अनि उनीहरू फर्केनन्


मोबाइलको घण्टी एक्कासी बजेपछि मेरो निन्द्रा खुल्यो । बिहान ब्युँझनका लागि लगाएको अलाम भने थिएन त्यो । २०६९ साल वैशाख २३ गते शनिबार । बिहान चार बजेको थियो । आर्जनाको फोन रहेछ ।
-प्रशंसा शर्मा
‘हेल्लो’
‘ओइ, अझै उठ्या छैनस् ?’
‘बल्ल त चार बज्यो, साढे चार बजेको अलाम लाथेँ’
‘चाँडै उठ्न यार, ढिलो हुन्छ के फेरी पिकनीक जान’
‘तँ उठिस् र ?’
‘अँ नुहाउन जान लाको’
‘कति हतार भाको त ? एकैछिन सुत्छु नी है म’
‘ह्या तँ पनि, चाँडो उठ्न के अनि स्कुटर लिएर केशवदाईको तिर जा । म पनि त्यही आउँछु ।’
‘ल ल’
उसको हठका अगाडी मेरो निन्द्रा यस्सै भागेर गयो । म उठेँ ।

***

आर्जना र म बीच नजिकको सम्बन्ध थियो । दुबैको घर पोखरा । ब्याचलर्स लेभलमा पब्लिक हेल्थ पढ्दै थियौं । हरेक दिन कलेज पुग्नु अघि मेरो घरमा पस्नु उसको दैनिकी थियो । उसलाई कुर्न र उसँगै कलेज जानु चाही मेरो दैनिकी । सधैं पढाइको चाप र व्यस्त दैनिकी । करियर बनाउने बेलामा रमाइलो गर्ने मौंका कमै मिल्थ्यो हामीलाई ।
यस्तो बेमौंकाको बीचमा बुनिएको यो मौकाको पिकनीकमा काँ जाने ? के खाने ? के लाने ? भन्ने कुरा साथीभाइका माझमै छलफल हुन्थे । तर, लुगा के लगाउने ? आफू कस्तो देखिने ? भन्ने कुरा मनखाने साथीका माझ नै सुटुक्क हुने गर्छ । आर्जना र म बीच यसबारेमा शुक्रबार नै छलफल भएको थियो । त्यसैले लुगा लगाइवरी एक घण्टामै म तयार भएँ ।
मैले झोला हेरेँ । क्यामेरा, ब्याट्री, मोबाइल, पर्स सबै ठिकठाक थिए । गाजल, पाउडर हामी ठिटीको झोलामा छुट्ने कुरै भएन । मम्मीसँग बिदा मागेर म स्कुटर लिएर निस्केँ । म पढ्ने कलेज घरको आडैमा थियो । केही बेरमा केशवदाइ सहितका साथीहरू बस लिएर त्यहीँ आउँदै थिए । अघिल्लो दिन अर्डर दिएको कुखुराको मासु र अण्डा लिएर आउनु थियो मैले । केशवदाइको घर नेरबाट आर्जनालाई पिकअप गरेर म सिद्धार्थचोकको फिस्टेल फुड प्रोडक्टमा पुगेँ । यात्राका बेलामा हामी बीच रमाइला कुराकानी भए । ल्याएको सामान कलेजमा छाडेर स्कुटर छोड्न म आर्जनासँगै घर पुगेँ । घरबाट कलेज फर्कदै गर्दा उसले अचम्मको कुरा भनि, ‘साह्रै अत्यार लागिराछ यार ।’
‘किन ?’ मैले सोधेँ ।

