काउकुती लाग्दो, यौवनका कुरा

–भवसागर घिमिरे

गुच्चा खेल्दा साथीका गुच्चा यसरी फुटाइन्थ्यो की, झगडै पथ्र्यो । धेरैले मेरो कुटाइ खाए ।

Photo : Mega Bank Photo Competition, Kathmandu 2011, winner
केटाहरूले जिस्काउँदा निक्कै रिस उठ्थ्यो र रमाइलो पनि लाग्थ्यो । राम्री केटीसाथीलाई धेरै केटाहरूले जिस्काउँथे मन पराउँथे, मलाई भने निक्कै डाहा लाग्थ्यो । 

सानैमा सधैं भात पकाउने, भैसीलाई घाँस काटेर हाल्ने काम मैले गर्नु पर्ने । कहिले काहीँ त यति रिस उठ्थ्यो की भैसी फुकाएर म पनि त्यसैका पछि पछि घर छाडेर भागुँ झै लाग्थ्यो ।

कुरकुरे वैषमा, स्कुल पढ्दा, जुन केटी देखेपनि राम्री लाग्ने । कुनै केटीसँग हात मिलाएँ भने त्यो दिन मेरो सबैभन्दा मिठो दिन हुन्थ्यो ।

कसैको जीवनसँग मेल खाएमा माथीका कुराहरू संयोग हुने छैनन् । हुन पनि हामी माझ धेरैका बाल्यकाल र यौवन अवस्था यस्तै यस्तै घटनाक्रमहरूसँगै बितेका छन् । कथा मीठो सारङीकोका लागि नयाँ नाटक लेख्न सुरु गर्ने बेलामा विषय नै ‘बाल्यकाल र यौवन अवस्थामा आउने विभिन्न परिवर्तन, समस्या र समाधानका बाटो’ परेको थियो । 

नयाँ कथा सुरु गर्दा कहाँबाट सुरु गरुँ भन्ने ध्याउन्न सधैं हुँदो रैछ । यसपाली बाल्यकाल र यौवन अवस्थाका बारेमा कथा बनाउनु पर्ने भएकाले पहिला आफ्नै मनमा भएका पुराना तर मिठा काउकुतीहरूलाई एक पटक फेरि सम्झने मौका पाइयो । बाल्यकालका रमाइला पल र यौवन अवस्थाको रोमान्ससँगै भोगेका तनावहरूका बारेमा बिचार मन्थन सुरु भयो । 
आफूले सम्झे र बुझेका कुरा बुँदागत रुपमा उतारेपछि हाम्रो नाटकका गतिबिधीलाई इन्टरनेटबाट संसार घुमाउने साथी कमलकुमार, नाटकले उठाएका र छुटाएका विभिन्न मुद्दालाई रेडियो म्याग्जीन मार्फत उठाउने साथीद्वय रोजीता र भानुसँग उनीहरूले बुझेका र भोगेका कुराहरूका बारेमा भलाकुसारी सुरु भयो । 
नाटक रेकर्ड र पोष्ट प्रोडक्सनमा सहयोग गर्ने साथीहरू शिरिष विक्रम थापा अनि प्रकाश घिमिरेका बाल्यकाल र युवाअवस्थाका कुरा पनि कम्ता रोचक थिएनन् । दिलुको भुमिकामा नाटकमा आउने प्रकाश गन्धर्वले आफू गाउँ डुल्दाका कुरा सुनाएर कथामा नयाँ पाटा थप्ने बाटाहरू दिए ।  
नाटक उत्पादनका विभिन्न पक्षमा नजिक रहेर सहयोग गर्ने सृष्टिराजभण्डारी अनि लेख्दा लेख्दै अड्किएका र लेखिसकेपछि चित्त नबुझेर घोत्लिएका बेलामा सधैं अदृश्यरूपमा नाटकका दृश्य कल्पना गर्न सघाउने साथीद्वय खगेन्द्र र सिवानीसँग पनि रमाइला कुराकानी हुन थाले । हामीले लेखेका कुराहरूलाई नाट्य रुपान्तरण गर्दा रोचक बनाउन सधैं सल्लाह सुझाव दिने नाटक सम्पादक फियोना लेजरसँगको छलफलले पनि मैले कोर्न थालेको कथालाई नयाँ मोडहरू दिन मद्दत गर्दै थियो ।

‘अम्बा चोर्न जाँदा म रुखमै थिएँ, साथीहरू भागिसकेछन्, रुखबाट हत्तन पत्त झर्न खोजेकोे त बागबानीका पालेदाइकै अगाडी हाम फालेछु’
‘फिल्म हेर्न जानलाई पैसा दिन्न भन्नु भयो, म त चोरेरै भएपनि गएँ । फिल्म हेर्न जत्ति मजा आयो साँझ घर फर्कदा त्यो मजा सबै आमाको चुट्इ खाँदा बिर्सिएँ ।’
‘सबैले यो केटीले तिमीलाई धेरै हेर्छे भन्थेँ, हो त हो त्यही गलफ्रेन्ड जस्तो लाग्यो । के गर्नु ८ वर्षको त थिएँ नी ।’
यस्ता यस्ता कुराले हाम्रो छलफललाई मात्र रोचक बनाइरहेको थिएन कथाका दृश्य पनि बुन्दै थियो । बाल्यकाल र युवा अवस्थाका पलका बारेमा फेसबुकमा राखिएका प्रश्नमा आएका उत्तरहरू, श्रोताले हामीलाई पठाउनु भएका एसएमएस, इमेल र पत्रहरूमा उठाइएका मुद्धाहरूलाई पनि केलाउन थालिसकेका थियौं हामीले । कार्यलय भित्रै अन्य समुहका साथीहरूको बिचारलाई पनि अब एकठ्ठित गर्न सुरु गरियो ।

