Monday, June 20, 2011

रोपाइँमा आउन पाउँदिन…


असारे मेलो । भल छोप्नलाई चटारो । सिरानको खेतछेउ पोखरीमा मुल फुटेर आँठै आँठो हुँदै कुलोमा पानी बग्न थाल्यो होला । गह्रैपिच्छे डम्म पानी भरिए होलान । हलक्क बढेका धानका बेर्नाले पर्खालमाथिको बारीबाट मुन्टो उठाउँदै हेर्दा हुन् । गोठमा गोरुहरुले खुट्टा तन्काउँदै दाम्लो फुत्काउन खोज्दा हुन् । यस्तो बेलामा पनि मैले घरको तगारो खोल्न सकिन । छोरोले घर बिस्र्यो नभन्नु । गाउँको माया मार् यो नभन्नु । गत वर्ष झै यसपालीको रोपाइँमा म घर आउन नपाउने भएँ आमा । बालाई पनि यहि भन्दिनु ।


***
एउटा काँधमा हलो बोकेर । हातमा लौरो समाएर । हलिदाइहरु खेत झर्ने बेला । तार्के र माले गोरु फुकाउन गोठ तिर सानामा मै दगुर्थें । ति बडा बडा जुरा भएका गोरुहरु मलाई देखेपछि मकैका पात हल्ले झै गरि टाउको हल्लाउँथे । तिनीहरुका िसंङ पक्डेर गलाको दाम्लो फुकाइदिँदा उनीहरु पुच्छार दह्रो बनाएर पर्खाल गल्र्याम गुर्लुम्म पार्दै बारी तिर हानिन्थे । 'एउटो गोरु पनि धपाउन आउँदैन तँलाई गोरु' भन्दै बा ती गोरुहरुका पछि दकुरेको हेर्न म गोरुलाई निक्कै रमाइलो लाग्थ्यो ।

साँच्चै आमा । गोरुका चर्तिकला हेर्दै तपाई पिढीँमा बसेर हाँस्दा मेरो मन कम्ता चंगा हुँदैन्थ्यो । ग्याँटिस नभएको छोटो कट्टु एक हातले समाएर नाकबाट िसंगान चुहाउँदै म पनि बाका पछि-पछि खेततिर झर्थेँ । घरि आँठोबाट पछ्छारिन्थेँ । घरि खेतमा धस्सारिन्थेँ । हिलोले लिपिएको म । धुलोले छोपिएको म । भुतुंङे भएर कुलोमा पौंडदा गोरो भएर आलीमा सुस्ताउँथे । खेत छेउछाउका ढुंगा बटुलेर सानो घर बनाइ खेल्दै गर्दा घाम अस्ताएको पत्तो पाउँदैन्थेँ । कहिले खेत त कहिले बारी । कहिले बेसी त कहिले टारी । दौडदै वारीपारि । यसैगरि म हुर्केको थिएँ ।


हातगोडा दह्रा हुन थालेपछि । रोपाइँ आँट्नु अघि । काल्ना खन्नका लागि । कोदालीले ख्याप ख्याप खेतका चपरी उप्काउनु । अनि आलीमा ढ्याप्प पल्टाउनु । त्यसलाई पैतालाले माथिबाट झ्याप झ्याप अँठ्याउँदा खेरि मनको सतह यसै हलक्क बढेर आउँथ्यो । मुलको चिसो पानीमा हात मुख सर्लक्क पखालेर । आँठो माथि थपक्क बस्न पाउँदा लामै यात्राको थकान मेटाए झै मलाई हुन्थ्यो । सिलौटोमा कुटेको जिरा धनियाँ र खुसा्रनी मिसाइएको आलु र केराऊको तरकारी । सिलामको छोप हालेको कांक्राको अचार । घरकै धान कुटेर बनाइएको चिउरा । चामलको पीठोबाट बनेको सेलरोटी खाजा । नेवारो र सालका पातले बुनेका दुना र टपरीमा राखेर खाँदाको मज्जै बेग्लै थियो त्यती बेला ।

