीसँगै लाइन बस्नु पथ्र्यो होला । हाम्रो पनि नंङ र दाँत चेक गरिन्थ्यो । हामीले झै हामीलाई पनि कुनै सरमीसले सातो लिन्थेँ, नंङ नकाटेकोमा । धन्न यस्तो हुन पाएन ।
स्कुलमा लगभग डेढ वर्ष जति अध्ययापन गरेपछि म पढाइको शिलशिलामा राजधानी पसेँ । उमेरसँगै मेरो ज्यानको वजन पनि बढ्न थाल्यो । दुब्ला पातला संघकोे मौखिक विधान अनुसार म सदस्याताबाट अहिले बाहिरिसकेको छु । भण्डारी सर पनि मोटाउनु भयो भन्ने सुनेको छु । राजु सर मोटाउन के नै बाँकी होला र ? सायद अहिले हाम्रो संस्था नै मेटियो होला । तर, मनबाट स्कुलका गुलिया सम्झना भने मेटिन सकेको छैन । मेटिने पनि छैन ।
(2013, Aug/ Kathmandu/Bhabasagar Ghimire)
sagarbhaba@gmail.com

Comments

Popular posts from this blog

मोबाइलको साटो पुस्तक

बाल मनोविज्ञानमा आधारित भएर लेख्नु आफैमा जटिल र चुनौती पुर्ण छ  । त्यसैमाथि सबै भन्दा सरल बनाउँनु पर्ने विषय पनि यहि रहेछ । बाल मस्तिस्कको सोचाइको धरातल फराकिलो बनाउँने  प्रयास म सधैं जारी नै राख्नेछु । बालबालिकाहरुलाइ आज राम्रा पुस्तक पढ्न दिँदा भोलीका दिनमा उनीहरुले रचनात्मक काम गर्न सक्छन् । हामी सबैले पढ्ने र पढाउँने बातावरण बनाउँन मद्दत गरौं । मेरा यी रचनाहरुमा चित्र कोरेर सुन्दर बनाइदिने नागरिक दैनिकका Dewen दाई र Yuwak जी, भाषामा सघाउने Shekhar दाई अनि प्रकाशनमा ल्याउँने Sangrila Book का Mani जीलाई धेरै धेरै धन्यवाद । म अछाम नपुगेको भए सायद यो बालकथा अाउँदैन्थ्यो होला । सन् २००९ मा Room to Read Nepal को कथा कार्यशालामा नअटाएको भए सायद 'हाम्रा खेलहरु' का बारेमा उबेला बाल कविता फुर्दैन्थ्यो । सधै‌ झै, छोराछोरीको हातमा मोबाइलको साटो पुस्तक दिउँ । उनीहरुका आँखा र दिमाग झनै तेजिलो हुनेछन् । अघिल्ला तीन कृती... माथिका तीन पुस्तकहरु ' पाठीलाई स्वेटर, भान्छामा चुट्किला, देउता खुशी हुनुभयो' तलका पुस्तक पसलहरुमा यस अघि नै आइसकेका छन् । नयाँ पुस्तक...

जाडोका चिसा उखान टुक्का

बिस्तारै बिस्तारै बढ्दै गरेको जाडोले विहान धेरै अबेर सम्म पनि हामीलाई बिस्तारामा सिरक भित्रै रोक्न सक्छ । झ्यालका पर्दा घामले नखोली कन हामी आफै खोल्न तम्सन पनि गाह्रो हुन्छ । विहानै तातो चियाको गिलासलाई ओठले चुम्न पाउँदा मात्र हात गोडा चलमलाउन थाल्छन् । अझ एका विहानै काममा जानु पर्ने वा कलेज जानु पर्नेलाई त जाडो कहिल्यै नआए हुन्थ्यो झै हुन्छ । यस्तो कठ्याङ्ग्रीने जाडोको बेलामा हाम्रा उखान टुक्काहरू कसरी बांगिने गर्छन्, यसबारेमा केही प्रसंग तल छ । तपाइलाई यो जाडो मौसम भरि न्यानो घामले माया गरोस शुभकामना ! जाडोले कामेको गोरुलाई बोरा ओढाउन सकिन्छ, सिरक ओडाउन सकिन्न अनिकालमा बिउ जोगाउनु, चिसोमा जिउ जोगाउनु चिसोले समाएको मान्छेलाई, आइसक्रिमले पनि लखेट्छ अर्काको आंङमा गन्जी लगाएको देख्ने, आफ्नो आंङमा जकेट लगाएको  नदेख्ने ? हिटरले पोलेको मान्छे, राइस कुक्कर देख्दा तर्सन्छ  थर्मस फुटे, तातो लुटे खाइ न पाइ, लेदर जकेट लाई  काम पाइनस छोरो, मोजामा आइरन लगाइ

भाइबहिनीसँग भेटघाट

‘‘चश्म खोलेपछि मात्र किताबमा भएको राइटरको फेस तपाइसँग मिल्छ । हजुरले किन कथा लेख्नुहुन्छ ? पाठीलाई स्वेटर मैले दुइ कक्षामा पढेको बेस्ट बुक हो । मेरो घरको ढोकामा सधैं बिरालो आउछ । मैले दूध दिन्छु । यसको पनि कथा हुन्छ ? हाम्रो लागि अझै धेरै कथा लेख्दिनु है । अब कहिले आउनु हुन्छ ?’’ कक्षा तीनमा पढ्ने नानीबाबुका कलिला बोलीले फूलजस्तै गरि मनमा छोए । 'लेखकसँग अन्तरक्रिया'मा आफ्नो पुस्तक ‘भान्छामा चुट्किला’ बाचन गर्न र कथा लेखनका बारेमा बताउन उनीहरूको विद्यालयमा पुगेको थिएँ । हामीले यस पुस्तकका चित्रकार Yuwak Shrestha लाई पनि सम्झियौं । नानीबाबुहरूले दुई कक्षामा मेरो अर्को पुस्तक ‘पाठीलाई स्वेटर’ पनि पढेका रहेछन् । लगभग ८० जना नानीबाबुका माझमा कथाबाचन गर्न र हराउन पाउदा नयाँ कथा बुन्ने उर्जा मिलेको छ । अवसरका निम्ति युलेन्स स्कूल ललितपुर र शिक्षिका मिना लुइटेल जीलाई धेरै धेरै धन्यवाद । अब चाँडै स्वतस्फुर्त रूपमा केही सामुदायीक विद्यालयमा कथा बाचन गर्ने र बुन्ने कला साट्न पुग्ने योजना बनाएको छु । ज्ञान बाँडे पक्कै बढ्दछ, नबाँडे सर्लक्कै घट्दै जान्छ । #childrensbooks #nepalichildren...