Skip to main content

मेरो भविष्य उसको हातमा छ

प्रसंग यहाँबाट सुरु हुन्छ ।

कास्की जिल्लाको घाचोक गाविस । गत असारको महिना । कच्ची सडक । म पोखरा फर्कनको लागि मामा घरको आँगन छेउमै बस कुर्दैथिएँ । केहि बेरमा बस आएर रोक्कियो । टाटा कम्पनीको जम्बो बसमा खचाखच मान्छे भरिएको थियो । हतार हतार गाडी चढेँ ।
‘नमस्कार सर,’ भित्र पस्ने बित्तिकै स्टेरिङबाट दुबै हात उठाएर उ मलाई हेरिराखेको थियो । म उसलाई हेरेरको हेरेइ भएँ । मैले स्कुल पढाउने बेलामा यो रविन क्षेत्री (नाम परिवर्तन) कक्षा ६ को विद्यार्थी थियो ।
मैले नमस्कार फर्काएँ । उ हल्का हाँस्यो र फेरी अगाडी फर्केर गाडी बढाउन थाल्यो ।
झरीको महिना । जिपले खोलो तर्न नसकेर हिजो फक्र्यो रे भन्ने हल्ला पनि बसमा थियो । ‘बाबु भित्ता भित्ता लैजाउ है,’ बसमा बुढीआमै रविनलाई भन्दै थिइन्, ‘भिर देख्यो कि आंङै सिरिङ्ग हुन्छ ।’
यी आमै देखेर मेरी फूपू दिदीको सम्झना आउथ्यो । उनी भन्थिन, ‘दुई घण्टा हिडेर बजार पुगिहालिन्छ, मुन्छेहरू तीन घण्टा मोटर कुरेर बस्छन् । देउताले दिएको मुन्छेको गोडाको त भर हुन्न, मोटरका पांग्राको के भर ? कुन बेला कुन भिरबाट फराल्छ अनि बर्बाद ।’ उनको आफ्नै खाले तर्क थियो । हुन पनि बस चल्यो भन्दैमा खुट्टै चल्न छाड्ने हाम्रो बानी साँच्चैको नराम्रो सँग झांगिदै थियो ।
खाल्डाखुल्डीमा गाडी ढुलमुलिँदा सबैको अनुहारमा एक प्रकारको डरले झ्वाप्प छोप्थ्यो र फेरी बादल फाटेझै बिलाएर जान्थ्यो । रविन निक्कै ध्यान पुर्वक स्टेरिङ घुमाउँदै थियो । आठ वर्ष पछिको भेटमा विद्यार्थीलाई ड्राइभरको रुपमा पाउँदा मेरा मनमा एकैपटक अनेक तरंग उठ्न थाले ।
स्कुल पढाउने बेलामा म सधैं सोच्थेँ, ‘यसको भविष्य मेरो हातमा छ ।’
***
२०६१ सालको कुरा हो । म तत्कालिन बालमन्दिर सेकेण्डरी स्कुल नदीपुर पोखरामा विज्ञान र गणित विषय पढाउँथे । प्राविको दरबन्दी थियो । निमाविका केही कक्षाहरू पनि मेरो भागमा परेको थियो ।
कक्षा ६ मा कक्षा शिक्षक । हरेक दिन पहिलो घण्टिमा कक्षा पस्ने बित्तिकै म तीन वटा सामान्य ज्ञानका प्रश्न सोध्थेँ । महिना भरिमा कसले धेरै पटक उत्तर मिलाउँछ उ नै प्रथम हुन्थ्यो । त्यस्तै गरि द्धितिय, तृतीयहरूले पनि पुरस्कार पाउँथे हरेक महिना । हरेक दिन प्रश्न सोध्दा एउटै मान्छे थियो जो सधैं उत्तर दिन पहिला हात ठड्याउँथ्यो र गलत उत्तर दिन्थ्यो, रविन क्षेत्री ।
‘नेपालको पहिलो प्रधानमन्त्री को हो ?’
‘गिरीजा’
यस्तै उत्पट्याङ उत्तर दिन्थ्यो उ ।