‘मेरा केटी साथीमात्र धेरै थिएँ, कसैले त केटी नै होस् क्या भनेर जिस्काउँथे’
‘पहिलो पटक महिनावारी हुँदा मरुँला झै भाथ्यो’
‘साथीले हस्तमैथुन गरेर देखायो, म त हेरेको हे¥यै भएँ,’
‘पहिलो पटक प्रेम पत्र पाउँदा मैले स्कुलको ट्वाइलेटमा गएर हेरेँ । मेरो जिउ लुगलुग काम्यो ।’
‘मलाई एक जना केटाले जिस्काएको थियो । मैले बालाई भने, बाले सरलाई । केटोको सातो गयो ।’

यस्तै यस्तै कुराहरूले सबैलाई बाल्यकाल र यौवन अवस्था सम्झाइ राखेको थियो ।

केही स्कुले विद्यार्थी र शिक्षकसँगको भेट अनि पहिला पहिलाका नाटकका पात्रहरूसँगको फोन सम्बादले अझ धेरैकुराहरू बाहिर ल्यायो । समुहमा पढ्ने नाममा साथीकहाँ गएर लुकी लुकी ब्लु फिल्म हेर्ने, स्कुलमा मोबाइल लुकाएर लैजाने र पोर्न तस्बिरहरू हेर्ने, केटी वा केटाका विषयमा झगडा गर्नेमात्र हैन रिस उठे शिक्षक पिट्न समेत पछि नपर्ने घटनाहरू हामी माझ आए । डन्डिफोर आउँदा होस् या जुंगा आउँदाहोस्, शरिरमा आएको परिवर्तनका बारेमा अनभिज्ञहुँदाको तनावहरू पनि धेरै सुन्न पाइयो । अझ पहिलो पटक महिनावारी हुँदाको पिडा, नाइटफल हुँदाको उत्सुक्ता, पढाइको तनाव, घर व्यवहारको झमेलाबारे सुनेका र भोगेका कुराले बाल्यकाल र युवाअवस्थालाई निक्कै नै राम्ररी नियाल्न सहयोग पु-यायो । 

‘सरले स्कुलमा मोबाइल खोस्दिनु भयो । धन्न मैले त्यहाँ भएका न्याकेड फोटाहरू र अश्लिल भिडियो पहिल्यै डिलेट गरेको थिएँ ।’
‘स्कुलबाट फर्कदा मेरा झोलामा सधैं झार, ढुंगा र फोहर कागज हुन्थे, साथीहरूले हेप्न पनि यसरी हेप्थे भने ।’
‘पढेन भनेर घरमा जहिल्यै कराउने, मेरो पालो भात खान्न भनेर हिन्दिन्थेँ ।’
‘मैले म भन्दा ठूला केटाहरूलाई पनि पिड्दिन्थेँ, त्यसैले कोही पनि मसँग निहुँ खोज्न आउँदैन्थ्यो ।’
‘बा को दाह्री फाल्ने मेसिन चोरेर मैले जुँगा काटेँ । दुई दिन त राम्रै भाथ्यो, पछि भने यसरी जुँगा आउन थाल्यो कि म अत्तालिएँ ।’

कुराकानी कति रसिला भए त कति हँसिला । जति झगडा गरेपनि, जति मिले पनि ‘बाल्यकाल निक्कै रमाइलो र सम्झना योग्य थियो,’ सबैमाझ भएका छलफलको निचोड यहि बन्यो । यौवन अवस्थामा गरेका कुरा सम्झदा अझै पनि हामीमाझ धेरैलाई काउकुती लाग्थ्यो, मिल्थ्यो भने सबै जना त्यहीँ फर्कन्थे होला । यसरी समयको सुइ उल्टो घुमाएर पहिलाको उमेरमा फर्कन नसकेपनि यी सबैका सम्झनाहरूले प्रिती र प्रमोदको कथालेख्न मलाई निक्कै सहयोग पु¥यायो । अब यहि नाटक ‘प्रिती र प्रमोदको कथा’ (ददअलभउबष्मिचबmब।अयm) ले यहाँहरू सबैको सम्झनालाई ताजा राख्ने छ भन्ने मैले आश लिएको छु । जो यहि पलहरू भोग्दै हुनुहुन्छ, उहाँहरूले नाटक कथा मिठो सारङ्गीको अनि सारङ्गीको भलाकुसारी सुनिसकेपछि के ठिक र के बेठिकबारे पनि एकपटक सोच्नु हुनेछ भन्ने हाम्रो विश्वास छ । प्रतिक्रिया पाउने अपेक्षा सहित, यहाँसम्म पढ्नुभएकोमा धन्यवाद । 
sagarbhaba@gmail.com

Comments