Wednesday, January 12, 2011

बा ! काठमाण्डौं बिरामी छ

बा आरामै हुनुहोला । रुघाखोकी बाहेक मलाइ अरु ठिकै छ । बरु आमाको ग्याष्टीक कस्तो भो कुन्नी हिजो जनै पुर्ने छोरो घराँ मुख देखाउँन आन भनेर दुःख नमान्नु होला । के अर्नु याँ कामको माचामाच ऐले साल पनि पोर झै न घर आउन पाइयो न जनै लाउन पाइयो । बिहान बेलुकी दाल भात खाइयो सक्किगो चाडबाड ।
 आज गाइजात्रा दिन । तपाइ त्यहाँ भोक झोक रोग र शोकले मरेकाहरुको सम्झनामा निकालेका गाइजात्रा हेर्दै हुनु होला । म त याँ सरकार बनाउनका लागि भइरा राजनैतिक गाइजात्रा हेर्दैछु । कैले कस्को धोति फुस्कन्छ कैले कस्को टोपी फुस्कन्छ भरै नहुँदो रैछ । कैले माओवादीले हावा खाने कैले काँग्रेसले कावा खाने । जे भानी चेपुवामा तपाइ हामी ।

भन्न त डाडुले कुटेको श्रीमान तरकारी थप्दा तस्रन्छ भन्छन तर खै यहाँ त कहिल्यं त्यस्तो भएन । जनताले नेतालाइ झपार्नु झपारे हपार्नु हपारे कतिलाइ त कोपारे पनि । सम्झाए बुझाए उनका अगि आफ्ना आँखा रुझाए पनि । तर आखीराँ उइ भो । बाह्रवर्ष कुकुरको पुच्छार ढुङ्गामा हाल्यो ढुङ्ग्रै बाङ्गो । कुर्चीकै लडाइमा जुग बिताउँने भए यीनले । उबेलाँ ज्ञानेन्द्र सापले नेताहरुलाइ फुटबल बनाएर राजनैतिक मैदानमा पेनाल्टी हिर्काउँदा उनेरु जनताकै आङ्ना आएर पछ्छारीएथे । लखतरान परेका तिनलाइ हामीले जुस पेलेर तङग्रायौं सडकमा ओराल्यौं र सदनमा उकाल्यौं पनि । ऐले उनै हामीसंग टेँडीए बाङ्गीए र जलकुम्भी बनेर लोभ र लालचमा झाङ्गीए । अब त पुरै नाङ्गीन मात्र बाँकी छ ।
बा तपाइलाइ सात साल छ्यालीस साल र छपन्न सालमा ज्ञान भएझै मलाइ पनि ऐले आएर छर्लङ्ग भो । जति चिप्ला चाप्ला कुरा गर्छन उति काला चिल्ला कार चढ्छन । कार पनि काला मन पनि काला । तपाइ हामी सधै तल माथि उक्लने केाहि उनका भतिजा कोहि उनैका साला । बिरुद्धमा बोल्यो कि ज्यान जाला भन्ना डर । यस्तै अचम्मको छ यहाँ को कानुन र शासन पनि । अब हेर्नुसन जसको शक्ती छ उसलाइ कानुन लाग्दैन । तपाइ हामीलाइ भने ठाउँ ठाउँमा कानुन लाग्छ ।
मेहनत मजदुरी गरेर खाँदा देखि खाएको जाँदा सम्म कानुनले समात्छ हाम्लाइ । कसैले यहाँ फोनबाट धम्काएर रकम असुले पनि भएकै छ सित्तैमा मागेर हसुरेनी भएकै छ । रड भाला चलाएर छाला तार्देनी भाुकै छ बङ्गरा गनेर झर्देनी भाुकैछ । याँ त न कर्मचारी न पत्रकार न ड्राइभर न कलाकार बल हुनेले कुट्न पाइन्छ कुटे पछि पनि कार्वाहीमा नपरि छुट्न पाइन्छ । काठमाण्डौंको कुरा गरि साध्य छैन बा साच्चै बिरामी भाुछ यो ।