अक्षर हेरेर मात्रै उसको क्षमता नाप्ने हो भने उ डाक्टर हुनु पर्ने थियो । यस्तो लेख्थ्यो कि...
उसका अक्षरहरूले कापीका पानामा भड्किलो अंग्रेजी गीतमा डिस्को नाँच्थे ।
महिना भरिमा केही दिन त उ गयल हुन्थ्यो । ज्वोरो आयो सर । टाउको दुख्यो । ड्रेस सुकेन । पूजा थियो । आमा बिरामी हुनुहुन्थ्यो । बाटोमा आउँदै गर्दा ड्रेसमा हिलो छ्यापियो अनि फर्केँ । यस्तै यस्तै बहाना बनाउथ्यो उ ।
उसको बहाना बैंकमा ब्यालेन्स सकिए पछि चुपचाप बेन्च अगाडी उभिएर मुन्टो झोक्राउथ्यो । उसको टालटुले बानीले म आजित भएको थिएँ ।
जाँचमा एक वा दुई विषयमा मात्र पास हुन्थ्यो उ । बाँकीमा सबमा आलु । एक पटक उ १३ दिन सम्म स्कुलै आएन । ठूलै बिरामी प¥यो भन्ने शंका लाग्यो । १४ औं दिनमा उनकी आमाले उसलाई समातेर ल्याइन । उ हरेक दिन स्कुल जाने भनेर ड्रेस लगाएर घरबाट निस्कने अनि फेवाताल पौडन जाने, माछा मारेर दिन बिताउने अनि साँझ परेपछि मात्र घर फर्कने गर्दो रहेछ । उसको दैनिकी धेरै दिन पछि आमाले थाहा पाइछन र कान समातेर ल्याइन । छोरोको हरकतले मेरो अघि उनकी आमा धेरै रोइन । मन कटक्कै खायो । मैले उसलाई त्यसबेला धेरै सम्झाएँ । लाग्थ्यो, यो मान्छे मात्र राम्रो भयो भने मैले केही कमाएँ भन्ने सोचुँला । तर उ सुध्रिएन ।
होमवोर्क सकेसम्म नगर्ने । गरे पनि आधा गर्ने । अक्षर टालटुल पार्ने । ढोकै उप्काएको घर जस्तो खोल च्यातिएको किताब । बमको छर्रा लागेर धुजा परेको जस्तो कापी । भैसीले घाँस देखेर मुख उघारेको जस्तो चेन फुस्केको झोला । आफ्नो सामानको जतन गर्ने उसको बानी नै थिएन । सम्झाए पनि उ उस्तै रह्यो ।
कक्षामा कहिले कसैलाई कुट्ने, कहिले कसैको सर्ट तान्दिने, कुनै कुनैसँग झगडा गर्ने । धेरै खालको कम्प्लेन आएपछि मेरो दिमागको पारो पनि चढ्दै गएको थियो उ प्रति । बेलाबेलामा उसकै अभिभावक आएर पनि उसलाई पिटेरै तहलाइदिनु प¥यो भन्ने कुरा गर्थे ।
रिसको झोकमा मैले एकदिन उसलाई साँच्चै कुटेँ । जति कुटे पनि उ मलाई झन् आँखा तरेर हेथ्र्यो । पहिलो पटक शिक्षक भएकाले ममा खुबै बडप्पन आएको थियो । ‘मैले यसलाई मान्छे बनाउनु पर्छ,’ मनमनै सोच्थेँ, ‘यसको भविष्य मेरो हातमा छ ।’
आफ्नै भविष्यको लागि स्नातकोत्तर अध्ययन गर्न किर्तीपुर हानिए पछि मैले सारा कुरा बिस्तारै भुल्दै गएँ । २०६२ साल थियो त्यो । सबै कुरा भुल्न थालेपनि घुरेर हेर्ने उसको गहिरो हेराइ भने मैले कहिल्यै विर्सेको थिइन् ।
***
गाडी चलेपछि मैले झ्यालबाहिर आँखा डुलाउन थालेँ । गाउँका गह्रा गह्राबाट मुल फुटेर निस्केको पानी कच्ची सडक तिर ओर्लेका थिए । सडकका ठाउँठाउँमा ताल बनेको थियो ।
‘सर ऐले कता हुनुहुन्छ,’ उसले पछाडी फर्केर सोध्यो ।
‘काठमाडौं’ मैले भने ।
‘उतै जान लाउनु भाको ?’
‘हैन पोखरा सम्म’
‘ए’
उसँग धेरै कुरा भएनन । गर्न पनि भएन । उ स्टेरिङ बटार्दै थियो । म उसलाई हेरेर कतै हराइराखेको थिएँ ।
‘मैले पढाएको केटो ड्राइभर भो’
बाक्यलाई मनमनै चिरफार गर्न थालेँ । मैले फिजिक्समा स्नातक गरेँ । न कुनै नयाँ प्रविधी इन्भेन्सन गरेँ न कुनै थ्यौरी तयार गरेँ । उहि स्कुल पढाएँ सक्किगो । इकोनोमिक्समा मास्टर्स गरेँ । न कुनै बैंकिङ कारोबारमा काम गरेँ न कुनै कम्पनीको व्यवस्थापनामा पसेँ । डिग्री पास गरेँ त के नापेँ ? के म गाडी चलाउन सक्छु ? त्यो पनि यो कच्ची सडकमा ? म हाँसे, ‘कमसेकम उसले त सक्छ नी ।’
ड्राइभर भन्दैमा किन नाक खुम्च्याउँछौं हामी ? हरेक पेशाको सम्मान गर्न किन नसकिएको होला ? हरेक पेशाको महत्व छ । पढ्दा दिमागमा घुस्दै नघुस्नेलाई किन खाली पढाइमा रट्टाउनु ? अक्षर चिनेपछि, उमेर पुगेपछि अनि कुरो बुझ्ने भएपछि कसैलाई गाडीमा, कसैलाई पल्म्बरीङ, बेल्डिङ्ग, रेडियो, घडि, कम्प्युटर मोबाइल, टिभी मर्मतमा लगाइदिए किन हुन्न ?