धान रोप्दा देखि गोड्दा सम्म । काट्दा देखि चुट्दा सम्म । स्कुल गयल भएरै किन नहोस् मैले खेत नटेकी मान्दैन्थेँ । धान गोड्दा सर्प खेद्नु । धान काट्दा मुसा लखेट्नु । यस्ता रमाइला दिनहरु मैले बिसे्रको छैन् आमा । अझ् दाइँका बेलामा गोरु दौडाउनु । साथीभाइ उप्रुेर पराले भारी लडाउनु । टौवाको टुप्पामा चढेर टाढा टाढा बस्ती नियाल्नु । निक्कै गर्वको कुरा हुन्थ्यो त्यती बेला ।

खेतिपातीको यात्रा जस्तै मेरो पढाइको यात्रा पनि कम्ता रोचक थिएन् । गाउँको स्कुल । वर्ष भरि पहिलो र दोस्रो परिक्षामा फेल भएपनि अन्तिम परिक्षामा म कता कताबाट माथिल्लो कक्षामा उक्लिहाल्थेँ । दश कक्षा पुग्नै लाग्दा बाले लौरो र सिस्नोपानी लिएर तसा्रउन थालेपछि मेरा मार्कसिटमा राम्रा अंक चढ्न सुरु गरेका थिए । मलाई थाहा छ आमा छोरोले पढ्ला र केही गर्ला भनेर तपाइहरुले शहर पठाउनु भयो । शहरसँगै धेरै रहरहरु उर्लेर आउँदो रहेछ मैले यहिँ बुझेँ । गाउँ बिस्रने आफन्त बिस्रने अनि शहरीया हुने क्रममा आफैले आफैलाई बिस्रने धेरै छन् यहाँ । पसलको रासनपानीको भरमा चल्ने यो शहरी दुनियाँमा न मंसिर गएको पत्तो हुँदो रहेछ न असार लागेको नै ।

यो माचामाचमा बालाई हलि खोज्नको हतारो होला । तपाइलाई खेतालाका हुरी बोलाउनको चटारो । छोरो आउला एउटो भएपनि बाउसे थपिएला र रोपाइँ आँटुला भन्ने सुर हुँदो हो । बिन्ति छोरोले घर बिस्र्यो नभन्नु । खेतिपाती भुल्यो नभन्नु । मन बाँधेर भन्दैछु । यस्तै भयो यसपालीको रोपाइमा मैले पुख्यौंली खेतको हिलो टेक्न नपाउने भएँ ।

***
आमा मैले शहर टेक्ने दिन तपाई ढोका पछाडी बसेर रोइरहनु भएको क्षण । मलाई थाहा छ आँखा बिझ्यो भन्दै तपाइ मीठो झुट बोल्दैहुनुहुन्थ्यो । म बुझ्ने भैसकेको थिएँ आँखा बिझेको र मन बिझेको अनुभव फरक हुन्छ । तपाइको मन बिझ्दा मेरो गह भिझेको सायद पत्तो पाउनु भएन होला । मन भारी भएर आउँदा त्यस दिन म शहर लम्केको बसको यात्राभरि निक्कै रोएको थिएँ ।

शहर छिरेर बस रोक्किएपछि मेरा खुसीका दिनहरु टक्क रोक्किएको अनुभव भएको थियो । यो घरैघरको जंगलमा आफै मरेको अनुभव भएको थियो । आफैलाई मारेर चालेको पाइला कति नै टाढा जान्छ र आमा एकदिन पाइला गाउँतिरै मोड्ने आशमा म यहाँ हरेक दिन पाइला निरन्तर दौडाइ रहेको छु ।

***
यो शहरको दौड नै अनौठो हुँदो रहेछ । कमिलाका ताँती झै पांग्रा गुड्ने सहरमा धेरै थरिका दौड दखेको छु । सत्ता पाउनका लागि नेताको दौड । भत्ता पचाउनका लागि सभासदको दौड । कर छलि प्रकरण होस् या सुडान काण्ड नै किन नहोस् । भ्रष्ट्राचार गर्नका लागि मिलेमतोमा व्यापारी मन्त्री अनि प्रहरी अधिकारीहरुको दौड । कतै महल ठड्याउनेको दौड । कतै फिरौतीका नाममा एक्जाभेटर जलाउनेको दौड । अनि केही गरि पक्राउ परिहाले भनॆपनि यिनैलाई नेताका भरमा छुटाउनेको दौड । यी दौडादौड बीचमा मेरो कछुवा चाल व्यर्थै हुन लागि सक्यो आमा ।