नेपाल घायल निगम आयल निगम बन्न नसक्दा हर पटकको डायलमा टेलिकमको नेटवर्क जस्तो पेट्रोल पम्प स्वीच अफ भएको जानकारी मात्र पाइन्छ । आयल बाड्न तयार भएका दुइ चार पम्पमा पनि साउनको सोमबार पशुपतिको दर्शनमा लागेका भक्तजनको लाइन जस्तै भिड हुने गर्छ । मानौं सबै साथमा पुजाको थाली हैन पेट्रोलको टेङ्की खाली लिएर पम्प पुज्ने पालो कुरीरहेका छन । बिच बिचैमा प्रहरीका लाइन सैनीकका लाइन नेताका लाइन जनताका लाइन धेरै लाइन लाग्ने गरेको छ याँ । दादागीरी देखाउँनेका एउटा लाइन ग्यालीन बोक्नेका अर्का लाइन सोझा मान्छेका सोझा लाइन बाङ्गा मान्छेका बाङ्गा लाइन, कोही पल्सारु कोहि साइनु । हर रात हर दिन मेलै लाग्ने गर्छ । जमा र भिडको त के कुरा यो बीरामी काठमाण्डौंका रोगि मान्छे हामी प्रचण्ड घाम र ट्राफीक जामको चपेटामा सार्वजनिक यातायातमा यात्रा गर्दा ब्वाइलर कुखुरा झै भएका छौं । मानौं हामीलाइ साइकलको डण्डीमा उँधोमुन्टो झुण्डाएर मृत्युदण्डका लागि लगिँदै छ । वा मानौं हामीलाइ होलसेलका सामान झै गोदाम तर्फ लगिँदै छ । जहाँ पाता कसेर बाँधीन्छ अनि बाकस भित्र खाँदीन्छ । असह्यै भैसक्यो अब त ।
बा यो काठमाण्डौं हर बिहान चियाको चुस्की र धुँवाको ठूस्की सँगै देश बिरामी भएको समाचार पढ्ने सुन्ने र हेर्ने गर्छ । कर्णालीको बाटो पहिरोको ढुङ्गा र माटोले रोकियो पुर्वकॊ सडकमा बन्दको गन्ध बढ्यो तराइमा बाढी पहाडमा भोकमरि सीमामा लुटपाट र चन्दा आतंकले सास्ती सोफी खाँदा धोतीन टोपी मिस रिस नेपाल प्रतियोगिताको बिरोधमा जुलुस यस्तै यस्तै धेरै समाचारहरु हर दिन हुरीका पात पतिङ्गर झै हुर्रेर आउँने गर्छन यहाँ । तर देशभरिका समाचार चाख मान्दै हेर्ने यो काठमाण्डौं आफै भित्र पौंडि खेलि रहेकी ढलमतिको कथाका बारे अनभिज्ञ बन्न खोज्छ । सास फेर्ने निर्जीवीहरुको यो बस्तीमा भोक भएका झोक बोकेका तर भोजन विहीनहरुको कथा नथापाुझै गर्छ । सर्टिफीकेटका खात बोकेर दुइहात जोड्दै दिनरात शहरमा टहलीनेका कथा । बिदेश जाने वाहान खोज्न यजुकेशन कन्सल्टेन्सी र म्यान पावर कम्पनीमा लाम लाग्नेका कथा । थुप्रै कथाहरु छन यहाँ थुपै रोगहरु छन यहाँ । जसबारे काठमाण्डौं बेखबर बन्न खोजिराछ ।
बा याँ त सब असुरक्षित छन । सब त्रसीत छन । घरमै छिरेर डाक्टरकी छोरीको अपहरण भयो भन्ने सुन्याछु । तपाइ हामीले जीताएका नेताहरुले संवीधान हैन काठमाण्डौंमा घर बनाउने सुरसार कस्याछन भन्ने सुन्याछु । घर भएकाले पनि कोठाभाडा बापत पाउँने भत्ता बुझे रे भन्ने सुन्या छु । नयाँ नयाँ खबर छन उपराष्ट्रपति ले हिन्दीमा बोले बिद्यार्थीहरुले सडकमा टाएर पोले । तै पनि आफंै ठिक भन्दै झाँले मुख खोले । क्या काइदा कुरो हैन त बा म्याद सकिएका मन्त्री पनि श्रीमती बोकेर ओलम्पीक तिर कुलेलाम ठोके । यता ओलम्पीकमा कुस्ती खेल्न जानेहरु एरपोर्टमै कुस्ती खेले जान खोज्नेलाइ रोक्न खोज्नेहरुले पेले अन्तीममा प्रहरी गएर ठेले । तपाइ सुन्दा फुरुङ्ग म भन्दा दङ्ग यहाँको यस्तै छ रङ्ग बा । थुप्रै कुराहरु छन यस्ता बा जो तपाइलाइ न भनेर साध्य छ न सुनाएर सकिन्छ । बस यत्ति बुझ्नुस काठमाण्डौं साच्चै बिरामी भएको छ ।(Published in Kantipur Lett to Editor, 2065-05-1)



-भवसागर घिमिरे
पोखरा-३ नदीपुर
हालः अर्थशास्त्र विभाग त्रिवि कीर्तिपुर
sagarbhaba@gmail.com

No comments:

Post a Comment