दश कक्षाबाट स्नातक सम्म आउँदा सालाखाला दश वर्ष त सकिन्छ नै । दश वर्षमा एउटा मान्छेले एउटै पेशामा पुरै हात सफा गर्न सक्छ । १० वर्ष सम्म टिभीको ज्याक खोलेर भित्र हेर्न थाल्यो भने टिभीको आन्द्राभुडिमात्र हैन त्यसभित्रका नसा नसा पनि केलाइ सक्छ । रविनले पढ्न नसक्नु उसको कमजोरी हैन उसलाई बेलैमा बुझ्न नसक्नु हाम्रो कमजोरी हो । हात उठाएरै तह लगाउन खोज्नु मेरो पनि कमजोरी थियो । आखिरीमा ६ कक्षामा फेल भएर अर्को साल बल्ल बल्ल ७ चढेपछि उसले स्कुले छाडेको रहेछ । उ अझै पनि स्कुलमै लद्दीएको भए १० सम्म पनि पुग्न गाह्रो हुन्थ्यो । थप दश वर्ष पढेर डिग्री सम्म पुगेको भए पनि १० हजार तलब पाउन गाह्रो हुन्थ्यो । उसले स्कुल छाड्यो त के भयो ? के स्कुल पढेर मात्रै मान्छे सिपालु हुन्छन् ?
चामल पसलमा फल्छ । दूध डेरीबाट दुहुने हो । फलफूल ठेलामा पाक्छ । स्कुल गए पनि बच्चाबच्चीले यस्तै भन्छन् । व्यवहारिक शिक्षा नहुँदा वास्तविक धरातल बिस्तारै बिर्सन थालिएको छ ।
मैले पढाएको विद्यार्थी डाक्टर भएको भए उ बिदेश पनि हुन सक्थ्यो । इन्जिनियर भएका भए उ क्यानडा पनि भासिन सक्थ्यो । ड्राइभर भयो, कमसेकम मेरो गाउँमा गाडी चलाउँछ । दैनिक सयौं मान्छे ओसार्छ, काम टार्छ । साँच्चै, उसँगको भेटले मेरो मनको आकाश झनै फराकिलो भयो । उबेला म शिक्षक थिएँ, उ विद्यार्थी । त्यसबेला म सोच्थेँ, ‘उसको भविष्य मेरो हातमा छ ।’ ऐले उ ड्राइभर भएको छ, म यात्रु । ऐले म सोच्न थालेकोछु, ‘मेरो भविष्य त उसको हातमा छ ।’
(July, 27, 2013, Published in Kantipur Koseli-भवसागर घिमिरे)
sagarbhaba@gmail.com

