Skip to main content

जाडोमा तातोपानी

बिहानै कास्कीको खारपानी, माछापुच्छ्रे, घाचोक गावीस हुँदै हेम्जाबाट पुनः पोखरा झर्ने हाम्रो योजना। साथीभाई व्यस्त नभइदिएको भए १० बजेको सट्टा ६ बजेनै यात्रा सुरू हुन्थ्यो होला। बगरबाट एघार बजेको गाडीमा पाईला राख्नु अघिसम्म दुइजना साथीको अत्तोपत्तो थिएन्।

थोरै भाग्यमानी थिए जसले गाडीमा सिट भेटे। ओगट्न कुदेकाले पनि अन्तिम तीन सिटमा मात्र चित्त बुझाउनु पर्‍यो। लामो बस। अन्तिम सिट, त्यसमाथि पनि गाउँ लैजान कोचेका चामल भरिएका बोरा। हामीलाई भने सोफा सेटै सरह भयो। दुईसाथी अझै आइपुगेनन्। गाडी हिड्नै लाग्दा हुलमुलका बिच पाएका सिट पनि हामी ६ जनाका निम्ति निल्नु न ओकल्नु भयो। गाडी छुट्यो भने दुइघण्टा अर्को कुर्नु पर्ने। एकैछिन रोकिदिन गरेको हाम्रो आग्रह पुरा हुन सकेन्।
छुटेकासँगी नआईपुग्दै हामी चढेको गाडीले दीपको उकालो काटिसकेको थियो। धन्नै हो, ट्याक्सीमै भएपनि हाम्रो गाडि पच्छ्याउदै लामाचौंरमा भेटे उनीहरूले। …बल्ल रमाइलो हुने भो' सबै चिच्याउँन थाले। कोही चामलका बोर्माथि लडे त कोहि खाद्यानका प्याकेट माथि। झोला भित्र कोचारेका चाउचाउका प्याकेट, सुन्तला, पानी भरिएको बोतल, बिस्कुट र भुटेका मकै जोगाउन म हरपल चनाखो थिएँ।

गाडी लामाचौंर, बगैँचा, भुन्परे घार्मी हुँदै उकालो लाग्यो। …फ्रि' पाउँदा रमाईलोका निम्ति साथीभाईलाई …उडाउनु'को मज्जा लुट्न पनि पछि परिएन। बहिनी शिशिरले पुरानो हुँदैन माया बोलको गीत गाउँन नपाउँदै मुखबाट फुत्कीहाल्यो, …गद्य गीत मिठो लाग्यो।' मेरो कानै रातो हुने गरि निमोठ्दिईन्। हाँस्दा हाँस्दै धन्नै …सास फालेको'। बसले दाँया मोड्दा हामी बाँया ढल्कन्थ्यौं, बाँया मोड्दा दायाँ। एकापट्टि सेती गण्डकी अर्का पट्टि बस्ती र फाँट। साँघुरोबाटोमा गाडि हुँईकिँदा मननै सिरिङ्ग हुन्थ्यो। …जीवनको कहाँनिर पुर्णबिराम लाग्छ, कहाँनिर अर्धबिराम पत्तै नहुने' बानीरा गिरीका …कारागारका' शब्द जस्तै। चितेपानी, चुरूङ्गा, पात्ले, तल्लाकोट ठाँटी बस्ती चुम्दै गाडी बढ्दा मन पनि चङ्गा झै उड्न छाडेन।

कोल्चोक आइपुगेछि एक हुल बाईकका लस्कर देखिए। …ए˜ आमा गाडिको पनि पुच्छार बाई' ठट्टा गर्न कति सजिलो। …हुइँय, हुँइय' हुँइकेका बाईकका लस्करले हिन्दी फिल्म …धुम' को झल्को दिन्थ्यो।  हजारचुङ्ग आईपुग्दा उनीहरूले हामीलाई उछिने। ंबाईकहुँइकिएको दृश्य पछ्याउँदै जाँदा एकहुल गाइवस्तु चरेका देखिए। …आहा कति सुन्दर दृश्य' मुख के उभाएका थियौं एक फ्वाँक धुलो उपहार पाईयो। बाइकसँगै उडाउनलाई उनीहरूले सडकको धुलो पनि बाँकी राखेनछन्। गफैगफमा सवाघण्टा बितेछ। झर्नै नदिँइकन हुलकाहुलमान्छे बस चढ्न तछाडमछाड गर्दा पो हामी खारपानी कुण्ड पुगेको थाहा पायौं। तातोपानीमा डुब्नुको मज्जा बेग्लै। हाइकिङलाई हिडेका हामीले चिसो मौंसममा तातोपानीको मज्जा लिन पनि पछि परेनौं।