‘खै किन किन,’ उसले भनि, ‘आजसँगै बसौं है ।’
‘भैहाल्छ नी, टेन्सन नलिइ न’ मैले भने ।
उसको कुरा किन किन अचम्म लागिराखेको थियो । हामी कलेज पुग्यौं र गाडीको अन्तिम सिटमा सँगै बस्यौं । चेतबहादुरसँगै अरुसाथीहरू चढेपछि गाडी चल्यो । बसमा अन्ताक्षरी खेलेर खुसी बाँड्यौं । एक घण्टामा हामीे कास्कीको खारपानी बजार पुगिहाल्यौं ।
बसपार्क नेरको सानो बजारमा मान्छेको चहल पहल थियो । हाम्रो गाडीका ड्राइभर खलासी चिया पिउन बसे । हामी केहीले पिकनिकका लागि खोला वारी बस्ने कुरा गरे पनि त्यहाँ मान्छेको ओहोर दोहोर हुने र हल्ला हुने भएकाले पारी बस्ने सल्लाह सरोज र केशवले दिए । सबैको सल्लाहमा पारी जानु पुर्व ग्रुप फोटो खिच्यौं ।
पुलबाट सामान लिएर पारी तर्नु अघि मैले यताउता नियालेँ । १५, २० जना मान्छेहरू त्यहाँ रहेको तातोपानी कुण्डमा नुहाइ रहेका थिए । बच्चाबच्चीहरू आडैमा बालुवा खेल्दै थिए । कुण्डभन्दा अल्लि पर बालुवा चाल्नेहरू थिए । ट्रक र ट्याक्टरमा ढुंगा ओसार्नेहरू आ–आफ्नै धुनमा थिए । खोला सुसाएको । हरियाली पाखा देखेर मन निक्कै लोभिँदै थियो । पुल तर्ने बित्तिकै आउने स्कुल पछाडीको भागमा हामीले सामान बिसायांै ।
दाउरा लगाएतका केही सामान ल्याउन अझै बाँकी नै थिए । हामीले कामको जिम्मेवारी छुट्टायौं । सिजन, अम्रिता, शुशिल, उषा, शंकर, म, सुस्मिता, शिव, विष्णुमाया सहित ९ जनाको समुहले म्युजिक सिस्टम जोड्ने र भाँडाहरू पखाल्ने अनि चुल्हो सम्हाल्ने जिम्मेवारी पायौं ।
आर्जना, केशव पराजुली, चेत, केशव खड्का (केशवदाई), बिनिता, सरोज, नविन सहित सात जनाको समुह बाँकी रहेका समान लिन पुल पारी गए । आर्जनाले मोबाइल छाडेर यतै छाडेकि थिइ ।
बिहानको साढे नौ बजे । अचानक कालो न कालो मुस्लो सेति भन्दा माथिबाट बढ्दै आएको मैले देखेँ । मेरा आँखा एकाएक ठूला भए । मैले चिच्याउँदै साथीहरूको ध्यान त्यता तानेँ । बिलकुलै अचम्मको दृश्य थियो त्यो । कसैले ठम्याउने कुरै भएन ।
साथीले फोटो खिच्न तिर लागे । एकाएक त्यो मुस्लो अझै ठूलो हुँदै खारपानीको बस्ती नै ढाक्ने गरि उर्लेको देखेपछि पो हामीले होस पायौं ।
‘बाढी आयो, बाढी आयो’ हामी अब एकाएक चिच्याउँन थाल्यौं । झट्ट हाम्रा साथीहरू पनि तल गएको याद भयो । यसो तल झरेर हेर्न के थालेका थियौं, पुल पारी मानीसहरू भएभित भएर दौडदै गरेको देखेँ । बाढीको मुस्लो यति ठूलो थियो कि त्यसले सबै बस्ती ढाक्नै आँटेको थियो, मुख उभाएको सिंह जस्तो । हेर्दा हेर्दै सबै घर एकाएक सोतर भयो । केही मानिस भागेर भित्ता छेउ पुगे । भाग्दै गरेका केही त्यहीँ बिलाए । त्यती धेरै अग्लो पुलबाट पनि मान्छेहरू पकापक खस्दै थिए । ट्रक, ट्याक्टर पनि हावाले पात उडाए झै बनायो । हामी साथीहरू तिर नियाल्दै चिच्याउन थाल्यौं, ‘बाढी आयो, बाढी ...।’ उर्लदो सेतीको गर्जनका सामु हाम्रो धोक्रो फुकेको कतिले सुने सुनेनन थाहा भएन । सेतीले बजार्दै, उफार्दै, पछार्दै ल्याएका ठूला ठूला ढुंगा र मुढाहरू झोलुंगे पुलमा मच्चिएर हामीहरू नजिकै उछिट्टीदै आए । हामी पनि उकालो तिर भाग्न थाल्यौं । भर्खरै रमाइरहेको । चहलपहलमा रमिराखेको बजारमा पलभरमा पुरै सन्नाटा छाएको थियो । लाग्थ्यो, त्यो भयावह दृश्य हेर्नु भन्दा त्यही नदीमा फरालेर आँखा चिम्लनु सजिलो हुन्थ्यो । हेर्दाहेर्दै सबै सखाप भयो । हामी केही बेरमा फेरी पिकनीक स्थलमा झर्यौं ।
