Skip to main content

‘अटलबहादुरको आतंक’ अझै छ


भवसागर घिमिरे

गएको शनिबार गुरुकुलमा नाटक हेर्न गएको थिएँ । नाटक थियो ‘अटलबहादुरको आतंक ।’ माओवादी द्वन्द्वकालताकाको खल्लुबोट गाउँको कथा नाटकले समेटेको थियो । विदेशी नाटकहरूलाई रुपान्तरित गरेर प्रस्तुत गर्ने नेपाली प्रचलनका माझ आफ्नै गाउँघरमा आफैले द्वन्द्वका समयमा भोगेका, सुनेका र देखेका कथाहरू हेर्न पाउनु निक्कै चाखलाग्दो हुँदोरहेछ ।
खल्लुबोट गाउँमा मिलेर बसेका दमाइ, गुरुङ, बाहुन र क्षेत्री जातका छत्रे, शिवे, हर्कबहादुर, रामसिंहको कथालाई कथाका शुत्रधार भट्टी पसले गुमानेले रसिलो तरिकाले प्रस्तुत गरेका छन् । जनयुद्धका बेलामा बुढाबुढीमात्रले भरिएका नेपालका धेरै गाउँ मध्येको एक गाउँको रूपमा खल्लुबोटलाई प्रस्तुत गरिएको छ । त्यहाँ हरेक जातका मान्छेमाझ समानता र प्रेम देखाइएको छ नाटकमा । हरेक साँझ गुमानेको पसलमा बूढाहरू भेलाहुन्छन र लोकल रक्सिसँगै रमाइलो गर्छन् । जति नै झगडा गरेपनि आखिरमा उनीहरू एकअर्कालाई अंगाल्छन् र खातामा नाम चढाउनु भन्दै बाटो लाग्छन् । 