यहाँ त अपराध चुलिएर केन्द्रिय कारागारको सुरक्षालाई पनि बिटुलिसक्यो । व्यापारीका कोठाकोठामा बन्दुकका नाल तेसर्िन थालेका छन् । गणबाहलमा चाचन मारिए । सिप्रदीका प्रेमकृष्णले जिन्दगीबाटै हात धुनु पर् यो । दुतावासका कर्मचारी मात्र हैन देशकै मन्त्री भैसकेका विष्ट पनि सुरक्षीत हुन सकेनन् । डनहरुका नामबाट कसैका हात काटिन्छन् । कसैको टाउको फुट्छन् । यसरी फुट्ने र फुटाउने मामलामा राजनीतिक दल पनि निक्कै अघि आइसकेका छन् । उनीहरु आफैमा पनि यसरी फुट्छन की फुटाउनका लागि अब कुनै टुक्रा बाँकी रहँदैन् । यसरी हरेक समाचारले विकार ओकली राखेका बेला मेरो मन निक्कै बिरक्तिन्छ आमा । एकान्तमा टोलाउँदै म गाउँ सम्झन्छु । बिग्रीरहेको देश सम्झन्छु । र आफै रुन्छु पनि ।

महंगीले आकाश छुन लागेका बेला नुनतेल छोइनसक्नु भएको छ । तरकारीसँगै टाँसिएर आएका रासायनिक विष हरेक भान्छामा पाक्न थालेकाछन् । घरघरमा पिँध काटेका ग्याँस बम बाँडिन्छन र पड्किन्छन पनि । राजनीतिक पहुँचको आडमा कानुनलाई लात मारेर पत्रकार धम्क्याइन्छन् अनि कुटिन्छन् । कहिले राजस्वा छलेर व्यापारीले हामीलाई लुट्छन् कहिले उनीहरु आफै लुटिन्छन् । न्याय आफै कठघरामा अपराधी बनेर उभिएको यो बेथितिको शहरमा म कुन तिथीसम्म हुनेछु आफैलाई थाहा छैन् आमा ।

माटोमा झार जिल्याएझै कम्प्युटरका किबोर्डमा औला नचाउँदा नचाउँदै । हाँगाको टुप्पोमा झुण्डिएको सुन्तलाको गेडो झै हरेक दिन गाडीमा झुन्डिएर यात्रा गर्दा । बारीमा उमि्रएका धनियाँका साग झै कहिले साउदी दुबई कोरिया उड्ने भद्रगोल लाइनमा त कहिले पेट्रोल हाल्ने गन्जागोल लाइन अनि कहिले लामो न लामो सडक जाममा अड्किनु पर्दा । मेरो मनभित्र शहरको रहर बिस्तारै मर्न थालेको छ । मान्छे नै मान्छेको भिडमा देखिएर पनि आचकल आफै हराएझै लाग्छ ।

मोटरसाइकल बस ट्याक्सी अनि ठूल्ठूला ट्रकहरुले साइलेन्सरबाट महंगो पेट्रोलको चुरोट सल्काउने यो शहरमा सुखको श्वास कहाँ फेर्न पाइन्छ र आमा साँच्चै नै स्वच्छ श्वास फेर्न बोटका पातहरु सुम्सुम्याउनु पर्छ आफ्नै खेतबारी सुम्सुम्याउनु पर्छ । ठूला महलहरुले धरहरा र घन्टाघर पनि छेकिने शहरमा हरिया फाँट देखिएन के भन्नु राजधानीको खाल्डोबाट जति तन्के पनि म मेरो गाउँ देख्न सक्दिन आमा ।