तातोपानी ताता कुरा

नुनको रागआउँने तातो पानी नुनीलो छ भन्ने नचाखेरै सबैले थाहा पाउँथे। विदेशीलाई रु २०, स्वदेशीलाई रु १० र स्थानीयले रू ५ मा मज्जैले नुहाउँन पाउँने। दुईवर्ष अगिबाट तातोपानी संरक्षण तथा विकास समिति गठन गरि खारपानीका स्थानियले व्यवस्थीत रूपमा संचालन ल्याएका रहेछन्। दैनिक सरदर पन्ध्रसय देखि दुइहजार उठ्ने गर्दो रहेछ। तातोपानीका चार कुण्डरहेको सो स्थानमा स्थानिय सहित नवलपरासी, चितवन, पोखरा, बाग्लुङ्ग, स्याङ्जा, पर्वत आदि जिल्लाका अधिक मान्छेको दिनहँु भिड हुने गर्दोरहेछ। …खोला छेउ तातोपानीको मुल रहेको २०/२५ वर्ष अघिबाटै हामीलाई थाहा थियो' सार्दीखोला–९, चौरका बुद्धी गुरूङ्गले भने, …गाउँले मिलेर कुण्ड चिनेको बल्लै हो। उनका अनुसार बाथ, नशा, हाडजोर्नीका स्वदेशी तथा विदेशी बिरामीको दिनहुँ भिड लाग्ने गर्छ यहाँ। पिकनिक तथा रमाईलोका निम्ति यहाँ आउँने पनि उत्तिकै भेटिन्छन्।

म्याग्दीबाट चितवन बसाई सरेकी लीलामाया पुन पनि भर्खरै नुहाएर घाममा ढल्किएकी थिईन। …बाबै! पानी बाहिर त जाडोले मार्नु आट्यो' चिसो स्याँठ्ले गाला छोएर जाँदा उनले ओठ कमाउँदै भनिन्, …तातोपानीमा बसिन्जेलचाई साह्रै रमाईलो हुन्चई।' धेरै ठाउँका डाक्टर र अस्पताल धाएर सन्चो नभएको ज्यान दुख्ने रोग तातोपनीमा डुब्न थालेपछि सञ्चो हुँदै गएको उनको तर्क थियो। …म त वर्षै पिच्छे आउँचु' उनले हाँस्दै भनिन्, …आज दुई दिन भो, अ‰झै तीन दिन बस्ने हो।' बाहिरबाट आउँनेका निम्ति बासबस्नलाई सामान्य होटलहरू खुल्न थालेका छन्। …केहि घरमा बस्ने व्यवस्था छ। होटल भने पनि घर भने पनि बास चाई पाइन्छ' नुहाउन आएका आगन्तुकलाई रसिद काट्दै गरेका उनले अगाडि थपे, …मान्छेको चाप अझ बढ्न थाले उनीहरूको बसाई व्यवस्थित गर्न समिति लागिपर्ने छ।'

भण्डारीका अनुसार वैशाख/जेठ सम्मलाई मात्र तातोपानीका कुण्ड व्यवस्थित पार्न सकिन्छ। …बर्षामा गण्डकी बढ्न थालेपछि कुण्ड बगाइहाल्छ नी' भण्डारीले भने, …छ, सात महिना चाई राम्रै चल्छ।' कुण्डहरू खोलाकै तिरमा छन्। आर्थिक श्रोत जुट्यो भने खोला भन्दा अल्लि पर पनि कुण्ड खोज्ने योजना रहेको उनले बताए। …यसो गर्न सकिए कुण्ड बाह्रैमासे व्यवस्थित गर्न सकिन्छ' भण्डारीले अगाडि थपे।

