Skip to main content

केही यस्तो होस्

 कहिल्यै खान नपरोस् । ट्वाइलेट जान पनि नपरोस् । तरकारीको भाउ सुनेर डराउन नपरोस् । बर्डफ्ल्युको नामले सातो पनि नजाओस् । नेपालबन्दले ग्यास ‘सटेज’ छ भनेर टाउको नदुखोस् । दूधमा उ घोलुन वा उसमा उ घोलुन्, ती व्यापारीले आफैं खाउन्, आफैं रमाउन् । बिषादी हालेको तरकारी । हिलो मिसिएको जारको पानी । यी पिउन पनि नपरोस्, चपाउन पनि नपरोस् । व्यापारीको ढर्रा देखेर रिस पनि नउठोस् । भोकमरीको समाचार पनि हराउने । भोकमाथि राजनीति गर्नेहरू पनि डराउने । यो देशका मान्छे यस्तो होस् कि गज्जबको ज्यान होस् । मोबाइल सेटजस्तै तार जोडेपछि चार्ज होस् तर हप्तौंसम्म डिस्चार्ज नहोस् । 

ज्यान चार्जका लागि पेट्रोलका पम्पझैं चार्जर–पम्पको गाउँसहरमा लाइन होस् । ‘बूढाबूढीलाई चार्ज गर्दा बच्चाबच्चीलाई फ्री’ यस्तै खालको स्किम होस् । ज्यानचार्जर कम्पनीका ठूला ठूला होडिङ–बोर्डले गाउँसहर रंगियोस् । सडक छेउछाउमा ह्युमनचार्ज कटेज होस् तर पेट्रोलजस्तो सटेज नहोस् । रातको टाइम । ‘चार्ज छैन, टेन्सन छैन’ रिचार्ज कार्डको पनि व्यवस्था होस् ।
देशमा मान्छे होस्, बुद्धि पनि होस् तर त्यसमा गिदी नहोस् । दिमागभित्र कम्तीमा ३२ जीबीको मेमोरी कार्ड हाल्न मिलोस् । पढेको जति बस्ने, जाँचमा लेख्न बस्दा उत्तर पुस्तिकामा खस्ने । दैनिक सयौं मान्छेसँग परिचय भए पनि नभुल्ने गरी फोल्डर सिस्टममा बस्ने । भाइरस स्क्यान गर्न मिल्ने । हैरान भइयो भने ‘फर्मेट’ गर्न पनि सकिने । यस्तै वान टीबीसम्म एक्सपानडेबल सिस्टम कार्ड, टाउकैभित्र होस् तर टेन्सन नहोस् ।

मोबाइल बोक्न नपरोस् । हत्केलाको छालामै नम्बर देखिने । औंला फट्टाउँदा नम्बर मेटिने । मोबाइल नामको सिस्टम होस् । कानमा ‘डिभाइस’ फिट होस् । सोचेपछि फोन लागोस् । घन्टी बजेपछि फोन उठोस् तर कहिल्यै टेलिकमजस्तो नेटवर्क नटुटोस् । चर्को बोल्दा कानको जाली पनि नफुटोस् । ज्यान यस्तो होस्, नाइटोमै ब्लुटुथ डिभाइस् होस् । भृकुटीमण्डपमा भेटेर गफिन नपर्ने । मन मनका कुरा ट्रान्सफर गर्न मिल्ने । मन लागेको बेलामा आफ्नै तालमा सुन्न सकिने । गीत संगीत ज्यानज्यानमै ब्लुटुथबाट आदानप्रदान होस् । छातीमा यस्तो लाउड–स्पिकर फिट होस्, अन गरेपछि घन्कियोस्, अफ गरेपछि थन्कियोस् ।
आँखामा लगाउने चस्मा होस् तर पावरवाला सिसा मात्र नहोस् । सिसामा ल्याप्टपको झै स्क्रिन होस् । टोलाएर फिल्म हेर्न मिल्ने । परेली चलाएर स्क्रोलिङ गर्न मिल्ने । आँखा झिम्क्याउँदा फेसबुकमा लाइक होस् । बोलेपछि कमेन्ट होस् । खोक्दा टुइटरमा फेब होस्, हाच्छ्यु गर्दा रिटुइट होस् । निदाएपछि क्विट होस् । चस्मा साह्रै स्विट होस् ।
अफिस जाँदा हतार नहोस् । सडकमा टेम्पु कुर्न नपरोस् । साइकलमा बोइलर कुखुरोझै सहरका हुइँके यातायातमा झुन्डिन नपरोस् । बरु यस्तो जुत्ता होस् । लगाएपछि ४० किमि प्रतिघन्टासम्म कुदोस् । राजधानीका माइक्रोबसजस्तो एकअर्कासँग नजुधोस् । ब्रेक होस् तर फेल नहोस् । छातीमा यस्तो चेन होस् कि स्वाट्ट खोल्न मिलोस् । भित्रका आमासय, बासय सप्पै आफैंले हेर्न मिलोस् । मुटुमा प्वाल परेको छ भने मासुको टुक्रोले टाल्न मिलोस् । किड्नी फेल भए धाराको पाइप जोडेरै भए पनि डायलसिस गर्न मिलोस् । पित्तथैलीको पत्थरी पनि चिम्टाले चिम्टेर फाल्न मिलोस् । घरमै गर्न मिलोस्, डाक्टरको फी भर्न नपरोस् । पत्रिकामा याचना छपाउन नपरोस् । उपचार निकै सहज होस् । केही यस्तो होस्, पैसामा सस्तो होस् ।
देशको ढुकुटी सभासदले समाए पनि, आफैं रमाए पनि दिमाग नतातियोस् । चरी भरर... हुँदा । घैंटो प्वाट्ट फुट्दा । उनीहरूले डाँको छाडे भनेर सुन्दा कान तातो नहोस्, आँखा रातो नहोस् । देशको राजनीति देखेर दिमाग यदि तात्तिहाले पनि त्यसबाट करेन्ट निकाल्न मिलोस् । टाउकैको टुप्पीमा टुटुल्को बनाएर बल्ब हाल्न अनि लोडसेडिङका बेलामा बाल्न मिलोस् । यस्तो नमिले कमसेकम टाउकोमा खाना पकाउने कुक्करको झैं सिठ्ठी होस् । दिमाग तात्न थालेपछि उफ्री– उफ्री यसरी सिठ्ठी बजोस् कि सडकमा हिँड्दा ड्राइभरले गाडी रोकुन् । खेलमा खेलाडीले खेल रोकुन् । न्युरोडतिर हिँड्दा रमितेहरूले जिब्रो टोकुन् ।
(भवसागर घिमिरे, भाद्र १२, २०७२- कान्तिपुर कोशेली)
http://kantipur.ekantipur.com/printedition/news/2015-08-29/20150829104610.html

