परदेशमा भाषा नबुझ्दा

कपडा धुने मेसिन घ्वार घ्वार गर्न थालेपछि म तर्सिएँ। गएको साउन महिना। इष्ट भर्जिनिया हुँदाको कुरो। छोराबुहारीले लुगा धुने मेसिन खोलेर गएका रहेछन्। कता भित्रको कपडा डढ्न लाग्यो भनेर मेरो सातो गयो। 'किन खोलेर जानु पर्ने होला?' रिस पनि उठ्यो। न बूढीले बन्द गर्न जान्ने न मैले। उनीहरूलाई खबर गरुँ त्यहाँको मोबाइलमा फोन चलाउन पनि नजान्ने। कस्तो आपद। केही बेरमा उनीहरू आइपुगे। बल्ल थाहा पाएँ। मेसिन त 'ट्याम मिलाएर' गएका रहेछन्, कपडा धोइसकेपछि आफै बन्द हुने।

***
हामी पुगेको थाहा पाएपछि। छोराका विदेशी छिमेकीले 'खान नपकाउ हामी ल्याउँछु' भनेछन्। धेरै ख्याल गर्ने छिमेकीहरू। साँझ उनीहरू हाउ हाउ (हेल्लो हेल्लो ) गर्दे आए। उनीहरूले फर्सी हो की काँक्रो जस्तो तातो न तातो खानेकुरा ल्याएका। न नुनीलो छ, न गुलीयो। के हो के हो? हामी बूढाबूढीले चाख्न मात्र सक्यौं।
***

'धारो खोल्नै नपर्ने। तल हात थाप्यो झ्वार्र पानी आउने। कुनै मेसिनका तल हात थाप्दा कागज स्वार्र˜˜ आउने। चिसो हात सुकाउने पनि मेसिनले नै। हात थाप्ने बित्तिकै तातो हावा फुर्र˜˜ आउने। यता हेरेपनि नौंला कुरा। उता गए पनि नौंला कुरा। कस्तो अचम्म।
***
दिन भरी घर खुल्लै छाडेपनि चोरीको डर नहुने। बगैँचाको दुवो हप्तै पिच्छे काट्न पर्ने। चरचुट्ट पारेन भने सरकारी मान्छे आएर काट्दिने। त्यसको सट्टामा पैसा लिएर जाने रहेछन्। बाटो घाटो कत्ति सफा। बाटो माथि पनि पुल राखेरका, गाडी गुडेछ। बाटो तल पट्टी पनि सुरुङ खनेका, गाडी गुडेछ। यता हेर्‍यो बडा बडा घर। उता हेर्‍यो आँख्खाले नभ्याएने समुन्द्र। जता गएपनि चिल्लो बाटो, कारमा सररर। टिभीमा देखेको दुनीयाँ आफै गएर घुम्न पाउँदा धेरै खुसी लाग्यो। 'अमेरिका साँच्चै नौंलो रै'छ,' उनीहरूले यस्तै प्रतिक्रिया दिए।

उमेरले ६ दशक काटेका देवनारायण महर्जन १६ वर्ष अगि मात्र पोखरा पुगेका थिए। गंगाजमुना मार्ग, बालाजु काठमाडौं घर भएका उनी एक वर्ष अगि मात्र कीर्तिपुरको दक्षिणकाली मन्दिर देखेका थिए। यो भन्दा टाढाको आकाश उनले घरको छतबाट पनि देखेका थिएनन्।
तीन महिना अघि श्रीमती धनमयजु, ५८ को साथमा एकाएक अमेरिक जाने अवसर मिल्यो उनलाई। त्यहाँ जाने व्यवस्था उहीँ कार्यतर माइलो छोरा अनिलले मिलाएका थिए। श्रीमती मनिकाका साथ अनिल अमेरिकाको इष्ट भर्जिनियामा बस्छन्। त्यहीको एक अस्पतालमा डाक्टरको रूपमा कार्यरत छन्।
यसअघि लुम्बीनी, रामेछाप, दोलखा र सिन्धुली पुगिसकेकी धनमयजु अमेरिका पुग्छु भनेर कल्पनै गरेकी थिइनन्। 'अनेक अनेक देख्न पाइने' अमेरिका पुगेर फर्केकी उनले भनिन्, 'एक चोटी त जानै पर्ने र'छ।'

