Skip to main content

बूढेसकालैमा....


साँघुरो, अँध्यारो र असरल्ल कोठा। खाटछेउमा केहि पुराना भाँडाकुँडा मिल्कीएका। खाटमाथि पोको परेको सिरक। त्यही खाटका वरपरनै उनका संसार घुमीरहेका थिए। 'बाँचुन्जेल खाटमा मरेपछि घाटमा न हो' एक्लै टोलाएर बसेकी उनले दुखेसो पोख्दै भनिन्- 'त्यत्रा छोरछोरी हुर्काएँ, आज समाउनलाई हाताँ लौंरो बाहेक केहि छैन।'
७६ शिशिर काटेकी चुनादेवी अधिकारी पशुपतिको वृद्धाश्रममा यसै भन्दै थिइन्। माइत थियो ढंुङेखर्क, पनौंति। सात वर्षकै उमेरमा २५ वर्षेकेटोसँगै लगन जुराइदिए घरकाले। सिंदुर हाल्न खोज्दा खेरि 'कस्का छोराले मेरो शिर छोयो भन्दै रुँदै बालाइ कराएँ' उनी सुकसुकाइन, 'के सुन्थे, डोलि चढाएर पठाइहाले सिन्धुपाल्चोकको फट्टसिला।'
बाल्यकाल। बिहे के हो? श्रीमान श्रीमतीको सम्बन्ध के? उनलाई पत्तो थिएन। सिन्धुपाल्चोकमा मन नमानेपछि बिहेको साता भित्रै माइती फर्किइन उनी। फेरि बाल्यकालका दिन माइतमै बित्न थाल्यो उनको।

स्कुल टेक्न कहिल्यै पाइनन्। बाले दिदीको छोरालाइ पढाउँदा कखराको नाम सुन्नेको मात्र याद छ उनलाई। भन्छिन्, 'जिन्दगीमा पढ्नु भन्दा ठूलो कुरो केहि रैनछ।'
उबेलाँ बन जानु। घाँस काट्नु। दाउरा बटुल्नु। घर आएर भकारो सोर्नु। सबैकामको जिम्मा उनकै भागमा आइपर्थ्यो। सत्र टेकेपछि भने श्रीमानले लिन आए उनलाई। श्रीमानकै पछि लागेर सिन्धुपाल्चोक पुगीन्। 'कर्मले जाँ लान्छ त्यही जाने हो,' अधिकारीले गालामा गुडुल्केको आँशु पुछिन्,'नत्र म याँ कसरी आइपुग्थेँ र?'
खेतिपातीको त्यो समयमा। कर्मघरमा सुख पाइने त कुरै भएन। पशुगोठ देखि भान्छाकोठा सम्मका जिम्मेवारीले थिच्थे उनलाई। छोरा जन्माउने नाममा। वर्षैपिच्छे उनले पाँच छोरी पाइन्। पछि लगातार २ छोरा जन्मे। काइली छोरी सानैमा बिती। 'हुर्कदै गरेका साइली र माइली पनि एकै वर्षमै भगवानकाँ गए,' उनले सम्झना फुकाइन्,'त्यो वर्ष म धेरै रोएँ।'
जेठी पालुङ। कान्छी हेटौडा। यसैगरि छोरीहरूको पनि बिहे भो। १४ वर्षको कान्छो छोरो हरिद्वार पढ्न भनि गएको उतै बेपत्ता भो। उनलाइ पिरमाथि पिर थपियो। सिन्धुपाल्चोकको बसाइ मन परेन। घरजग्गा किनेर श्रीमान सँगै नारायणघाट सरिन्। जेन तेन चलेकै थियो। घरमा बुहारी भित्राइन्। दिन बित्दैथिए। 'त्यसपछि श्रीमान खसे,' उनले भनिन्, 'अनि त म साँच्चैकी एक्लि भएँ।'
भएका घर जग्गापनि बेचेर सकिए। छोराले आफ्नो सुर गरे। बूढी आमैलाई कसले हेर्ने? उनी बिरक्तिएर हिड्न थालिन्। जुग जमाना उनका निम्ति निक्कै अनौंठा भए। पुख्यौंली घर खोज्दै सिन्धुपाल्चोक आइपुगेकि उनले आफ्नो भन्ने कोहि भेटीनन्।
४९ सालको बेला। उनी बिरक्तीएर सिन्धुपाल्चोक चौतारा आडैको जंगलमा पुगिन। 'बाघ भालुले खाएर भएपनि मरौं लागेको थियो,' उनी भक्कानिइन्, 'काल नआइ कसै मरिने रहेनछ्।'
 भोकले बेहोस भएकी उनलाई त्यहीँको सडकबाट एक ट्रक ड्राइभरले उठाएर खाना ख्वाए। सोही ड्राइएभरले हेटौडा पुर्‍याइदिएपछि उनी ११ वर्ष कान्छी छोरीकहाँ बसिन्। 'छोरीको घर पनि बाढीले लग्येा,' उनले भनिन्, 'कसरी म त्यहाँ बस्न सकेँ र?' २०६१ सालमा, हेटौडाको सिडीयोकै सिफारीसमा आफु पशुपति वृद्धाश्रम आएको उनलाइ याद छ।
आश्रम आउँदाको पहिलो दिन। उनको पेटमा भोक थिएन। आँखामा निन्द्रा थिएन। त्यो रात आफ्नै बारेमा सोचेर काटिन। घर काँ हो? परिवार काँ छन्? कहाँ आइपुगेँ? मनभरि यस्तै कुरा पाके उनका। बाल्यकाल सम्भि्कन्। बाले पशुपति दर्शका लागि ल्याएका थिए उनलाई। 'यहिँ बस्छनस् की?,' बाले सोधेपछि उनी रुनथालिन् रे। 'केटाकेटीमा याँ बस्दिन भनेर रोएँ,' उनी भक्कानिइन्, 'आज यहाँ बाँचिन्जेल बास पाउँ भनेर रुन पर्‍यो।'

