Skip to main content

केही यस्तो होस्

 कहिल्यै खान नपरोस् । ट्वाइलेट जान पनि नपरोस् । तरकारीको भाउ सुनेर डराउन नपरोस् । बर्डफ्ल्युको नामले सातो पनि नजाओस् । नेपालबन्दले ग्यास ‘सटेज’ छ भनेर टाउको नदुखोस् । दूधमा उ घोलुन वा उसमा उ घोलुन्, ती व्यापारीले आफैं खाउन्, आफैं रमाउन् । बिषादी हालेको तरकारी । हिलो मिसिएको जारको पानी । यी पिउन पनि नपरोस्, चपाउन पनि नपरोस् । व्यापारीको ढर्रा देखेर रिस पनि नउठोस् । भोकमरीको समाचार पनि हराउने । भोकमाथि राजनीति गर्नेहरू पनि डराउने । यो देशका मान्छे यस्तो होस् कि गज्जबको ज्यान होस् । मोबाइल सेटजस्तै तार जोडेपछि चार्ज होस् तर हप्तौंसम्म डिस्चार्ज नहोस् । 

ज्यान चार्जका लागि पेट्रोलका पम्पझैं चार्जर–पम्पको गाउँसहरमा लाइन होस् । ‘बूढाबूढीलाई चार्ज गर्दा बच्चाबच्चीलाई फ्री’ यस्तै खालको स्किम होस् । ज्यानचार्जर कम्पनीका ठूला ठूला होडिङ–बोर्डले गाउँसहर रंगियोस् । सडक छेउछाउमा ह्युमनचार्ज कटेज होस् तर पेट्रोलजस्तो सटेज नहोस् । रातको टाइम । ‘चार्ज छैन, टेन्सन छैन’ रिचार्ज कार्डको पनि व्यवस्था होस् ।
देशमा मान्छे होस्, बुद्धि पनि होस् तर त्यसमा गिदी नहोस् । दिमागभित्र कम्तीमा ३२ जीबीको मेमोरी कार्ड हाल्न मिलोस् । पढेको जति बस्ने, जाँचमा लेख्न बस्दा उत्तर पुस्तिकामा खस्ने । दैनिक सयौं मान्छेसँग परिचय भए पनि नभुल्ने गरी फोल्डर सिस्टममा बस्ने । भाइरस स्क्यान गर्न मिल्ने । हैरान भइयो भने ‘फर्मेट’ गर्न पनि सकिने । यस्तै वान टीबीसम्म एक्सपानडेबल सिस्टम कार्ड, टाउकैभित्र होस् तर टेन्सन नहोस् ।