असारे झरी पर्न थालेपछि यहाँका सडक पनि जलाम्य हुन थालेका छन् । यहि हेरेर गाउँका खेतमा पानी भरिएको कल्पना गर्दैछु । त्याँ खेतको हिलोमा हलि बाउसेहरुका खुट्टा डुब्दा यहाँ सडकमा गाडीका पांग्रा फस्छन् । त्यहाँ खेताला खेतमा झर्दा यहाँ सडकमा जुलुस पस्छन् । फरक यत्ति हो त्यहाँ असारे गीत गाइन्छ यहाँ अनेकौं माग भरिएका नाराहरुको कर्कस आवाज सुन्नु पर्छ । यस्तै छ मेरो कर्म थलो ।
***
शहरमै भएपनि । म गाउँका समाचारबाट बेखबर भने छैन आमा । राजनीतिक समाचार भन्दा निक्कै कम भएपनि यहाँ गाउँका समाचार कहिले 'समाचार रेखा' बनेर पत्रपत्रिकामा छापिन्छन् त कहिले 'छोटोछोटो' शिर्षकमा छोट्टिएर तप्किने गर्छन् । मैले पनि थाहा पाइसकेको छु । डोजरले खन्दै गरेको बाटोले हाम्रो आँगनलाई पनि छुँदैछ रे । सेती खोला माथि पनि पुल बन्ने भयो रे । यस्तै यस्तै समाचार पढ्दा लाग्यो शहरका थुप्रै चेक पोष्टहरुमा चुहिएरै लुटिएरै भएपनि । थोरै नै किन नहोस् विस्तारै बिकास गाउँ पस्न थालेको छ । यहि विकासको बाटो पच्छ्याउँदै एकदिन तपाइको स्वार्थी छोरो पनि गाउँ पस्ने छ आमा ।

बोरा भरि कपडा र पुस्तकका ठेलिहरु कोचेर । सिरक डसना सिरानीलाई तन्नामा पोको पारेर । प्लाष्टिकका बाल्टी भित्र कुक्कर थाल कचौरा खाँदेर । ठूलो बसको छतमा ढल्किएर गाउँ हिड्ने त्यो दिन मेरो जीवनको निक्कै नै खुसीको दिन हुनेछ । मेरो स्वागतमा त्यस दिन आँगनका डिलमा फूलेका फूलका बोटहरुले पात हल्लाउनेछन् । गोठका गाइभैसी दाम्लो तन्काउँदै कराउने छन् । बाख्राका पाठापाठीहरु बु्रक बु्रक उप्रुदै ममाथि चढ्न आउँनेछन् ।

हो आमा मेरो घर फिर्ने सपना पुरा भए पछि । काँधमा कोदालो भिरेर । हातमा डल्लेठो समाएर । एकहल गोरु अगाडी लाउँदै । तपाइको यो छोरो बाउसँगै फेरि खेत झर्नेछ । लहलह झुलेका धानका बाला हावासँगै बयली खेलेको हेर्दै मख्ख पर्नेछ । मकैका पातले बारीमा वरवर बोलाउँदा बाउसोले त्यसका फेदमा उकेरा लगाउनुको मज्जा लुट्नेछ । लटरम्मै फलेका करेलासँग लुकामारी खेल्ने छ । थाँक्रैथाँक्राका बीचमा पसेर सलक्क परेका कांक्रासँग बारम्बार टाउको ठोक्काउने इच्छा छ । भटमासका बोट पन्छाउँदै आँठै आँठोमा हिड्दा ठूलाठूला फसर्ीहरु मेरो गोडामा ठोस्सिन आउँनेछन् । त्यहाँबाट म बारीमा लड्दा वरपर पाँजिएका मलमा लडिबुडी खेल्ने छु । बोडीका लहरासँगै आफूलाई लहराउने छु । यहाँको व्यस्तताबाट अलग्गिएर घिरम्लाको झालसँगै आफूलाई बन्धनमा पार्नु अनि फुकाउनुमा त्यसबेला मैले वास्तविक जीवन भेट्नेछु आमा ।

तर यतिखेर पारी जानु न वारी फर्कनुको दोसाँधमा शहरभित्रै अल्झेको म फुत्कन नपाउँदा खेरि । रोपाइँ भेट्टाउन घर आउन नपाउने भएँ आमा । कतै मन दुखाएर छोरोले जन्मथलो भुल्यो नभन्नु । बा आमाका पसिना बिस्र्यो नभन्नु । असारे भाका गाउने ठूल्दिदीले "माइलो खै " भनि सोधिन भने कुनै दिन फर्केर आउँनेछ भन्दिनु । कहिल्यै शहर नफर्कने गरि गाउँ फिर्नेछ भन्दिनु ।
(-भवसागर घिमिरे, २०६८ असार ४ गतेको, शनिबारको नागरिकमा प्रकाशित )

3 comments: