Skip to main content

पिनिमा साहिँलीको माइती सपना

एकपल्ट माइत सारो जान मन छ,' उनको रहर सुनेर म अचम्ममा परेँ। उनले माइत नदेखेको दुई दशक भन्दा बढी भइसकेछ।माइत भारतको ग्यान्टोक (गान्तोक)हो भन्ने थाहा थियो। तर यहीँ पर्छ भन्ने उनले बिर्सिसकेकी थिइन्। गइन्छ, गइँदैन? भेटिन्छ, भेटिँदैन? पाँचथर घुर्बिसे पञ्चमीकी ३६ वर्षे पिनीमा साहिँलीलाई बिहेपछिका २४ वर्ष एउटै प्रश्नले घोचिरह्यो, 'के म माइत जान पाऊँला?'
...
२०६८ पुस।
इलामबाट पक्की सडक हुँदै राँके बजार। त्यहाँबाट कच्ची सडकमा तीन घन्टा जीप चढेपछि उनको घर आइपुग्थ्यो। सुन्दा 'माइता जाने' सानो सपना पालेर बसेकी पिनिमा साहिँलीलाई यो नै अब जिन्दगीको सपना भइसकेको थियो। पिनिमा साहिँली नामले गाउँमा चिनिने उनको खास नाम भने भीमा हो। माइती थर आचार्य, घरको चेम्जोङ। 'भीमा आचार्य चेम्जोङ भो,' लिम्बू गाउँकी यी बाहुनी साहिँलीले हाँस्दै भनिन्। पिनिमाको अर्थ लिम्बू भाषामा बाहुनी रहेछ। बाहुनी साहिँली, डाँडाघरे, सिक्किमे साहिँली। गाउँमा उनलाई धेरै नामले चिन्थे।

माइत जानु। बाबा–आमासँग बेस्कन अंगालेर रुनु। तीजमा छमछम नाच्नु। दिदीबहिनी–दाजुभाइसँग मच्चिई–मच्चिई गफिनु। सानो छँदाका गोट्टा खेल्ने साथीहरूसँग मन फुकाउनु। उनको मनको आलमारीमा सपनाहरू पुस्तकझै चाङ बनेर बिस्तारै थपिँदै थिए। 'एकपल्ट माइत सारो जान मन छ सर,' उनले मुन्टो उँधो पारेर मलिन हुँदै हाम्रो भेटमा भनिन्, 'खै कइले जुर्छ था छैन।'
आखिर के कुराले उनलाई यतिका वर्ष माइत जान रोक्यो त? यही प्रश्न सोध्दै गर्दा उनले सम्झनाको पोको बिस्तारै फुकाउन थालिन्।
...
भारतको ग्यान्टोक सहर। चार भाइ, चार दिदी–बहिनी बीचकी साहिँली छोरी। १२ वर्षको उमेर, कक्षा तीन पढ्दै गरेका बेला। २०४६ सालताकाको कुरा उनले कोट्याइन। ग्यान्टोकको तातोपानी भन्ने ठाउँमा स्कुलको पिकनिक गएकी थिइन् रे उनी। पिकनिक सकिएपछि 'घर जाऊँ हिँड' भन्दै चिनेजानेका मान्छे देखा परे, सन्तकुमार राई। नेपालका राई ग्यान्टोकमा उनैको घर आसपास दाउरा चिर्ने काम गर्थे। सकेसम्म पछि त लाग्ने उनको मन थिएन। 'आफू चढेर आको बस भुलेँ,' उनले भनिन्, 'चिनेको मान्छे भन्दै उनकै पछि लागेँ।'


सन्तकुमारले पहिल्यैदेखि साहिँलीलाई पछ्याउदा रहेछन्। उनको भगाउने सुर। 'स्कुल बस भन्दै अर्कै बस चढाए,' उनले भनिन्, 'माटोमुनि (सुरुङ) बाट गाडी छिरेपछि घर जाने बाटो हैनछ भन्दै हाम फालेँ।' सडकमा खसेपछि बेहोस भएकी उनलाई सन्तले तुरुन्तै अस्पताल पुर्‍याए। प्रहरीले केरकार सुरु गर्‍यो। 'राजीखुसीले भागेर आ'को, लप म्यारिज हो भन्देँ,' उनले भनिन्, 'अर्काको देशाँ ड्याङ कि ड्याङ कुटेर मार्लान्, म बितराँ परूँला भन्ने डर भो।' आफूहरूसँग भएको केही पैसा प्रहरीलाई खुवाएर मात्र उनीहरू त्यहाँको झमेलाबाट फुत्किए।
यसरी एकाएक घर छाडेर भागेकी उनलाई अब अन्जान ठाउँमा चिनेको मान्छे सन्तकुमार नै थिए। मुख मोड्नुभन्दा सम्बन्ध जोड्नु नै ठिक लाग्यो उनलाई। यता पटक–पटकको प्रयासमा सन्तकुमारको हातमा पहिलोपटक 'लड्डु' परेको थियो। उनले मिठा कुराले साहिँलीलाई सम्झाए। भीमाले मन बुझाइन् र आफ्नो खुट्टाको सामान्य चोट सन्चो भएपछि उनी सन्तसँगै मिरिक पुगिन्। मिरिकमा उनले चिया बगानमा काम पाइन्, सन्तले आरा (काठ) काट्ने।
दुई वर्षपछिको कुरा। स्थानीय द्वितीया बजारमा भैलो खेल्न गएकी थिइन्। एक्कासि व्यथाले च्यापेछ, सुत्केरी हुने। अस्पताल लगेछन्। '१४ वर्ष हुँदा नै पहिलो छोरी भो,' उनले भनिन्। सानै उमेरमा पाएकी छोरी अस्पतालमै बितिन्। उनी २८ दिनसम्म अस्पताल बस्नुपर्‍यो।
यता साहिँलीको माइतीकाले भने छोरी हराई भन्दै सोधखोज गर्दै हिँडेका रहेछन्। आसपासै आइपुगेको सन्तकुमारले त्यसैबखत चाल पाए। त्यहाँबाट उनले भीमालाई लिएर तुरुन्तै नेपालको झापा पसे। उनीहरू झापाको पथरीमा दुई वर्ष बसेपछि पाँचथर बस्न आइपुगे, आफ्नै गाउँमा।
२०५० साल। बाहुनी केटी। लिम्बू गाउँ। भाषा नबुझिने। रहनसहन नमिल्ने। पहिला–पहिला त उनलाई निक्कै असजिलो लाग्यो रे। 'घाँसदाउरा गर्दा डाँडामा बसेर म उताकै भाका हाल्थेँ,' सुँगुुरलाई चारो दिँदै गरेकी उनले भनिन्, 'नयाँ लागेर होला, यहाँ सप्पै अचम्म मानेर सुन्थे।'
यसैबीच उनले यहाँ बिस्तारै काम पनि सिक्दै गइन्। भाषा पनि।


बिहेका बेला लिम्बू गाउँमा खुब रमाइलो हुन्थ्यो।
अलैची बारी पलेँटी पारी लौ खेलुँ जुहारी,
जुहारी खेल्दा हारँेछु भने तपाईंकै बुहारी
अलैंची बारी साइसाई र सुइसुई चरीलाई धपाको,
चरीलाई मैले धपाको हैन प्यारीलाई फकाको।
यस्तै–यस्तै टुक्का हालेर रातभर जुहारी चल्थ्यो। उनी पनि के कम! गाउन अघि सर्थिन् रे। बिहे भएर आइसकेपछि यस्तो गीत गाउनुहुन्न भन्दै उनका कान्छा ससुराले एक दिन सम्झाएछन्। उनी चुप रहिन्।
नयाँ ठाउँ, नौलो चलन। दिन बित्दै गयो। बिस्तारै उमेरले १६ टेकेपछि उनले पहिलो छोरा जन्माइन्, सुरेन।
सुत्केरी भएका बेला माइतीको धेरै याद आएछ। हुन त सन्तकुमारको मन पनि श्रीमतीलाई माइती देश देखाऊँ भन्ने नभएको होइन। आउँदा भगाएर ल्याएकोले कुन मुखले जाने? गाउँ आएको एक दशकसम्म पनि सन्तकुमारलाई यही प्रश्नको कालो बादलले घेरिरह्यो। न उनले साहिँलीलाई लिएर ससुराली जान सके न साहिँलीले आफैं घरको दैलो नाघ्न सकिन्।
सानासाना नानी स्याहार्नु। चुल्हो समेल्नु। अलैंची गोड्नु। आलु लाउनु। बाली भिœयाउनु। दिनहुँ उनको भागमा एकपछि अर्को कामको चटारो थपिन्थ्यो। जब तीज आउँथ्यो तब उनलाई उराठ लाग्थ्यो। माइतीको सम्झनाले च्याप्थ्यो। उनी रुन्थिन्। चिच्याउँथिन्। तर उनको मनको गाँठो झन् यसरी कस्सिँदै जान्थ्यो, लाग्थ्यो अब कहिल्यै फुक्दैन। 'कैले काइँ त सप्पै छाडेर भागूँझंै हुन्थ्यो,' उनी भन्दै थिइन्, 'मनले आँटे पनि पाइलै चल्दैनथ्यो।'
बिस्तारै माओवादी युद्धले चर्को रूप लिन थाल्यो। दिनहुँ अप्रिय घटना हुन थाले। बन्दुक बोकेका कहिले नेपाली सेना, प्रहरी त कहिले माओवादी लडाकु गाउँमा परेड खेल्थे। साँझको कुरा छाडौं, दिउँसै पनि बाहिर निस्कँदा डराउनुपर्थ्यो। कामधन्दामा हिँड्न पनि गाह्रो। अफ्ठ्यारो परिस्थिति आएपछि एकरात सन्तकुमारले आफू विदेशीने योजना सुनाए। 'बरु अलैंची गोडेर खाऊँला नजानूस् भन्दै रोएँ,' सहिँलीले भनिन्, 'आखिरीमा मैले रोक्न सकिनँ।'
२०६० सालमा सन्तकुमार विदेशिए, खाडी मुलुक। यति बेलासम्म उनको अर्को छोरा जन्मिसकेका थिए, सुमन। यसरी दुई छोरा हुर्काउने, पढाउने र घरव्यवहार सम्हाल्ने जिम्मा आएपछि उनले माइत जाने सपनालाई मनभित्रै बाँध्नुपर्‍यो, गोठको बँधुवा गाईजस्तै।
बिस्तारै छोरा हुर्कन थाले। कहिलेकाहीँ तिनैको अनुहार हेरेर चित्त बुझाउँथिन्। एकान्तमा रेडियो सुन्थिन्। समचारमै भए पनि माइती ठाउँको नाम सुन्न पाए हुन्थ्यो भन्ने लाथ्यो रे। यता श्रीमान् विदेशिएको आठ वर्षसम्म पनि गाउँ फर्कन पाएनन्। 'लुकेर काम गरेका छन् रे,' उनले भनिन्, 'आउँछु अनि तिम्रो माइती लैजाऊँला भनेका छन्।' यस्तै आशामा उनी मन बुझाउँथिन्।
मेहनती साहिँलीको मेहनतको फल। त्यहाँको भाषामात्र बु‰ने भइनन्, अलिअलि फर्काउन पनि जानिन्। बिस्तारै उनी गाउँले महिला समूहमा सक्रिय भइन्। भुल्ने बाटो– कहिले कसैलाई उपचारको लागि अस्पताल पुर्‍याउन सघाउँथिन् त कहिले कसैको गाह्रो साह्रो पर्दा झुल्किन्थिन्। सुरुमा गाउँ आउँदा 'अचम्मैको बोल्छे, लाटी छे' भन्नेहरू अहिले 'ऊभन्दा बाठी कोही छैन' भन्ने निस्कन थाले। बिस्तारै उनले गाउँमा वाहवाही कमाउन थालेकी छिन्। 'अरू जति सुःख पाए पनि के नपुगेजस्तो हुन्छ,' उनले भनिन्, 'माइतीको सुख भनेको भिन्दै हुँदो रै'छ।'