नुहाउन जाँदा आवश्यक कपडा, गम्छा लाँदा राम्रो हुन्छ। स्नानका लागि पुरूष र महिलालाई छुट्टै कुण्डको व्यस्वस्था छ। कपडा फेर्नका लागि प्लाष्टिकले बारेर अस्थाई कोठा बनाइएका छन्। चारकुण्डमा शनिबार नुहाउनेको विशेष भिड लाग्ने गर्दछ। बिहानै वा साँझपख नुहाउन गयो भने भिड पनि कम हुन्छ र पानी पनि सँङ्लो। …नुहाएपछि त भोक जागेर आउँदोरहेछ' स–परिवार नुहाएर खाजाखान बसेका घाचोक–५ का थमनबहादुर पुन भन्छन्, …यी आलु, चिउरा, अचार ल्याएका थियौं हामी त खान ला'को। लगातार पाँचौदिन नुहाउँन आएकी घाचोकैकी श्रीमाया पुनले पनि सुक्का रोटी र चिया ल्याएकी रहिछन्। …पाँच दिन भयो मैले नुहाउन थालेको' ज्यान दुख्ने बिमारले आजित भएकी उनले भनिन्, …धेरैले निको भो भन्या छन्, मेरा पनि होला।' बजार राम्ररी बसिनसकेकाले केही खानेकुराको सोच आफैले गर्नु उचित हुन्छ। भुज्रुङ्गखोला सम्म एकएक घण्टामा पोखराबाट गाडी छुट्दो रहेछ। तातोपानी नै पुग्नका लागि भने जम्मा...गाडि छुट्छ। भुज्रुङ्गखोलाबाट खारपानी (तातोपानी)को पैदलदुरी जम्मा तीसै मिनेट।

घाँचोक हुँदै फर्कदा

दिनको साढे दुइ बजेको छ। भर्खरै नुहाएर घर फर्कदै गरेका गाउँलेलाई पछि पार्दै हाम्रो यात्रा घाचोक तिर अगाडि बढ्यो। …उफ् फेरि उकालो?' खुट्टा मड्केर हैरान परेकी प्रसा सुस्ताउन थालिन्। …घरतिरका सम्मबाटो त सध्धै हिडिन्छ नी' सूर्र्यदाईले भने, …डाँडातिर उक्लिनुको मज्जै बेग्लै हुन्छ।' उनका कुरामा साथ दिन सुधा र दुर्गा पछि परेनन्।

हुनपनि हो, छाती फुकाएर सुतेका फाँटहरू, बिचैमा लुट्पुट्टीदै बगेको गण्डकीलाई पारीपट्टि उठेको अजङ्गको डाँडोले टोलाएर हेरेझै लाग्दथ्यो। डाँडैको फेदैमा सडकको नाममा कोरिएको धर्सो र धर्साका छेउछाउँमा मान्छेनामक जन्तुको बस्ती। साँच्चैनै वैसले पाँकेर उन्मक्त भएकी थिई खारपानी। च्वाप्पै म्वाँई खाउँ झै। …वाउँ!' पहरो चिरेर बनाईएको बाटो। सानो प्वालबाट घामले चियाइरहेको थियो। अरू साथीभाई अगि लागेछन्।  सूर्र्यदाई र प्रसा सिँढीका अन्तिम पाइला गन्दै थिए। उनीहरू घाम छेकेर अघि बढ्दा मेरो हातको क्यामेराले दृश्य कैद गर्‍यो।

सरासर उकालो अनि बाँझो खेत। धिप्राङ्गको तामाङ्ग, गुरूङ्ग बस्ती बिच उत्तिस र चुलेत्रोका घारी छिचोलदै अघि बढ्नु।  भर्खरै डोजरले उधिनेका माटामा परेका गाइबस्तुका पदचाप पछ्याउँदै धिप्राङ्गखोला पहिल्याउन हामीलाई गाह्रो भएन्। खोलानेरको ढुङ्गामा दोस्स्रो पटक थकाई मार्‍यौं,हामीले। सुन्ताला छोडायौं, चाउचाउँ फोयौं एकै ठाउँमा बिस्कुट मुछ्यौं अनि सबैजनाले पानी र खाजा पेट भरि खायौं। त्यहाँबाट उकालोलाग्दा मेरो झोला अल्लि हल्का भयो, …चाउचाउ बिस्कुटका खोल जो बोकिरहेको थिएँ।' काउरेफाँटको धुलौंटे बाटो। जुत्तै गड्ने। अघिअघि तातोपानी नुहाएर फर्केका बूढाबूढी। घर फर्कदै गरेकी पुर्खीमाया पुन, ६० वर्षे बूढ्यौंलीलाई चुनौति दिँदै एकहुल बाख्रापाठाका बथान धपाउँदैथिइन्। गाउँमा गठन गरेको महिला समुहले दिएको दुइहजार रूपैँयाले सुरू गरेको बाख्रापालनबाट उनले धेरै पाठापाठी हुर्काइछन्। शहरका एकहुल जन्तु हामीलाई गाउँका पाठापाठी ब्रुकबु्रक उफ्रेर गोरेटोको धुलो अभिषेक छर्दै थिए।