हर्कबहादुरका भारत पाकिस्तान युद्धमा भिडेका कुराले मात्र हैन शिवेका तास खेल्दा लडेका कुराले मान्छेलाई मरिमरि हँसाउँछ नाटकमा । छत्रेका बाजाबजाउँदा कुरा सुन्दा पेट मिचीमिची हाँस्न पाइने यो नाटकले हामीलाई साँच्चै नै आफ्नै गाउँमा पु¥याएको अनुभव हुन्छ । तर जब गाउँमा नौलो मान्छे अटलबहादुर पस्छ नाटकले नयाँ मोड लिन थाल्छ । जिल्ला जिल्लामा मान्छे काट्दै हिडेको उसका कुरा अघि अब हर्कबहादुरको पल्टनको कुरा, शिवको तासमा झगडा परेको कुरा अनि छत्रेका बाजा बजाउँदा झगडा परेका कुराहरू फिक्का हुन थाल्छन् । अटलेले गाउँलाई यसरी थर्कमान बनाउँछ कि न गुमानेले आफ्नो होटलको बिल उसँग असुल्न सक्छ न गाउँका कसैले उसका विरुद्धमा चुइँक्क बोल्न सक्छन् । 
मान्छेका टाउका काट्न आफूलाई पोख्त बताउने अटलबहादुरले आफ्ना धेरै साथीहरू पनि बिस्तारै त्यही गाउँ आउँदै गरेको ध्वाँस दिँदै सबैलाई आफ्नो इशारामा नचाउँन थाल्छ । देशका विभिन्न भागमा सरकारी पक्ष र विद्रोही पक्षबीच भिडन्त भइराखेका समाचार रेडियोबाट आइराख्दा खल्लुबोटमा भने अटलबहादुरको आतंक मच्चि राखेको हुन्छ । घरघरमा पसेर उ कुखुराको भाले उठाएर हिड्थ्यो, खसीका फिलाको व्यवस्था भएन भने सबैलाई ठिक पार्छु भन्दै धम्की पनि दिन भ्याउँथ्यो । उसले आतंकको सिमाना चढ्दै जाँदा अन्तत उसले आफूलाई गाउँको मुखिया बनाउँछ । उसका बिरुद्ध चुइक्क बोल्ने आँट कसैले गर्दैनन् । गरेका पनि पाखा लागेर जान्छन् । अटले आफू बिरुद्ध खनिनेहरूलाई सजायँमात्र दिँदैन आफूलाई गाउँको कुल देवता आफैले घोषणा गर्छ । अटलेको उपस्थितीले डराएका बूढाहरूको एकाता पनि बिस्तारै खुस्किन थाल्छ । 
अटलबहादुर गाउँ पसेपछि कसको घरमा सुत्न दिने बारेमा भट्टीमा खुब छलफल चल्छ । सबैले आफ्नो घर साँघुरो भएको र अर्काको घर ठिक भएको बताउँदा अटलेले शिवेको घरमा सुत्ने भन्दै भट्टीबाट शिवेलाई घिच्याउँदै लिएर हिड्छ । शिवे मर्ने भयो भन्दै तीन बुढा छत्रे, रामसिंङ, हर्कबहादुर रुँदै हिड्दा हाँसिराखेका दर्शकमा एकाएक नैराश्यता छाउँछ । बूढाहरू भट्टीबाट बाटोलाग्नु अघि सबैले रुँदै ‘त्यो दिनको खर्चपर्च त्यही शिवेको नाममा लेख दे’ भन्दै हिड्छन् । यसरी रुँदा रुँदै हँसाउने र हाँस्दा हाँस्दै रुवाउने नाटकले दर्शकको मन निक्कै जित्न सफल भएको छ । नाटकको अन्त्यमा अटलेको आतंकबाट गाउँले मुक्त पाएर नाटक सकिन्छ । कसरी मुक्त पाउँछन र यसबीच के हुन्छ भन्ने बारे यहाँ लेखियो भने नाटक हेर्दा खल्लो हुन सक्छ । नाटकको कथा जति मार्मिक छ कलाकारको अभिनय पनि उत्तिकै कसिलो छ । हाँस्यरस प्रचुरमात्रामा भएको यो नाटकले दर्शकलाई पेट मिचिमिची हँसाउँदा सवा घन्टा बितेको पत्तै हुँदैन । 
नाटकको पहिलो बीस मिनेटको भट्टी संबाद हँसिलो भएपनि अल्लि लामो भएको मेरो अनुभव छ । मणिराम पोखरेलले निभाएको अटलबहादुरको चरित्र प्रशंसा योग्य भएपनि नाम र गुणगान अनुरुप अझै माझ्न बाँकी देखिन्छ । कमलमणी नेपाल, लोकेन्द्र लेखक, रामहरी ढकाल, राजकुमार पुडासैनी, विपिन कार्कीले निभाएको बुढाहरूको चरित्र निक्कै शसक्त छ । प्रविण खतिवडा, नवराज कार्की, जानकी चौधरी र सरस्वती चौधरी सानै भुमिका भएपनि त्यसलाई न्याय दिएका छन् । यी यस्तै केही पक्षलाई सुधार्न सके खगेन्द्र लामिछानेको लेखन र निर्देशनमा रहेको यो नाटक अझ् सशक्त बन्न सक्ने थियो । 
मंसिर २४ गते सम्म सोमबार बाहेक हरेक दिन साँझ साढे चार बजे मञ्चन हुने यो नाटक ‘डराउने र नडराउनेहरूको’ कथा हो । ‘असत्यसँग डरायो भने हाम्रो अस्तित्वनै बिलाएर जान्छ’ भन्ने सन्देश नाटकमा छ । माओवादी युद्धताका माओवादी सैनीक होस् या प्रहरी र नेपाली सैनीक नै किन नहोस्, उनीहरूको खोल ओढेर फाइदा लुट्ने नक्कली सैनिकहरूको प्रतिकात्मकको रुपमा अटलबहादुरलाई प्रस्तुत गरिएको छ । नाटकले द्वन्द्वकालको सम्झना गराए पनि यो अझै सान्दर्भिक देखिन्छ । यहाँ अझै पनि धेरै अटलबहादुरहरू खुलेआम घुमिराखेका छन् जसलाई नाटकमा झै कसैले कार्वाही गर्न सकेको छैन । गैरकानुनी रुपमा जग्गा हडपेकाहरू हुन या हत्याको अभियोग लागेर पनि मन्त्रीपद कुम्ल्याएकाहरू हुन् । बालकृष्ण ढुंगेल हुन् या प्रभु शाहा नै किन नहुन । उनीहरू कहिल्यै कार्वाहीको भागिदार बनेका छैनन् । ती सबै अटलबहादुरहरूलाई पनि नाटकमा झै कार्वाहीको दायरामा ल्याउन पाए नाटकले दिन खोजेको सन्देश सार्थक हुन सक्थ्यो ।
sagarbhaba@gmail.com (2068/08/11)