मोबाइल बोक्न नपरोस् । हत्केलाको छालामै नम्बर देखिने । औंला फट्टाउँदा नम्बर मेटिने । मोबाइल नामको सिस्टम होस् । कानमा ‘डिभाइस’ फिट होस् । सोचेपछि फोन लागोस् । घन्टी बजेपछि फोन उठोस् तर कहिल्यै टेलिकमजस्तो नेटवर्क नटुटोस् । चर्को बोल्दा कानको जाली पनि नफुटोस् । ज्यान यस्तो होस्, नाइटोमै ब्लुटुथ डिभाइस् होस् । भृकुटीमण्डपमा भेटेर गफिन नपर्ने । मन मनका कुरा ट्रान्सफर गर्न मिल्ने । मन लागेको बेलामा आफ्नै तालमा सुन्न सकिने । गीत संगीत ज्यानज्यानमै ब्लुटुथबाट आदानप्रदान होस् । छातीमा यस्तो लाउड–स्पिकर फिट होस्, अन गरेपछि घन्कियोस्, अफ गरेपछि थन्कियोस् ।
आँखामा लगाउने चस्मा होस् तर पावरवाला सिसा मात्र नहोस् । सिसामा ल्याप्टपको झै स्क्रिन होस् । टोलाएर फिल्म हेर्न मिल्ने । परेली चलाएर स्क्रोलिङ गर्न मिल्ने । आँखा झिम्क्याउँदा फेसबुकमा लाइक होस् । बोलेपछि कमेन्ट होस् । खोक्दा टुइटरमा फेब होस्, हाच्छ्यु गर्दा रिटुइट होस् । निदाएपछि क्विट होस् । चस्मा साह्रै स्विट होस् ।
अफिस जाँदा हतार नहोस् । सडकमा टेम्पु कुर्न नपरोस् । साइकलमा बोइलर कुखुरोझै सहरका हुइँके यातायातमा झुन्डिन नपरोस् । बरु यस्तो जुत्ता होस् । लगाएपछि ४० किमि प्रतिघन्टासम्म कुदोस् । राजधानीका माइक्रोबसजस्तो एकअर्कासँग नजुधोस् । ब्रेक होस् तर फेल नहोस् । छातीमा यस्तो चेन होस् कि स्वाट्ट खोल्न मिलोस् । भित्रका आमासय, बासय सप्पै आफैंले हेर्न मिलोस् । मुटुमा प्वाल परेको छ भने मासुको टुक्रोले टाल्न मिलोस् । किड्नी फेल भए धाराको पाइप जोडेरै भए पनि डायलसिस गर्न मिलोस् । पित्तथैलीको पत्थरी पनि चिम्टाले चिम्टेर फाल्न मिलोस् । घरमै गर्न मिलोस्, डाक्टरको फी भर्न नपरोस् । पत्रिकामा याचना छपाउन नपरोस् । उपचार निकै सहज होस् । केही यस्तो होस्, पैसामा सस्तो होस् ।
देशको ढुकुटी सभासदले समाए पनि, आफैं रमाए पनि दिमाग नतातियोस् । चरी भरर... हुँदा । घैंटो प्वाट्ट फुट्दा । उनीहरूले डाँको छाडे भनेर सुन्दा कान तातो नहोस्, आँखा रातो नहोस् । देशको राजनीति देखेर दिमाग यदि तात्तिहाले पनि त्यसबाट करेन्ट निकाल्न मिलोस् । टाउकैको टुप्पीमा टुटुल्को बनाएर बल्ब हाल्न अनि लोडसेडिङका बेलामा बाल्न मिलोस् । यस्तो नमिले कमसेकम टाउकोमा खाना पकाउने कुक्करको झैं सिठ्ठी होस् । दिमाग तात्न थालेपछि उफ्री– उफ्री यसरी सिठ्ठी बजोस् कि सडकमा हिँड्दा ड्राइभरले गाडी रोकुन् । खेलमा खेलाडीले खेल रोकुन् । न्युरोडतिर हिँड्दा रमितेहरूले जिब्रो टोकुन् ।
(भवसागर घिमिरे, भाद्र १२, २०७२- कान्तिपुर कोशेली)
http://kantipur.ekantipur.com/printedition/news/2015-08-29/20150829104610.html

Comments

Popular posts from this blog

मोबाइलको साटो पुस्तक

बाल मनोविज्ञानमा आधारित भएर लेख्नु आफैमा जटिल र चुनौती पुर्ण छ  । त्यसैमाथि सबै भन्दा सरल बनाउँनु पर्ने विषय पनि यहि रहेछ । बाल मस्तिस्कको सोचाइको धरातल फराकिलो बनाउँने  प्रयास म सधैं जारी नै राख्नेछु । बालबालिकाहरुलाइ आज राम्रा पुस्तक पढ्न दिँदा भोलीका दिनमा उनीहरुले रचनात्मक काम गर्न सक्छन् । हामी सबैले पढ्ने र पढाउँने बातावरण बनाउँन मद्दत गरौं । मेरा यी रचनाहरुमा चित्र कोरेर सुन्दर बनाइदिने नागरिक दैनिकका Dewen दाई र Yuwak जी, भाषामा सघाउने Shekhar दाई अनि प्रकाशनमा ल्याउँने Sangrila Book का Mani जीलाई धेरै धेरै धन्यवाद । म अछाम नपुगेको भए सायद यो बालकथा अाउँदैन्थ्यो होला । सन् २००९ मा Room to Read Nepal को कथा कार्यशालामा नअटाएको भए सायद 'हाम्रा खेलहरु' का बारेमा उबेला बाल कविता फुर्दैन्थ्यो । सधै‌ झै, छोराछोरीको हातमा मोबाइलको साटो पुस्तक दिउँ । उनीहरुका आँखा र दिमाग झनै तेजिलो हुनेछन् । अघिल्ला तीन कृती... माथिका तीन पुस्तकहरु ' पाठीलाई स्वेटर, भान्छामा चुट्किला, देउता खुशी हुनुभयो' तलका पुस्तक पसलहरुमा यस अघि नै आइसकेका छन् । नयाँ पुस्तक...