***
कलेज पढाइको अन्त्यमा दिक्षान्त समारोहमा आउन आमा बाबालाई अनिलले निम्तो दिएका थिए। छोराको निम्तो मान्न उनीहरू भिषाका लागि महाराजगञ्ज स्थित अमेरिकी दुतावास पुगे। 'वाँ सिक्रि, घडी सब्बै कुरा फुकाल्नु पर्ने,' सेक्युरिटी चेकमा पर्दाको अनुवभ बाँड्दै धनमय्जुले भनिन् ,'मैले त हातको बाला फुकाल्न भुलेछु ट्वाए ट्वाए कराएर फेरि भित्र जान दिएन।' पाँच वर्षको भिषा हात पर्दा भने उनीहरू मख्ख भए।
भिषा लागिसकेपछि पनि साथीहरू नपाएकाले उनीहरू अमेरिका जाने आँट गरेनन्। 'अंग्रेजीमा नजान्ने, कसरी वाँ सम्म पुग्नु त,' बूढाले भने। घरमा तला थप्ने काम सुरु गरेका उनलाई आफन्तले जहिले पनि 'कहिले जाने त अमेरिका?' भनेर सोध्दा उनीहरू आजित भएछन्। छोराको दिक्षान्त समारोह त सकिगो। तैपनि साथी नपाए पनि जसरी भएनी जाने अड्डी कसे उनीहरूले।
कसरी जाने त? उपाए जुर्यो। 'मिट एन एसिस्टेन्ट' को तहमा जाने। यसमा गएपछि उनीहरूको जिम्मा एयरलाइन्सले नै लिने भयो। बाटोमा खानेकुरा खानु पर्‍यो। बोल्न जानिन्न। के गरि सोध्ने त? अब भने धनमय्जुलाई चिन्ता लाग्न थाल्यो। उपाए निकाले जेठा छोरा अमरले।
'उहाँहरूले अंग्रजी भाषा जान्नुहुन्न। खानामा गाई,गोरुको मासु खानुहुन्न। दुवैजना इष्ट भर्जिनियामा कार्यरत छोरा अनिलको घरमा जान लाग्नु भएको हो। यदि उहाँहरू केही अफ्ठ्यारोमा परेमा नेपालको फोन नम्बर ९७७-०१-....र भर्जिनियाको फोन नम्बर...मा सम्पर्क गर्न अनुरोध गर्दछु।'
दुईवटा कागजमा अंग्रेजी भाषामा एकै कुरा लेखेर लेमिनेशन गरिदिए। अनि बाबा र आमाको हातमा एक एक कागज थमाइदिए। साउन २६ का दिन। छोरा बुहारी नाती नातीना सबै जाना विमानस्थन छाड्न गए। पहिलो पटक विमान चढ्नु, त्यसमाथि पनि अन्तराष्ट्रिय उडानमा। 'प्लेन उड्यो, मन पनि ढक्क फुल्यो,' धनमय्जुले सम्भि्कइन्।
***
उनीहरू दुइ जनाका आडैमा थिए एक अमेरिकी नागरिक। 'हेलु हेलु भन्दै हाँस्ने,' देवनारायणले दाँत देखाउँदै भने, 'मैले नी हेलु हेलु भन्दै हास्दिएँ।'
परिचारीकाले खानेकुरा ल्याएपछि भने उनीहरू झोला खोतल्न थाले। परिचारीका अचम्म परिन्। 'छोराले लेखेको कागज झिकेर दिएपछि भने उनले बल्ल बुझिन्,' बिमान यात्राबारे बूढाले सम्झे, 'आडैको कुइरे पनि बुझेर हाँस्यो।' परिचारीकाले आफैले बुझेर खानेकुरा रिफर गरिन्। मिठो मानी खाए उनीहरूले।
बिमान सिंगापुर तिर लाग्यो। 'जहाज घुइँएँ गरेर हल्लदा वाँ लाई त निक्कै डर लाग्यो रे,' धनमय्जुले बूढातिर हेर्दै भनिन्, 'नेपाल छाड्ने अगिल्लो दिन नातीनातीनाले जहाज खस्न लाग्यो भने घुइँए गर्छ भनेको झलझली सम्झनु भ रै'छ।'
घरि तल घरि माथि। अकाशमा उडेका यी दम्पतीले मनमा अनेक कुरा खेलाए। बूढा सुत्ने तरखारमा के लाग्दै थिए, झट्ट उनको अगिल्तिरको सिटमा टाँसिएको सानो टिभी बोल्न थाल्यो। भएन बर्बाद। न च्यानल फेर्न आउँछ न बन्द गर्न। 'सुत्न मन लागेछ टिभी बोलेर हैरान,' उनले भने, 'फुट्टी बुझिन्न, हैरान बनायो।'
टिभी देखेर चल्नु झोक चलेछ उनलाई। दिक्क परेका उनले मुख पुच्छ्ने कागजले टिभीलाई ढाक्दिएछन्। यस्तो देखेर आडैको युवाले टिभी बन्द गर्न सघाए। 'के था'त मेरै सिटमा रहेछ खोल्ने कुरो,' उनले हाँस्दै भने, 'हातले ठोक्किएर खुलेको बल्ल थाहा पाएँ।'