Comments

Popular posts from this blog

लुते प्रशासन,लुरे लोकतन्त्र

प्रशासन लुतेकुकुर जस्तो भएको छ । नारा लगाउँदै हिडेका चार जना बन्दकर्ताहरूलाई गाडी सहित आएको दश जना पुलिसहरूले पहरा दिइराखेका थिए । उनीहरू भर्खरै मेरो कोठा अघिल्तिरबाट गए । ती चार जनाको डरमा यहाँ वरपरका चालीस भन्दा बढी सटरहरू ह्वार ह्वारति बन्द गरिए । न यो देश ती नाइके कहलिएकाहरूले कमाएका थिए, न उनीहरूको नुन खाएर हामी तंग्रिएका थिषैं । जुनसुकै पाटी किननहोस्, तिनीहरूलाई बन्द गर्ने अधिकार छैन र हामीलाई हामीले तिरेको करले बनाएको बाटोमा खुलेआम सवारी साधन चलाउने अधिकार छ । पसल खोल्ने अधिकार छ । व्यापार गर्ने अधिकार छ । तर खै अधिकारको सुरक्षा ? यहाँ त कुर्ची जोगाउनका लागि दलाल, घुसखोरी, दादागीरी चन्दागीरी र झण्डागिरी गर्नेहरूको मात्र सुरक्षा हुन थालेको छ । मेरो देशमा लोकतन्त्र आएर के भो त ? 

एउटा खाली पाना

  एउटा खाली पाना जसमा कोरिन सक्थ्योे करौडा तालीका कविता एउटा खाली पाना जसमा बन्न सक्थ्योे अरबौं बिम्बका चित्र जबरजस्ती आगोमा फालियो एउटा खाली पाना जसले काँधमा थाप्न सक्थ्यो यो देशको भविष्य भर्खरै खरानी भयो एउटा खाली पाना एउटी निर्मला एउटी पुष्पा एउटी माया तपाई कै छोरी, दिदी,  बहिनी, चेली उहि, एउटा खाली पाना ।

हजुरबा र हजुरआमा नाटक खेल्दा

- भवसागर घिमिरे  ‘ हिमालै चुली त्यो पारी नि पट्टी गाइमर्यो रोगैले रक्सीको पुइनी दाजु र नि बुइनी भेट भयो जोगैले ’ भारतीय पूर्व सैनिक बिर्खबहादुर गुरुङले गाएको यो गीत जस्तै हाम्रो पनि जोगैले उनीसँग ताप्लेजुङमा भेट भएको थियो। ७० वर्षे बिर्खबहादुर उमेरले बुढो भएपनि उनको जोश हेर्न लाएकको थियो । नाटकमा भाग लिन उनी कलाकार छनौटको प्रक्रियामै केही महिना अघि फुङलिङ आएका थिए।   ‘ सर मलाइ त खासै बोल्न आउँदैन नि हो ,’ खित्का छाँडेर हाँस्दै उनले पहिलो भेटमा भने , ‘ छनौंटमा भए भइएला , नभए ठिकै छ । ’ यति भनेपछि उनी फेरि मरीमरी हाँसे । हाँस्दा उनका रसिला आँखा झनै उजेला देखिन्थे । उनको यो हाँसीमजाक गर्ने बानी । रसिलो पारामा पुराना गीतका टुक्काहरू गाउन सक्ने क्षमता । यिनै कुराले उनलाई बिजुलीको कथामा अभिनय गर्ने मौका मिल्यो । गाउँका बिर्ख बाजे नाटकमा ' पच्चिस बाजे ' भएर झुल्के । पच्चिस उनको पल्टनको स्टाफ नम्बर थियो , नाटकमा । नाटक कथा मीठो सारंगीकोलाई यस्तै-यस्तै वास्तविक जीवनका कलाकारले जीवन्त बनाएका छन् । उनले जीवनमा कहिल्यै कुनै नाटकमा भाग लिएका थिएनन् । तर उनैले अरू कुनै अ...