बाटो पनि ढुङ्गाले छापेका। घरका छाना पनि ढुङ्गाले। हाम्रो मनलाई नौनीझै पगाल्यो, ढुङ्गाहुन के दिन्थ्यो? धिप्राङ्ग बस्ति कटेपछि टुसे हुँदै बिस्कुरीया लाग्यौं। क्षेत्रीथरका बारीपिच्छे थुप्रियका गाईभैसीका मोलका थुप्राले ससाना पहाडै झै आफुलाई उभ्याइरहेका थिए। आरूकाबोटहरू भुइभरि फूल बिच्छाएर हाम्रै स्वागतमा बसेझै लाग्दथ्यो। काँधमा जुवाबोकेर फर्केका बूढा किसानीदाई, दाउरा काट्न हातमा बन्चरो नचाउँदै गरेकी बूढी क्षेत्रिनी दिदी, सबैले टक्क अडिदै हाम्रो आगमनबारे मौंन चासो राखेका थिए।  छेउछाउमा हुर्केका …गन्धे' फूलहरू। उवा, जौं र गहुँ छरिएका फाँटको अल्लि माथि लस्करै उभिएका घरहरू। मात्र मान्छेको चहलपहलको कमि थियो। सरूभक्तका शब्दमा, सुन्य …पागल बस्ती' जस्तै। सुनसान गाउँका घरैपिच्छे बाख्राहरूले एकोहोरो नारा लगाइरहेका सुनिन्थ्यो, …कहाँ गए हाम्रा मालीकहरू, हामीलाई भोक लागिसक्यो।'

हाँस्दै खेल्दै आइहाल्यो घाचोकको लम्सालथर। लामोयात्रा पछि थकाईमार्नुको मज्जै अर्कै। पसलमा मोही र बिस्कुट (मकै भुट्न लगाउँने हामीसँग समय बचेको थिएन्) स्वादमानेर खायौं। गीतादिदी अगाडि लागिसक्नु भएछ। बिजय पछि परे। म र सूर्र्यदाइ सहितको जमात गीत गाउँदै पाटन, कामो हुँदै घाचोकबाट ओरालो लाग्यौं। काङमाङको भिरमा खरसँगै झुण्डीएका नानीहरू। भलावोटको हरियो फाँट। लस्ती खोला तरेर भिरकटेराकोबाटो हुँदै मर्दीखोला तिरमा हामी पुग्यौं। मर्दिखोला छेउका स–साना पसलहरू। असला,बुदुना, कत्लेमाछाका विभिन्न परिकारसँग चिउराको स्वादले थकित जिउमा उर्जा भर्दैथियो। साँझको बेला, हामीले बल्लतल्ल एककप चिया पनि पसलमा सुर्क्याउँन भ्यायौं।

मर्दीमाथिको डरलाग्दो भिर। बातावरणमा पुरै चुक घोप्टिएको थियो। त्यही बाटो अन्धकारमा छामछुमगर्दै हेम्जा आउँदा महाभारत जितेको भान हुन्थ्यो। गाडीमा ६ जना त चढियो, फेरि दुईसाथी आइपुगेनन्। हतार हतार टेलिकमको कमजोर नेटवर्कको बिरूद्ध मोबाइल चलाउँन थाल्यौं। धन्नै हो, गाडि कुद्नु पूर्वनै उनीहरू आइपुगे। फेरि चिच्याउँन थाल्यौं, …बल्ल रमाइलो हुने भो।'
(Saturday, 09 January 2010 16:12  By Bhabasagar Ghimire)

Comments

Popular posts from this blog

मोबाइलको साटो पुस्तक

बाल मनोविज्ञानमा आधारित भएर लेख्नु आफैमा जटिल र चुनौती पुर्ण छ  । त्यसैमाथि सबै भन्दा सरल बनाउँनु पर्ने विषय पनि यहि रहेछ । बाल मस्तिस्कको सोचाइको धरातल फराकिलो बनाउँने  प्रयास म सधैं जारी नै राख्नेछु । बालबालिकाहरुलाइ आज राम्रा पुस्तक पढ्न दिँदा भोलीका दिनमा उनीहरुले रचनात्मक काम गर्न सक्छन् । हामी सबैले पढ्ने र पढाउँने बातावरण बनाउँन मद्दत गरौं । मेरा यी रचनाहरुमा चित्र कोरेर सुन्दर बनाइदिने नागरिक दैनिकका Dewen दाई र Yuwak जी, भाषामा सघाउने Shekhar दाई अनि प्रकाशनमा ल्याउँने Sangrila Book का Mani जीलाई धेरै धेरै धन्यवाद । म अछाम नपुगेको भए सायद यो बालकथा अाउँदैन्थ्यो होला । सन् २००९ मा Room to Read Nepal को कथा कार्यशालामा नअटाएको भए सायद 'हाम्रा खेलहरु' का बारेमा उबेला बाल कविता फुर्दैन्थ्यो । सधै‌ झै, छोराछोरीको हातमा मोबाइलको साटो पुस्तक दिउँ । उनीहरुका आँखा र दिमाग झनै तेजिलो हुनेछन् । अघिल्ला तीन कृती... माथिका तीन पुस्तकहरु ' पाठीलाई स्वेटर, भान्छामा चुट्किला, देउता खुशी हुनुभयो' तलका पुस्तक पसलहरुमा यस अघि नै आइसकेका छन् । नयाँ पुस्तक...

