Skip to main content

निरीह जनता, निकम्मा प्रशासन

मंसिर ७, २०७२- ‘कसैले देशमा सरकार छ भन्यो भने कि त उसले ढाँटिराखेको छ कि ऊ सरकारकै प्रवक्ता हो,’ पृथ्वीनारायण क्याम्पस पोखरामा स्नातक तहमा अध्ययनरत आरसी लामिछानेको आक्रोश हो यो । ग्यास बाँड्ने रे भन्ने खबरका आधारमा रित्तो सिलिन्डर बोकेर उनी मंसिर ५ गते शनिबार राति ८ बजे पोखराको उत्तरी भेग बगरबाट दक्षिणतर्फ पर्ने नदीपुर आइपुगेका थिए । 

नगर विकास प्रशिक्षण केन्द्र नदीपुरको अघिल्तिर रहेको किरण तिवारी स्टोर्समा रित्ता सिलिन्डरको लाम लागिसकेको थियो । ओढ्ने ओछ्याउनेको बन्दोबस्त गरेर आएका केही मानिसहरू सिलिन्डरकै छेल पारेर बिस्तारा मिलाउँदै थिए । सकेसम्म चाँडो लाइनमा उभिनका लागि रित्ता सिलिन्डर गुडाउँदै हिँडेकाहरू हतास देखिन्थे । ग्यासको लागि लाइन बसेको थाहा पाउने बित्तिकै खान लागेको खाना छोडेर कुदेका एक वृद्ध भन्दै थिए, ‘म पहिला आएर लाइनमा बसेँ । त्यसपछि सिलिन्डर छोरीले बोकेर ल्याइन् ।’ उनीसँग कुरा गर्दागर्दै मैले मेरै छिमेकी भाउजु भागीरथी सुवेदीलाई भेटेँ । उनी लाइनमा पुगेर दाईलाई घर जान भन्दै थिइन्, ‘तपाई बिहान ३ बजे आएर पालो दिनू । 


त्यसपछि म सुत्न जान्छु ।’ रातमा अकस्मात चलेको हल्लामा कोही गृहलक्ष्मी कम्पनीका सिलिन्डर बोकेर हिँड्दै थिए भने कोही शक्ति ग्याँसका । फाट्टफुट्ट जानकी, बाबा, लुम्बिनी ग्यास कम्पनीका सिलिण्डर पनि देखिन्थे । लाइनको माचामाच हेर्दा लाग्थ्यो, कुनैपनि बेला धकेला धकेल भयो भने यहाँ ‘जसको शक्ति उसको भक्ति’ हुन बेर लाग्दैनथ्यो । टोल नजिक भएकाले आफ्ना छिमेकी र नजिकका नातेदारहरू पनि थुप्रै थिए लाइनमा । सबै मुखमा एउटा अन्योलको प्रश्न झुण्डिएको थियो, ‘सिलिन्डर कति बाँड्दैछ ?कुन कम्पनीको बाँड्दैछ ।’ शनिबारको त्यो रात म पुग्दासम्म एउटा हल्ला भने व्यापक थियो, शक्ति ग्यास बाँड्दै हो अरुले दु:ख नगरे हुन्छ । 


‘डिपोकोले नै भनेको ६ सय बाँड्ने रे,’ अर्को व्यक्ति आएर झुण्डमा चिच्याउँदैथियो । मैले क्यामेरा निकालेर फोटो खिच्नथालेपछि मलाई नै आएर सोध्नेको भीड पनि बढ्यो, ‘हजुर पत्रकारलाई त थाहा होला नि ग्यास कति बाँड्दैछ ।’ मैले आफू पूरै अनभिज्ञ भएको बताएपछि उनीहरू निराश बनेर फर्केका थिए । मानिसको भीडभाड बढ्न थालेपछि केही प्रहरीहरू पनि फाट्टफुट्ट देखिन थाले । स्वतस्फुर्त रुपमा केही उपभोक्ताले मार्कर पेनले सिलिन्डरमा क्रमश: नम्बर लेख्दै आएका थिए । हिँडेर दुई मिनेटमा काटिने बाटोमै नागबेली परेर बसेका सिलिन्डर ५ सय ५ वटाको लाम लागिसकेको थियो । त्यो भन्दापछि पनि उति नै संख्यामा रित्ता सिलिन्डर बोकेर बसेका मानिसहरू थिए । 

रातको १०:३० सम्ममा सिलिन्डरको संख्याले लगभग हजार नाघ्दै थियो । ‘सर कतिवटा बाँड्दैछ ?’ मैले वकीटकी बोकेका एक प्रहरीलाई सोधेँ । ‘खै थाहा छैन, भोलि विहान ७:३० मा एफएम सुन्नुहोस्,’ उनले जवाफ फर्काए । रातभर लाइनमा बस्नु छ । त्यसमाथि कति सिलिन्डर बाँड्छ, कुन कम्पनीको बाँड्छ भन्ने न डिपोलाई नै थाहा थियो न उपस्थित प्रशासनलाई नै । ‘५ सय ५० नम्बरभन्दा पछि परियो, नपाउने भए हामी जान पर्‍यो, कसले भन्देला ?’ एक दिदीले प्रहरीसँग दुखेसो पोखिन्, ‘घरमा तीन महिनाकी छोरी छे, छोडेर यहाँ आएको छु ।’ प्रहरीले निरीह भएर आफूहरूले केही भन्न नसक्ने बताए । उनी निराश भएर लाइनमै फर्किइन् । 
‘नाकाबन्दी भारतीय सरकारबाट भएको हो,’ यसलाई आममानिसले बुझेर नै संयम अपनाएका थिए । भारतीय रवैया त बैरी नै बन्यो । आफ्नै मानेको सरकारले पनि अनाहकमा पीडा दिएपछि लाम लागेका धेरैको मन नदुख्ने कुरै भएन । रातको ११ बजेसम्म त्यहाँका विभिन्न झुण्डमा भएको हल्लालाई आधार मान्ने हो भने जम्मा ५ सय सिलिन्डर बाँड्दैथियो । त्यसमाथि विहान ७ बजे बाँड्ने अनि शक्ति कम्पनीको ग्यास भन्ने पनिपक्कापक्की जस्तै भएको थियो । शनिबारकै दिनमा आफ्नै खेतमा दाइँ भएको र सोही दिनमा घरमा धानपराल भित्राएकाले म निक्कै थकित थिएँ । रात छिप्पिँदै जाँदा सित खस्नथालेपछि जाडो झन् झन् बढ्न थाल्यो । थकित म आफै अनुत्तरित भएर खल्लो मन बोकेर घर फर्केँ । 
आइतबार बिहान ७ बजे मेरो मोबाइल फोन बज्यो, ‘गृहलक्ष्मी ग्यासको सिलिन्डर छ ?’ उही छिमेकी भागीरथी भाउजुले फोन गर्नु भो । रातभर शक्ति ग्यासको सिलिन्डर बोकेर लाइनमा बस्नु भएको उहाँले किन गृहलक्ष्मी खोज्नु भयो त ? ‘गृहलक्ष्मी पो बाँड्ने रे, ४ सय ५१ वटा’ विहान प्रशासनको हवाला दिँदै स्थानीय विभिन्न सञ्चार माध्यमले सूचना निकालेछन् । पहिलाको लामको अनुपातलाई आधार मान्दा विहान ७ बजेसम्म पैतीस सयभन्दा बढी मानिसहरू सिलिन्डर कुरिरहेका थिए । तीमध्ये अधिकांशले जाडोमा लाइनमै रात बिताए । जुन ठाउँमा शक्ति ग्यास बाँड्ने हल्ला थियो त्यो ठाउँमा गृहलक्ष्मी बाँड्ने भएपछि विहानै घरघरमा गृहलक्ष्मीका खाली सिलिन्डर खोज्नेहरू टोलमा बढ्न थालेका थिए । मलाई मात्रै ५ वटा फोन आएको थियो, सिलिन्डर खोज्नेहरूको । म क्यामेरा बोकेर फेरि डिपो नजिक पुगिसकेको थिएँ । रातको अनिँदोले ओइलाएकाहरूलाई अब कसरी गृहलक्ष्मी कम्पनीको खाली सिलिन्डर खोज्ने भन्ने चिन्ताले सताएको थियो । रातिदेखि नै लाइन लागेका स्थानीय हरि अधिकारी भन्दै थिए, ‘गृहलक्ष्मीको सिलिन्डर नभेटेपछि कसैले आफ्नो लाइनको पालो ३ सयमा बेचेको सुनियो, कसैले ५ सयमा । सिलिन्डर १ हजार तिरेर साट्ने पनि भेटिए ।’ आइतबार दिउँसो १ बजेसम्म पनि ग्यास वितरण गरिएको थिएन । 