चारवर्ष अघि। आश्रमकै पिँढीबाट लडेर उनको खुट्टाको हड्डी भाँचिएछ। दमले सताएकै थियो। बूढेसकालमा अर्को रन्थमाइलो थपियो, खुट्टाको दुखाई। अब उनी धेरै हिडडुल गर्न सक्दिनन्।
रोएर आशु रित्तिने भए। बोलेर दुःख पखालिने भए। उनीसँग अहिले बाँड्नका लागि हाँसो र खुसीमात्र बाँकी हुने थिए। तर बूढेसकालैमा। आँशु मात्र उनको साथी भएको छ। यो बेला छोराछोरीको माया पाए। नातीनातीनालाई सुम्सुम्याउन पाए। पनातीपनातीनाहरू सँग जिस्कन पाए। मनभरि मिठो सम्झना लिएर मर्न पाइन्थ्यो झै उनलाई लाग्छ। तर समयले उनलाई एक्लोपनको कुनोमा धकेल्दिएको छ।
गएको पाँच वर्षमा। एकादुई पटक छोरीहरू भेट्न आए। हरेक पटक नयाँ मान्छे आउँदा आफन्तै आएकी भनि ढोकाबाट बाहिर मधुरा आँखा फैलाउँछिन् उनी। 'एउटी नातिनी आउँथी, निक्कै माया गर्थी,' उनले भनिन्, 'केहि महिना देखि उनलाई पनि देख्न पा' छैन्।'
जिन्दगीको अन्तिम दिनहरूमा। समयमा आफन्तबाट टाढीनुको पिडा चुनादेवीको मनमा गहिरो सँग बिझेको छ। आफन्त खोज्न मन लाग्छ। फोन गरेर बोल्न मन लाग्छ। पत्र कोर्न मन लाग्छ। बोलाएर भेट्न मन लाग्छ। मनै त हो मान्दैन, आफन्तैसँग पछि लागेर जान मन लाग्छ। उनको मनले यस्तै भन्छ।
गएको महिना उनीसँगै कोठामा बस्ने एक वृद्धा बितिन्। आफ्नो जाने दिन पनि नजिक आएझै लाग्छ उनलाई। 'खुसी सोच्दा सोच्दै, दुःख भोग्दै भोग्दै मर्ने बेला आयो,' उनी सुकसुकाइन्, 'मैले दुःख पाएपनि मेरा सन्तान सुखी रहुन्।'

छोराले वास्ता नगरेपनि। छोरीहरूको सम्झना उनको मनमा बेसी आउँछ। 'एउटो चिठ्ठी लेख्दिनु न म भन्दै जान्छु,' चुनादेवीले पुलुक्क हेरिन्। उनको बोलीसँगै पोखरामा मजदुरी गर्दै गरेकी उनको छोरीको नाममा कलम सर्न थाल्यो :
कान्छी,
म सञ्चै छु। तिमी पनि सञ्चै हौंला भन्ने आशामा छु। श्रीहरी भगवान पशुपतिनाथले तिम्रो सदा सर्वदा रक्षा गरुँन। विन्दोवासीनी माता नजिकै हुनुहुन्छ, दायाँ वायाँ बस्दिनुस्। नाती दिपक तिमी जहाँछौं मेरो यहिबाट आशिक छ। छोराको नाम के राख्यौं कुन्नी थाहा भएन् उसलाइ र पार्वतिलाइ पनि आशिक छ। यहाँ पोखराको सर सँग चिनजान भो। घरको ठेगाना पाउँन नसक्दा रजिष्टरी पनि पठाउन मिलेन। छोरी ज्यादिविदी तिम्रो सम्झना भएको छ। तिमी मलाइ सम्झेर दुखमा भने नपर्नु। तिमीले फुन, चिठीपत्र पठाए मलाइ न्यास्रो मेटीन्थ्यो। तर धेरै भो हाता परेन। अब दैवको लिला यस्तै रै'छ। मेरो चिन्ता नगुर्न। आफ्नो राम्रो ख्याल गर्नु। आमालाइ बिर्सीदिए हुन्छ (भक्कानिएर रुन्छिन्)।
 -----------------------------------------------------------------------------------------------------------------------
"बाँचुन्जेल खाटमा मरेपछि घाटमा न हो। जति सन्तान हुर्काएपनि मर्नेबेलामा समाउनलाई लौरोमात्र बाँकी रह्यो।" (भवसागर घिमिरे-Monday, 08 March 2010 12:44 नागरिक)
 