जाडोका चिसा उखान टुक्का

बिस्तारै बिस्तारै बढ्दै गरेको जाडोले विहान धेरै अबेर सम्म पनि हामीलाई बिस्तारामा सिरक भित्रै रोक्न सक्छ । झ्यालका पर्दा घामले नखोली कन हामी आफै खोल्न तम्सन पनि गाह्रो हुन्छ । विहानै तातो चियाको गिलासलाई ओठले चुम्न पाउँदा मात्र हात गोडा चलमलाउन थाल्छन् । अझ एका विहानै काममा जानु पर्ने वा कलेज जानु पर्नेलाई त जाडो कहिल्यै नआए हुन्थ्यो झै हुन्छ । यस्तो कठ्याङ्ग्रीने जाडोको बेलामा हाम्रा उखान टुक्काहरू कसरी बांगिने गर्छन्, यसबारेमा केही प्रसंग तल छ । तपाइलाई यो जाडो मौसम भरि न्यानो घामले माया गरोस शुभकामना ! जाडोले कामेको गोरुलाई बोरा ओढाउन सकिन्छ, सिरक ओडाउन सकिन्न अनिकालमा बिउ जोगाउनु, चिसोमा जिउ जोगाउनु चिसोले समाएको मान्छेलाई, आइसक्रिमले पनि लखेट्छ अर्काको आंङमा गन्जी लगाएको देख्ने, आफ्नो आंङमा जकेट लगाएको  नदेख्ने ? हिटरले पोलेको मान्छे, राइस कुक्कर देख्दा तर्सन्छ  थर्मस फुटे, तातो लुटे खाइ न पाइ, लेदर जकेट लाई  काम पाइनस छोरो, मोजामा आइरन लगाइ

भाइबहिनीसँग भेटघाट

‘‘चश्म खोलेपछि मात्र किताबमा भएको राइटरको फेस तपाइसँग मिल्छ । हजुरले किन कथा लेख्नुहुन्छ ? पाठीलाई स्वेटर मैले दुइ कक्षामा पढेको बेस्ट बुक हो । मेरो घरको ढोकामा सधैं बिरालो आउछ । मैले दूध दिन्छु । यसको पनि कथा हुन्छ ? हाम्रो लागि अझै धेरै कथा लेख्दिनु है । अब कहिले आउनु हुन्छ ?’’ कक्षा तीनमा पढ्ने नानीबाबुका कलिला बोलीले फूलजस्तै गरि मनमा छोए । 'लेखकसँग अन्तरक्रिया'मा आफ्नो पुस्तक ‘भान्छामा चुट्किला’ बाचन गर्न र कथा लेखनका बारेमा बताउन उनीहरूको विद्यालयमा पुगेको थिएँ । हामीले यस पुस्तकका चित्रकार Yuwak Shrestha लाई पनि सम्झियौं । नानीबाबुहरूले दुई कक्षामा मेरो अर्को पुस्तक ‘पाठीलाई स्वेटर’ पनि पढेका रहेछन् । लगभग ८० जना नानीबाबुका माझमा कथाबाचन गर्न र हराउन पाउदा नयाँ कथा बुन्ने उर्जा मिलेको छ । अवसरका निम्ति युलेन्स स्कूल ललितपुर र शिक्षिका मिना लुइटेल जीलाई धेरै धेरै धन्यवाद । अब चाँडै स्वतस्फुर्त रूपमा केही सामुदायीक विद्यालयमा कथा बाचन गर्ने र बुन्ने कला साट्न पुग्ने योजना बनाएको छु । ज्ञान बाँडे पक्कै बढ्दछ, नबाँडे सर्लक्कै घट्दै जान्छ । #childrensbooks #nepalichildren...