ग्यास फिलिङ स्टेसन भएको क्षेत्रमा नबाँडी पोखरा लैजाने भन्ने खबरले लेखनाथ नगरपालिकाका स्थानीय बासिन्दाले अवरोध गरेपछि सिलिन्डर बोकेका गाडी बाटैमा अड्कनु परेको हल्ला पनि लाम लागेका मान्छेहरूको झुण्ड झुण्डमा आइसकेको थियो । लाइनमा घुसपैठ रोक्न वितरण डिपो वरपर प्रहरीहरू लाठी बोकेर तम्तयार थिए । कि सूचना चुहाउनै हुँदैनथ्यो, चुहाउने भएपछि आधिकारिक नै निकाल्नु पथ्र्यो । प्रशासनले अघिल्लो राति नै सूचना निकालेर लाममा बसेकाहरूलाई कुपन बाँडेको भए सबैले घर गएर सुत्न पाउँथे । पोखरा भरिमा २० स्थानमा ग्यास बाँडिदै थियो । एक डिपोमा सालाखाला १५ सयको दर मान्ने हो भने पनि सबैमा गरी ३० हजार जना मानिसले दु:ख पाए । आधिकारिक सूचना बेलैमा नआउँदा यतिका निरिह मान्छेहरूलाई खुल्ला आकाशमा रात काट्न बाध्य पार्ने यो जस्तो निकम्मा प्रशासन कुनै हुन सक्दैन । कालोबजारी रोक्न ठोस कदम चाल्न नसक्ने प्रशासनविरुद्ध आम उपभोक्ता सँगसँगै मेरो मनमा पनि निकै आक्रोश उब्जिरहेको थियो । 

यसैबीच झट्ट हिजो आक्रोशित मुद्रामा भेटिएका आरसी लामिछानेलाई सम्झेँ । लाममा वारिदेखि पारिसम्म धेरै डुले पनि उनलाई भेट्न भने सकिनँ । तर उनले अघिल्लो रात पोखेको आक्रोश भने मेरो मनमा खेलिरहेको थियो, ‘कसैले देशमा सरकार छ भन्यो भने कि त उसले ढाँटिराखेको छ कि ऊ सरकारकै प्रवक्ता हो ।’ 

http://kantipur.ekantipur.com/news/2015-11-23/20151123120021.html


http://bit.ly/1ldkgNm

Comments

Popular posts from this blog

मोबाइलको साटो पुस्तक

बाल मनोविज्ञानमा आधारित भएर लेख्नु आफैमा जटिल र चुनौती पुर्ण छ  । त्यसैमाथि सबै भन्दा सरल बनाउँनु पर्ने विषय पनि यहि रहेछ । बाल मस्तिस्कको सोचाइको धरातल फराकिलो बनाउँने  प्रयास म सधैं जारी नै राख्नेछु । बालबालिकाहरुलाइ आज राम्रा पुस्तक पढ्न दिँदा भोलीका दिनमा उनीहरुले रचनात्मक काम गर्न सक्छन् । हामी सबैले पढ्ने र पढाउँने बातावरण बनाउँन मद्दत गरौं । मेरा यी रचनाहरुमा चित्र कोरेर सुन्दर बनाइदिने नागरिक दैनिकका Dewen दाई र Yuwak जी, भाषामा सघाउने Shekhar दाई अनि प्रकाशनमा ल्याउँने Sangrila Book का Mani जीलाई धेरै धेरै धन्यवाद । म अछाम नपुगेको भए सायद यो बालकथा अाउँदैन्थ्यो होला । सन् २००९ मा Room to Read Nepal को कथा कार्यशालामा नअटाएको भए सायद 'हाम्रा खेलहरु' का बारेमा उबेला बाल कविता फुर्दैन्थ्यो । सधै‌ झै, छोराछोरीको हातमा मोबाइलको साटो पुस्तक दिउँ । उनीहरुका आँखा र दिमाग झनै तेजिलो हुनेछन् । अघिल्ला तीन कृती... माथिका तीन पुस्तकहरु ' पाठीलाई स्वेटर, भान्छामा चुट्किला, देउता खुशी हुनुभयो' तलका पुस्तक पसलहरुमा यस अघि नै आइसकेका छन् । नयाँ पुस्तक...