जाडोका चिसा उखान टुक्का

बिस्तारै बिस्तारै बढ्दै गरेको जाडोले विहान धेरै अबेर सम्म पनि हामीलाई बिस्तारामा सिरक भित्रै रोक्न सक्छ । झ्यालका पर्दा घामले नखोली कन हामी आफै खोल्न तम्सन पनि गाह्रो हुन्छ । विहानै तातो चियाको गिलासलाई ओठले चुम्न पाउँदा मात्र हात गोडा चलमलाउन थाल्छन् । अझ एका विहानै काममा जानु पर्ने वा कलेज जानु पर्नेलाई त जाडो कहिल्यै नआए हुन्थ्यो झै हुन्छ । यस्तो कठ्याङ्ग्रीने जाडोको बेलामा हाम्रा उखान टुक्काहरू कसरी बांगिने गर्छन्, यसबारेमा केही प्रसंग तल छ । तपाइलाई यो जाडो मौसम भरि न्यानो घामले माया गरोस शुभकामना ! जाडोले कामेको गोरुलाई बोरा ओढाउन सकिन्छ, सिरक ओडाउन सकिन्न अनिकालमा बिउ जोगाउनु, चिसोमा जिउ जोगाउनु चिसोले समाएको मान्छेलाई, आइसक्रिमले पनि लखेट्छ अर्काको आंङमा गन्जी लगाएको देख्ने, आफ्नो आंङमा जकेट लगाएको  नदेख्ने ? हिटरले पोलेको मान्छे, राइस कुक्कर देख्दा तर्सन्छ  थर्मस फुटे, तातो लुटे खाइ न पाइ, लेदर जकेट लाई  काम पाइनस छोरो, मोजामा आइरन लगाइ

भाइबहिनीसँग भेटघाट

‘‘चश्म खोलेपछि मात्र किताबमा भएको राइटरको फेस तपाइसँग मिल्छ । हजुरले किन कथा लेख्नुहुन्छ ? पाठीलाई स्वेटर मैले दुइ कक्षामा पढेको बेस्ट बुक हो । मेरो घरको ढोकामा सधैं बिरालो आउछ । मैले दूध दिन्छु । यसको पनि कथा हुन्छ ? हाम्रो लागि अझै धेरै कथा लेख्दिनु है । अब कहिले आउनु हुन्छ ?’’ कक्षा तीनमा पढ्ने नानीबाबुका कलिला बोलीले फूलजस्तै गरि मनमा छोए । 'लेखकसँग अन्तरक्रिया'मा आफ्नो पुस्तक ‘भान्छामा चुट्किला’ बाचन गर्न र कथा लेखनका बारेमा बताउन उनीहरूको विद्यालयमा पुगेको थिएँ । हामीले यस पुस्तकका चित्रकार Yuwak Shrestha लाई पनि सम्झियौं । नानीबाबुहरूले दुई कक्षामा मेरो अर्को पुस्तक ‘पाठीलाई स्वेटर’ पनि पढेका रहेछन् । लगभग ८० जना नानीबाबुका माझमा कथाबाचन गर्न र हराउन पाउदा नयाँ कथा बुन्ने उर्जा मिलेको छ । अवसरका निम्ति युलेन्स स्कूल ललितपुर र शिक्षिका मिना लुइटेल जीलाई धेरै धेरै धन्यवाद । अब चाँडै स्वतस्फुर्त रूपमा केही सामुदायीक विद्यालयमा कथा बाचन गर्ने र बुन्ने कला साट्न पुग्ने योजना बनाएको छु । ज्ञान बाँडे पक्कै बढ्दछ, नबाँडे सर्लक्कै घट्दै जान्छ । #childrensbooks #nepalichildren...