स्पिकरमा माइक जोडे र माइकबाटै चिच्याउन थाल्यौं ।
‘साथीहरू कोही हुनुहुन्छ भने प्लिज हात उठाउनु होला ।’
‘साथीहरू...’
यसरी लगातार बोल्न थालेपछि निक्कै परबाट बीनीताले हात उठाइन् । बसपार्क भन्दा पारीको भित्तामा पुगेकी रैछिन् । उनले आफू एक्लै भएको संकेत गरिन् । तर त्यसपछि कसैले हात उठाएन । पौने एक घण्टा जति पछि चार जना साथी सम्पर्कमा आए । माथिल्लो गाउँबाट बाढी आउँदैछ भन्दै एक पसलमा आएको फोनको एक खबरले हाम्रो गाडीका ड्राइभर र खलासी सहित धेरै मान्छे भाग्न भ्याएछन् ।
हाम्रा दुई साथी आर्जना र चेतबहादुर हराए । अब के गर्ने ? कसरी खोज्ने बारे हामी अन्योल भएकै बेलामा हामीसँगै भएको आर्जनाको मोबाइल फोन बज्न थाल्यो । उनको घरबाट फोन आएको थियो । अब हामीले के भन्ने ? हामीसँग दिने उत्तर पनि केही थिएन । त्यो कल हामीले उठाउनै सकेनौं । हामीलाई कलेजबाट पनि फोन आयो । त्यो ठाउँ असुरक्षीत हुने देखेपछि सरले हामीलाई घर फर्कने अर्को बाटोको बारेमा बताउनु भयो । हामीले त्यहाँ भएका खानेकुरा नजिकैको घरलाई जिम्मा लगायौं । भाँडाकुँडा केही दिनमा लिन आउने भन्दै त्यहाँबाट भोकै लगभग दिनको दुई बजेतिर हिड्यौं ।
पाइला उल्टोबाटो तिर चालेको झै लाग्थ्यो । यस्तो लाग्थ्यो, हामीले केही बिराएका छौं । कसैसँग बोल्ने र कुरा गर्ने शब्दहरू थिएनन् । सबैका आँखा चिसा थिए । मन भरि धेरै कुराहरू खेलाउँदा खेलाउँदै तीन देखि चार घण्टा हिडेको पत्तो भएन । साँझ ६ बजेको समयमा हामीले हाम्रा शिक्षक र परिवारलाई भुनपरे भन्ने ठाउँमा भेट्यौं । सरले साथीहरूका लागि अरु गाडीको व्यवस्था गरिदिनु भयो । हामी र सर बस्ने घर नजिकै थियो । मेरो बाबा, मम्मी र म सरको गाडीमा चढ्यौं ।
त्यसैबेला एफएममा आएको समाचारमा आर्जनाको लास रामघाटमा भेटिएको र चेतको कुनै पत्ता नलागेको कुरा सुनियो । रामघाट जान पिकनीक स्थलबाट एक घण्टा भन्दा बढी गाडी चढ्नु पर्छ । यो समाचार सुनेपछि म झनै रुन थालेँ । आर्जनाको घर जाने भनेर हाम्रो गाडी चिप्लेढुंगाबाट बगालेटोल तिर मोडियो । घर आइपुग्यो । त्यहाँ बाहिर धेरै मान्छेका हुल थिए । आँगनमा मेरी साथीको लास लैजानका लागि बाँसको खाट बनाइएको थियो । बिहानैसँगै हिडेकी साथीलाई साँझ परेपछि घाट लैजान लागेको म कसरी हेर्न सक्थेँ । म उसको बाबा आमालाई भेट्न भित्र पनि जान सकिन । मेरो कानमा उ बोलेको, उसले हँसाएको कुराहरूमात्र याद आउन थाले । ‘साह्रै अत्यार लागिराछ यार । आजसँगै बसौं है,’ उसले बिहान भनेका कुराले मन झनै पोल्न थाल्यो । म उसँग थिइन, त्यती बेला । मेरो दिमागले के के सोच्यो, सोच्यो । म थरथर काँप्न थालेछु । हालत झन खराब हुन थालेपछि मलाई सरासर त्यहाँबाट घर ल्याइयो ।
घरमा भेट्ने आफन्तका ओइरो लागेको थियो । कोही मलाई समाएर बिलौना गर्दैथिए । कसैले के भएको थियो भनेर सोध्दै थिए । कोको थिए ? कसरी भाग्यौं ? यस्तै यस्तै धेरै प्रश्नहरू केही सुनेँ, केही नसुनी हराए । मेरो मुखबाट केही बक्य फुटेको थिएन । एकोहोरो टोलाउँदै । आँखाभरी बाढी बगाएर, रोइमात्रै रहेँ ।

 (ला–ग्रान्डी इन्टरनेशनल कलेज, पोखराकी शर्मासँग भवसागर घिमिरेले गरेको कुराकानीमा आधारित, कान्तिपुर कोशेली 2070/01/21)

Comments