कहिलेकाहीँ त उनलाई लाग्छ– छोराहरूकै अल्झोले गर्दा आफू माइत जान नपाएको हो। यही सोचेर उनले तीज आउँदा छोरालाई रुँदै पिट्छिन पनि रे। 'जेठोले बढी कुटाइ खान्छ,' उनी हाँसिन्, 'एसएलसी सक्काएर लैजान्छु मन नदुखाऊ भन्दै उल्टै मलाई सम्झाउँछ।'
२०७० वैशाख
अघिल्लो नयाँ वर्ष (२०६९ साल) ले उनको जीवनमा दुई नयाँ समाचार ल्याएको थियो। छोरो फर्स्ट डिभिजनमा पास भयो। श्रीमान् देश फर्के। तर त्यो सालले उनलाई माइती देश भने पुर्‍याएन।
आफू जन्मेको ठाउँ। हुर्केको आँगन। कुकुर त प्यारो हुन्छ भन्छन्, माइती गाउँ र माइतका मान्छे प्यारो नहुने कुरै भएन। फेरि नयाँ वर्ष आयो। यो २४ वर्षको दौरानमा। उनले हरेक रात सिरानीमा झारेका आँसुले अब न्याय पाउलान् कि भन्ने आश थियो।
नभन्दै सन्तकुमारले एकदिन फ्याट्टै भने, 'तयार हुनू, अब ग्यान्टोक जाने।' यो सुनेर उनी चरीझैं भइन्, उड्न तयार बचेराजस्तो। झटपट तयार भइन्। छोराहरू पनि मामा घर पुग्ने भनेपछि हुरुक्कै भए।
एउटा २० वर्षको छोरो, अर्को १७। घरबाट निस्कने बेला साहिँली दाम्लो फुत्केको गाईजस्तो मन लिएर बाहिरिइन्। फर्केर एकपटक घर हेरिन् र श्रीमानको पछि लागिन्। इलामको पशुपतिनगर हुँदै उनीहरू बाटो लागे। जति अघि जान्थिन्, माइती गाउँको झझल्को झन बढ्दै जान्थ्यो।
लामो यात्रापछि उनीहरू ग्यान्टोक पुगे। माइती घरको स्वरूप फेरिएको रहेछ। तैपनि श्रीमान्ले ससुराली चिनिहाले। गेटमा पुगेपछि सन्तकुमारले सबैलाई 'एकछिनपछि मात्र आउनू' भन्दै एक्लै भित्र गए। पिँढीमा उनका ससुरा अनन्तराम र जेठान गफ गरेर बसेका थिए। सन्तकुमार सोझै अघि पुगेर उभिए।
'अनन्तराम बा..?' सन्तकुमारका कुराले ससुरा बूढा टोलाएको टोलायै भए। अचानक बूढाको अनुहारको रङ फेरिन थाल्यो। रिस, आवेश मिसिन थाल्यो। बूढा अचानक कड्किए, 'मेरो साइँली छोरी भगाउने सुब्बा साइँला होइनस्?' बूढा एक्कासि पिँढीबाट तल झरे। अझ चर्कोसँग भने, 'मेरी छोरी खै? काँ छाडिस्?' अब त जेठान पनि अघिल्तिर आइपुगे। रसिक सन्तकुमारले मुख खोलिहाले, 'ब्याजसहित ल्या'को छु।'
पिनीमा साहिँली र दुई छोरा लगत्तै देखा परे। उता आमा पनि बाहिर आइपुगिन्। साहिँलीले मन थाम्नै सकिनन्। ‰याम्म अंगालिन्। एकाएक माहोल अर्कै बन्यो। एकैछिन रुवाबासी सुरु भयो– खुसीको ।
साहिँलीले धीत नमरुन्जेलसम्म परिवारसँग रातभर गफ गरिन्। दिदीभाइ, साथीसंगी सबै भेटिन्। मिठा कुरा, मिठा खाना। उनीहरूले निक्कै रमाइलो गरे। फर्कने बेला उनका दाइ पाँचथर घरसम्मै पुर्‍याउन आए। उनको मनले २४ वर्षपछि बल्ल माइतीघरको उज्यालो देख्न पायो। केही समयअघिको फोन कुराकानीमा उनको खुसी बेग्लै थियो। भन्दै थिइन्, 'सर यसपालि त म माइत जान पाएँ, खुब रमाइलो भो।
Published in Akchyar of Nagarik, 070/05/22 ( See more at: http://www.nagariknews.com/nagarik-sanibar/story/6962#sthash.l017EDBd.dpuf)