Comments

Popular posts from this blog

एउटा खाली पाना

  एउटा खाली पाना जसमा कोरिन सक्थ्योे करौडा तालीका कविता एउटा खाली पाना जसमा बन्न सक्थ्योे अरबौं बिम्बका चित्र जबरजस्ती आगोमा फालियो एउटा खाली पाना जसले काँधमा थाप्न सक्थ्यो यो देशको भविष्य भर्खरै खरानी भयो एउटा खाली पाना एउटी निर्मला एउटी पुष्पा एउटी माया तपाई कै छोरी, दिदी,  बहिनी, चेली उहि, एउटा खाली पाना ।

लुते प्रशासन,लुरे लोकतन्त्र

प्रशासन लुतेकुकुर जस्तो भएको छ । नारा लगाउँदै हिडेका चार जना बन्दकर्ताहरूलाई गाडी सहित आएको दश जना पुलिसहरूले पहरा दिइराखेका थिए । उनीहरू भर्खरै मेरो कोठा अघिल्तिरबाट गए । ती चार जनाको डरमा यहाँ वरपरका चालीस भन्दा बढी सटरहरू ह्वार ह्वारति बन्द गरिए । न यो देश ती नाइके कहलिएकाहरूले कमाएका थिए, न उनीहरूको नुन खाएर हामी तंग्रिएका थिषैं । जुनसुकै पाटी किननहोस्, तिनीहरूलाई बन्द गर्ने अधिकार छैन र हामीलाई हामीले तिरेको करले बनाएको बाटोमा खुलेआम सवारी साधन चलाउने अधिकार छ । पसल खोल्ने अधिकार छ । व्यापार गर्ने अधिकार छ । तर खै अधिकारको सुरक्षा ? यहाँ त कुर्ची जोगाउनका लागि दलाल, घुसखोरी, दादागीरी चन्दागीरी र झण्डागिरी गर्नेहरूको मात्र सुरक्षा हुन थालेको छ । मेरो देशमा लोकतन्त्र आएर के भो त ? 

मोबाइलको साटो पुस्तक

बाल मनोविज्ञानमा आधारित भएर लेख्नु आफैमा जटिल र चुनौती पुर्ण छ  । त्यसैमाथि सबै भन्दा सरल बनाउँनु पर्ने विषय पनि यहि रहेछ । बाल मस्तिस्कको सोचाइको धरातल फराकिलो बनाउँने  प्रयास म सधैं जारी नै राख्नेछु । बालबालिकाहरुलाइ आज राम्रा पुस्तक पढ्न दिँदा भोलीका दिनमा उनीहरुले रचनात्मक काम गर्न सक्छन् । हामी सबैले पढ्ने र पढाउँने बातावरण बनाउँन मद्दत गरौं । मेरा यी रचनाहरुमा चित्र कोरेर सुन्दर बनाइदिने नागरिक दैनिकका Dewen दाई र Yuwak जी, भाषामा सघाउने Shekhar दाई अनि प्रकाशनमा ल्याउँने Sangrila Book का Mani जीलाई धेरै धेरै धन्यवाद । म अछाम नपुगेको भए सायद यो बालकथा अाउँदैन्थ्यो होला । सन् २००९ मा Room to Read Nepal को कथा कार्यशालामा नअटाएको भए सायद 'हाम्रा खेलहरु' का बारेमा उबेला बाल कविता फुर्दैन्थ्यो । सधै‌ झै, छोराछोरीको हातमा मोबाइलको साटो पुस्तक दिउँ । उनीहरुका आँखा र दिमाग झनै तेजिलो हुनेछन् । अघिल्ला तीन कृती... माथिका तीन पुस्तकहरु ' पाठीलाई स्वेटर, भान्छामा चुट्किला, देउता खुशी हुनुभयो' तलका पुस्तक पसलहरुमा यस अघि नै आइसकेका छन् । नयाँ पुस्तक...