जाडोका चिसा उखान टुक्का

बिस्तारै बिस्तारै बढ्दै गरेको जाडोले विहान धेरै अबेर सम्म पनि हामीलाई बिस्तारामा सिरक भित्रै रोक्न सक्छ । झ्यालका पर्दा घामले नखोली कन हामी आफै खोल्न तम्सन पनि गाह्रो हुन्छ । विहानै तातो चियाको गिलासलाई ओठले चुम्न पाउँदा मात्र हात गोडा चलमलाउन थाल्छन् । अझ एका विहानै काममा जानु पर्ने वा कलेज जानु पर्नेलाई त जाडो कहिल्यै नआए हुन्थ्यो झै हुन्छ । यस्तो कठ्याङ्ग्रीने जाडोको बेलामा हाम्रा उखान टुक्काहरू कसरी बांगिने गर्छन्, यसबारेमा केही प्रसंग तल छ । तपाइलाई यो जाडो मौसम भरि न्यानो घामले माया गरोस शुभकामना ! जाडोले कामेको गोरुलाई बोरा ओढाउन सकिन्छ, सिरक ओडाउन सकिन्न अनिकालमा बिउ जोगाउनु, चिसोमा जिउ जोगाउनु चिसोले समाएको मान्छेलाई, आइसक्रिमले पनि लखेट्छ अर्काको आंङमा गन्जी लगाएको देख्ने, आफ्नो आंङमा जकेट लगाएको  नदेख्ने ? हिटरले पोलेको मान्छे, राइस कुक्कर देख्दा तर्सन्छ  थर्मस फुटे, तातो लुटे खाइ न पाइ, लेदर जकेट लाई  काम पाइनस छोरो, मोजामा आइरन लगाइ

भाइबहिनीसँग भेटघाट

‘‘चश्म खोलेपछि मात्र किताबमा भएको राइटरको फेस तपाइसँग मिल्छ । हजुरले किन कथा लेख्नुहुन्छ ? पाठीलाई स्वेटर मैले दुइ कक्षामा पढेको बेस्ट बुक हो । मेरो घरको ढोकामा सधैं बिरालो आउछ । मैले दूध दिन्छु । यसको पनि कथा हुन्छ ? हाम्रो लागि अझै धेरै कथा लेख्दिनु है । अब कहिले आउनु हुन्छ ?’’ कक्षा तीनमा पढ्ने नानीबाबुका कलिला बोलीले फूलजस्तै गरि मनमा छोए । 'लेखकसँग अन्तरक्रिया'मा आफ्नो पुस्तक ‘भान्छामा चुट्किला’ बाचन गर्न र कथा लेखनका बारेमा बताउन उनीहरूको विद्यालयमा पुगेको थिएँ । हामीले यस पुस्तकका चित्रकार Yuwak Shrestha लाई पनि सम्झियौं । नानीबाबुहरूले दुई कक्षामा मेरो अर्को पुस्तक ‘पाठीलाई स्वेटर’ पनि पढेका रहेछन् । लगभग ८० जना नानीबाबुका माझमा कथाबाचन गर्न र हराउन पाउदा नयाँ कथा बुन्ने उर्जा मिलेको छ । अवसरका निम्ति युलेन्स स्कूल ललितपुर र शिक्षिका मिना लुइटेल जीलाई धेरै धेरै धन्यवाद । अब चाँडै स्वतस्फुर्त रूपमा केही सामुदायीक विद्यालयमा कथा बाचन गर्ने र बुन्ने कला साट्न पुग्ने योजना बनाएको छु । ज्ञान बाँडे पक्कै बढ्दछ, नबाँडे सर्लक्कै घट्दै जान्छ । #childrensbooks #nepalichildren...