सिंगापुरमा केही समयको बसाई पछि उनीहरू नयाँ जहाजमा जर्मनी तिर लागे। जर्मनीमा इन्धन भरेर पुन : अमेरिकाका लागि उड्यो बिमान। खाना खाने बेलामा त कागज देखाउँनै पर्‍यो। गाई भैसीको मासु खाँदैनन भनेपछि नयाँ परिकार उनीहरूको अगाडी तेर्सियो। 'चार उमल जत्रो बेरिएको मासु सर्पकै जस्तो,' बूढा हाँस्न थाले, 'हामी त खाना नहेरी बूढाबूढीमात्र खासखुस कुरा गर्न थाल्यौं।'
आडैमा बस्ने अर्को विदेशीले कागजमा चित्र बनाउन थाले रे। जनवरको चित्र बनाएर यो मासु यसको भनेर देखाइदिएछन्। बल्ल पो थाहा पाएँ, गाइ भैसी खाँदैन भनेर सुंगुरको मासु ल्याइदिएको रहेछ। 'मैले नाक खुम्च्याँउँदै त्यही कुइरेलाई यो मासु खाने? भनेर सोधेँ,' बूढाले भने, 'कुइरेले पनि एस एस थेङ्कु थेङकु भन्दै खायो।'
पेट त भोको छ। के खाने त? 'चाउमिन भन्न आउँथ्यो त्यही ल्या भनेँ,' बूढाले हाँसे, 'चाउचाउ ल्याइदिइ मोरीले।' त्यही पनि मिठो मानेर खाएछन्। घरबाट हिडेदेखि धनमय्जुलाई भने भात खान मन लागेछ। के भन्ने होला भातलाई ? मन दुविधा हुँदैथियो उनले यो कुरा बूढालाई सुनाइन्। बूढाले पनि पल्लो सिटमा बसेको विदेशीले खान लागेको फ्राइड राइस देखाउँदै त्यस्तै ल्याइदिन इसारा गरेछन्। 'भात पाएपछि के चाहियो?' मनमयजु हाँसिन् ,'मज्जैले खाएँ।'
भाषा नबुझे पछि। विदेशमा पुग्ने जो कोही बृद्धबृद्धा पनि भर्खर तातो गरेर हिड्ने केटाकेटी झै हुँदा रहेछन्। उनीहरूले यस्तै अनुभव गरे। फरक यती हो की केटाकेटी रोएर मन जित्न सक्छन्, उनीहरू सक्दैनन्।
रमाइला यस्तै अनुभव बटुल्दै उनीहरू न्युयोर्क पुगे। 'छोरालाई त्यहाँ भेटेपछि भने बल्ल उनीहरूको राम कहानी सकियो। त्यहाँ बाट उनीहरू कारमा भर्जिनिया लागे। अनिलका छिमेकी साथीहरूको सत्कारले उनीहरूको मन भरियो। 'हाउ हाउ भन्दै हाँस्दै आउने,' मनमयजुले भनिन् ,'हामीले पनि हेल्लो हेल्लो भन्दै हाँस्यौं।'
तीन हप्ताको बसाइमा उनीहरू राष्ट्रपति भवन घुमे। समुन्द्रको पानीमा खुट्टा मात्र भिजाएनन्, बालुवामा पनि आएर खेले। त्यहाँ रहेका अन्य आफन्तसँग पनि भलाकुसारी गर्न भ्याए। बीचमा परेको बाबाको मुख हेर्ने दिन चार वार्ष पछि छोराबुहारीसँगै बसेर उनीहरूले मिठो मिठो खाए र आशिर्वाद पनि दिए। बसाइका क्रममा यहाँबाट लगेको रायोको साग त्यहाँ छर्न पनि भ्याए। 'एक दुई छाक त टिपेर खाइसके रे,' धनमय्जुले भनिन्।
धेरै ठाउँ घुमे। धेरै कुरा देखे। जति घुमे पनि आफ्नो मन भने नेपालमै अडिएको बूढा देवनारायणले बताए। 'यहाँ घरमा तला थप्दै थिएँ, त्यहाँ दिनभरी रमाएर बस्न भने सकिन्,' उनले भने, 'यहाँका सन्तानको पनि धेरै याद आयो।'
उनीहरू छिट्टै फर्केकोमा बिदेशी छिमेकीहरूले पनि किन यस्तो भयो भनेर चासो राखेछन्। 'पाँच वर्षको भिषा लागेको छ अब फेरि जाने हो नी,' काठमाडौं बालाजु घरमा बसेकी धन्मयजुले भनिन् ,'अब त कुरो बुझियो, हामी सजिलै जान सक्छौं।' (Nagarik Daily/Saturday, 28 November 2009 10:55 By भवसागर घिमिरे  )

Comments