Comments

Popular posts from this blog

मोबाइलको साटो पुस्तक

बाल मनोविज्ञानमा आधारित भएर लेख्नु आफैमा जटिल र चुनौती पुर्ण छ  । त्यसैमाथि सबै भन्दा सरल बनाउँनु पर्ने विषय पनि यहि रहेछ । बाल मस्तिस्कको सोचाइको धरातल फराकिलो बनाउँने  प्रयास म सधैं जारी नै राख्नेछु । बालबालिकाहरुलाइ आज राम्रा पुस्तक पढ्न दिँदा भोलीका दिनमा उनीहरुले रचनात्मक काम गर्न सक्छन् । हामी सबैले पढ्ने र पढाउँने बातावरण बनाउँन मद्दत गरौं । मेरा यी रचनाहरुमा चित्र कोरेर सुन्दर बनाइदिने नागरिक दैनिकका Dewen दाई र Yuwak जी, भाषामा सघाउने Shekhar दाई अनि प्रकाशनमा ल्याउँने Sangrila Book का Mani जीलाई धेरै धेरै धन्यवाद । म अछाम नपुगेको भए सायद यो बालकथा अाउँदैन्थ्यो होला । सन् २००९ मा Room to Read Nepal को कथा कार्यशालामा नअटाएको भए सायद 'हाम्रा खेलहरु' का बारेमा उबेला बाल कविता फुर्दैन्थ्यो । सधै‌ झै, छोराछोरीको हातमा मोबाइलको साटो पुस्तक दिउँ । उनीहरुका आँखा र दिमाग झनै तेजिलो हुनेछन् । अघिल्ला तीन कृती... माथिका तीन पुस्तकहरु ' पाठीलाई स्वेटर, भान्छामा चुट्किला, देउता खुशी हुनुभयो' तलका पुस्तक पसलहरुमा यस अघि नै आइसकेका छन् । नयाँ पुस्तक...

जाडोका चिसा उखान टुक्का

बिस्तारै बिस्तारै बढ्दै गरेको जाडोले विहान धेरै अबेर सम्म पनि हामीलाई बिस्तारामा सिरक भित्रै रोक्न सक्छ । झ्यालका पर्दा घामले नखोली कन हामी आफै खोल्न तम्सन पनि गाह्रो हुन्छ । विहानै तातो चियाको गिलासलाई ओठले चुम्न पाउँदा मात्र हात गोडा चलमलाउन थाल्छन् । अझ एका विहानै काममा जानु पर्ने वा कलेज जानु पर्नेलाई त जाडो कहिल्यै नआए हुन्थ्यो झै हुन्छ । यस्तो कठ्याङ्ग्रीने जाडोको बेलामा हाम्रा उखान टुक्काहरू कसरी बांगिने गर्छन्, यसबारेमा केही प्रसंग तल छ । तपाइलाई यो जाडो मौसम भरि न्यानो घामले माया गरोस शुभकामना ! जाडोले कामेको गोरुलाई बोरा ओढाउन सकिन्छ, सिरक ओडाउन सकिन्न अनिकालमा बिउ जोगाउनु, चिसोमा जिउ जोगाउनु चिसोले समाएको मान्छेलाई, आइसक्रिमले पनि लखेट्छ अर्काको आंङमा गन्जी लगाएको देख्ने, आफ्नो आंङमा जकेट लगाएको  नदेख्ने ? हिटरले पोलेको मान्छे, राइस कुक्कर देख्दा तर्सन्छ  थर्मस फुटे, तातो लुटे खाइ न पाइ, लेदर जकेट लाई  काम पाइनस छोरो, मोजामा आइरन लगाइ

भाइबहिनीसँग भेटघाट

‘‘चश्म खोलेपछि मात्र किताबमा भएको राइटरको फेस तपाइसँग मिल्छ । हजुरले किन कथा लेख्नुहुन्छ ? पाठीलाई स्वेटर मैले दुइ कक्षामा पढेको बेस्ट बुक हो । मेरो घरको ढोकामा सधैं बिरालो आउछ । मैले दूध दिन्छु । यसको पनि कथा हुन्छ ? हाम्रो लागि अझै धेरै कथा लेख्दिनु है । अब कहिले आउनु हुन्छ ?’’ कक्षा तीनमा पढ्ने नानीबाबुका कलिला बोलीले फूलजस्तै गरि मनमा छोए । 'लेखकसँग अन्तरक्रिया'मा आफ्नो पुस्तक ‘भान्छामा चुट्किला’ बाचन गर्न र कथा लेखनका बारेमा बताउन उनीहरूको विद्यालयमा पुगेको थिएँ । हामीले यस पुस्तकका चित्रकार Yuwak Shrestha लाई पनि सम्झियौं । नानीबाबुहरूले दुई कक्षामा मेरो अर्को पुस्तक ‘पाठीलाई स्वेटर’ पनि पढेका रहेछन् । लगभग ८० जना नानीबाबुका माझमा कथाबाचन गर्न र हराउन पाउदा नयाँ कथा बुन्ने उर्जा मिलेको छ । अवसरका निम्ति युलेन्स स्कूल ललितपुर र शिक्षिका मिना लुइटेल जीलाई धेरै धेरै धन्यवाद । अब चाँडै स्वतस्फुर्त रूपमा केही सामुदायीक विद्यालयमा कथा बाचन गर्ने र बुन्ने कला साट्न पुग्ने योजना बनाएको छु । ज्ञान बाँडे पक्कै बढ्दछ, नबाँडे सर्लक्कै घट्दै जान्छ । #childrensbooks #nepalichildren...