Comments

Popular posts from this blog

एउटा खाली पाना

  एउटा खाली पाना जसमा कोरिन सक्थ्योे करौडा तालीका कविता एउटा खाली पाना जसमा बन्न सक्थ्योे अरबौं बिम्बका चित्र जबरजस्ती आगोमा फालियो एउटा खाली पाना जसले काँधमा थाप्न सक्थ्यो यो देशको भविष्य भर्खरै खरानी भयो एउटा खाली पाना एउटी निर्मला एउटी पुष्पा एउटी माया तपाई कै छोरी, दिदी,  बहिनी, चेली उहि, एउटा खाली पाना ।

मोबाइलको साटो पुस्तक

बाल मनोविज्ञानमा आधारित भएर लेख्नु आफैमा जटिल र चुनौती पुर्ण छ  । त्यसैमाथि सबै भन्दा सरल बनाउँनु पर्ने विषय पनि यहि रहेछ । बाल मस्तिस्कको सोचाइको धरातल फराकिलो बनाउँने  प्रयास म सधैं जारी नै राख्नेछु । बालबालिकाहरुलाइ आज राम्रा पुस्तक पढ्न दिँदा भोलीका दिनमा उनीहरुले रचनात्मक काम गर्न सक्छन् । हामी सबैले पढ्ने र पढाउँने बातावरण बनाउँन मद्दत गरौं । मेरा यी रचनाहरुमा चित्र कोरेर सुन्दर बनाइदिने नागरिक दैनिकका Dewen दाई र Yuwak जी, भाषामा सघाउने Shekhar दाई अनि प्रकाशनमा ल्याउँने Sangrila Book का Mani जीलाई धेरै धेरै धन्यवाद । म अछाम नपुगेको भए सायद यो बालकथा अाउँदैन्थ्यो होला । सन् २००९ मा Room to Read Nepal को कथा कार्यशालामा नअटाएको भए सायद 'हाम्रा खेलहरु' का बारेमा उबेला बाल कविता फुर्दैन्थ्यो । सधै‌ झै, छोराछोरीको हातमा मोबाइलको साटो पुस्तक दिउँ । उनीहरुका आँखा र दिमाग झनै तेजिलो हुनेछन् । अघिल्ला तीन कृती... माथिका तीन पुस्तकहरु ' पाठीलाई स्वेटर, भान्छामा चुट्किला, देउता खुशी हुनुभयो' तलका पुस्तक पसलहरुमा यस अघि नै आइसकेका छन् । नयाँ पुस्तक...

जाडोका चिसा उखान टुक्का

बिस्तारै बिस्तारै बढ्दै गरेको जाडोले विहान धेरै अबेर सम्म पनि हामीलाई बिस्तारामा सिरक भित्रै रोक्न सक्छ । झ्यालका पर्दा घामले नखोली कन हामी आफै खोल्न तम्सन पनि गाह्रो हुन्छ । विहानै तातो चियाको गिलासलाई ओठले चुम्न पाउँदा मात्र हात गोडा चलमलाउन थाल्छन् । अझ एका विहानै काममा जानु पर्ने वा कलेज जानु पर्नेलाई त जाडो कहिल्यै नआए हुन्थ्यो झै हुन्छ । यस्तो कठ्याङ्ग्रीने जाडोको बेलामा हाम्रा उखान टुक्काहरू कसरी बांगिने गर्छन्, यसबारेमा केही प्रसंग तल छ । तपाइलाई यो जाडो मौसम भरि न्यानो घामले माया गरोस शुभकामना ! जाडोले कामेको गोरुलाई बोरा ओढाउन सकिन्छ, सिरक ओडाउन सकिन्न अनिकालमा बिउ जोगाउनु, चिसोमा जिउ जोगाउनु चिसोले समाएको मान्छेलाई, आइसक्रिमले पनि लखेट्छ अर्काको आंङमा गन्जी लगाएको देख्ने, आफ्नो आंङमा जकेट लगाएको  नदेख्ने ? हिटरले पोलेको मान्छे, राइस कुक्कर देख्दा तर्सन्छ  थर्मस फुटे, तातो लुटे खाइ न पाइ, लेदर जकेट लाई  काम पाइनस छोरो, मोजामा आइरन लगाइ