Comments

Popular posts from this blog

एउटा खाली पाना

  एउटा खाली पाना जसमा कोरिन सक्थ्योे करौडा तालीका कविता एउटा खाली पाना जसमा बन्न सक्थ्योे अरबौं बिम्बका चित्र जबरजस्ती आगोमा फालियो एउटा खाली पाना जसले काँधमा थाप्न सक्थ्यो यो देशको भविष्य भर्खरै खरानी भयो एउटा खाली पाना एउटी निर्मला एउटी पुष्पा एउटी माया तपाई कै छोरी, दिदी,  बहिनी, चेली उहि, एउटा खाली पाना ।

लुते प्रशासन,लुरे लोकतन्त्र

प्रशासन लुतेकुकुर जस्तो भएको छ । नारा लगाउँदै हिडेका चार जना बन्दकर्ताहरूलाई गाडी सहित आएको दश जना पुलिसहरूले पहरा दिइराखेका थिए । उनीहरू भर्खरै मेरो कोठा अघिल्तिरबाट गए । ती चार जनाको डरमा यहाँ वरपरका चालीस भन्दा बढी सटरहरू ह्वार ह्वारति बन्द गरिए । न यो देश ती नाइके कहलिएकाहरूले कमाएका थिए, न उनीहरूको नुन खाएर हामी तंग्रिएका थिषैं । जुनसुकै पाटी किननहोस्, तिनीहरूलाई बन्द गर्ने अधिकार छैन र हामीलाई हामीले तिरेको करले बनाएको बाटोमा खुलेआम सवारी साधन चलाउने अधिकार छ । पसल खोल्ने अधिकार छ । व्यापार गर्ने अधिकार छ । तर खै अधिकारको सुरक्षा ? यहाँ त कुर्ची जोगाउनका लागि दलाल, घुसखोरी, दादागीरी चन्दागीरी र झण्डागिरी गर्नेहरूको मात्र सुरक्षा हुन थालेको छ । मेरो देशमा लोकतन्त्र आएर के भो त ? 

मोबाइलको साटो पुस्तक

बाल मनोविज्ञानमा आधारित भएर लेख्नु आफैमा जटिल र चुनौती पुर्ण छ  । त्यसैमाथि सबै भन्दा सरल बनाउँनु पर्ने विषय पनि यहि रहेछ । बाल मस्तिस्कको सोचाइको धरातल फराकिलो बनाउँने  प्रयास म सधैं जारी नै राख्नेछु । बालबालिकाहरुलाइ आज राम्रा पुस्तक पढ्न दिँदा भोलीका दिनमा उनीहरुले रचनात्मक काम गर्न सक्छन् । हामी सबैले पढ्ने र पढाउँने बातावरण बनाउँन मद्दत गरौं । मेरा यी रचनाहरुमा चित्र कोरेर सुन्दर बनाइदिने नागरिक दैनिकका Dewen दाई र Yuwak जी, भाषामा सघाउने Shekhar दाई अनि प्रकाशनमा ल्याउँने Sangrila Book का Mani जीलाई धेरै धेरै धन्यवाद । म अछाम नपुगेको भए सायद यो बालकथा अाउँदैन्थ्यो होला । सन् २००९ मा Room to Read Nepal को कथा कार्यशालामा नअटाएको भए सायद 'हाम्रा खेलहरु' का बारेमा उबेला बाल कविता फुर्दैन्थ्यो । सधै‌ झै, छोराछोरीको हातमा मोबाइलको साटो पुस्तक दिउँ । उनीहरुका आँखा र दिमाग झनै तेजिलो हुनेछन् । अघिल्ला तीन कृती... माथिका तीन पुस्तकहरु ' पाठीलाई स्वेटर, भान्छामा चुट्किला, देउता खुशी हुनुभयो' तलका पुस्तक पसलहरुमा यस अघि नै आइसकेका छन् । नयाँ पुस्तक...